Tuesday, 3 March 2020

प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरमा हुनेछन् चारवटा मिर्गौला

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरुले बताएका छन् ।

डा.ऋषि कुमार काफ्लेले अनलाइनखबरसँग भने, ‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुनेछन् ।’

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् ।

डा. काफ्लेले अनलाइनखबरसँग भने, ‘पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुन्छ, त्यसलाई हटाउन समय धेरै लाग्ने भएकाले कुनै पनि डाक्टरहरुले त्यस्तो झन्झट गर्दैनन् ।’

उनले भने, ‘पुरानो मिर्गौलाले दुई–चार पर्सेन्ट काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ ।’

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुबै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीको बिभिन्न परीक्षणहरु गरिएको र नयाँ मिर्गौला शरीरले स्वीकार्न सजिलो बनाउने आवश्यक औषधिहरु दिइएको चिकित्सकहरुले बताएका छन् ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डाक्टरहरु अनन्त कुमार पनि भारतबाट काठमाडौंमा आएका छन् । उनीहरुलाई ब्याकअपको रुपमा राखिएको त्रिवि शिक्षण अस्पताल स्रोतले बतायो ।



source https://www.onlinekhabar.com/2020/03/841471

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More