२३ असार, काठमाडौं । सरकारले विद्यालय तहको संरचना परिवर्तन गरी कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ । शिक्षा ऐन, २०२८ को आठौं संशोधनले विद्यालय तहलाई दुई तहमा स्तरीकृत गरेको छ ।
बाल कक्षादेखि ८ कक्षासम्म आधारभूत तह र कक्षा ९ देखि १२ कक्षालाई माध्यामिक शिक्षा । तर अझै पनि कक्षा ११ र १२ लाई उच्च शिक्षा कै रुपमा मानेको देखिन्छ ।
कुनै बेला साविकको एसएलसीलाई उच्च शिक्षा प्रवेश गर्ने ‘फलामे ढोका’ को रुपमा चित्रण गरिन्थ्यो । कक्षा ११ र १२ माध्यामिक शिक्षामा गाभिएपछि एसईई सामान्य परीक्षा सरह हो । तर विद्यालय, शिक्षक, अभिभावकले अहिले पनि एसईईको नतिजालाई लिएर ठूलो हल्ला गरिरहेको देखिन्छ ।
यस्तो अवस्थामा कक्षा ११ मा पढ्न जाने विद्यार्थीहरुमा एक किसिमको दबाव सिर्जना हुने शिक्षाविद् मिनाक्षी दाहाल बताउँछिन् । विद्यालय, शिक्षक र अभिभावकले उनीहरुको प्राप्ताङ्कलाई लिएर गर्ने प्रचारवाजीले मनोवैज्ञानिक रुपमा दबाब सिर्जना हुन्छ ।
बढी जीपीए ल्याएकालाई त्यही अनुसारको विषय रोज्नुपर्ने, कम जीपीए ल्याएकोलाई अरु जत्ति जीपीए नल्याएको हिनताबोध अथवा कमजोर मानसिकता लिने गरेको शिक्षाविद् दाहालको भनाइ छ ।
उनी भन्छन् ‘अहिले देखिरहनुभएको होला कतिपय विद्यालयले शतप्रतिशत जीपीए ल्याएको अथवा सबैभन्दा बढी जीपीए ल्याएको भन्दै बधाई दिइरहेका छन् । यसले बढी ल्याएकाले भारी अनुभव गर्ने र कम ल्याएकाले कमजोर अनुभव गर्छन् । यो अवस्थाबाट ११ मा भर्ना हुन जाने गरेको देखेको छु, भेटेको छु ।’
अझै पनि एसईई परीक्षालाई ठूलो खुड्किलोको रुपमा लिन नछाड्दा बालबालिकामा मनोवैज्ञानिक दबाब बढ्ने उनी बताउँछिन् । अहिले पनि बढी जीपीए ल्याउँदा विज्ञान, इन्जियिरिङ पढ्नपर्ने, मध्यम आउँदा व्यवस्थापन र सबै भन्दा कम जीपीए ल्याएकोले मानविकी अथवा शिक्षा संकाय रोज्न लगाउने, सुझाव दिने गरेको उनको अनुभव छ । ‘हाम्रो बढी अंक, जीपीएको धङधङीले बच्चाहरुमा अनावश्यक बोझ थपिरहेका छौं । अझ अनि हामी शिक्षाको कुरा गर्छौं,’ उनी भन्छिन् ।
एसईई अझ कुनै पनि परीक्षालाई सहज बनाउन शिक्षक, विद्यालय, अभिभावक संवेदनशील हुनुपर्ने र उनीहरुको स्वभाव, क्षमता अनुसार सहज वातावरण बनाउनुपर्ने शिक्षावि्द दाहालको तर्क छ ।
अहिले एसईई दिने विद्यार्थीहरु बीच किशोरावस्था उमेरमा हुन्छन् । अथार्त १५, १६ उमेर समूहका हुन्छन् । यो उमेरमा आफ्नो क्षमता, आफ्नो स्वभावको बारेमा बुझ्न सक्ने कम हुने शिक्षाविद् प्रा.डा.लक्ष्मण ज्ञवाली बताउँछन् ।
उनको भनाइ अनुसार मास एजुकेशनको, वरपर साथीभाइको, विभिन्न सञ्चार माध्यामले उनीहरुमा प्रभाव पार्छ । ज्ञवाली भन्छन्, ‘कलिलो मानसिक स्थितिका हुन्छन् । जता पनि लच्किने खालको हुन्छ । जे सुन्दा पनि ठीक लाग्ने अथवा केही पनि ठीक नलाग्ने मनोविज्ञानका हुन्छन् ।’
त्यसैले उनीहरुलाई यो बेला तिम्रो क्षमता, स्वभाव अनुसार कुन विषय पढ्ने र कसरी पढ्ने भन्ने विषयमा परामर्शको, सल्लाहको आवश्यकता पर्ने उनको भनाइ छ । विद्यार्थी पढेको विद्यालयले विद्यार्थीलाई नजिकबाट बुझेको हुने भएकोले उपयुक्त विषय रोज्न परामर्श दिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ । भर्ना लिने विद्यालयले पनि विद्यार्थीको स्वभाव, क्षमता बुझेर परामर्श दिएर भर्ना लिनुपर्ने ज्ञवालीको तर्क छ ।
ज्ञवालीको भनाइसँग एसईईको नतिजा लिएर बसिरहेकी १७ वर्षीया अस्मिता चौलागाईंको अनुभव मिल्न जान्छ । अहिले उनी के पढ्ने भन्ने अन्योलमा छिन् ।
अन्तर्खुमी स्वभावकी अस्मितालाई यदि विद्यालयले तिम्रो यो क्षमता अथवा स्वभाव यो छ भनिदिएको भए उनलाई अहिले के पढ्ने भन्ने सकस नहुन सक्थ्यो । तर कक्षा १० सम्म मात्र भएको विद्यालयमा पढेकी अस्मितालाई अहिले अब के पढ्ने भन्ने विषयले मात्रै नभएर अर्को विद्यालयमा भर्ना हुन जाँदा के हुने कस्तो हुने भन्ने संशयले पनि पिरोलेको छ ।
उनी भन्छिन्, ‘स्कुलमा सरहरुले तिमी यो पढ भन्नुभएको भए अलि सहज हुन्थ्यो कि । अब दाई दिदीले के भन्नुहुन्छ त्यहि पढ्ने होला ।’
अस्मिताको अनुभवबाट विद्यार्थीको दोधारे मनोविज्ञानलाई विद्यालयले नै सहज बनाउने प्रयास गर्ने तर्फ ध्यान पुगेको देखिँदैन । अब भर्ना खुलाउने, लिने विद्यालयहरुले विद्यार्थीको के कस्तो विषय पढ्ने भन्ने दुविधा हटाउनको लागि सहजीकरण गर्नुपर्ने देखिन्छ ।
source https://www.onlinekhabar.com/2023/07/1333339
0 comments:
Post a Comment