दैनिक जीवनमा प्रयोग हुने अधिकांश वस्तु प्लास्टिकबाट बनेका छन् । अरू त छोडौं चामल र अण्डासम्म प्लास्टिकको पाइयो भन्ने समाचार आए । शरीरका बाहिरी मात्र होइन भित्री अंगहरू समेत प्लास्टिकबाट बनाइएको छ भन्ने सुनिन्छ, हो पनि । बिजुली, मोबाइल, इन्टरनेट विनाको जीवन कल्पना गर्न नसकिए झैं सम्झी ल्याउँदा प्लास्टिक नहुन्थ्यो भने मानव जीवन कसरी चल्थ्यो जस्तो लाग्छ ।
प्लास्टिक मानिसको जीवनको अभिन्न अंग र अपरिहार्य वस्तुको रूपमा स्थापित भएको तर यसले स्वयं मानिस र वातावरणलाई गम्भीर हानि गर्ने कुरालाई इंगित गर्दै यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिकजन्य प्रदूषणको निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने तय गरिएको छ ।
आशा गरिएको छ कि यो ५०औं अर्थात् स्वर्ण दिवसको अवसरले संसारलाई प्लास्टिकको नकारात्मक पक्षको बारेमा जानकारी दिन्छ, सचेत गराउँछ र अबका दिनमा यसको प्रयोगमा कमी आउनेछ ।
वास्तवमा प्लास्टिकको अस्तित्व मानव जीवनसँग जोडसँगले गाँसिएको छ । जानेर बाहिरी समान प्रयोग त गरिएकै छ, पूरा थाहा नभए पनि शरीरभित्र केही अंगहरू प्लास्टिकका लगाइएका होलान् भन्ने हेक्का छ । तर, नजानेर हामीले प्लास्टिक खाइरहेका पनि छौं । हाम्रो जीवन मात्र होइन सिंगो प्रकृति नै प्लास्टिकमय छ । त्यसैले हामीले पिउने पानीमा, फेर्ने हावामा, खाने खाद्यान्नमा मात्र होइन नुनमा समेत प्लास्टिक पाइएको छ । यति चिजमा भएपछि अब हामी कसरी भन्न सक्दैनौं कि हाम्रो जीउभित्र कोष-कोषमा प्लास्टिक छैन भनेर !
प्लास्टिक सस्तो छ, दिगो छ, दह्रो छ, सबैतिर उपलब्ध छ, बोकिहिंड्न हलुका छ । त्यसैले त यो प्रख्यात र लोकपि्रय छ । फेरि, मानिसले यसलाई धेरै अघिदेखि नै प्रयोग गर्दै आएका भने होइनन् । दोस्रो विश्वयुद्धका बेला यो वस्तु चलनमा ल्याइयो । त्यसपछि विश्वव्यापी बन्दै आयो । आजका दिनमा आइपुग्दा विकल्पविहीन अति आवश्यक वस्तुको रूपमा स्थापित भएको छ । नकुहिने विशेषता बोकेको कारणले प्लास्टिक वातावरणको शत्रु सावित भएको छ । अर्कातिर यसको प्रयोग र उत्पादन बढिरहेको छ ।
तसर्थ, प्लास्टिक व्यवस्थापन आजको ठूलो चुनौतीको रूपमा छ । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको तथ्यांक अनुसार हरेक वर्ष विश्वमा ४३ करोड टन प्लास्टिक उत्पादन हुने गर्छ । त्यसमध्ये करिब दुई करोड ३० लाख टन प्लास्टिक पानीमा मिसिन्छ । विगत ५० वर्षदेखि उत्पादन र बजारीकरणमा तीव्रता लिएको अब २० वर्षमा दोब्बर र ४० वर्षमा यदि कुनै न्यूनीकरणको प्रयास गरिएन भने उत्पादन र बजार तीन गुणा बढेर जानेछ ।
समुद्रमा मिसिएको प्लास्टिककै कारण समुद्रको पानीबाट बनाइएको नुनमा प्लास्टिक मिसियो । त्यस्तै समुद्रका माछा तथा अन्य खाद्यान्नमा पनि प्लास्टिक मिसिएर आउँछ । एक तथ्यांक अनुसार समुद्रका कम्तीमा आठ सय जीव-प्रजातिहरू प्रभावित छन् । उनीहरूका जीउमा प्लास्टिक भेटिएको छ । जलीय मात्र होइन स्थलीय जनावरहरूका शरीरमा प्लास्टिक पसेको छ । करिब ९० प्रतिशत चरा र माछाको जीउमा प्लास्टिकको अंश पाइएको छ । अरूको मात्र होइन मान्छेको जीउमा स्नायुकोष, प्रजनन् कोष, मिर्गौलाको कोष (नेफ्रोन) कलेजो, मुटु आदिमा माइक्रोप्लास्टिक पाइयो ।
फ्रोन्टिअर अफ केमेस्ट्री भन्ने विज्ञान पत्रिकामा छापिएको लेख अनुसार एक लिटरको प्लास्टिकको बोतलमा भरिएको पानीमा ३२५ वटा प्लास्टिकका कणहरू पाइएको थियो । यो संयुक्त राज्य अमेरिकाको अनुसन्धान प्रतिवेदन हो । यसै स्रोतका अनुसार एक वयस्क अमेरिकीको जीउमा प्रति वर्ष एक लाख माइक्रो प्लास्टिक प्रवेश गर्छ ।
यस आधारमा भन्न सकिन्छ हामी जब प्लास्टिक बोतलमा राखिएको र प्लास्टिकको गिलासमा पानी पिउँछौं, प्लास्टिकका प्याकेटमा राखिएका वस्तुहरू खान्छौं भने शरीरमा प्लास्टिक पस्छ, बस्छ र सन्तानमा विस्तार हुन्छ ।
प्लास्टिक हानिकारक छ किनकि यसको स्रोत पेट्रोलियम पदार्थ हो । ९८ प्रतिशत प्लास्टिक पेट्रोलियम पदार्थबाट बनेका हुन्छन् । वातावरणका लागि यो वस्तु हानिकारक यस कारण पनि छ कि व्यवस्थापनमा कठिनाइ छ । जलाउँदा पनि धुवाँमा साह्रै हानिकारक रसायनहरू हुन्छन् । माटोमा परे नकुहिने । अनि, अधिकांश प्लास्टिकका सामग्री एक पटक प्रयोग गरेर फालिन्छ । यसैले प्लास्टिकजन्य फोहोरको मात्रा बढिरहेको छ ।
ठूलोे मात्रामा असाध्यै र अनियन्त्रित वातावरणीय क्षति प्लास्टिकबाट हुँदैछ भन्ने कुुरा यसको उत्पत्तिसँगै औंल्याइएको हो । वैज्ञानिकहरूले चुनौती देखाउँदा देखाउँदै पनि उपभोक्ताको माग र उद्योगी तथा व्यापारीको बजार विस्तारीकरणको कारण चुनौतीलाई कसैले स्वीकार गर्न सकेनन् । तथापि अझै वैज्ञानिक गलेका छैनन् । निरन्तरको प्रयासमा वैज्ञानिकहरूले नाम ‘प्लास्टिक’ नै राखेर अर्को वस्तु बनाए र प्लास्टिककै जस्तै सामग्री बनाएका छन् । तर, यसरी बनाइएको ‘प्लास्टिक’को कच्चा पदार्थ वा स्रोत अरू नै छन् । यो ‘प्लास्टिक’ कुहिने प्रकृतिको छ । यसले प्लास्टिकलाई विस्थापित गर्ने विश्वास लिइएको छ । जैविक स्रोत जस्तै वनस्पति, प्राणी आदिको जीउबाट निकालिएको कच्चा पदार्थबाट बनाइएको कुहिने र वातावरणलाई हानि नगर्ने प्लास्टिकलाई बायोप्लास्टिक भनिन्छ । बायोप्लास्टिकको उत्पादन र प्रयोग पछिल्ला वर्षमा राम्रै देखिएको छ ।
त्यस्तै, प्लास्टिकको विकल्पको रूपमा वैज्ञानिकहरूले कागजलाई पहिलो प्राथमिकतामा राखेका छन् । जस्तै प्लास्टिकका गिलास र पोलिथिन ब्यागको ठाउँमा कागज प्रयोग गर्न सकिन्छ । साथै कार्डबोर्ड, ग्लास, स्टिल, प्लाटिनम, सिलिकन, काठ, रूखका पात र बोक्रा आदिलाई प्लास्टिकको विकल्पको रूपमा प्रयोग गर्न प्रेरित गरिएको छ । यी सबै कच्चा वस्तुको संभावना निकै राम्रो र शतप्रतिशत वातावरणमैत्री हुने आशा लिइएको छ ।
प्लास्टिकको अर्को विकल्प भनेको सोच वा मनस्थिति हो । मानिसले आफ्नो बानी तथा व्यवहार सुधार गर्ने सोच तयार गर्नुपर्ने हुन्छ । सकेसम्म विकल्प रहुन्जेल प्लास्टिकका पातला झोला वा पोलिथिन ब्यागको प्रयोगलाई निरुत्साहन गर्न आवश्यक छ ।
पातलाभन्दा पनि अलि मोटा झोलाहरू खरिद गरी पुनः प्रयोग गर्ने प्रयास गरौं । प्लास्टिकजन्य फोहोरलाई न्यूनीकरण गर्न सकारात्मक सोचका साथ लागौं । प्लास्टिकका भाडावर्तनको सट्टामा माथि उल्लिखित पदार्थका सामग्रीहरू प्रयोग गर्न सोच बनाऔं ।
(स्वतन्त्र वातावरण पत्रकारसमेत रहेका लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राध्यापन गर्छन् ।)
source https://www.onlinekhabar.com/2023/06/1317791
0 comments:
Post a Comment