Tuesday 20 June 2023

वलहठ : आयतत सनमलई परतवनध लगएर घरल सनमक उतथन

यदाकदा हामीभित्र ‘राष्ट्र प्रेम’ यसरी भुलुक्क उम्लिन्छ, आन्दोलित मनलाई थामथुम पार्नै कठिन हुन्छ । अहिले दक्षिण भारतिय फिल्म ‘आदिपुरुष’को एउटा संवादलाई लिएर नेपाली मनमा यस्तै आँधी उछालिएको छ । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवादमाथि नेपाली चित्त दुखेको हो ।

किनभने हाम्रो ठहरमा त्यो फगत संवाद मात्र होइन, जालसाझी हो । हाम्रो आस्था, अस्तित्व र अस्मितामाथिको हेपाई हो । हाम्रो पौराणिक विरासतमाथिको खेलाँची हो ।

यो चित्त दुखाई त्यती सस्तो छैन । यसले ‘आदिपुरुष’लाई आच्छु-आच्छु बनाइदिएको छ ।

देशभरका सिनेमा घरबाट आदिपुरुषको शो हटाइएको छ । एउटा जमात सिनेमा घरमा टाँगिएको पोस्टर च्यात्न हतारिएका छन् । आदिपुरुषको ‘झेली संवाद’ नसच्याएसम्म काठमाडौंका हलहरुमा कुनैपनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन्द्र शाहको चेतावनीले अर्को झट्का दिएको छ ।

नेपालकी धर्ती पुत्री जानकीलाई परायले ‘हाम्री छोरी’ भनी हकदावी गर्दा हाम्रो रक्तचाप बढ्छ । लिपुलेकको चुच्चे नक्सालाई नेपालको मानचित्रबाट हटाउँदा ‘देशभक्त’ नेपालीलाई जति झोंक चलेको थियो त्यो भन्दा बढ्दा कन्पारो त आदिपुरुषको संवादले तात्छ । आयतित सिनेमाको कुनै पात्रद्वारा बोलिएको संवादले हामीलाई किन यतिविध्न उद्वेलित र उत्तेजित बनाउँछ ?

हुनसक्छ, यहाँ कसैलाई लोकप्रियता र चर्चाको भोक छ । हुनसक्छ, कसैलाई अन्ध राष्ट्रवादले उक्साएको छ । यी दुईथरी प्राणीलाई पन्छाएर विमर्श गर्ने हो भने यसको अन्तर्य र आयम फरक देखिन सक्छ ।

किनभने हाम्रो अल्पज्ञानले बुझेजस्तो ‘हल्का रमाइलो’ मात्र होइन, सिनेमा । यो कलाले सुशोभित दस्तावेज हो । मान्छेको जीवन पद्दती र दर्शनमाथि थाहै नपाई हस्तक्षेप गर्ने सप्तरंगी हतियार हो । दुनियाँलाई क्षणभरमै सम्मोहित बनाउने सांस्कृतिक जादू हो ।

संक्रामक सिनेमा ?

जहाँ–जहाँ सिनेमाले परिक्रमा गर्छ, त्यहाँ–त्यहाँ यसको नौरंगी पदचाप पनि छाडिने गर्छ । त्यही पदचाप पच्छ्याउँदै हामी थाहै नपाई अरु कसैको रहनसहन, बोलीचाली, वेशभूष, खानपानमा लपेटिन पुग्छौं । आयतित सिनेमाले गर्नसक्ने सांस्कृतिक विस्तार वा अतिक्रमण यही हो ।

आज हाम्रा अवोध छोरोले उल्कै मन पराएर खेल्ने ‘ट्रान्सफर्मर्स टोय कार’ कहाँबाट आउँदैछ ? आज हाम्री छोरीले हत्ते गरेर किन्न लगाउने ‘बार्बी डल’ कसले बनाउँदैछ ? आज हाम्रा छिमेकी दिदी÷वहिनीको विवाहमा आयोजित थरीथरी ‘सेरोमनी’ कताबाट प्रेरित छ ? आज हाम्रो चाडपर्वमा घन्किने ‘काला चस्मा’ कसले रच्दैछन् ? हाम्रो आङ ढाक्ने पहिरन, हाम्रो आँत तृप्त बनाउने व्यञ्जन, हाम्रो उत्सव मनाउने पारा कहाँबाट सिको गरिदैछ ?

आयतित सिनेमा, शृंखला नै यसको यसको मूल स्रोत हुन् ।

नेपालको कुनै भू-भागमा हुने सीमा अतिक्रमण भन्दा भयानक सांस्कृतिक हस्तक्षेप हो, जुन आज हाम्रो घर-भान्सासम्म आइपुगेका छन् । किनभने देश भनेको भूगोल मात्र होइन । यो त नेपाली मन र नेपाली पनलाई अभिन्न रुपमा जोड्ने कला, संस्कृति, रहनसहनको सीमाहीन फैलावट हो ।

दशैंको तिथिमा जहाँ–जहाँ मालाश्री धुन बज्छ, उभौली-उधौलीमा जहाँ जहाँ साकेला नाचिन्छ, असार पन्ध्रमा जहाँ-जहाँ दही चिउरा खाइन्छ, तीहारमा जहाँ–जहाँ देउसी भैलो भट्याइन्छ त्यहाँ-त्यहाँ विस्तारित हुन्छ देश । त्यहीँ -त्यहीँ  हुन्छ नेपाली मन र मुटु पनि । भौगोलिक मानचित्र फगत देश होइन ।

जब-जब हाम्रा यी रीतिथीति, विश्वास पद्दती, जीवनशैलीमाथि हस्तक्षेप हुन थाल्छ, तब हामी यता न उताको हुनपुग्छौं । आयतित सिनेमा, शृंखलाको प्रभावमा हुनसक्ने खतरा यही हो ।

त्यसो भए ति सिनेमाहरुको अतिक्रमण रोक्न ‘पूर्ण प्रतिवन्ध’ लगाउने ? वा ज्ञानेन्द्र शाहीहरुले भने झै ‘कोटा प्रणाली’ लागु गरेर घरेलु सिनेमाको उत्थान गर्ने ?

यी तरिकाहरु न विवेवसम्मत छ, न विज्ञान ।

गाँठी कुरा के पनि भने, सिनेमा आफैमा संक्रामक भने हुँदैन । वर्तमान युगको सर्वाधिक उन्नत र सर्वप्रीय कला हो यो । तर, हरेक कमजोर वस्तुमाथि वलशाली वस्तु हावी हुने प्राकृतिक सत्य सिनेमाको हकमा पनि लागु हुन्छ ।

ठीटलाग्दो कुरा त के भने, हाम्रो सिनेमा आफैमा आयतित सिनेमाका सह-उत्पादन जस्ता छन् । यदि घरेलु सिनेमाले आफ्नै अवयव निर्माण गर्न सकेको भए, आफ्नै इन्द्रियहरुलाई जागृत गर्न सकेको भए, आफ्नै प्राणायामले प्राण भर्न सकेको भए, आयतित सिनेमाको यतिविध्न विगविगी हुदैनथ्यो ।

कसले कमजोर बनायो सिनेमा ?

त्यसो भए नेपाली सिनेमालाई तागतिलो र आफ्नै खुट्टामा उभिन सक्ने बनाउनबाट कसले रोकिरहेको छ त ?

फिल्मकर्मीले ? लगानीकर्ताले ? पटकथाकारले ? हल संचालकले ? वितरकले ? वा घरेलु सिनेमालाई माया नगर्ने दर्शकले ?

वजेट र बजारको आकारलाई आंकलन गरेर भन्ने हो भने, नेपाली फिल्ममेकरले जसरी सिनेमा निर्माण गरिरहेका छन् त्यो अतुलनिय छ । हिन्दी सिनेमाको एउटा आइटम नृत्य छायांकन गर्ने रकमले नेपालमा चार वटा सिनेमा निर्माण हुन्छ । नेपाली फिल्ममेकरले गर्ने बेहिसाव श्रमलाई तुलना गर्ने हो भने अहिले जे–जस्तो सिनेमा बनिरहेका छन्, त्यसको उछितो काड्नु त्यती न्यायोचित छैन । त्यसो भए घरेलु सिनेमालाई पोलियोग्रस्त बनाउनमा को जिम्मेवार छ ?

शासक–जसले सिनेमाको सौन्दर्य, शक्ति र सुगन्ध महसुष गर्नै सकेन । बेलाबखत फिल्मकर्मीले गर्ने निमन्त्रणामा पुगेर ‘देशप्रेम झल्किएको कथा’ भनी टिप्पणी गर्ने, लोकप्रियताका लागि ‘विदेशी फिल्म प्रतिवन्ध गर्नुपर्छ’ भनी भाषण ठोक्ने बाहेक ठोस काम गर्न सकेन, जानेन वा चाहेन ।

कथित वुद्धिजीवि– जसले सिनेमाको मर्म, महत्व र मधुरता अनुभूत गर्नै सकेन । सिनेमालाई ‘हल्का मनोरञ्जन’को कोटीमा राखेर यसलाई समय कटाउने वाहानाको रुपमा मात्र बुझे ।

नीति-निर्माता, शासक, बुद्धिजीविले सिनेमालाई सही रुपमा बुझ्न, सुन्न, हेर्न र मन्थन गर्न सकेको भए हास्यस्पद ढंगमा अन्धधुन्ध यसो भन्नु पर्दैनथ्यो, ‘विदेशी फिल्म रोकौं, नेपाली फिल्मको उद्वार गरौं ।’



source https://www.onlinekhabar.com/2023/06/1325266

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More