Wednesday 21 June 2023

कलकक गरवक सडक मटर फरकल बनएर कलपतर गरद

७ असार, चितवन । चितवनको कालिका नगरपालिकाले खोलेसिमलदेखि शक्तिखोरसम्मको १३ किलोमिटर लामो सडकलाई विस्तार गर्दै कालोपत्रे गर्ने काम अगाडि बढाएको छ । यो कालिकाको गौरवको सडक हो ।

नालासहित ११ मिटर कायम यो सडकलाई दुवैसाइड डेढ/डेढ मिटर थपेर १४ मिटर फराकिलो हुनेछ । यात्रुहरुलाई पैदल यात्रा गर्न सहज होस् भनेर मोजाइक टायल प्रयोग गरी फुटपाथ बनाउने काम भइरहेको छ । फुटपाथ तयार भएपछि मर्निङवाक, इभिनिङ वाक गर्नेहरुलाई समेत सहज हुने विश्वास नगरपालिकाको छ ।

नगर प्रमुख विनोद रेग्मीका अनुसार चालु आर्थिक वर्षमा ३ किलोमिटर खण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ र आगामी आर्थिक वर्षमा थप सडक बनाउने गरी योजना बनिसकेको छ ।

वडा नं. ६ मा पर्ने कालिका नगरपालिकाको मुख्य बजार खोलेसिमलदेखि शक्तिखोरसम्म दुवैतर्फ सडक विस्तारलाई नगरपालिकाले गौरवको सडकका रुपमा राखेको नगरप्रमुख रेग्मीले बताए ।

बागमती प्रदेश सरकारको डेढ करोड र नगरपालिकाको डेढ करोड लागत साझेदारीमा बन्न लागेको सडकको दुवैतर्फ सडक बत्तीसमेत राखिने छ । ‘क्लवचोक र सगुन चोक दुई ठाउँमा हाइमासको लाइट राख्ने काम पनि अगाडि बढेको छ,’ नगर प्रमुख रेग्मीले भने, ‘कालिका नगरपालिकाका मुख्य बजार क्षेत्र जोड्ने सडक भएकाले यसलाई उच्च प्राथमिकतामा राखेका छौं, सगुन चोकका जनता त खुसी भएर सडकलाई २० मिटर बनाउन तयार हुनुभएको छ ।’

यो सडकले नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र १० लाई छुनेछ । पूर्वी चितवनको बकुलहरदेखि सिद्धी र शक्तिखोर फिस्लिङ्ग सडक जोड्ने एक खण्डका रूपमा यो रहनेछ । शक्तिखोरबाट धादिङ्गको फिस्लिङ्ग जोड्ने वैकल्पिक सडकको ४५ किलोमिटर सडक पिच भैसकेको छ ।

यसैबीच, कालिका नगरपालिकामा चालु आथिक वर्षमा १४ किलोमिटर बाटो कालोपत्रे भएको छ । पहाडी क्षेत्रहरूमा ५ सय मिटर बाटो ढलान भएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

संघीय बजेट र प्रदेशसँग सहकार्य गरेर नगर क्षेत्रका बाटाहरुलाई कालोपत्रे गर्ने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख रेग्मीको भनाइ छ । यो एक वर्षको अवधिमा कालोपत्रेसँगै उच्चस्तरीय ग्राबेल बाटो, पहाडी क्षेत्रमा नयाँ ट्रयाक खोल्ने काम समेत भएको नगर प्रमुख रेग्मीले जानकारी दिए । अहिले पदमपुरको वडा नं. २ स्थित सिर्जना चोकदेखि ७ नम्बर बाटोको चोकसम्म कालोपत्रे गर्ने काम भइरहेको छ ।



source https://www.onlinekhabar.com/2023/06/1325778

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More