कतिपय वन्यजीवहरु यस्ता छन् जसलाई मानिसले घृणा, भय, हिंश्रक तथा हेयको विम्ब भिराइदिएको हुन्छ । मिथक, अन्धविश्वास तथा किम्वदन्तीका कथानकहरुको टेकोमा नकारात्मकताको पर्याय बनाइएका अभागी वन्यजीव मध्ये गिद्ध पनि एउटा हो भन्दा फरक पर्दैन । सायद हाम्रो समाजमा यस्ता कुनै मान्यता, परम्परा तथा व्यवहारहरु छैनन् जसले गिद्धलाई राम्रो तथा असल रुपमा प्रस्तुत गरेको होस् । कसैलाई गलत नजरले हेर्नुलाई ‘गिद्धे दृष्टि’ भनिन्छ जबकि गिद्धले जिउँदो जीवमाथि कहिल्यै पनि आँखा लगाउँदैन र केवल मरेको सिनो मात्रै खान्छ ।
चलचित्र ‘लुट’को एउटा चर्चित संवाद छ ‘काठमाडौं शहर, हेर्दा लाग्छ रहर, साला गिद्धै गिद्धको शहर’ । यो संवादमा पनि गिद्धलाई नराम्रो ढंगले चित्रित गरिएको छ । सायद गिद्धप्रति मानिसको यस्तै नकारात्मक व्यवहारका कारण गिद्धैगिद्धको सहर भनिएको काठमाडौंबाट गिद्धहरु करीब लोप नै भैसकेका छन् भन्ने कुरा चलचित्रको कथाका लेखकलाई सायद थाहा नहोला ।
गिद्ध देख्दा आकर्षक हुँदैन र यो मानिससँग नजिकिने खालको मायालु व्यवहारको पनि हुँदैन । वास्तवमा जनावरको सिनोलाई आहारा बनाउने गिद्धको त्यही खाद्य व्यवहार नै गिद्धप्रति आम मान्छेको धारणा नकारात्मक बनाउने र उसलाई फोहोर, अशुद्धि र अपसकुनको प्रतीकको रुपमा हेरिने प्रमुख कारक तत्व हो । तर सिनो खाने गिद्धको त्यही बानी नै पर्यावरण चक्रको सन्तुलनमा कति महत्वपूर्ण हुन्छ भन्ने कमैलाई थाहा छ । गिद्धबारे आम सर्वसाधारणमा जानकारी तथा चेतनाप्रवाहका साथै गिद्धको संरक्षण र अनुसन्धानको काममा डेढ दशकयता अहोरात्र खटिएका छन् पंक्षविद् कृष्णप्रसाद भुसाल । गिद्धविज्ञको पहिचान बनाएका उनै भुसालले गिद्धका गुत्थी पर्गेल्दै तयार पारेको ‘गिद्धः प्रकृतिका कुचिकार’ शीर्षकको पुस्तक हालै बजारमा आएको छ ।
वास्तवमा गिद्ध कुनै अपसकुनयुक्त, हिंश्रक, घृणित तथा खराब पंक्षी होइन । मरेका जनावरको सिनो तथा फ्याँकिएका अन्य मासुजन्य फोहर पदार्थलाई खाइदिएर गिद्धले हाम्रो वरपरको वातावरणलाई प्रदूषित र दुर्गन्धित हुनबाट रोक्नुका साथै रोगमुक्त बनाउन पनि मद्दत गर्छ । त्यसैले जीव वैज्ञानिकहरु गिद्धलाई ‘प्रकृतीको कुचिकार’ भन्दछन् जसले प्रकृतिमा रहेका फोहोर अवशेषलाई सफाचट् पारिदिन्छ ।
पुस्तकमा चिन्ता व्यक्त गर्दै लेखक भुसाल भन्छन्– तीन दशक अघिसम्म लाखाँैको संख्यामा पाइने गिद्ध पछिल्ला दशकहरुमा मानवीय कारणले नै लोप हुने अवस्थामा पुगेका छन । गिद्ध लोप हुँदै जाँदा पर्यावरणीय सन्तुलनमा खलबली आएको छ र अन्ततः यसको असर मानव समुदायलाई नै परेको छ ।
एकसय पृष्ठको यो पुस्तक दुई खण्डमा विभाजन गरिएको छ । गिद्ध संरक्षण सचेतनाको प्रचारप्रसारका साथै संरक्षणमा आम जनसमुदाय र सरोकारवालाहरुलाई गोलबन्द गर्न र नयाँ पुस्तालाई गिद्धको अध्ययन तथा संरक्षणमा उत्पे्ररित गर्ने उद्देश्यका साथ पुस्तक तयार पारिएको बताउँछन् भुसाल ।
पुस्तकको पहिलो खण्डमा लेखकले गिद्धको परिचय, महत्व, पछिल्लो तीस वर्षको सिंहावलोकनका साथै गिद्ध संरक्षणको क्षेत्रमा नेपालमा भए गरेका प्रयासहरुबारे व्याख्या गरेका छन् । यो खण्डमा गिद्ध प्रजातिको उत्पत्ति, यसको भौगोलिक वितरण तथा फैलावट, गिद्ध संरक्षणका विषयमा विश्वव्यापी अवस्थाका साथै गिद्धका विशेषता, आनिबानी र प्रजननका विषयमा पनि मिहीन ढंगले यो खण्डमा प्रकाश पार्ने काम लेखकले गरेका छन् ।
डेढ दशकदेखि गिद्धको संगतमा रहेका भुसालले दोस्रो खण्डमा आफ्नो भोगाइ, सिकाइ र स्मरणहरु पस्किने काम गरेका छन् । आफ्नो जन्म जिल्ला अर्घाखाँचीको घेरालेक भन्ने अक्करे पहाडबाट गिद्ध अध्ययन–अनुसन्धानको काम सुरु गरेका भुसालले गिद्ध लगायतका विभिन्न पंक्षीहरुको वैज्ञानिक शोध तथा प्रशिक्षणको कामलाई केवल देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगतसम्म पनि फैलाइसकेका छन् ।
पुस्तकमा लेखकले आफ्नो गिद्धको अध्ययनका अनुभवहरु, फिल्डका भोगाइ, सिकाइ र संस्मरणहरुलाई जीवन्त ढंगले पस्किएका छन् । अर्घाखाँची जिल्लाको पश्चिमी गाउँमा गिद्ध लखेट्दै बिताएका लेखकका बाल्यकालका अनुभूतिहरु पढ्दा गाउँमा हुर्किएको जोकोही पाठक नोस्टाल्जिक हुन्छ । गिद्धको अनुसन्धान र संरक्षणकै सिलसिलामा देशका बिभिन्न भू–भाग र समुदायमाझ पुग्दाका रोचक र अनुकरणीय संस्मरणले पुस्तकलाई झनै पठनीय बनाएको छ ।
रंगीन पृष्ठहरु तथा विषयवस्तुसँगै दिइएका गिद्धसँग सम्बन्धित आकर्षक तस्वीरहरुले पुस्तकलाई तथ्यपरक तथा ओजपूर्ण बनाउने काम गरेका छन् । पाँच सय पचास रुपैयाँ मूल्य तोकिएको यो पुस्तकको बिक्रीबाट संकलित रकमलाई पनि गिद्धको अनुसन्धानमै खर्च गर्ने लेखक भुसालको सोँच छ ।
उनले पुस्तकबाट उठेको रकम गिद्ध अनुसन्धानमा इच्छुक विद्यार्थीहरुलाई अनुसन्धान वृत्तिको रुपमा उपलब्ध गराउने घोषणा पनि गरेका छन् । गिद्धको अनुसन्धान र संरक्षणका कार्यक्रमहरु मूूलतः बिदेशी दातृसंस्थाको सहयोगमा सञ्चालन भइरहेको यथार्थबाट परिचित भुसालले आफ्नो अनुसन्धानमूलक सिर्जनाको मूल्यलाई थप अनुसन्धानमा खर्चिने पहल गर्नु सह्रानीय काम हो ।
विगतमा वातावरण सम्बन्धी अखबारी लेखनमा आफूले सहयोग तथा सहकार्य गरेका सहपाठी मित्रले लामो तथा गहन अनुसन्धानबाट प्राप्त ज्ञानको पेटारोलाई समीक्षाका लागि पोल्टामा हालिदिँदा गर्वले छाति चौडा मात्र भएन मित्रवत सम्बन्धको बोझले पुस्तकको तटस्थ समीक्षामा प्रभाव पर्ने डर पनि पलाइरह्यो । राष्ट्रिय पत्रपत्रिकाहरुमा नियमित आलेखहरु लेखिरहने तथा देशका कुनाकाप्चाका मानिसका मनहरु छामेका लेखक मित्रले अनुसन्धानमा आधारित यो पुस्तकलाई क्लिष्टताभन्दा पर राखेर आमजनमानसले बुझ्ने भाषाशैलीमा प्रस्तुत गर्न सफल भएका छन् भन्नका लागि कन्जुस्याइँ गर्नु पर्दैन । विज्ञान तथा पर्यावरण सम्बन्धी अनुसन्धानमूलक अधिकांश किताबहरु अंग्रेजी भाषामा हुने र नेपाली आम सर्वसाधारणलाई गुह्य कुरा नै बुझ्न गाह्रो हुने गरेकोमा नेपाली भाषामा निकै सरल तथा सरस तरिकाले लेखिएको यो पुस्तक विद्यालय तथा समुदायतहसम्मै पुर्याउन सकियो भने गिद्ध सम्बन्धी सचेतना बढ्नुका साथै गिद्ध संरक्षणमा टेवा पुग्ने देखिन्छ ।
कतिपय मुद्राराक्षसगत त्रुटीका साथै शुद्धाशुद्धि, शब्द चयन र शब्द संयोजनका कतिपय सीमिततताका बाबजुत हिमाली अनुसन्धान केन्द्रले प्रकाशन गरेको यो पुस्तकलाई एउटा उत्कृष्ट अनुसन्धानमूलक कृति मान्न सकिन्छ । अतः युवा प्राणीशास्त्री तथा पंक्षीविद् कृष्ण प्रसाद भुसालको ‘गिद्धः प्रकृतिका कुचिकार’ पुस्तकको सफलताको कामना गर्दछु ।
source https://www.onlinekhabar.com/2023/07/1342570
0 comments:
Post a Comment