Wednesday, 12 July 2023

समयको कसौटीमा नेपाली कांग्रेस

महाधिवेशन पार्टीलाई समयसापेक्ष नवीकरण गर्ने वैधानिक प्रक्रिया हो। यसले नीति, रणनीति, नेतृत्व, संरचना सबै बदल्ने अधिकार राख्दछ। कांग्रेसको १४औं अधिवेशन नीतिप्रधान हुन्छ कि चुनावप्रधान ? व्यक्तिप्रधान हुन्छ कि पद्धतिप्रधान ? योग्यताप्रधान हुन्छ कि उमेरप्रधान ? इतिहासमै अल्मलिन्छ कि भविष्यप्रधान हुन्छ ? सत्ता र शक्तिलाई नै कार्यदिशा बनाउँछ कि पार्टीको लक्ष्यलाई पछ्याउँछ ? चुनाव अघि सबैको ध्यान यसैमा थियो तर अनुभव अर्कै रह्यो।

कांग्रेसको गत अधिवेशन पनि सदा झैं चुनावी अधिवेशन जस्तै भयो अन्ततः संवैधानिक बाध्यताको अधिवेशन। यो केही नेता थप्ने र बाँकीको अनुमोदन गर्ने भूमिकामै सीमित रह्यो। पार्टीका अधिवेशनमा प्रस्तुत हुने प्रस्तावहरू प्रायः सनातनी थिए, छलफलहरू औपचारिकतामा सीमित थियो, ध्यान जति कसरी जित्ने र जिताउनेमा नै खर्चिएको थियो। यसपटक यो दोहोरियो मात्र। भविष्यमा सुधार हुने आशा गरौं।

विधान अनुसार एक अधिवेशनदेखि आगामी अधिवेशनको अवधिभित्र अधिवेशनले गर्न सक्ने कार्यको जिम्मेवारी महासमितिले लिएको हुन्छ तर महासमिति बैठकको आजसम्म कुनै टुंगो छैन। केन्द्रीय समिति विधानमा शक्तिशाली देखिन्छ यो समय जे गर्नुपर्ने हो, यहींबाटै होस् कांग्रेसजनको शुभेच्छा छ।

लामो अन्तरालपछि केन्द्रीय समितिको बैठक बस्दैछ। कांग्रेसका लागि आन्तरिक र बाह्य चुनौतीहरू पहाड झैं खडा भएका छन्। संस्थाभन्दा समय अघि दौडिएको छ, समयको गतिसँगै कांग्रेसको जीवनलाई जोड्नु छ। यसबीच गठबन्धनको चुनावी संस्कृति भित्रिएको छ, सिद्धान्त र आदर्श प्रतिरक्षामा धकेलिएको छ, कार्यकर्ताहरू अनुत्तरित छन्, समर्थकमा निराशा छ, समर्थनमा संकुचन देखिएको छ, संगठन प्राण नभएको अस्थिपञ्जर जस्तो छ र यी सबैमा नयाँ रक्तसंचार गर्नुपर्नेछ।

बाह्य चुनौती झन् पेचिलो हुँदै गएको छ, कमजोर प्रशासनयन्त्र, थला परेको अर्थतन्त्र, मौलाएको भ्रष्टाचार, सुशासनको अभावले नागरिकमा असन्तुष्टि चुलिएको छ, आक्रोशले संगठनको रूप लिंदैछ। नयाँ–नयाँ शक्तिको उदय र निर्दलीय राजनीति प्रिय बन्दै जाँदैछ। यस अवस्थामा हुँदै गरेको केन्द्रीय समितिको बैठकबाट के निर्णय हुनेछ ? विषय प्रवेश हुनेछ छ वा छैन, समस्याको चुरो समाधानको सूत्र के हो ? कांग्रेसबाट वर्तमानले राखेको अपेक्षा यही हो। महाधिवेशन र महासमितिको रिक्तता र चुलिएको तिक्तता केही हदसम्म समितिले पूरा गर्न सक्दछ, कम गर्न सक्दछ। समितिमा ठूलो संख्यामा युवा नेतृत्वले प्रवेश पाएको छ, युवाहरू प्रश्न गर्ने होइन जवाफ दिने हैसियतमा छन्। अनुभवीहरू छँदैछन्। यो बैठकले विगतको अभियोगलाई विश्राम देओस्, रूपान्तरित कांग्रेसको शैलीमा आफूलाई समर्पित गरोस्। यसका लागि कांग्रेसले केही नीतिगत सुधार गरोस्।

पार्टीको नीति निर्माणमा सहभागिताको प्रश्न

२०१७ सालमा सम्पन्न पार्टीको महाधिवेशनमा बीपी कोइरालाले अध्यक्षको हैसियतले पार्टी र सरकारको सम्बन्धबारे कार्यकर्तालाई दिनुभएको सन्देशले ऐतिहासिक महत्व बोकेको थियो। उहाँको भनाइ थियो- पार्टी सामूहिकतामा सञ्चालित छ, प्रत्येक उपलब्धि हरेकको मिहिनेतबाट सम्भव भएको हो। निर्वाचनको सफलताको कारण व्यक्तिविशेषको निजी प्रतिष्ठा नभई पार्टीको सामूहिक प्रयत्न र पार्टीप्रति जनताको हृदयदेखिको विश्वास हो।

के अहिले हामी यो आदर्शबाट चलेका छौं? अहिले पार्टीको नीति निर्माण गर्ने तह नीति निर्माणमा संलग्न छैनन्, मातहतका निकायहरूको अनुभवको सुनुवाइ छैन, कार्यकर्ताहरूको निर्णय प्रक्रियामा अपनत्व छैन तर पनि पार्टी चलेकै छ। नीति-रणनीति बनेकै छ। नीति निर्माणको स्रोत के हो ? यो कहाँबाट उत्पादन हुन्छ, केहीलाई थाहा होला तर यसभित्र विज्ञता र पारदर्शिता तथा जवाफदेहीका आधारहरू अँध्यारा छन्, अनुत्तरित छन्।

कम्युनिस्ट पार्टीको जस्तो पार्टी नियन्त्रण र संचालन केस, पोलिटब्युरो, स्थायी समिति हुँदै पार्टी प्रमुखमा थुप्रिएको अधिनायकवादी शैलीबाट लोकतान्त्रिक पार्टी नचल्नुपर्ने हो तर चलेकै छ।

पार्टीले लिने नीतिमा आम सदस्यको अपनत्व छैन भने प्रयोगमा समस्या आउँछ र परिणाम दुर्घटनाउन्मुख हुन्छ। यो यसै भनिएको होइन तर आज त्यही हुँदैछ।

शीर्ष नेतृत्वहरूले लिएको निर्णय र रणनीतिमा बारम्बार प्रश्न उठ्ने गर्छ। केही मानिसहरू आफूलाई मात्र सर्वज्ञ ठान्दछन् तर परिणाममा अस्वीकृति मात्र थपिएको छ। पदमा शक्ति होला, विज्ञता नहुन सक्छ, विज्ञता होला तर अपनत्व नहुन सक्छ तर यो स्वीकार गर्न नेतृत्व तयार छैन। असफलताका लागि नेता नै तयार देखिन्छन्।

कांग्रेस आफ्नो जीवनका प्रश्नहरूमा गम्भीरतापूर्वक छलफल गर्नै चाहँदैन किन ? आम सदस्यको पार्टी बनाउनै चाहँदैन किन ? यो नियत हो कि नियति ? समयले उत्तर मागेको छ।

सत्ता साध्य हो कि साधन

समकालीन राजनीतिमा सत्तालाई साध्यको रूपमा अर्थ्याइएको छ। यो अर्थले लक्ष्यलाई गुमराहमा धकेलेको छ। सत्ताले परिवर्तन रूचाउँदैन। नवीन विचारबाट सशंकित हुन्छ। सत्ताले बुझेको हुन्छ जहाँ विचार हुन्छ, त्यहाँ प्रश्नको बीज रोपिएको हुन्छ। विचार आँखा देख्न नसक्ने हुँदैन, यसको आँखा हुन्छ र त्यही आँखाबाट समाजलाई नियालेको हुन्छ। विचारले बोकेको विद्रोहको अर्थ हो मूल्यमा क्रान्ति, सोचमा परिवर्तन, यथास्थितिको रूपान्तरण।

बीपीले सत्तालाई हमेसा साधनको रूपमा लिनुभयो। साधनकै विकसित रूप साध्य हो। उहाँले चाहेको समाजको निर्माण नै उहाँको गन्तव्य थियो। अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूबाट जीवनभर प्रधानमन्त्री र राष्ट्रपति बन्न गरिएको प्रस्तावलाई स्वीकार गर्नुभन्दा देशको माटोभित्र दिइने मृत्युदण्ड स्वीकार्य रहेको ठान्ने बीपीको आदर्श र गणेशमानको त्यागले सत्तालाई साधनको रूपमा परिभाषित गरेको छ। के यो बैठक यो तथ्य स्वीकार गर्न तयार छ ?

जो जसको सरकार होस् सत्तालाई प्रधान मान्ने चरित्र

जो जसको सरकार होस्, सत्तालाई प्रधान मान्ने चरित्र यथास्थितिवादी हुन्छ, एकाधिकारमा रमाउँछ। सत्ताले सत्ता मात्र देख्दछ, सत्ताको लागि जे पनि गर्दछ। सत्ताको आँखामा पार्टी भर्‍याङ मात्र हो। पार्टीका सिद्धान्त, आदर्श, पार्टी सदस्यहरू उसको चाहना प्राप्तिका उपकरण मात्र। आदर्श यिनीहरूलाई बोझ हुन्छ, सत्ताको निर्णयमा सत्ता प्राप्ति नै निर्णायक बन्छ। यो प्रवृत्तिलाई योग्यता र परिणाम चाहिंदैन। उसले अहिलेलाई हेरेको छ, भविष्यप्रति बेखबर रहन्छ। सत्ताले २० वर्षपछिको नेपाल हेर्दैन, आफ्नो पदको आयु मात्र हेर्दछ।

यसको अन्ततः परिणाम देखियो। सत्ताकै लोभले भ्रष्ट संस्कृति मौलायो। गैरराजनीतिक विधि र चरित्र संस्थागत हुँदै गयो, सत्ताकै चाहनाले पार्टीलाई सिद्धान्तहीन अवसरवादी गठबन्धनसम्म पुर्‍यायो। सत्ताको उन्मादमा शक्ति सन्तुलन र शक्तिपृथकीकरण भत्कियो। न्यायालय समेत निरीह देखियो। आज ७० प्रतिशत भ्रष्टाचार राजनीति र प्रशासनको सेटिङमा हुन्छ। सत्ताकै कारण घरेलु राजनीतिमा वैदेशिक प्रभाव बढेको छ।

सत्तालाई प्रधान ठान्ने नीतिकै कारण आज राजनीतिक प्रणाली संकटमा छ, प्रजातन्त्र असुरक्षित छ, असन्तोष र आक्रोश चुलिंदा छद्मभेषी शक्ति मौलाएको छ। यो सबै सत्तामुखी राजनीतिको उत्पादन हो। के अहिलेको कांग्रेस सत्तालाई साधनको निरन्तरताको अर्थमा स्वीकार गर्न तयार छ ?

नीतिमा गठबन्धन, रणनीतिमा आत्मसमर्पण ?

फरक मान्यताका पार्टीहरूबीच गठबन्धन केका लागि थियो ? बलियो पार्टीको मापदण्ड के हो ? एउटा जीवन्त पार्टीका लागि एउटा चुनाव जित्नु वा हार्नुको महत्वभन्दा उसको आदर्शको रक्षा प्रधान विषय हो।

२०५६ को चुनावमा पार्टीले ३२ लाख १४ हजार ७८६ (३७.१७ प्रतिशत), २०७४ मा ३१ लाख २८ हजार ३८९ लोकप्रिय मत (प्रत्यक्षमा जितेको २३) र २०७९ मा २७ लाख १५ हजार २२५ लोकप्रिय मत (प्रत्यक्षमा जितेको ८९) प्राप्त गर्‍यो।

कुल मतदाता पनि बढे, गठबन्धनबाट सिट त बढ्यो तर लोकप्रिय मत किन घट्यो ? कता हरायो ४ लाख १३ हजार १६४ मत ? तर पनि पार्टीभित्र ओरालो लागेको मतको आगो ताप्दै सत्ता केन्द्रित व्यक्तिगत स्वार्थमा लिप्त हुनेको कुनै कमि छैन।

अरूले कांग्रेसलाई प्रयोग गरे कि कांग्रेसले अरूलाई उपयोग गर्‍यो ? सरकारको माध्यमबाट कांग्रेसको जनमत बढ्यो कि घट्यो ? सत्ताकै बीच उपचुनावमा पराजय किन ? रेशम चौधरीको आम माफीमा पार्टीको के स्वार्थ रह्यो ? सत्ताको गणितीय स्वार्थमा न्यायको चीरहरण के उचित थियो ?

नागरिकता विधेयक भारत भ्रमणकै दिन स्वीकृत गर्नुपर्ने के बाध्यता थियो ? यो समय पार्टीले आत्मसमीक्षा गर्दै आफूलाई सच्याउनुपर्नेछ।

जनताको नजरमा मितव्ययी सरकार

देशको आम्दानी कमजोर छ, जनताको अपेक्षा धेरै छ। चुलिएको साधारण खर्च घटाई विकास बजेट बढाउन पनि मितव्ययी सरकार आवश्यक छ। मितव्ययी सरकारप्रति जनताको विश्वास बढेर जान्छ, कार्यकर्ताले अपनत्व ग्रहण गर्दछन्।

सत्ताको राप र तापले आदर्शलाई भुत्ते बनाइरहेको वर्तमानमा यो कुराले विशेष महत्व राख्दछ। ललितानिवासको जग्गा प्रकरणको पृष्ठभूमिमा आज प्रश्न गर्न सकिन्छ, भूमि सुधार र बिर्ता उन्मूलन जस्ता कार्यक्रममा नेता सुवर्णशमशेरले देखाएको समर्थन र त्याग के अहिले संभव छ ?

भूतपूर्वहरूलाई सेवा र सुविधा थप्दै गरेको वर्तमानमा बीपीले वहालवाला प्रधानमन्त्री र अन्य राजनीतिक उच्चाधिकारीको आधा तलब घटाए जस्तै घटाउन कोही तयार छ ?

पुरूषले सुत्केरी भत्ता बुझ्ने लोभी संस्कारमा इन्धन र गाडीको सुविधा घटाउन कोही तयार छ ?

हिजो कसरी सम्भव रह्यो, आज किन हुन सक्दैन ? बैठकमा यसबारे बहस चलाउन आवश्यक छ। बीपीको निवासमा ४ भारी दाउरा बढी उपयोग गर्दा बीपीले संसदमा जवाफ दिनुभयो। आज कमिसनको कुरा उठ्दा जवाफ दिनु नपर्ने ?

मितव्ययी सरकारको कल्पना गर्ने बीपीका अनुयायीको सरकारका हामीले राजस्व छुट दिई पजेरो संस्कृति स्थापित गर्‍यौं, यो कुन समाजवाद हो ?

राष्ट्रिय कार्यक्रम बाहेक झण्डा राख्न नपाउने, सलामी नलिने किनकि यसले ठालु संस्कृतिको विकास गर्छ भन्ने बीपीको पार्टीका विभिन्न तहका सरकारहरू आज कुन आदर्शको प्रतिनिधित्व गरिरहेका छन् ? आज वडा अध्यक्षले झण्डा हाल्न मात्र बाँकी छ। यस बारे कसले बोल्ने ? प्रश्न कसले गर्ने ?

पार्टीको संरचनागत सुधारः चुस्त संगठन, दुरुस्त सदस्य

कांग्रेस आफैं समयको हाँक र चुनौतीको सामना गर्ने सामर्थ्य राख्दछ, तर परिस्थितिले किनारामा धकेलेको छ। ७/८ लाखको संख्यामा सक्रिय सदस्यबाट संगठित पार्टी किन मूर्झाएको छ ? कार्यकर्ताको संख्यामा रमाउने कि तिनलाई योग्य बनाउने, यो चुनौती कांग्रेससँग छ। कांग्रेस आफ्नो इतिहास र क्षमतामा किन गर्व गर्न सकिरहेको छैन ?

यसको एउटै समाधान हो- सुदृढ संगठन, विचारमा प्रखरता, ऊर्जाशील नेतृत्व, व्यवहारमा सरलता। हिजो व्यवस्था बदल्ने पार्टी आज आफ्नो अवस्था बदल्न सक्दैन ? प्रजातन्त्रलाई योग्यतन्त्र बनाउन सक्दैन ? यसका लागि पार्टी जीवनका आधार र संचालनको प्रक्रियामा व्यापक सुधारको खाँचो छ। एकपटक पार्टीमा अर्कोपटक चुनावमा यो थिति बसाल्नै पर्दछ।

पार्टीको आन्तरिक लोकतन्त्र मनोगत छ, प्रतिस्पर्धा वैयक्तित छ, ईखालु छ, त्यसैले प्रतिस्पर्धालाई योजना र कार्यक्रममा आधारित बनाउनु आवश्यक छ। एक व्यक्ति एक संगठन, एक पद बढीमा दुई पटकको वैधानिक व्यवस्था किन नगर्ने ? पार्टीभित्र क्षमता छ, अवसर पाउँछौं, पुराना छौं, न्याय र इज्जत दिलाउँछौं भन्ने होइन, गर्न सक्नु पर्‍यो। पार्टीमा जिम्मेवारी जसले पूरा गर्छ, उससे मात्र अवसर पाउँछ भन्ने मान्यता स्थापित गर्न सक्नुपर्दछ। समयानुकूल विधानको संशोधन र नयाँ संरचनाको विकास जरूरी छ। अवसरको समानता र वितरणको आधारलाई पारदर्शी बनाउनुपर्नेछ।

राजनीति सेवा हो पेशा होइन। सार्वजनिक दायित्वमा रहेकाहरूले आर्थिक पारदर्शिता देखाउनै पर्दछ। आत्म स्वाभिमानका लागि हरेक सदस्य उद्यमशीलतासँग जोडिन आवश्यक छ। एक घर एक उत्पादन, एक घर एक रोजगारीको राष्ट्रिय अभियान कांग्रेस नेतृत्वमा सञ्चालित होस्।

२०१७ साल भदौमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बीपीले गुटबन्दी र बजेटमा स्थानीयताको भावना अन्त्य गरौं भन्नुभएको थियो तर यो भावनाविरूद्ध कांग्रेसको वर्तमान राजनीतिमा ठूला नेता नै किन जिल्ला केन्द्रित, निर्वाचन क्षेत्रमा सीमित र आसेपासे केन्द्रित नियुक्तिमा रमाएका हुन् ? संसदीय विकास बजेटले संसदीय प्रणालीकै उपहास गरेको छ।

यी र यस्ता तमाम विषयमा यो बैठकले छलफल गरोस्। संविधानको संशोधन र उन्नत लोकतन्त्रका लागि कांग्रेसको प्रतिबद्धता संविधान सबैको हो, कसैको होइन जस्तो छ। तत्कालीन शक्ति सन्तुलनमा आएको संविधानले १७ वर्ष पार गर्दैछ। उपलब्धिसँगै बेथितिको स्रोत पनि संविधान भएको छ।

प्रदेश सरकारहरू नागरिक सेवामा प्रभावकारी नदेखिंदा तिनको औचित्यमा नागरिकले प्रश्न उठाएका छन्। समानुपातिक प्रणाली अस्थिरता र विकृतिको स्रोत बनेको छ। सर्वोच्च निकायमा रहेका तीन अंगबीच शक्तिपृथकीकरण तथा नियन्त्रण र सन्तुलनको अवस्था भत्किएको छ। यो अभ्यासले प्रणाली नै धरापमा पर्दैछ।

कांग्रेसले संवैधानिक जटिलतालाई ट्रयाकमा फर्काउन बोल्नै पर्दछ। जहिले संभव हुन्छ त्यहीबेला संशोधन गरौंला तर आफ्नो मत जिम्मेवार पार्टीले सार्वजनिक गर्न सक्नुपर्दछ।

नागरिक प्रशासनमा योग्यतन्त्रको अभाव छ, स्थायी सरकार हो तर राजनीतिक प्रभाव र लोभबाट मुक्त छैन। योग्य प्रतिभाहरू पलायन हुँदै गइरहेका छन्। ठूलो संख्यामा प्रवासमा रहेका नेपालीलाई मातृभूमिको सुख र दुःखमा सहभागी हुने विश्वासका साथ आकर्षक कार्यक्रम दिन सक्नुपर्दछ।

अधिकारसम्पन्न शक्तिशाली स्वतन्त्र निकायको अभावमा देश भ्रष्टाचारमुक्त हुनै सक्दैन। आयोगका कर्मचारी निजामती वा प्रहरीबाट लैजाने प्रक्रियाको अन्त्य हुन जरूरी छ। अख्तियारका प्रमुखहरू नै भ्रष्टाचारमा तानिएको यो दृश्यबाट भ्रष्टाचार विरूद्ध नागरिक विश्वासलाई पुनः स्थापित गर्न सक्नुपर्दछ।

सन्तुलित विदेश नीति

आज मुलुकको वैदेशिक सम्बन्ध आन्तरिक राजनीतिको चक्रव्यूहमा फसेको छ। कम्युनिष्ट पार्टीको स्वार्थमा मित्रराष्ट्रहरूसँगको सम्बन्ध गिजोलिएको छ। पार्टी स्वार्थको अधीनस्थ राष्ट्रिय स्वार्थ हुनै सक्दैन, तर यो भइरहेको छ। विकास आयोजनाहरूमा विदेशीलाई खेल्ने मौका दिइएको छ।

परजीवी बुद्धिजीवीको एउटा तप्का छिमेकीको उक्साहट र अनुदानमा विकास र वैदेशिक सम्बन्धको व्याख्या गरिरहेका छन् र जनमतलाई जबर्जस्त प्रभाव पारिरहेका छन्। यो समय पार्टीले देशभक्तिको भावनाबाट जनतालाई प्रशिक्षित गर्नुपर्ने देखिन्छ।

बीपीको विदेश नीति प्राग्मेटिक थियो, नीति तटस्थताकै हो। यो तटस्थता सबैका लागि दोस्रो प्राथमिकतामा रहने भन्ने हो।

हाम्रो राष्ट्रिय स्वार्थ प्राथमिक विषय हो। त्यसैले हामी कसैको प्राथमिकतामा हुँदैनौं। तटस्थता भनेको पक्ष नलिनु हो। दोस्रो राष्ट्रको तेस्रो राष्ट्रसँगको सम्बन्धमा पक्षधरता नराख्नु पनि तटस्थता नै हो। कांग्रेसले आफूलाई बीपीकै लाइनमा दह्रोसँग उभ्याउन सक्नुपर्दछ।

कहिलेकाहीं संगठनले तिनका संस्थापकहरूको विचारभन्दा फरक परिणामहरू उत्पन्न गराउन सक्दछन्। यसबाट संगठनहरूले आफ्नो स्वतन्त्र इच्छा आफैं प्राप्त गरेका र आफ्ना सहभागीहरूका उद्देश्यहरू भन्दा भिन्न किसिमका उद्देश्य आफैं स्थापित गरेका त होइनन् भने जस्तो देखिन आउँछ। यस अवस्थामा पार्टी बचाउन, आदर्शहरूको रक्षा गर्न पार्टीका सदस्यहरूले पार्टी कार्यकर्ताहरूको मस्तिष्क बदल्न संघर्षरत रहनुपर्दछ।

समाजको निर्मित संरचनाभित्र रही स्थायी प्रश्नकर्ताको रूपमा हरेक सदस्य उभिन तयार रहनुपर्दछ। हामीसँग विचार निर्माणका दुई विकल्प बाँकी रहन्छन्- संस्कार र चिन्तनको निरन्तरता तथा सिर्जनशील हस्तक्षेप।

मौन संस्कृतिको अन्त्य गरौं। प्रश्नसँग त्यो डराउँछ जोसँग उत्तर छैन वा उत्तर दिने हैसियत गुमाएको छ। प्रत्येक समाज प्रश्नवाचक, जिज्ञासा, असहमति तथा बहुलताकै माध्यमबाट अघि बढ्दछ। चेतनशील मानिसले नै समाजको सही नेतृत्व दिन सक्दछन्। यसका लागि दर्दनाक मानसिकता बदल्न जरूरी छ अन्यथा एक दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई बाटो देखाएको जस्तो हुनेछ।

पहाडको टाकुरामा ती व्यक्तिहरू मात्र चढ्न सक्दछन् जो कहिल्यै थाक्दैनन्। हरेक कांग्रेसले अब भन्नै पर्नेछ र गरेर देखाउनुछ- हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने छौं। यो समय इतिहासमा कांग्रेसले अर्को परीक्षा दिंदैछ, उत्कृष्ट लयमा उत्रन सक्नुपर्दछ।

(लेखक कांग्रेस महासमिति सदस्य हुन्।)

 



source https://www.onlinekhabar.com/2023/07/1335654

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More