अमेरिकाको दक्षिणपूर्वी सीमान्त राज्य नर्थ क्यारोलिनाको एउटा सिनेमा हलमा सुटुक्क छिरें र आफ्ना लागि निर्धारित कुर्सीमा टुसुक्क बसें । छेउमा एउटा भारतीय परिवार बसेको रहेछ– श्रीमान्, श्रीमती अनि आठ–दश वर्षको छोरा । फुच्चे मेरो नजिकै थियो– मेरो सँगै टाँसिएको कुर्सीमा ।
फिल्म सुरु हुन केही बेर बाँकी थियो । ऊ चिच्यायो– ‘सीता मैयाँ की जय !’ ऊ मैयाँ भन्छ, म माता भन्छु । सीता, उसको देशकी बुहारी र मेरो देशकी चेली । तर भावना उस्तै हो । थाहा छैन, ऊ सीतालाई आफ्नै देशकी चेली ठान्छ वा मेरो देशकी ?
अथवा यसो पनि हुन सक्छ, उसलाई मेरो देशका बारेमा थाहै छैन । यहाँको सिनेमा घरमा जस्तै वास्तविक जीवनमा पनि हामी छिमेकी हौं भन्ने मर्म उसले नबुझेको हुन सक्छ ।
आदिकवि वाल्मीकिले आफ्नो रामायणमा सीताको महिमामण्डित चरित्रको बखान के गरेथे, जनककी छोरी र रामकी पत्नी उनी सार्वजनिक पात्र बनिन् । मन्त्रदेखि उखानसम्म, गीतदेखि महाकाव्यसम्म, पँधेरादेखि सिनेमाघरसम्म र लोकवार्तादेखि रामलीलासम्म सर्वत्र सीताकै बखान छ ।
यही बखानलाई ब्युँताउँदै बेला–बेला कथा–व्यापारीहरू सल्बलाउँछन् र हामी जस्ता ग्राहकहरू उनीहरूको तिलस्मी मोह–मदिराको प्रभावमा बहस गर्न थाल्छौं । आजकाल ‘आदिपुरुष’ को पुडिया फ्याँकेर बजारमा नयाँ बहस जन्माइएको छ । बहसको केन्द्रमा छ– सीताको जन्मथलो ।
बहस न हो– जसको तर्कले आफ्नो बुद्धिलाई प्रभाव पार्छ, रुझान त्यतै ढल्किन्छ । तर म सकेसम्म निरपेक्ष बस्ने प्रयास गर्छु । मलाई सीताको जन्मथलोको बहसले अत्याउँदैन । मैले पढेको र बुझेको यही हो– सीताको जन्म नेपालको जनकपुरधाममा भएको हो ।
कतिपटक जनकपुरमा टेक्दा सीताको माइतीघर पुगेको अनुभवले पुलकित भएको छु । सीताले बाललीला देखाएका खेत र गराहरू हेर्छु । लुम्बिनी पुग्दा पनि मलाई त्यस्तै अनुभूति हुन्छ । म अनुभवले बनेको मान्छे । मेरो अनुभव कसैले चोरेर चोरिंदैन । मलाई आफ्नो अनुभवभन्दा ज्यादा संसारको कुनै कुराले प्रभाव पार्दैन । जे छ, मात्र मेरो अनुभवमा सीमित छ । बाँकी फगत मिथ्या र निरर्थक ।
मलाई वाल्मीकि र तुलसीदास साँच्चै बाठा लाग्छन् । उनीहरू राम र सीताका माध्यमबाट पौरुष र नारी दर्शनको वकालत गर्छन् । यी दुईको सामञ्जस्यलाई नै जीवनको सम्पूर्णता बताएर रामायणमा उतार्छन् । सायद जीवनको अर्थ स्त्री–पुरुषको सहयोग र सहयात्रामै लुकेको छ । र, यो दर्शनलाई सर्वाधिक अर्थ प्रदान गर्छ, सीताको चरित्रले । त्यसैले म सीतालाई व्यक्ति मान्दिनँ, इनर्जी मान्छु, दर्शन अनि चिन्तन मान्छु ।
मलाई सीताको मूर्तभन्दा अमूर्त स्मृति प्यारो लाग्छ । म सीताको निष्ठा, समर्पण र पवित्रताको आख्यानलाई सम्मान गर्छु । मेरा लागि सीताको चरित्र प्यारो र अनुकरणीय छ । कर्तव्यनिष्ठ, स्वाभिमानी र स्वविवेकी नेपाली छोरी–चेलीहरूमा म सीताको प्रतिरूप पाउँछु । सीता मेरानिम्ति व्यक्ति कम, व्यक्तित्व ज्यादा हुन्, जसको अनुसरणले जीवन सफा र सरल बन्छ भन्ने मेरो मान्यता छ । तर कथा–व्यापारीहरूलाई यो कुरासँग कुनै लिनुदिनु छैन सायद । उनीहरू शान्त पोखरीमा एउटा ढुंगा फाल्छन् र कृत्रिम लहर सिर्जना गरिदिन्छन् ।
यही नै उनीहरूको प्रकृति र प्रवृत्ति हो । यही लहरले समाजका अनेकौं पात्रलाई उद्वेलित तुल्याइदिन्छ र पथभ्रान्त झैं उनीहरू सीताको व्यक्तित्वले दिएको अमर सन्देशलाई एकातिर पन्छाएर जन्मथलोको बहसलाई चर्काउन थाल्छन् । कथा–व्यापारीहरू सबै कुरामा व्यापार देख्छन् । व्यापारीहरूका लागि संसारका हरेक कुरा फगत व्यापारका वस्तु हुन् । यद्यपि यिनको मूल्य फरक–फरक हुन सक्छ । सीता पनि उनीहरूका लागि एउटा व्यापारिक वस्तु मात्र हुन् ।
निष्ठा, समर्पण, विश्वास र इमानदारी जुन कुनै धर्मका पति–पत्नीको परिपूरक परिचय हो । यस दृष्टिले सीता हाम्रो संस्कृतिकी सर्वाधिक सुन्दर नारी हुन् । सौन्दर्यका पनि त आ–आफ्नै परिभाषा छन् । म बुझ्दछु– नारी र पुरुष सौन्दर्यका अफ्रिकी आँखा, अमेरिकी आँखा, युरोपेली र पूर्वेली आँखाहरूको पार्थक्य । फेमिनिस्ट आँखासँग मेरो सौन्दर्य–दृष्टि मिलेन भने म के नै गर्न सक्छु र ?
र, म फेरि भन्छु– सीताको जन्मथलोको चासो कथा–व्यापारीलाई जति मलाई छैन । र, अर्को कुरा जहिलेसम्म रामायण छ, जनकपुर छ, जनकपुर वरिपरिको भूगोल छ, पुरातत्व छ, तहिलेसम्म हजारौं ‘आदिपुरुष’ ले न्वारानदेखिको बल लगाए पनि सीताको माइती नेपाल होइन भन्न कसैले सक्दैन ।
हामी आफ्नै मौलिक कला र शिल्पीको माध्यमबाट सीताको कथा गान गाउन सक्छौं, सीता हाम्रै धर्ती अनि जमिनसँग जोडिएको कथालाई विश्वजगतमा फैलाउन सक्छौं । जारी, नुमाफुङ अनि पशुपतिप्रसाद जस्ता सिनेमा हेर्दा अनि शिरीषको फूल, राधा र घामका पाइलाहरू जस्ता कृति पढ्दा हामी आफ्नो मौलिकता अनि पहिचानलाई आर्टको माध्यमबाट विश्वसमक्ष उजागर गर्न अक्षम छौं भन्ने मलाई कदापि लाग्दैन । अबको आधुनिक युगमा तर्कको उत्तर तर्कले अनि कलाको उत्तर कलाले दिने सामथ्र्य हामीले राख्नुपर्छ ।
संसारमा हरेक धर्म र ग्रन्थका आफ्नै सीताहरू छन्, जसको प्रयोजन नै समर्पण अनि निष्ठाको उदाहरण प्रस्तुत गर्नु हो । मेरो विचारमा सीता त यी सबै धर्म अनि ग्रन्थहरूभन्दा माथि दर्शनकी पर्याय हुन्, जसको कथाले मानव मात्रलाई शाश्वत सौन्दर्य र आध्यात्मिक मार्गतिर प्रेरित गर्छ ।
त्यस्तो मार्ग, जहाँ मानिस साँच्चिकै पावन र पवित्र बन्छ । उसलाई आफ्नो जीवन लोभलाग्दो, रमाइलो, रसिलो र सार्थक लाग्छ । जुन नारीले सीताको निष्ठालाई जीवनदर्शन बनाउँछिन्, उनले जीवनको कुनै कालखण्डमा आफ्नो पूर्वजीवनसँग लजाउनुपर्दैन, पश्चात्ताप गर्नु पर्दैन र बाहिर हाँसेर भित्र रुनु पर्दैन ।
भलै यो आदर्श लाग्ला, तर असम्भव होइन । किनभने नेपाल र भारतको समाजमा यस्ता नारीहरू अझै पनि करोडौं छन् । वाल्मीकि रामायणको औचित्य योभन्दा ज्यादा छ जस्तो मलाई लाग्दैन । जहाँ करोडौं सीताहरू छन् र हुनुपर्छ, त्यहाँ सीताको जन्मथलोको बहस निरर्थक हो भन्दा अन्यथा होला र ?
फिल्मको सुरुवातमै सीता (कीर्ति सनोन) लाई रावण (सैफ अलि खान) ले हरण गरेर लैजान्छ । म यसलाई मानिसमा व्याप्त सांसारिक रागको प्रतिनिधि घटना ठान्छु । जीवनको वास्तविक मर्मबाट विभ्रान्त भएर एउटा अद्वितीय विद्वान् मान्छे तुच्छ रागहरूको चक्रव्यूहमा पर्छ र त्यही उसको विनाशको कारण बन्छ । आहा, कति क्रूर यथार्थ । कथाले सम्प्रेषण गरेको बिम्ब त धेरै पुरानो हो, तर यो दृश्यबाट म सम्हालिन्छु अनि कुर्सीमा अलि सतर्क भएर बस्छु । सीताका माध्यमबाट अन्त्यमा रावणले फेरि आफ्नो पुरानो मार्गको स्मरण गर्छ, भड्किएका पाइलाहरूप्रति खेद व्यक्त गर्दछ अनि जीवनको निस्सारतामा विलीन भएर जान्छ ।
लाग्छ, यहाँनेर सीता फिल्मको पर्दाबाटै मलाई पुलुक्क हेर्छिन् अनि रावणका माध्यमबाट जीवनका अस्थायी अनि अनित्य साधनहरूबाट निर्लिप्त रहन खबरदारी गर्दै आध्यात्मिक र बौद्धिक चिन्तनतर्फ लाग्न सङ्केत गर्छिन् । म उनको इशारा बुझे झैं गर्छु अनि छेउको फुच्चेतिर पुलुक्क हेर्छु ।
ऊ क्लाइमेक्सको जोशमा जोडले अगाडिको कुर्सीमा लात्ती बजार्छ । अगाडि कुर्सीकी दर्शक, संकुचित दृष्टिले त्यो फुच्चेतर्फ आफ्नो मुन्टो बटार्छे, अनि मुन्टोले उसका आमाबाबुलाई स्क्यान गरेर पहिलेकै अवस्थामा विश्राम गराउँछे ।
जनकपुरधामदेखि अयोध्या, अयोध्यादेखि चित्रकूट हुँदै दण्डकारण्य अनि लंकाको कठोर तपस्या र अन्त्यमा भूगर्भमा समाहित भएको सीताको जीवनयात्राबाट म रोमाञ्चित, विस्मित र द्रवित हुन्छु । सधैं भइरहेको छु । मेरा जिजुबाजे, हजुरबा, बा र मसमेत यो कथाको अघि शिर झुकाएर उभिएका छौं । श्रद्धाका सामु सबै तर्क बेकार हुन्छन् । म सीताको जीवनयात्रालाई ‘क्वेस्ट अफ सेल्फ–रिअलाइजेसन’ आत्मबोध अनि आत्मचिन्तनको मार्ग भन्न रुचाउँछु ।
मानव जीवन पनि त यस्तै छ– आफैंलाई खोज्नु, खुट्याउनु, चिन्नु, भेट्टाउनु र अन्त्यमा विलीन हुनु । स्वयंको खोजभन्दा ठूलो खोज कहिल्यै पनि थिएन, छैन र हुने छैन । आदिदेखि अन्त्यसम्म स्वयं भगवान, स्वयं नै राक्षस । स्वयं नै राम अनि स्वयं नै रावण ।
मलाई यो स्वयंको परिभाषा सीताले दिन्छिन्– चलचित्रको पर्दाबाट, सुटुक्क । स्वयंको खोजबाट निस्किने परिणाम अनि त्यो परिणामले हुने इनर ट्रान्सफर्मेसन नै जन्मदेखि मृत्युको यात्रा हो । जब व्यक्तिले आफूलाई भेट्टाउँछ अनि मात्र आफूभन्दा माथिको सत्यलाई चिन्दछ, हायर ट्रुथ । सीताको अन्त्य यही उनमा भएको हायर ट्रुथको उपज हो ।
साँच्चिकै भन्नुपर्दा ओम राउतको ‘आदिपुरुष’ ले मलाई त्यति छुन सकेन, जति रामानन्द सागरको रामायणले छोएको थियो । मेरो विचारमा रामायण एक दर्शन हो । दर्शन अनि तत्त्व विनाको रामायण मलाई खल्लो लाग्यो, तर मेरो छेउको फुच्चेलाई असाध्यै रमाइलो ।
शायद मैले चिनेको सीतालाई उसले चिनेकै छैन । अब आउने पिंढीहरूले साँच्चिकै सीतालाई चिन्छन् जस्तो पनि मलाई लाग्दैन । शायद अबको पिंढी सीताको दर्शन खोज्नभन्दा उनको घर खोज्न ज्यादा अग्रसर देखिनेछ । यो विडम्बना हो कि विकास म रनभुल्ल छु ।
source https://www.onlinekhabar.com/2023/06/1324741
0 comments:
Post a Comment