७ असार, काठमाडौं । हरेक खेलाडीका लागि आफ्नो करिअरको उच्चतम लक्ष्य भनेको ओलम्पिक हो । नेपाल जस्तो देशबाट खेलाडीका रूपमा ओलम्पिकमा प्रतिनिधित्व गर्नु नै ठूलो सफलता हो । तेक्वान्दोकी निशा रावलले यो सफलता ८ वर्षअघि नै पाइसकेकी हुन् ।
नेपालको खेलकुदमा तेक्वान्दोको छुट्टै विरासत छ । सन् १९८८ को सियोल ओलम्पिकदेखि तेक्वान्दो खेलाडीले छाडेको छाप पछ्याउँदै सन् २०१६ को रियो ओलम्पिक खेलेकी निशाले २८ वर्षको उमेरमै आफ्नो भूमिका फेर्ने निधो गरेकी छन् । ओलम्पिक अनुभव लिएकी निशा अब आफ्ना ‘चेला’हरूलाई ओलम्पियन बनाउने लक्ष्यमा छिन् ।
एकल खेल विधा तेक्वान्दोमा सक्रिय खेलाडीका लागि यो उमेर ऊर्जाशील समय हो । सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुदमा रजत जितेयता निशा खेलाडीका रूपमा देखिएकै छैनन् । बरु एकाएक प्रशिक्षकका रूपमा प्रकट भएकी छन् । त्यो पनि राष्ट्रिय टिमकै ।
नेपालको खेलकुदमा हिजोआज खेलाडी पलायनको समस्या विकराल बन्दैछ । यसले राष्ट्रिय टिमको सन्तुलनमै असर पार्न थालेको छ । करिब एक दशकको सक्रिय करिअरबाट अनौपचारिक रूपमा बिदा लिए पनि निशाले खेल छाड्न सकिनन् । तेक्वान्दो उनले रहरले सुरु गरेकी थिइनन्, दुई दशकपछि उनी यो खेल छोड्न नसक्ने अवस्थामा पुगेकी छन् ।
कोरोना महामारीका कारण लकडाउन लागू हुँदा नियमित प्रशिक्षण मिलेन । त्यसले उनको फिजिकल फिटनेस र स्टामिनामा ह्रास ल्यायो । त्यसले खेलाडी जीवनलाई अन्त्य गर्नेतर्फ सोच्न बाध्य बनायो ।
‘अन्तर्राष्ट्रिय रूपमा नसके पनि घरेलु प्रतिस्पर्धामा अझै केही वर्ष राम्रो गर्न सक्थें । तर, नेपालमा मात्रै जितेर के गर्ने’ निशाले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘मेरो कारणले अरूले अवसर पाइरहेको छैन भने मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने लाग्यो ।’
निशा लेभल टू तेक्वान्दो प्रशिक्षक हुन् । यो स्तरले उनी एसियन च्याम्पियनसिप वा एसियाली खेलकुदसम्मको प्रतियोगिताका लागि प्रशिक्षक बन्न पाउँछिन् । आसन्न १९औं एसियाली खेलकुदमा तेक्वान्दो राष्ट्रिय टिमको प्रशिक्षकमा उनी पनि छिन् ।
५ जेठमा लेभल टू प्रशिक्षण कोर्स उत्तीर्ण गरेपछि उनले १५ देखि २१ जेठ, अजरबैजानको बाकुमा भएको तेक्वान्दोको वर्ल्ड च्याम्पियनसिपमा प्रशिक्षक बनेर पहिलोपल्ट नेपाल टिमको प्रतिनिधित्व गरिन् ।
‘खेलाडी हुँदा आफू एक्लैले कसरी खेल्ने भन्ने जिम्मेवारी हुन्थ्यो । अब देशका लागि खेल्ने सबै खेलाडीको बारेमा सोच्नुपर्छ’ पहिलो अनुभव सुनाउँदै निशा भन्छिन्, ‘कार्डमा प्रशिक्षक भनेर उल्लेख हुँदा नै छुट्टै जिम्मेवारीबोध हुने रहेछ ।’
ओलम्पिकसहित निशालाई धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव छ । तर, प्रशिक्षकका रूपमा हुने भूमिका पूरा गर्न सक्नेमा उनी चिन्तित थिइन् । खेलाडीलाई मानसिक र शारीरिक रूपमा तयार गर्नेदेखि प्रतियोगिता र खेलको दिन पनि प्रशिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । निशाले प्रशिक्षक बन्न कति दुःख हुने रहेछ भनेर बल्ल बुझ्न थालेकी छन् ।
‘रिङ बाहिर बस्दा पनि उत्तिकै ध्यान हुँदोरहेछ । मैले मेरो खेलाडीका लागि अंक छुटाउँछु कि भनेर सजग भइँदो रहेछ । आफू खेल्दा प्रशिक्षकको भूमिका थाहा हुँदैनथ्यो तर अहिले म खेलाडीको पीडा पनि बुझ्छु, प्रशिक्षकको मर्म पनि थाहा पाउँदैछु’, निशा भन्छिन् ।
निशाले राष्ट्रिय टिमका लागि औपचारिक प्रशिक्षकका रूपमा काम थालेको ६ महिना भयो । टिममा अहिले पनि उनीसँगै खेलेका र उत्तिकै अनुभव भएका खेलाडी छन् । जसका कारण उनी सुरुवाती दिनहरूमा हतोत्साही थिइन् । पछि बानी पर्दै गयो ।
लेभल थ्री प्रशिक्षण कोर्ष गर्ने लक्ष्य राखेकी निशाले दैनिक भिडियो र युट्युबमार्फत आफूलाई अपडेट राखिराखेको बताइन् । भन्छिन्, ‘केही नयाँ दिन र आफ्नो खेलाडीलाई अब्बल बनाउन म पनि अपग्रेड हुनुपर्छ । त्यसैले इन्टरनेटबाट हेरेर प्रशिक्षणका लागि तयार हुन्छु ।’
उनी हरेक पटकको प्रशिक्षणपछि खेलाडीसँग प्रतिक्रिया लिन्छिन् । आफूलाई सुधार्न प्रयास गरिरहेकी छन् । सुरुमा राष्ट्रिय बी टिमलाई प्रशिक्षण गर्दै यहाँसम्म आउँदा आफूलाई निकै आत्मविश्वास बढेको उनी बताउँछिन् ।
उनी ‘लेभल थ्री कोचेज’ को कोर्स गरेर एक पटक आफैं पुगेको ओलम्पिकसम्म प्रशिक्षकको रूपमा पुग्न चाहन्छिन् । त्यो नै उनको अन्तिम लक्ष्य हो । ‘२०१६ पछि अहिलेसम्म नेपालबाट तेक्वान्दोमा कोही पनि ओलम्पिक जान पाएको छैन । मेरो इच्छा मेरो प्रशिक्षणमा कुनै खेलाडी ओलम्पिकमा छनोट होस्’, उनी भन्छिन् ।
निशा आफ्नो रुचिले यो खेलमा लागेकी होइनन् । नेपाल पुलिस क्लबका पूर्व खेलाडी समेत रहेका बुबा रोहितकै जोडबलमा तेक्वान्दो सिकेकी निशाले नेपालका सीमित ओलम्पियनको सूचीमा आफ्नो नाम राख्न सफल हुनुलाई भाग्यमानी ठान्छिन् ।
तीन वटा राष्ट्रिय खेलकुद खेल्दा सातौं (२०७३) र आठौं (२०७६)मा स्वर्ण पदक जितेकी थिइन् । विभागीय टोली त्रिभुवन आर्मीबाट खेलेकी निशाले हालसम्म राष्ट्रिय प्रतिस्पर्धामा सात स्वर्ण, ३ रजत र एक कांस्य जितेकी छन् ।
सन् २०१४ मा काठमाडौंमै भएको दोस्रो एभरेष्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले स्वर्ण जितेपछि सोही वर्ष इन्चोन एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिन् । उनी एसियाडमा पाँचौं भएकी थिइन् । सोही आधारमा उनको ओलम्पिक सहभागिता बनेको हो ।
source https://www.onlinekhabar.com/2023/06/1325754
0 comments:
Post a Comment