Saturday, 24 April 2021

बाँकेमा उपचाररत ३ संक्रमितको मृत्यु, एकजनाले घरमै गरे आत्महत्या

१२ वैशाख, काठमाडौं । बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ ।

कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

२०७८ वैशाख ३ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ओलीका अनुसार स्वास्थ्य अवस्था सामान्य भएकाले उनी घरमै बस्दै आएका थिए । उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यसैगरी मेडिकल कलेजमा कोहलपुर १० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको छ । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बतायो । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।



source https://www.onlinekhabar.com/2021/04/948339

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More