विभिन्न प्रकारका चोटपटक र सवारी दुर्घटनाले मानव शरीरमा हुने आघात (ट्रमा) नेपालमा हाडजोर्नी विधाको ठूलो समस्या हो । यस अन्तर्गत शरीरका विभिन्न हड्डीहरू भाँचिने अवस्था (फ्याक्चर), दुर्बलता र अपाङ्गता पर्दछन् । बाथ तथा अन्य जोर्नीका दुखाइहरू, हड्डी खिइने रोग, सङ्क्रमण, हड्डीका अर्बुद रोग र बालबालिकाको शारीरिक विकासका क्रममा देखिने समस्या पनि नेपालमा प्रशस्तै भेटिन्छन् ।
किशोर र युवाहरूमा बढेको खेलकुदजन्य कार्यहरू, नेपालमा अत्यधिक प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधन र विभिन्न दुर्घटनाका कारण मानव शरीरमा नयाँ खालका चोटहरू देखिन थालेका छन् । हड्डी नभाँचिने तर लिगामेन्ट, मेनिस्कस र क्याप्सुल जस्ता नरम तन्तुका चोटहरू चुनौतीका रूपमा देखा परेका छन् ।
युवावस्थाका यी चोटहरूलाई उपचार गर्न अत्याधुनिक दूरबिन प्रविधिको खाँचो र लामो तालिम तथा अनुभवको जरुरत हुन्छ । नेपाल र समग्र दक्षिणएशियामा नै यो प्रविधि नौलो र महँगो छ ।
आधुनिक उपचार प्रणालीको विकासले गर्दा औसत आयु बढ्ने क्रममा छ । जीवन पद्धतिमा आएको परिवर्तन र सुधारसँगै मानवीय आवश्यकता बढेका छन् । हिजो बुवाआमाहरूमा घुँडाको दुखाइ र टेढोपन सामान्य मानिन्थ्यो ।
घुँडाको जोर्नीका हड्डीहरू खिइएर हुने बाङ्गो खुट्टा र असहृय पीडाले गर्दा हिंडडुल गर्न नसकिने, सुगर-प्रेसरको रोग अनियन्त्रित हुने र समग्र जीवनको गुणवत्ता (क्वालिटी अफ लाइफ) प्रभावित हुन्थ्यो । अत्यधिक दुखाइको औषधि प्रयोगले थुप्रैको मिर्गौला बिगि्रएका छन् । तर, समय अब बदलिएको छ । आशा फैलिएको छ । अहिले जोर्नी प्रत्यारोपणको माध्यमबाट नयाँ जीवन पाउन सम्भव छ ।
नेपालमा हाडजोर्नी सम्बन्धी रोग एवम् चोट-पटकको उपचारका निम्ति अत्याधुनिक प्रविधि र विशेषज्ञता काठमाडौंकेन्दि्रत छ । तर, पछिल्लो समय पश्चिम नेपालमा यस्ता प्रविधि र उपचार पद्धतिको सुरुवात र विकास भएको छ । लगातारको पहल र इच्छाशक्तिका कारण यी अत्याधुनिक सेवा सर्वसाधारण नागरिकको पहुँचमा पुग्न सम्भव भएको छ ।
हाडजोर्नी विशेषज्ञता भित्र पर्ने विशिष्टीकृत सेवा आर्थोस्कोपी सर्जरी (दूरबिन प्रविधिद्वारा जोर्नीको रोग निदान गर्ने विधि) एवम् आर्थोप्लास्टी (जोर्नी प्रत्यारोपण) सेवा उपलब्ध नहुँदा पश्चिम नेपालका बासिन्दा काठमाडौं वा भारतीय शहर लखनऊ जानुपर्ने बाध्यता थियो । अर्थोपेडिक सर्जरी भनेर समाजमा हाडजोर्नीको दुखाइको उपचार र चोट परेर हड्डी भाँचिंदा गरिने शल्यक्रिया भनेर मात्र बुझिन्थ्यो । प्रविधि र विज्ञानको विकाससँगै यो परिभाषा फेरिएको छ ।
हड्डी भाँचिंदा गरिने शल्यक्रिया पश्चिम क्षेत्रमा केही दशक अगाडिदेखि नै उपलब्ध थियो । तर, सुपर स्पेसियालिटी आर्थोस्कोपी र जोर्नी प्रत्यारोपण पश्चिम नेपालमा विकास गर्ने लक्ष्यका साथ पछिल्ला वर्षमा हामीले निरन्तर पहल गरेका छौं । यसले सार्थकता पाउँदै गएको छ । यो कामको नेतृत्व गर्ने अवसर पाउनु मेरो लागि चुनौती थियो । तर, पछिल्ला दिनमा नेपालगञ्जमा हाम्रो प्रयास लोकपि्रय र विश्वसनीय बन्दै जानुले यस क्षेत्रकै स्वास्थ्य उपचार सेवामा यो सबैभन्दा महत्वपूर्ण र जटिल उपचार सेवा बन्न पुगेको छ ।
आधुनिक दूरबिन प्रविधि (आर्थोस्कोपी) विधिद्वारा घुँडा तथा कुमको समस्यालाई प्रभावकारी रूपमा निवारण गरेर जोर्नी प्रत्यारोपण जस्तो जटिल शल्यक्रिया नेपालगञ्जमा सर्वसुलभ बनाउनु हाम्रो चुनौतीपूर्ण ध्येय थियो । बढ्दो विश्वास र लोकपि्रयताले यसलाई झन्-झन् उचाइमा पुर्याउँदै गएको छ । हालसम्म पंक्तिकारकै नेतृत्वमा आर्थोस्कोपीबाट ३०० बढी घुँडाको लिगामेन्ट पुनर्संरचना (आर्थोस्कोपिक निलिगामेन्ट रिकन्स्ट्रक्सन) गरिएको छ । यो हालसम्म पश्चिम नेपालमा भएका घुँडाको जोर्नी प्रत्यारोपणमा सबैभन्दा बढी संख्या हो ।
घुँडा हाम्रो शरीरको सबभन्दा ठूलो जोर्नी हो । एउटा स्वस्थ घुँडा मानव शरीरको सम्पूर्ण भार ग्रहण गर्न सक्ने तथा हिंडडुल र दौड्दा उत्पन्न हुने शक्तिलाई थाम्न सक्ने गरी बनेको हुन्छ । विभिन्न चोटहरूले घुँडामा क्षति पुर्याउँदा हड्डीका साथै लिगामेन्ट, मेनिस्कस र अरू तन्तुहरू च्यातिन सक्छन् । यस्तो किसिमको चोटलाई एक्सरेमा देख्न सकिन्न र हिंडडुल गर्न पनि सकिने हुँदा सुरुआतमा चोट पत्ता लगाउन गाह्रो हुन सक्छ । एक कुशल विशेषज्ञले मात्र यस्तो चोटको पहिचान र उपचार गर्न सक्छन् ।
कुमको जोर्नी पनि हड्डीको साथै अन्य थुप्रै नरम तन्तुहरूले बनेको हुन्छ । कुमको समस्या पहिचान र निदान गर्न लामो अनुभव र तालिमको आवश्यकता हुन्छ । यस्तै घुँडाको लिगामेन्ट र मेनिस्कसको उपचार गर्दा सर्वप्रथम क्लिनिकल जाँच तथा एमआरआईद्वारा लिगामेन्ट र मेनिस्कसको चोटको यकिन गर्नुपर्छ । तब मात्र आर्थोस्कोपीबाट सानो छिऽको सहायताले दूरबिन घुँडा भित्र छिराएर विभिन्न यन्त्रको मद्दतले लिगामेन्टको पुनर्निर्माण तथा मेनिस्कसको उपचार गरिन्छ ।
दूरबिन अर्थात् आर्थोस्कोपी एक अत्याधुनिक प्रविधि हो । यसमा कुनै ठूलो चिराको आवश्यकता पर्दैन । घाउ संक्रमण हुने सम्भावना एकदम न्यून हुन्छ । छिटो निको हुन्छ । अस्पतालको बसाइ छोटो हुन्छ र दुखाइ धेरै कम मात्र हुने हुँदा आर्थोस्कोपी प्रविधिका धेरै सकारात्मक पक्ष छन् । तर, आर्थोस्कोपीका लागि उच्चस्तरीय जनशक्तिको जरुरत हुन्छ । नेपालमा थोरै स्थानमा मात्र यो सेवा उपलब्ध छ र यो प्रविधि अलि खर्चिलो पनि छ ।
पटक-पटक फुत्केर दुःख दिने कुमलाई आर्थोस्कोपी प्रविधिबाट बलियो बनाउन सकिन्छ । साथै विभिन्न भित्री चोट र समस्याको निवारण आर्थोस्कोपी प्रविधिबाट नै गर्नुपर्ने हुन्छ । खासगरी कमजोर भएका र बिग्रेर जटिल अवस्थामा पुगेका जोर्नीलाई परिवर्तन गरी कृत्रिम जोर्नी राख्नुलाई जोर्नीको प्रत्यारोपण भनिन्छ ।
यसमा जोर्नीको अन्तिम भागलाई काटेर फाल्ने वा सफा गरेर त्यसको बाहिर कृत्रिम जोर्नीको इमप्लान्ट राखिन्छ । यसैगरी टीकेआर अर्को एक जटिल शल्यक्रिया हो । उपचारका हरेक विधि अपनाई सकेपश्चात् पनि दुखाइ निको नभएको र हिंडडुल गर्न मुस्किल अवस्थाका जोर्नीलाई अन्तिम विकल्पको रूपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
केही वर्ष अघिसम्म गलत सल्लाह र अविश्वासका कारण थुप्रै बिरामी शल्यक्रिया गर्न डराउने गर्दथे । तर सफल शल्यक्रियाको जानकारी र क्रमशः विकास भएको आत्मीयताका कारण शल्यक्रिया गर्न फर्केर आउनेहरू पनि धेरै छन् ।
उपचार गर्न काठमाडौं गएका बिरामीलाई केही चिकित्सकले नै हाम्रोभन्दा राम्रो प्रविधि नेपालगञ्जमा छ भनेर भनेपछि फर्केर नेपालगञ्जमै आएर शल्यक्रियाबाट ठीक भएका उदाहरण पनि छन् ।
युरोप, अमेरिका लगायत विकसित देशहरू र छिमेकी मुलुक भारतमा सम्पूर्ण रकम बहन गर्ने बीमा प्रणाली छ । हाम्रो देशमा बीमा प्रणाली सुरुवातकै चरणमा छ ।
आर्थोस्कोपी र जोर्नी प्रत्यारोपण महँगो प्रविधि हो । भित्री स्वास्थ्यका जटिलता फेला पर्दा कहिलेकाहीं अनुमान गरिए भन्दा दोब्बर खर्च हुनसक्ने परिस्थिति बन्न सक्छ ।
बीमा प्रणाली राम्रो भएका देशहरूमा ठूलो संख्यामा शल्यक्रियाहरू हुन्छन् । नेपालमा प्रभावकारी बीमा प्रणाली नबनेसम्म आर्थिक रूपमा विपन्न मान्छेको तहसम्म यी अत्याधुनिक प्रविधि पुग्न सक्दैनन् ।
(डा. खड्का भेरी अस्पतालको हाडजोर्नी विभागमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन् ।)
source https://www.onlinekhabar.com/2023/06/1323409
0 comments:
Post a Comment