Thursday, 30 July 2020

लोक सेवाको विज्ञापन बन्द गरेर एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

१६ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो ।

‘संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम सर्वे) अत्यावश्यक बाहेक अन्यको हकमा अर्को व्यवस्था नभएसम्म हाललाई स्थगन गर्ने’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

त्यतिमात्रै होइन, त्यो दिन सरकारले ‘रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्ति सम्बन्धी कार्य स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने’ निर्णय समेत गरेको छ । यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगमा पत्राचार गरिसकेको छ ।

यो निर्णय भएको दुई हप्तापछि अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारको मासिक खर्चको ५० प्रतिशत पनि आम्दानी नभएकोे हिसाब प्रस्तुत गरे । ३२ जेठमा प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले लकडाउनका कारण सरकारको मासिक आम्दानी १५ अर्ब र खर्च ४० अर्ब रुपैयाँ रहेको बताए ।

मन्त्रिपरिषदको निर्णय र अर्थमन्त्री डा. खतिवडाद्वारा प्रस्तुत हिसाब–किताबलाई मध्यनजर गरेर सरकारले नयाँ कर्मचारी भर्ना र नियुक्ति भने रोकेको छैन । बरु नयाँ–नयाँ अस्थायी दरबन्दी सिर्जना गरेको छ, त्यो पनि कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा लड्नुपर्ने स्वास्थ्य र सुरक्षा क्षेत्रभन्दा बाहिर ।

सरकारले नयाँ दरबन्दी सिर्जना गरेर बजेटमा गरिएको व्यवस्थालाई समेत धज्जी उडाएको छ

एकै दिन १६८१ अस्थायी दरबन्दी

१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २८३ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गर्‍यो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत २३९ र कानुन, न्याय तथा संसदीय मामिलाअन्तर्गत ४४ वटा दरबन्दी स्वीकृत गरिएको हो ।

त्यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकै दिन एक हजार ६८१ अस्थायी दरबन्दी सिर्जना गरेको थियो । त्यसदिन सबैभन्दा बढी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत ७१५ अस्थायी दरबन्दी स्वीकृत गरियो ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ३७७, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत ३६७ र खानेपानी मन्त्रालयअन्तर्गत २२३ अस्थायी दरबन्दी सिर्जना भएको छ ।

सरकारले नयाँ दरबन्दी सिर्जना गरेर बजेटमा गरिएको व्यवस्थालाई समेत धज्जी उडाएको छ । अर्थमन्त्री डा. खतिवडाद्वारा १५ जेठमा संसदमा प्रस्तुत बजेटमा ‘अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने व्यवस्था गरेको छु’ भनिएको छ ।

तर, सरकारले खर्च घटाउने होइन, बढाउने काममा जोड दिएको देखिन्छ । बजेट आएको दुई हप्तापछि २८ जेठमा सरकारले डा.नेत्रप्रसाद तिम्सिना (मोरङ)को नेतृत्व गठित राष्ट्रिय वन क्षेत्रमा अनुचित रुपमा साल लगायतका विभिन्न रुख कटान, मुछान, संकलन र ओसार–पसार गरी वन विनास भएको सन्दर्भमा छानविन गर्न समिति गठन गर्‍यो ।

यो समितिका अध्यक्षलाई भत्ता मात्रै मासिक ७० हजार र सदस्यहरूलाई मासिक ६० हजार रुपैयाँ दिने निर्णय गर्‍यो । त्यसबाहेक चालक सुविधा ३० हजार, टेलिफोन ५ हजार र राजपत्राकित विशिष्ट श्रेणीको कर्मचारी सरह दैनिक भ्रमण भत्ता लगायतका सुविधा दिइने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

पाँच दर्जनभन्दा बढी भटाभट नियुक्ति

सरकारले निजामती कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सरकारको लगानी रहेका सार्वजनिक संस्थान, विकास समिति आदिमा नयाँ नियुक्ति वा कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि व्यवहारमा ठीक उल्टो देखियो ।

लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिले देवीप्रसाद ज्ञवाली (चितवन) को अध्यक्षतामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको सरकारले त्यसयता पनि नियुक्ति र कर्मचारी भर्नालाई निरन्तरता दियो ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल, प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरे र नेपाल–भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि विज्ञ समूहको संयोजकमा विष्णुराज उप्रेतीलाई नियुक्त गर्‍यो ।

महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर, डा. खेमबहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ सल्लाहकार, सुशील घिमिरेलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष, खगेन्द्रप्रसाद अधिकारी (झापा)लाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको उपाध्यक्ष, दयाराम दाहाललाई चलचित्र विकास बोर्ड अध्यक्ष, माधवप्रसाद ढुंगेल (रामेछाप) राष्ट्रिय युवा परिषदको उपाध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता गोकुल घर्ती मगरलाई आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको उपाध्यक्षमा नियुक्ति गर्‍यो ।

त्यस्तै बराह क्षेत्र विकास समिति अध्यक्षमा मनोज पौडेल (सुनसरी), मनकामना क्षेत्र विकास समिति अध्यक्षमा रामकुमार जोशी (गोर्खा), अन्तर्राष्ट्रिय सम्मेलन विकास केन्द्र समितिको कार्यकारी निर्देशकमा विद्रोह दहाल (मकवानपुर) र समस्याग्रस्त सहकारी संघको व्यवस्थापन समिति सदस्यमा शेरजंग राना मगर (स्याङ्जा)लाई नियुक्त गर्‍यो ।

सरकारले रेडियो प्रसार सेवा विकास समिति कार्यकारी निर्देशकमा बुद्धिबहादुर कार्की, नेपाल स्वास्थ्य व्यावसायी परिषदको अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठ (दोलखा), कर्मचारी सञ्चय कोषको अध्यक्षमा रामप्रसाद पुडासैनी, बौद्ध दर्शन गुम्बा विकास समितिको अध्यक्षमा फुपु छेम्बे शेर्पा (ताप्लेजुङ), कार्यकारी निर्देशकमा होमबहादुर दोङ (नुवाकोट) र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक डा. राजन खनाल (काभ्रेपलान्चोक) नियुक्ति दियो ।

‘हुकुमी शासन मोह’

कोभिड–१९ ले गर्दा आर्थिक संकट परेका बेलामा मात्रै होइन सामान्य अवस्थामा पनि अस्थायी दरबन्दी राम्रो मानिदैन । २०६५ सालमा प्रशासन पुनर्संरचना आयोगले नयाँ पद वा अस्थायी दरबन्दी सिर्जना नगर्न सुझाव दिएको थियो ।

दरबन्दी सिर्जना गर्नै परे लोक सेवा आयोगको सहमति अनिवार्य मानिन्छ । वरिष्ठ अधिवक्ता महादेव यादवको संयोजकत्वमा २०५६ सालमा गठन भएको भ्रष्टाचार निवारण सुझाव समितिले अस्थायी पदपूर्ती लोक सेवा आयोगको सिफारिसमा मात्रै गर्नुपर्ने सिफारिस गरेको थियो ।

अस्थायी दरबन्दी किन घातक  छ त ? ‘अयोग्य नातेदार वा कार्यकर्तालाई जागिर खुवाउनकै लागि लोक सेवा आयोगलाई छलेर कर्मचारी भर्ना गरिएको हुनुपर्छ,’ पूर्व सचिव खेमराज रेग्मी भन्छन्, ‘राज्यलाई नभई नहुने योग्य कर्मचारी असल नियतले भर्ना गर्ना लुकिछिपी गर्नै पर्दैन ।’

ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालको अध्यक्ष समेत रहेका रेग्मी मुलुक कोरोना संकटमा रहेका बेला विज्ञापन बन्द गरेर अस्थायी दरबन्दी सिर्जना गर्नु गलत भएको बताउँछन् । संसद् हुँदाहुँदै प्रधानमन्त्रीले दुईवटा अध्यादेश जारी गरेको प्रसंग स्मरण गर्दै उनी भन्छन्, ‘हुकुमी पाराले शासन चलाउन खोजिएको हो कि ?’

यो पनि पढ्नुहोस लोक सेवालाई छल्न अस्थायी र करारबाट आफ्ना मान्छे छिराउने प्रवृत्ति : उमेश मैनाली

source https://www.onlinekhabar.com/2020/07/885979

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

१६ साउन, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै थियो,’ डा. उपाध्यायले भने, ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार ग¥यौं तर बचाउन सकिएन ।’

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।

बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि बाराका २, रौतहटका १ र १ जना बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



source https://www.onlinekhabar.com/2020/07/885988

‘चमेरामा दशकौँदेखि थियो कोरोना भाइरस’

१६ साउन, काठमाडौं । एक अध्ययनले कोभिड–१९ रोगको कारक मानिएको कोरोना भाइरस (सार्स–कोभ २) दशकौँदेखि चमेरामा रहँदै आएको हुन सक्ने देखाएको छ । हालै गरिएको अनुसन्धानको क्रममा सार्स–कोभ २ भाइरस अहिले पत्ता लाग्नुभन्दा ४० देखि ७० वर्षअघि नै चमेरामा आएको हुन सक्ने बताइएको छ । यो अवधिमा उक्त भाइरस चमेरामा नै रहेको र अहिले मानिसमा सरेको हुन सक्ने बताइएको छ ।

यसअघि शोधकर्ताहरुले यो भाइरसको उत्पत्तिको विषयलाई लिएर अफवाहहरु पनि चलिरहेको उल्लेख गरेका छन् । विशेषगरी यो भाइरस चिनियाँ प्रयोगशालामा निर्माण गरिएको हुन सक्ने भन्दै चीनमाथि अमेरिकाले आरोप लगाएको थियो । अहिलेको अध्ययनले उक्त अफवाहलाई अझै कमजोर साबित गरेको छ ।

नेचर माइक्रोबायोलोजी पत्रिकामा प्रकाशित यो अध्ययन गर्ने युनिभर्सिटी अफ ग्लासगोका प्राध्यापक डेभिड रोबर्टसनले महामारीको लागि जिम्मेवार पाइएको कोरोना भाइरस (सार्स–कोभ २) आनुवंशिकरुपमा चमेरामा पाइने भाइरससँग निकै मिल्दोजुल्दो पाइएको तर यसमा धेरै दशकको अन्तर रहेको बताएका छन् ।

उनी भन्छन्, ‘यसको अर्थ मानिसलाई संक्रमित गर्ने भाइरस केही समयदेखि मात्र देखिएको थियो ।’

‘हामीले यो भाइरस कहाँ र कसरी मानिसमा आयो भन्ने पत्ता लगाउनु जरुरी छ । हामीलाई अहिले यसको आनुवंशिक भाइरस चमेरामा पाइन्छ भन्ने थाहा भयो भने हामीले यसलाई अझ राम्रोसँग नियमन गर्न सक्छौँ’, उनले थपे ।

रोबर्टसनका अनुसार पछिल्लो समय मानिसहरुमा आइरहेका नयाँ रोगहरुको बारेमा थप जाँच गर्नु जरुरी छ । साथै भविष्यमा उत्पन्न हुन सक्ने महामारी नियन्त्रणको लागि धेरैभन्दा धेरै चमेराहरुको नमुना संकलन गरी अध्ययन गरी अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘यदि यो भाइरस दशकौँदेखि थियो भने उनीहरुलाई अर्को कुनै जनावरमा पनि यो भाइरस फैलाउने पर्याप्त मौका मिल्यो होला ।’

यो अध्ययनको लागि शोधकर्ताहरुले सार्स–कोभ २ भाइरसको जेनेटिक कोडको मिलान योसँग मिल्दोजुल्दो चमेरामा पाइने आरएटीजी–१३ सँग गरिएको थियो । शोधकर्ताहरुले यी दुवैको पूर्वज एकै रहेको पाएका थिए । तर, इभोल्युसनको प्रक्रियामा दशकौँ पहिला एकअर्काबाट छुट्टिएका थिए ।

युनिभर्सिटी अफ रिडिङका प्राध्यापक मार्क पेजल यो अध्ययनले अहिले मानिसमा संक्रमण फैलाइरहेको भाइरस ४० देखि ७० वर्षसम्म चमेरामा रहेको तर अहिलेसम्म पत्ता लगाउन नसकिएको बताएका छन् । यद्यपि उनी यो अध्ययनमा सहभागी भने थिएनन् ।

उनी भन्छन्, ‘यो अध्ययनबाट यो कुरा थाहा हुन्छ कि जनावरबाट मानिसमा हुने संक्रमणको दायरा कति ठूलो छ । अहिले पनि मानिसहरुमा सर्न सक्ने धेरै भाइरस जनावरको शरीरमा भएको र यो हामीलाई थाहा नभएको पनि हुन सक्छ ।’

यो भाइरस एक जनावरबाट अर्को जनावरमा सर्दै आइरहेको पनि हुन सक्छ र जंगली जनावरको व्यवसायसँग जोडिएका मानिसहरु संक्रमित भएका पनि हुन सक्छन् ।

यसअघि गरिएको अध्ययनमा सार्स–कोभ २ को उत्पत्तिमा सालकको ठूलो भूमिका हुन सक्ने बताइएको थियो । तर, यो अध्ययनले भने त्यस्तो देखाएको छैन । सालकमा पनि यो भाइरस जंगली जनावरको व्यापारको क्रममा दोस्रो जनावरसँगको सम्पर्कको क्रममा आएको हुन सक्छ ।

स्रोत : बीबीसी

 



source https://www.onlinekhabar.com/2020/07/885986

कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सिरहामा जसपाको सभा

१६ साउन, जनकपुरधाम । कोरोना कहरबाट गुज्रिरहेको प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।

सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो । अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् ।

पार्टी प्रवेश कार्यक्रमको नाममा सामाजिक दूरीको खिल्ली उडाएको देखियो । कार्यक्रमस्थलमा ठूलो मञ्च बनाइएको थियो भने मञ्च अगाडि ठूलो पण्डाल निर्माण गरिएको थियो ।

पण्डालभित्र सामाजिक दूरी पालन नगरी कुर्सीहरु राखिएका थिए । मञ्चमा आसिन नेताहरुले केही सामाजिक दुरी पालना गरेको देखिए पनि तल पण्डालभित्र बसेका कार्यकर्ताहरु भने एकअर्कासँग टाँसिएरै बसेका थिए । सरकारले लकडाउन खुला गरे पनि सभा सम्मेलन गर्न प्रतिबन्ध कायमै राखेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो भाषणको समयमा कोरोना भाइरस सम्बन्धी चेतनामूलक भाषण ठोके । उनले संक्रमण हुन नदिन व्यवहारमा परिवर्तन गर्नुपर्नेदेखि संक्रमित भइहाले अस्पतालसम्म पुर्याउनुपर्ने धारणा राखे । सोही क्रममा उनले कुनै तयारी बिना नै सरकारले लकडाउन खोलेको आरोप लगाए । ‘सरकारले लकडाउन खोलेको छ, तर तयारी केही छैन’ उनले भने ।

यादवले एकात्मक र केन्द्रीकृत शाषण प्रणाली परिवर्तन हुनु ठूलो उपलब्धी भएको भन्दै यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने समेत बताए ।

कार्यक्रममा पार्टीका नेता बाबुराम भट्टराईले कम्युनिष्ट श्रम गरेर खाने पार्टी भए पनि यहाँको कम्युनिष्ट चोरेर, ठगेर खाइरहेको आरोप लगाए । उनले भने, ‘कांग्रेस आफ्नै पापले थला परेको छ । कम्युनिष्ट अर्काको चोरेर, ठगेर खाइरहेका छन् ।’

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले आफ्नो पार्टीले कतै पनि भ्रष्टाचार नगर्ने दावी गरे ।

कार्यक्रममा सहभागी अर्का नेता राजकिशोर यादवले सरकारको चरित्र ठीक नरहेको बताए ।

नेता भट्टराईले लेखे ‘राजपामा प्रवेश’

पछिल्लो समयमा समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी बनेको छ । तर, पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्यक्रम सकिएपछि पार्टी प्रवेशको सह्राना गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘सिरहामा मुख्यतः नेकपा र नेका, राप्रपा त्याग गरी ३०० बढी नेता÷कार्यकर्ता राजपामा प्रवेश !’ उनले स्टाटस लेख्ने बेलामा आफ्नो पाार्टीको नामसमेत बिर्सेर राजपा लेखेका छन् ।



source https://www.onlinekhabar.com/2020/07/885978

नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक

१६ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ ।

कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो ।

कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।

कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।

लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।



source https://www.onlinekhabar.com/2020/07/885973

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

१६ साउन, जनकपुरधाम । प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।

यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको हो ।

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधीमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ ।

प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/07/885972

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

१६ साउन, चितवन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए ।

थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।



source https://www.onlinekhabar.com/2020/07/885971

Wednesday, 29 July 2020

सिराहामा कल्भर्टमा डुबेर एकको मृत्यु

१५ साउन, जनकपुरधाम । सिराहाको सिराहा नगरपालिकामा एकजना व्यक्तिको कल्भर्टमा डुबेर मृत्यु भएको छ ।

सिराहा नगरपालिका-१० स्थित पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर सोही वडाका झगरु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

५० वर्षीय मुखियाको सोही कल्भर्टमा डुबेर मृत्यु भएको र शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/07/885729

अभिषेकलाई भिजनको साथ

१५ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच भिजन कन्सर्नले युवा खेलाडी अभिषेकलाई एक वर्षको लागि सम्झौता गरेको हो । लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले नेत्र परीक्षण र चस्मा बिक्री वितरण गर्दै आइरहेको छ ।

सम्झौता पत्रमा अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले हस्ताक्षर गरे । सम्झौताअनुसार भिजन कन्सर्नले एक वर्षका लागि अभिषेकको नेत्र (आँखा) परीक्षण गर्नेछ । यस्तै आवश्यक्ता अनुसार नेत्रका साधन उपलब्ध गराउने छ । रकम भने खुलाइएको छैन ।

लिग च्याम्पियन मछिन्द्र क्लबमा आबद्ध अभिषेकले भिजन कन्सर्नसँग जोडिदा निकै खुसी रहेको र आफूलाई यसले झनै प्रोत्साहन मिल्ने बताए । ‘चस्मा सम्बन्धी कम्पनीसँग जोडिन पाउँदा निकै खुसी छु । यसले आगामी दिनमा झनै प्रोत्साहन गर्नेछ,’ एन्फा एकेडेमीबाट उत्पादित अभिषेकले भने ।

सम्झौतालगत्तै भिजन कन्सर्नले अभिषेकको पूर्ण नेत्र जाँच गरेको थियो ।

अभिषेकले गत साल मलेसिया भ्रमणमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । दोस्रो खेलमै चायनिज ताइपेविरुद्ध गोल गर्दै रिजालले राष्ट्रिय टिममा आफूलाई स्थापित गरेका छन् ।

अभिषेक एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने क्लब स्तरीय एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । उनले कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङ्दीबाट भारतको मिनेर्वा पञ्जाव (हाल पञ्जाब एफसी) विरुद्ध गोल गरेका थिए ।

भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले राष्ट्रिय खेलाडी अभिषेकसँग जोडिन पाउँदा आफूहरु निकै गौरवान्वित भएको र दुवैको सहकार्यमा आगामी दिनमा अगाडि बढ्ने बताए ।



source https://www.onlinekhabar.com/2020/07/885732

इब्राहिमोभिचको कीर्तिमान

१५ साउन, काठमाडौं । भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ए मा दुई गोल गरेपछि एसी मिलानले साम्पडोरियालाई ४-१ ले सहजै पराजित गरेको छ । मिलानका लागि इब्राहिमोभिचले दुई तथा हाकन चाल्हानोग्लु र राफायल लिओले एक-एक गोल थपे ।

३८ वर्षको उमेरमा पनि गोल गर्न उत्तिकै माहिर इब्राहिमोभिचले दुई गोलका साथै एक गोलका लागि सहयोग पनि गरे । उनले साम्पडवरिया विरुद्ध खेलको चौथो मिनेटमै पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । उक्त गोल मिलानको लागि उनको ५०औं गोल थियो । यस गोलपछि इब्राहिमोभिच सिरी ए मा इन्टर र एसी मिलान दुवैका लागि ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

इब्राहिमोचिभले यसअघि पहिलो स्पेशलमा मिलानका लागि ६१ खेलमा ४२ गोल गरेका थिए । साम्पडोरियाविरुद्ध ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका इब्राहिमोभिचले मिलानको लागि कूल ५१ गोल गरिसकेका छन् ।

इब्राहिमोभिचले २००६-०९ मा इन्टरबाट खेल्दै ८८ खेलमा ५७ गोल गरेका थिए । स्वीडिस क्लब माल्मोबाट फुटबल खेल्न सुरु गरेका इब्राहिमोभिचले नेरल्याण्ड्सको अयाक्स इटलीकै युभेन्टस स्पेनको बार्सिलोना फ्रान्समा पेरिस सेन्ट जर्मेन इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेड र एमएलएसमा एलए ग्यालेक्सीबाट खेलिसकेका छन् ।

मिलानका लागि दुई गोल गरेका इब्राहिमोभिचको करियरमा कूल गोलसंख्या ५५२ पुगिसकेको छ । जसका लागि उनले ९३४ खेल खेलेका छन् । ३८ वर्षमा पनि यी स्डिस खेलाडीको गोल गर्ने जोश उस्तै छ ।

अहिले खेलिरहेका मध्ये धेरै गोल गर्नेमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसी मात्र इब्राहिमोभिचभन्दा अघि छन् । उनले अर्को सिजन पनि मिलानबाटै खेल्ने सम्भावना रहेको छ । उनले स्वीडेनका लागि ११६ खेल खेल्दै ६२ गोल गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/07/885733

च्याम्पियन युभेन्टसको अप्रत्यासित हार

१५ साउन, काठमाडौं । इटालियन सिरी ए मा च्याम्पियन बनिसकेको युभेन्ट्स काग्लियारीसँग पराजित भएको छ । युभेन्टसलाई काग्लियारीले २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको आठौं मिनेटमै लुकास काग्लिएनोले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा जिओभानी सिमोनीले गोल गर्दै काग्लियारीको अग्रता दोब्बर पारेका थिए ।

क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिग्वेन जस्ता खेलाडीहरु भएपनि च्याम्पियन युभेन्टसले गोल फर्काउन नसक्दा पराजित भयो ।

युभेन्ट्सलाई हराएको काग्लियारी ३७ खेलबाट जोड्दै १३औं स्थानमा छ । युभेन्टसको ३७ खेलबाट ८३ अंक छ ।

अन्य खेलमा चौथो स्थानको लाजियोले ब्रेस्किअलाई २-० ले पराजित गरेको छ । लाजियोको लागि सिरो इम्मोबाइल र जाओक्विन कोरेले गोल गरे । ब्रेस्किअविरुद्ध एक गोल गरेका इम्मोबाइलले सिरी ए मा गोलसंख्या ३५ पुर्‍याएका छन् । उनी सर्वाधिक गोलकर्तामा दोस्रो स्थानको रोनाल्डो भन्दा ४ गोलले अघि छन् । काग्लियारीसंग गोल गर्न नसकेका रोनाल्डोको ३१ गोल छ ।

इम्मोबाइलले युरोपियन लिगमा सर्वाधिक गोल खेलाडीमा बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई समेत पछि पारेका छन् । उनले युरोपियन गोल्डेन बुट जित्ने लगभग पक्का बनेको छ ।

लाजियोसँग पराजित भएपछि ब्रेस्किअ एक खेल अगावै सिरी एबाट रेलिगेसनमा परेको छ । यसअघि नै एसपीएल रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । जितपछि ७८ अंक जोडेको लाजियो चौथो स्थानमा छ ।

यस्तै पाँचौ स्थानको रोमाले टोरिनोलाई ३-२ ले पराजित गर्दै पाँचौ स्थानमा लिक सकाउँदै युरोपा लिगमा स्थान पक्का गरेको छ । रोमाले ३७ खेलबाट ६७ अंक जोडेको छ ।

रोमाभन्दा पछि रहेको एसी मिलानको ६३ अंक छ । मिलानले पनि युरोपा लिग छनोटमा स्थानमा पक्का गरेको छ । ज्लाटन इब्राहिमोभचिले दुई गोल गरेपछि मिलानले साम्पडोरियालाई ४-१ ले पराजित गरेको हो । मिलानपछि रहेको नापोलीको ३७ खेलबाट ५९ अंक छ ।

उता रेलिगेसन जोनमा रहेको लेसेले उडिनेसीलाई २-१ ले पराजित गर्दै सिरी ए मै रहने सम्भावना कायम राखेको छ । पूछारबाट तेस्रो स्थानमा रहेको लेसेको ३७ खेलबाट ३४ अंक छ । लेसे भन्दा अघि रहेको जेनोअ ससुलोसंग ५-० को फराकिलो अन्तरले पराजित भएपछि लेसेलाई फाइदा भएको छ । ३७ खेलबाट ३५ अंङ्क रहेको जेनोअ १७औं स्थानमा छ ।

अन्तिम चरणको खेलपछि जेनोअ र लेसेमध्ये एक टिम रेलिगेसनमा पर्नेछ ।



source https://www.onlinekhabar.com/2020/07/885730

पहिरोले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

१५ साउन, बुटवल । कपिलवस्तुको सुरई खोला नजिक पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षापछि खसेको पहिरोले बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन चार–पाँच घण्टा समय लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । वर्षा नरोकिएकाले सडक हटाउने काम गर्न कठीन भएको उनले बताए ।

यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका फुदबाङमा पहिरो जाँदा सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/07/885728

भारतमा एकैदिन थपिए ५० हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख २० हजार ५८२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

भारतमा बुधबार मात्र चार लाख ४६ हजार ६४२ नुमुना परीक्षण गरिएको थियो । अहिले भारतमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशालाको संख्या पनि एक हजार ३२१ पुगेको छ । जसमध्ये ९०७ सरकारी प्रयोगशाला र ४१४ निजी प्रयोगशाला छन् ।



source https://www.onlinekhabar.com/2020/07/885723

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More