१७ फागुन, धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । प्रतिद्धन्द्धी मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।
कुल खसेको २१० मध्ये चौधरीले ११४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले ९३ मत पाए ।
प्रदेश सम्मेलनबाट चयन भएका प्रदेश कमिटीका सदस्यहरूले मतदान प्रक्रियामार्फत माओवादी केन्द्रको नेतृत्वको टुङ्गो लगाएका हुन् ।
पदाधिकारीतर्फ उपाध्यक्षमा रणबहादुर कुँवर (१०१ मत), अक्कलबहादुर रावल (१०० मत) र मानसिंह माल (१२४), सचिवमा जंगबहादुर बुढा (१६४मत), सहसचिवमा नन्दबहादुर साउँद (१५७), रामबहादुर देवकर (१४६), र अन्जिता श्रेष्ठ (१०८) र कोषाध्यक्षमा कमलकुमारी शाह (११३) विजयी भएका छन् ।
गतमंसिरमा धनगढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन भएको थियो । तीन दिनसम्म सर्वसम्मतको प्रयास गर्दा पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति नजुुटेपछि २२३ सदस्य कमिटी चयन गर्दै सम्मेलन सम्पन्न गरिएको थियो । तर सहमतिको प्रयास असफल भएपछि करिब तीन महिनापछि सोमबार भने मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो।
१६ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्वविद्यालय जिल्ला बाहिर लैजाने तयारी भएको छ ।
विश्वविद्यालयलाई दाङ वा कपिलवस्तुमा सार्ने तयारी योजना आयोगले गरेपछि बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य र खजुरा गाउँपालिकाका जनप्रतिनिधिहरुले विरोध जनाएका छन् ।
बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गर्ने निर्णय शंकर पोखरेल नेतृत्वको पूर्ववर्ती सरकारको मन्त्रिपरिषदले गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रममार्फत नै बाँकेको खजुरामा प्रदेश विश्वबिद्यालय स्थापना गर्ने घोषणा गर्दै पहिलो वर्ष ३ करोड र पछिल्लो वर्ष ७ करोड बजेट बिनियोजन गरिएको थियो । तर विश्व विद्यालय ऐनको अभावमा सो बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा पनि प्रदेश विश्वविद्यालयका लागि १० करोड बजेट छुट्याइएको छ । विश्वविद्यालय स्थापनाका लागि खजुरा गाउँपालिकाबाट एक सय बिगाहा जग्गा कित्ताकाट गरी विश्वविद्यालयका लागि सिफारिस समेत गरिसकेको थियो ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले भने खजुरामा विश्वविद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगञ्जमा राख्ने गरी तयारी गरिएको बताए ।
आयोगको यस्तो तयारीपछि खजुरा गाउँपालिका र बाँकेका प्रदेश सभा सदस्यहरुले आपत्ति जनाएका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले जग्गा हस्तान्तरणका लागि गाउँसभाबाट समेत अनुमोदन भइसकेको र सरकारले पूर्वाधारको सम्भाव्यता अध्ययन गरिसकेको स्थानलाई अनुपयुक्त भन्नु आपत्तिजनक र गलत भएको बताए ।
‘विश्वविद्यालय अन्यत्र सारिए खजुरावासीले आन्दोलनको आधिबेहरी सिर्जना गर्छौं,’ कक्षपतिले भने । आन्दोलनबाट निम्तिने क्षतिको जवाफदेही आयोग नै हुनुपर्ने चेतावनी पनि उनले दिए ।
माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रप्रसाद खरेल (आईपी)ले प्रदेशको स्थायी राजधानी दाङ तोक्ने सन्दर्भमा आफूहरु समेत सहभागी पूर्ववर्ती सरकारले प्रदेश विश्वविद्यालय बाँकेमा राख्ने गरी प्याकेजमा सहमति गरिएको स्मरण गर्दै अन्यत्र सार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताए । ‘अघिल्लो सरकारले सबै दलको सहमतिमा गरेको निर्णयलाई योजना आयोग त के सरकारले पनि फेर्न मिल्दैन,’ खरेलले भने, ‘योजना आयोगले कुन स्वार्थले अन्यत्र सार्न खोजेको हो, त्यो आपत्तिजनक र निन्दनीय छ, हामी पूरा हुन्न दिन्नौं ।’
माओवादी केन्द्रकै बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसीले पनि प्रदेशसभाबाट पारित भइसकेको कार्यक्रमलाई योजना आयोगले परिवर्तन गर्न नमिल्ने बताइन् ।
१६ फागुन, धनगढी । धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनमार्फत गरी जानकारी दिइएको छ ।
प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले बताए ।
प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख, ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलन गरी जनाईएको छ ।
‘सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को गठन भए पश्चात सुदूरपश्चिमको खेलकुद क्षेत्रको विकास गर्नका लागि विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।’ सदस्य सचिव सिंहले भने- ‘सुदूरपश्चिम प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री कप अन्तर्गत आगामी चैत ७ गतेदेखि १२ गतेसम्म धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजनाको तयारी सुरु गरेका हौं ।’
प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई मेडलसहित नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगद पुरस्कार दिइनेछ ।
सुदूरपश्चिम प्रदेशको टीमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने काम पनि अहिले भइरहेको सदस्य सचिव सिंहले बताए । प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरे काम अगाडि बढिरहेको उनको भनाइ छ ।
१७ फागुन, काठमाडौं । २०६१ सालमा रामेछापबाट ‘भाग्य’को खोजीमा राजधानी आउँदा कृष्ण बस्नेतका सपना ठूला थिएनन् । पढाइ बीचैमा छाडेर पैसा कमाउन सहर पसेका उनी सेनामा भर्ना भए । माओवादी द्वन्द्व चर्किएको त्यो क्षणमा परिवार र आफन्तको सुझाव नसुने झैं गरेर सेनामा भर्ती भएका उनलाई आफ्नो निर्णयप्रति गर्व छ ।
सेनाको जागिर खाएर परिवार पाल्ने सपना पूरा गर्न राजधानी आएका कृष्ण देशका प्रमुख खेलाडीमध्येमा पर्छन् । ३७ वर्षको उमेरमा उनले शनिबार प्रधान सेनापति म्याराथन चौथोपल्ट जिते । एथलेटिक्सको सबभन्दा कठिन विधा मानिने म्याराथन (४२.१९५ किलोमिटर दौड)मा पछिल्लो एक दशकमा उनको बर्चश्व छ ।
२०६१ सालमा नेपाली सेनाको सिपाही बनेर चार वर्षपछि त्रिभुवन आर्मी क्लबमा आएपछि कृष्णको व्यवसायिक खेल जीवनको सुरुआत भएको हो । २५ वर्षको उमेरदेखि म्याराथनमा आफूलाई प्रतिस्पर्धीको रुपमा उभ्याएका उनले यसबीचमा धेरै उतारचढाव व्यहोरे ।
‘तालिमका बेला लामो दूरीमा राम्रो दौडिएपछि गणकै सल्लाहमा खेलाडी विभागमा पुगेको हुँ । राष्ट्रियस्तरका धावकसँगको प्रतिस्पर्धा र उचित प्रशिक्षणले आफूलाई सुधार्ने अवसर पाएँ,’ सैनिक मुख्यालय भद्रकालीमा अनलाइनखबरसँग कुरा गर्दै कृष्णले भने,’ ‘त्यतिबेला राजेन्द्र (भण्डारी) सरले देश विदेशमा राम्रो प्रदर्शन गरिरहनुभएको थियो । उहाँहरुलाई देखेर पनि अझै राम्रो गर्नुपर्छ हौसला भयो ।’
अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने ३० वर्षको उमेरपछि म्याराथन धावकहरु शतप्रतिशत लयमा आउँछन् । ४२ किलोमिटर पूरा गर्ने क्षमतामा उमेरको परिपक्वताले महत्वपूर्ण भूमिका खेल्ने खेलविज्ञहरु बताउँछन् ।
कृष्णको हकमा पनि त्यस्तै रह्यो । उनले २९ वर्षको उमेरमा २०६९ सालमा आयोजित काठमाडौं म्याराथनको उपाधि जिते । त्यसपछि राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ भयो । उनी १३औं दक्षिण एसियाली खेलकुदसम्म राष्ट्रिय टोलीको क्याम्पमा थिए । ‘दुईपल्ट एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरें,’ भाग्यमा विश्वास राख्ने कृष्णले भने, ‘दुईपल्ट दक्षिण एसियाली खेलकुद (साग)को बन्द प्रशिक्षणमा परे पनि प्रतियोगिता खेल्ने अवसर जुरेन । सायद मलाई भाग्यले साथ दिएन ।’
काठमाडौं म्याराथन जितेयता कृष्ण २०७३ मा नेपालगञ्ज म्याराथनको दोस्रो संस्करणमा च्याम्पियन बने । त्यसबेलाको टाइमिङ बिगि्रएकोमा उनलाई अहिलेसम्म थकथक लाग्छ । त्यसबाट पुनरागमन गरी उनले अर्को वर्ष प्रधान सेनापति म्याराथनको उपाधि जिते । २०७५ मा लगातार दोस्रोपल्ट जिते । प्रधान सेनापति म्याराथन चारपल्ट जितेर आफ्नै विभागबाट आयोजित प्रतियोगिताको सर्वाधिक सफल धावक बनेका छन् ।
आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत उच्च प्रदर्शनसहित स्वर्ण जितेपछि उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बन्द प्रशिक्षणमा परेका थिए । आमाको निधन भएपछि अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिनुपर्यो । ‘१२औं साग -सन् २०१६)मा मिसनमा गएका कारण खेल्न पाइनँ । यसपल्ट आफ्नै देशमा हुन लागेको सागमा स्वर्ण पदकको लक्ष्य राखेको थिएँ, तर आमा वित्नुभयो,’ साग खेल्ने अवसर नपाउनुलाई दुर्भाग्य मानेका कृष्णले थपे, ‘आमाको काजकिरिया गरेर फर्केपछि पनि झण्डै तीन साताको समय त थियो । तर मानसिक रुपमा तयार नभएपछि आफ्नो ठाउँमा अर्को योग्य खेलाडीले अवसर पाओस भन्ने लाग्यो ।’
पहिलो रोजाइका कृष्णले नाम फिर्ता लिएपछि आर्मीकै होमलाल श्रेष्ठले उनको स्थान लिएका थिए । १३औं सागमा एपीएफका किरणसिंह बोगटीले स्वर्ण जिते ।
कृष्णले सन् २०१४ को इन्चोन एसियाली खेलकुद र सन् २०१८ मा जाकार्ता एसियाली खेलकुदमा प्रतिनिधित्व गरे । दुई अन्तर्राष्ट्रिय अनुभवले उनलाई आफ्नो कमजोरीबारे ज्ञान दिलायो । विदेशको म्याराथन रुटबारे जानकारी पाए । प्रदर्शन राम्रो हुन नसके पनि घरेलुस्तरमा प्रतिस्पर्धा गर्न त्यो अनुभव सहयोगी बन्यो । ‘हामीले यहाँ गर्ने तयारीबाट अन्तर्राष्ट्रियस्तरमा गाह्रो हुनेरहेछ । खानेकुरा, हावापानी, निरन्तरता र नियमित एक्सपोजरले धेरै कुरा फरक पार्ने रहेछ भन्ने बुझें,’ उनले थपे ।
नेपालमा म्याराथन धावकहरु सीमित छन् । प्रतियोगिता पनि कमै मात्रामा आयोजना हुने गरेका छन् । नयाँ खेलाडीको उत्पादनमा संघको सक्रियता कम रहेको आरोप लाग्ने गरेको छ । अहिलेका अधिकांश राष्ट्रिय खेलाडी तीनवटा विभागीय टिममा मात्र छन् । लगातारका विजेता कृष्णले भावी पुस्ताका लागि योजनावद्ध कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । २५ वर्षको उमेरदेखि म्याराथन दौडिन थालेका उनी भन्छन्, ‘विद्यालयस्तरदेखि नै लामो दूरीको दौडलाई प्राथमिकता दिनुपर्छ । खानपान, नियमितता र ठाउँ अनुसारको प्रशिक्षणले खेलाडीलाई सानै उमेरदेखि परिपक्व बनाउने रहेछ ।’
लक्ष्य विश्व च्याम्पियनसिप
आगामी मे महिनामा अमेरिकामा विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल एथलेटिक्स संघले राष्ट्रिय टिम तयारीमा प्रधान सेनापति म्याराथनको नतिजालाई पनि आधार मान्ने बताएको छ ।
म्याराथन जितेपछि कृष्णले पनि विश्व च्याम्पियनसिपमा सहभागिताको सपना देख्न थालेका छन् । कृष्णले भनेका छन्, ‘सरहरुले विश्व च्याम्पियनसिपमा नाम पठाउने भन्नुभएको छ । त्यसका लागि अझै राम्रो मिहिनेत गर्नुपर्छ । टाइमिङ सुधार्ने प्रयास गर्नेछु ।’
त्यसबाहेक आसन्न एसियाली खेलकुद र १४औं सागमा नेपालबाट प्रतिनिधित्व गर्ने लक्ष्य छ । एसियाली खेलकुद यही वर्ष चीनमा र १४औं साग अर्को वर्ष पाकिस्तानमा हुने कार्यतालिका छ । उमेर बढ्दै जाँदा फिट रहने र प्रदर्शन सुधार गर्नुपर्ने चुनौतिलाई उनले बिर्सेका छैनन् ।
नेपाली सेनाको जमदार पदमा कार्यरत उनी अर्को वर्ष असोजदेखि पेन्सनमा अवकास हुन पाउँछन् । तर, सक्रिय उमेर छउन्जेल सेना र एथलेटिक्सकै लागि काम गर्ने योजना बनाएका छन् । ‘नेपाली सेनाले मलाई सबैथोक दिएको छ । बाँकी जीवन पनि आफ्नै ठाउँमा रहेर सेनाकै लागि बिताउने हो,’ जीवनप्रति सन्तुष्ट देखिएका उनले थपे, ‘मेरा आवश्यकता ठूला छैनन् । बाँचुन्जेल देशकै लागि काम गर्छु ।’
१७ फागुन, काठमाडौं । एक वर्ष ७ महिना लामो प्रयासपछि भारतबाट जीटुजीमार्फत रासायनिक मल खरिद गर्ने समझदारीले मूर्त रुप पाएको छ । नेपालको कूल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म निरन्तर उपलब्ध गराउन दुई देशका अधिकारीबीच सोमबार सम्झौता भएको हो ।
भर्चुअल माध्यमबाट भएको यो सम्झौता अनुसार पाँच वर्षभित्र नेपालले भारतबाट ९ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल खरिद गर्ने छ । तर अहिलेसम्म मलको मूल्य भने तोकिएको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाश कुमार सञ्जेलका अनुसार प्रत्येक वर्ष भारतबाट कम्तिमा एक लाख ५० हजार मेट्रिकटनदेखि बढीमा २ लाख १० हजार मेट्रिकटन युरिया र डीएपी मल खरिद सुनिश्चित भएको छ ।
नेपालले ग्लोबल टेण्डरबाट खरिद गर्ने गुणस्तरकै मल ल्याउने गरी भएको सम्झौतामा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौताको मलको मूल्य कति ? आइपुग्छ कहिले ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार अहिले भएको सम्झौता नीतिगत हो । यसमा मलको मूल्यबारे भारतले खरिद गरेको मूल्यमै नेपाललाई दिने भन्ने मात्रै उल्लेख छ । सम्झौता पछि अब दुवै सरकारले मलको मूल्य निर्धारण गर्न खरिद सम्बन्धी छुट्टै संयन्त्र बनाउने मन्त्रालयका सचिव प्रकाश सञ्जेलले बताए । सहसचिवले नेतृत्व गर्ने उक्त संयन्त्रले मलको मूल्य सिफारिस गर्छ भने मल खरिद प्याकेजिङ र डेलिभरीका लागि भारत र नेपालले तोकेका कम्पनीलाई थप सहजीकरण गर्ने छ ।
नेपालका लागि मल आपूर्तिकर्ताको रुपमा कृषि सामग्री कम्पनी तोकिएको छ भने भारतले कुन निकाय भन्ने निश्चित नगरेको मन्त्रालयले जनाएको छ । ‘अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै हरेक वर्ष सहसचिवस्तरीय समितिले मूल्य सिफारिस गर्छ । यो सम्झौताअनुसारको पहिलो खेप मल जेठ अन्तिममा आइपुग्छ,’ मन्त्रालयका प्रवक्ता सञ्जेलले भने ।
नेपालले खरिद गरेको मल नेपालको सीमाका डिपोहरुसम्म भारतीय कम्पनीले ल्याइदिने गरी थप समझदारी हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
कुन वर्ष कति आउँछ मल ?
सम्झौताअनुसार पाँच वर्षमा नेपालले कुल ९ लाख ३५ हजार मेट्रिकटन रासायनिक मल भारतबाट खरिद गर्नेछ । जसमा ५ लाख ६५ हजार मेट्रिकटन यूरिया र ३ लाख ७० हजार मेट्रिकटन मल डीएपी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । जसअनुसार आव २०७८/७९ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म मल जीटुजीमा उपलब्ध हुनेछ ।
कुन वर्ष कति ?
आ.व
युरिया (मे.टन)
युरिया (मे.टन)
जम्मा (मे.टन)
२०७८÷०७९
१,००,०००
५०,०००
१,५०,०००
२०७९÷०८०
१,१०,०००
६०,०००
१,७०,०००
२०८०÷०८१
१,१५,०००
८०,०००
१,९५,०००
२०८१÷०८२
१,२०,०००
९०,०००
२,१०,०००
२०८२÷०८३
१,२०,०००
९०,०००
२,१०,०००
ठेकदारको धोकापछि खोजिएको मलको विकल्प
आर्थिक वर्ष २०७६/०७७ मा रासायनिक मल खरिद गर्न ठेक्का पाएका तीन वटा ठेकदार कम्पनीले समयमै मल ल्याएनन् । धान रोप्ने मुख्य सिजन असारमै मल अभाव भएपछि देशैभरका किसानहरुले हैरानी पाए ।
मलको उचित व्यवस्थापन गर्न नसकेको भनेर तत्कालीन कृषिमन्त्री घनश्याम भूसालको तीव्र आलोचना भयो । मल नपाएर किसान रोएका समाचारले सार्वजनिक रुपमा मन्त्रीको कार्यशैलीमा प्रश्न उठेपछि मल नल्याउने ठेकदारलाई मन्त्री भुसालले कारबाही गरे । तर मल अभावको अवस्था भने उस्तै रह्यो ।
यही बेला मन्त्री भूसालले छिमेकका भारत लगायतका मुलुक र मल उत्पादक मुलुकसँग रासायनिक मल उपलब्धताका लागि परामर्श थाले । भारत, बंगलादेश, चीन, ओमन, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकसँग परामर्श सुरु गरे पनि तत्कालको अभाव चिर्न ५० हजार मेट्रिकटन युरिया मल पैचोमा दिन बंगलादेश सरकार तयार भयो ।
दुई देशका प्रधानमन्त्री तहमा वार्ता गरेर मल दिने बंगलादेशको शर्त पछि भूसालकै आग्रहमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र बंगालादेशी समकक्षी शेख हसिना बीच मल पैंचोका लागि समझदारी पत्र आदान प्रदान गर्न सहमति भयो । तत्कालको समस्या टरे पनि दीर्घकालीन रुपमा मलको खोजी जारी थियो । त्यही बेला भारतले मल जीटूजीमा मल दिने वचन दिएको थियो । त्यसपछि बढेको प्रक्रिया मल खरिद सम्बन्धी समझदारीको मस्यौदा हुँदै १९ महिनामा समझदारीमा परिणत भएको कृषि मन्त्रालयले जनाएको छ ।
मस्यौदामा लामो विवाद भए पनि २०७७ माघमा भारतले मस्यौदामा समझदारी जनाएको थियो । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा वाषिर्क ७ लाख मेट्रिक टन रासायनिक मलको माग छ ।
१७ फागुन, बार्सिलोना । युक्रेनमा संकट गहिरिएसँगै त्यहाँ रहेका नेपालीहरु पोल्याण्ड स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश गर्ने क्रम बढेको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार सोमबार दिउँसोसम्म १ सय ८५ जना नेपालीहरुले युक्रेन छाडेका छन् ।
दूतावासले हालसम्म युक्रेनमा रहेका २ सय ५८ जना नेपालीहरु सम्पर्कमा आएको जनाएको छ । नेपाल सरकारले बोर्डरसम्म आउन सुझाव दिएको भए पनि त्यहाँ आइपुग्न निकै जटिल रहेको केही नेपालीहरुले गुनासो गर्दै आएका छन् ।
तर जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले स्थानीय स्तरमा जारी सूचनालाई आधार बनाएर यात्रा गर्न सुझाव दिएका छन् । ‘युक्रेनको राजधानी किएभ र खार्किभमा स्थानीय स्तरमा लगाइएको कर्फ्युको कारणले ठ्याकै आफैंले चाहेको बेला निस्कन कठिन देखिएको हो,’ राजदूत खड्काले अनलाइनखवरलाई भने, ‘सुरक्षाको दृष्टिकोणबाट एड्भाइजरी अनुसार नै ट्रेनहरु प्रयोग गर्नुपर्छ ।’
उनले दूतावासबाट हालसम्म ३८ वटा ट्राभल डकुमेन्ट जारी गरेर युक्रेनबाट नेपालीहरुलाई उद्धार गरिएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता सुरक्षित ठाउँमा पुर्याउने हो । लगभग त्यो काम सफल भएको भन्ने मलाई लागेको छ,’ राजदूत खड्काले भने, ‘अब एनआरएनसँग सहकार्य गर्दै इच्छुकलाई घर फर्काउने तयारी पनि गर्नेछौं ।’
उनले भारतसँग नेपाल सरकारको तुलना नगर्न भन्दै आफ्नो स्रोत साधनले भ्याएसम्म उद्धार गर्न नेपाल सफल भएको दावी गरे । ‘भारतका विद्यार्थीहरुको संख्या युक्रेनमा ठुलो छ । हाम्रो चार सयको संख्या र उनीहरु चार हजार । तुलना हुनै सक्तैन । उनीहरुलाई जे जरुरी थियो र त्यो गरे,’ राजदूत खड्काले भने, ‘यहाँबाट नेपाल फर्किन पाउँ, बेखर्ची भएँ भन्ने गुनासो एक/दुई जना बाहेक कसैको आएको छैन ।’
प्रस्तुत छ, युक्रेन संकटबाट प्रभावित नेपालीहरुबारे राजदूत खड्कासँग अनलाइनखबरकर्मी बसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंश ।
अहिलेसम्म कति नेपालीहरुले युक्रेन छाडेका छन् ?
२ सय ५८ जना हाम्रो सम्पर्कमा आउनुभएको छ । त्यसमध्ये सोमबार दिउँसो १ बजेसम्म १ सय ८५ जना युक्रेनबाट सुरक्षित रुपमा अर्को देश पुग्नु भएको छ । जसमध्ये १ सय ३१ जना पोल्याण्ड प्रवेश गर्नु भएको छ । अन्य ४०-५० जना पोल्याण्ड बोर्डरको लाइनमा नै हुनुहुन्छ । २७ जना स्लोभाकिया जानुभएको छ । केही संख्या अझै त्यतै जाने प्रक्रियामा हुनुहुन्छ । हंगेरीमा ४ जना र रोमानियामा २३ जना पुगिसक्नुभएको छ ।
त्यसो भए बाँकी अझै युक्रेनमा नै छन् भनेर बुझ्दा हुन्छ ?
होइन, होइन् । धेरैजसो बोर्डरमा नै हुनुहुन्छ । ठूलो संख्यामा पोल्याण्डको बोर्डरमा आफ्नो पालो पर्खेर बस्नुभएको छ ।
केहि चाहिं युक्रेन भित्रै तर अलि सुरक्षित क्षेत्रमा नै रहेको बुझिएको छ । तर अलि असुरक्षित ठानिएको किएभ र खार्किभतिरबाट प्रायः सबै बाहिर निस्किसक्नुभएको सूचना प्राप्त भएको छ । विद्यार्थीहरु, रोजगार भिसामा काम गर्न आउनु भएका वा त्यहींकै स्थायी बासिन्दाहरु पनि अन्यत्र जानुभएको बुझिएको छ ।
३-४ दशकदेखि त्यहीं स्थायी रुपमा बसोबास गर्दै आएका केही नेपालीहरू जस्तोसुकै परिस्थितिमा पनि राजधानी नछोड्ने मनस्थितिमा हुनुहुन्छ भन्ने सुनिएको छ, त्यो संख्या कस्तो छ ?
युक्रेनमा स्थायी रुपामा बसोबास गर्दै आएको नेपालीको संख्या ३८ हो । त्यहाँको गैरआवासीय नेपाली संघको अध्यक्ष हरी मल्ल ज्यू पनि केही दिनका लागि सिफ्ट हुने क्रममा नै हुनुहुन्छ । हिजो एक जना नेपाल फर्किसक्नुभएको छ । युक्रेनमा नै विवाहित पत्नी र बच्चाहरु लिएर उहाँ नेपाल र्फकनु भएको हो ।
अहिलेको संकटपछि युक्रेनबाट नेपाल र्फकने नेपाली पनि हुनुहुन्छ । त्यस्तै आज दुईजना डाक्टर साबहरु नेपाल जाँदै हुनुहुन्छ । स्थायी रुपमा बस्दै आउनु हुने नेपालीले युक्रेन नै नछोडेको भन्ने चाहिं होइन । तर युक्रेनमा नै बस्नेले पनि अलि सुरक्षित ठाउँहरु रोज्नुभएको छ ।
युक्रेनबाट पोल्याण्ड पुग्नुभएका एक विद्यार्थीले दिएको सूचना अनुसार एक गर्भवती नेपाली महिला पनि हुनुहुन्छ, जसले यसै महिना बच्चा जन्माउँदै हुनुहुन्छ । उहाँ पनि बोर्डरतिर आइरहनुभएको छ भन्ने सुनिन्छ । दूतावासलाई त्यस्तो कुनै जानकारी छ ? उहाँलाई व्यक्तिगत रुपमा कुनै सल्लाह, सहयोग वा सुझाव दिनुभएको छ ?
त्यो चाहिं अहिलेसम्म जानकारी प्राप्त भएको छैन । महिलाहरु त धेरै जना नै सम्पर्कमा आउनुभएको छ । तर तपाईंले भनेजस्तो कुनै पनि जानकारी छैन ।
सरकारले सजिलै गरी ल अब बोर्डरतिर आऊ भन्दिने, तर बोर्डरसम्म आउन, कति जोखिम छ भन्ने कुरा सरकारले नबुझेको भन्दै कतिपयले गुनासो गरेका छन् नि ?
युक्रेनको किएभ नगरपालिका र खार्किभमा स्थानीय स्तरमा लगाएको कर्फ्युको कारणले ठ्याकै आफैंले चाहेको बेला निस्कन कठिन देखिएको अवस्था हो । तर जतिखेर ट्रेनहरु चल्दैनन्, त्यो बेला एड्भाइजरी गरिएको हुन्छ । जस्तो आज (सोमबार) बिहान ८ बजेदेखि त्यहाँबाट बाहिर जाने मानिसहरुका लागि विशेष ट्रेनको व्यवस्था गर्दै आह्वान नै गरिएको थियो । त्योबारे स्थानीयस्तरमा नै चनाखो र अपडेट हुन जरुरी छ । द्वन्द्वको बेला यो फरक अवस्था हो । जति बेला सुरक्षाको दृष्टिकोणबाट एड्भाइजरी जारी हुन्छ, त्यही अनुसार नै यात्रा गर्नुपर्छ । स्थानीयस्तरमा त्यहाँस्थित एनआरएनका पदाधिकारीहरुले पनि सूचना दिएर सहयोग गरिरहनुभएको छ ।
बोर्डर पुर्याउन सहयोग गर्नुहोस् भनेर दूतावासको सम्पर्कमा दैनिक कति नेपाली आउनुहुन्छ ?
आज एकजना हुनुहुन्थ्यो । हिजो ४ जना हुनुहुथ्यो । हामीले उहाँहरुलाई सुझाव दियौं र आज बिहानै चार जनाले नै ट्रेन चढिसक्नुभयो । त्यस्तै एकजना ब्यवसायीले पनि सम्पर्क गर्नुभएको थियो । उहाँ भिजिटमा आउनुभएको रहेछ अप्ठ्यारोमा परेको भन्दै सम्पर्क गर्नुभएको थियो । एड्भाइजरी जारी भएपछि सम्भवतः उहाँ पनि अपडेट हुनुभएको छ ।
दूतावासको सम्पर्कमा आउने संख्या अब कम हुँदै गएको हो ?
पहिले जस्तो छैन । हामीलाई लाग्छ अब खार्किभ र किएभबाट नेपालीहरु बाहिरिसक्नु भएको छ । अब लगभग बाँकी हुनुहुन्न ।
बोर्डर पार गराउन दूतावासले कागजी प्रक्रियामा पनि सहयोग गरेको छ ?
दूतावासले आजसम्म ३८ वटा ट्राभल डकुमेन्ट जारी गरेको छ । त्यसमध्ये दुई वटा रोमानियास्थित ओनरी कन्सुलरबाट जारी भएका छन् । उहाँहरुलाई सुरक्षित स्थानमा लैजानका लागि उहाँहरुसँग सम्पर्कमा रहनेदेखि कागजी प्रक्रियामा पनि यथाशीघ्र सहयोग गर्दै आएका छौं ।
ट्राभल डकुमेन्ट नै बनाउनु परेपछि उनीहरु युक्रेनमा अवैधानिक रुपमा रहेको भनेर बुझ्दा हुन्छ ?
त्यसरी पनि बुझ्नु भएन । कतिपयले ब्याग हराएको भन्नुभएको छ । कतिपयले इमिग्रेसनमा डकुमेन्ट पेश गरेको र प्राप्त नभइसकेको बताउनुभएको छ । वर्किङ भिसामा आउनेहरुको एजेन्टले पासपोर्ट राखिदिएको भन्ने पनि सूचना आयो । तर अहिलेको अवस्थामा उहाँहरुलाई कसरी सुरक्षित राख्ने भन्नेमा नै हाम्रो ध्यान केन्दि्रत भएको छ । त्यही अनुसार नै दूतावासबाट सेवाप्रवाह भएको छ ।
उता भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइसक्यो, नेपालले केही गर्न नसकेको भन्दै आलोचना भएको छ नि । पीडितहरुले नै गुनासो गर्दै आउनुभएको छ ।
तपाईंहरुले बुझिराख्नु पर्ने कुरा के छ भने । हाम्रो ध्वजावाहक विमान युरोपको आकाशमा प्रतिबन्धित छ । नेपाल एयरलाइन्सको जहाजबाट सम्भव छैन । अरु कम्पनीको जहाज रिजर्भ गरेर लैजान अति धेरै खर्चिलो हुन्छ । यहाँबाट नेपाल फर्किन पाउँ र बेखर्ची भएको गुनासो एक-दुईजना बाहेक कसैको आएको छैन । त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता भनेको उहाँहरुलाई सुरक्षित ठाउँमा पुर्याउने हो । लगभग त्यो काम सफल भएको भन्ने मलाई लागेको छ ।
दोस्रो कुरा भारतका विद्यार्थीहरुको संख्या युक्रेनमा ठुलो छ । हाम्रो चार सयको संख्या र उनीहरु चार हजार । तुलना हुनै सक्तैन । उनीहरुलाई जे जरुरी थियो र त्यो गरे । त्यसैले भारतसँग हाम्रो तुलना आवश्यक छैन । हाम्रो स्रोत साधनले भ्याएसम्म हामीले काम गर्ने हो ।
अर्कोतर्फ नेपाल नै र्फकन चाहने नेपालीको संख्या ठूलो भएमा हामीले अझै पनि पहल गर्न तत्पर छौं । भारतले स्वदेश फर्कायो नेपालले केही गरेन भनेर आवश्यकता भन्दा बढी प्रचार भयो कि भन्ने मलाई लाग्दछ ।
त्यसो भए अब पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाका रहेका नेपालीहरु त्यहाँ कति समय बस्छन् ?
मुलुकैपिच्छे नियम फरक-फरक छ । १५ दिनदेखि ९० दिनसम्मको भिसा दिएको छ भन्ने सुनिएको छ । पोल्याण्ड जाने धेरै नेपालीहरुले एक महिनाको पाइयो भन्ने सुनेको छु । व्यक्तिको डकुमेन्ट, त्यहाँ युक्रेनमा बसेको स्टाटस हेरेर फरक-फरक निर्णय हुनसक्छ । १५ दिनदेखि ९० दिनसम्म सुविधा छ । अर्कोतर्फ रुस-युक्रेन द्वन्द्वको अवस्थालाई मध्यनजर राख्दै बाँकी विषयमा उहाँहरुकै इच्छा अनुसार हामीले पनि सहयोग गर्नेछौं ।
अहिलेको यो संकटमा परराष्ट्रस्तरबाट कुन-कुन मुलुकहरुसँग समन्वय गर्नुभयो ?
अन्तर्राष्ट्रिय समुदायसँगको कुराकानी गर्दा, हामीले जर्मनस्थित परराष्ट्र मन्त्रालय, पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाका परराष्ट्र मन्त्रालयहरु, युक्रेन, पोल्याण्ड र रोमानियास्थित भारतीय दूतावासहरुमा पनि पत्राचार गरेका थियौं । यहाँस्थित युक्रेनको दूतावाससँग पनि हामी सम्पर्कमा रहेका छौं । पोल्याण्डको दूतावाससँग पनि सम्पर्कमा नै छौं । हामीले आवश्यकता अनुसार यी मित्र राष्ट्रहरुका परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर काम गरेका छौं ।
अनि एनआरएनसँगको सहकार्य ?
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदसँग समन्वय गरेर काम कारवाहीलाई अगाडि बढाएका छौं । मेरो अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्व रहने गरी उच्चस्तरीय रेस्क्यू कमिटी पनि गठन गरेका छौं । त्यसमा बिभिन्न देशका एनसीसी पदाधिकारीहरु पनि रहनु भएको छ । उहाँहरुले आफ्नो क्षेत्रगत विज्ञताको आधारमा लिड गर्ने गरी काम गरिरहनु भएको छ । कानुनी परामर्श, स्वास्थ्य सम्बन्धी परामर्श, आर्थिक सहयोग लगायतका सबै प्रयोजनका लागि कमिटीले आफ्नो काम गरिरहेको छ ।
यदि नेपाल र्फकने इच्छा छ तर आर्थिक अवस्था कमजोर छ भने ?
उच्चस्तरीय कमिटी त्यसका लागि प्रतिवद्ध रहेको छ । एनआरएनए केन्द्रीय पदाधिकारीहरुले आर्थिक रुपमा पनि सहयोग गर्न संघ तयार रहेको बताउँदै आउनुभएको छ ।
जंक फुडलाई नेपाली भाषामा पत्रु वा काम नलाग्ने खाना पनि भनिन्छ । अंग्रेजी भाषामा जंक भनेको काम नलाग्ने, बेकारको भन्ने अर्थ लाग्छ । यो शब्द अमेरिकामा सर्वप्रथम सन् १९७२ मा प्रचलनमा आएको हो । जंक फुड भनेको शरीरलाई अति आवश्यक पर्ने प्रोटिन, भिटामिन, खनिज, फाइबर जस्ता तत्व नभएको वा अतिकम भएको तर चिनी, नुन, चिल्लो पदार्थ जस्ता क्यालोरीयुक्त तत्वको मात्रा धेरै भएको खाद्यवस्तुलाई भनिन्छ । जंक फुड विशेषगरी वर्तमान युगका किशोर-किशोरीको स्वास्थ्यका लागि ठूलो चुनौती बनिरहेको छ । त्यसैले अहिले जंक फुड व्यापक बहस र चर्चाको विषय पनि बनिरहेको छ ।
सायद जंक फुड भन्ने अंग्रेजी शब्दकै प्रचलनका कारणले जंक फुड के हो र कहाँ पाइन्छ भन्ने लागिरहेको हुन्छ । वास्तवमा हाम्रै वरिपरिका साधारण पसलदेखि ठूला सुपर मार्केटसम्ममा जंक फुड छ्याप्छ्याप्ती पाइन्छ । हामी जानी-नजानी त्यसको उपभोग गरेर आफ्नो स्वास्थ्यमा खतरा थपिरहेका छौं ।
हाम्रो वरिपरिका पसलहरूमा पाइने तयारी खानेकुराहरू जस्तै- चाउचाउ, बिस्कुट, आलुचिप्स, चिजबल्स, कुरकुरे, भुजुरी, चकलेट, क्याड्बरी, आइसक्रिम, केक तथा तुरुन्त तयार पार्न सकिने- मम, पिज्जा, आलुप|mाई, हटडग, बर्गर आदि खानालाई जंक फुड भनिन्छ । यस्ता खानेकुरामा धेरै नुन, चिनी र चिल्लो हुन्छ तर भिटामिन, खनिज र फाइबर एकदमै कम हुन्छ ।
यसमा भएका हानिकारक तत्वहरूका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छन् । यसरी उत्पन्न हुने खतरनाक रोगहरूमध्ये हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, दाँतसम्बन्धी समस्या, कुपोषण, हाड सम्बन्धी समस्या आदि प्रमुख हुन् ।
शरीरलाई हानि पुर्याउन सक्ने विभिन्न तत्व मिसाइएका कारण जंक फुड स्वादिलो र पकाउन पनि छिटो हुन्छ । यस्ता खानेकुरा पाएसम्म केटाकेटीले त दाल, भात, तरकारी खान रुचि नै राख्दैनन् । अहिले जंक फुड किशोर-किशोरीका लागि पनि निकै नै प्रिय बनेको देखिन्छ । विशेषगरी बिहान र दिउँसोको खाजामा यसको प्रयोग बढी भएको देखिन्छ ।
खासगरी सहरी क्षेत्रमा जंक फुड कतिपयले बिहान-बेलुकाको खानाका रूपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । यसले उनीहरूको शरीरमा पोषकतत्वको कमी र हानिकारक तत्वको वृद्धि हुन जान्छ र स्वास्थ्यसम्बन्धी समस्या देखिन्छन् ।
जंक फुडबाट हुने मुख्य स्वास्थ्य समस्या
धेरै जंक फुडहरू डिप फ्राई गरिएका अर्थात् तेलमा डुबाएर तारिएका हुन्छन्, यसले गर्दा त्यस्ता खानामा प्रशस्त मात्रामा चिल्लो पदार्थ हुन्छ । यो चिल्लो पदार्थ शरीरमा बोसोको रूपमा जम्मा हुन्छ । यसबाट खराब कोलेस्ट्रोल बढ्नेलगायतका रक्तसञ्चार प्रणालीमा असर गर्ने दुष्परिणाम उत्पन्न हुन्छन् । अन्ततः यसबाट हृदयघात हुने खतरा हुन्छ ।
साथै चिल्लो पदार्थले शरीरको पाचनप्रणालीमा पनि प्रत्यक्ष असर गर्छ । चिल्लोले शरीरको तौल बढ्ने भएकाले यसबाट जीउ भद्दा देखिने मात्र होइन, रक्तचाप बढ्ने, मधुमेह हुने हुन्छ । बोसो बढ्दै गएमा कलेजोले पनि राम्रोसँग काम गर्न सक्तैन ।
जंक फुडमा प्रशस्त मात्रामा प्रशोधित चिनी हुन्छ । अझ कोक, पेप्सी, फ्यान्टा, मिरिन्डा, रेडबुल जस्ता पेय पदार्थ, आइस क्रिम, चकलेट, सनपापड, केक आदिमा धेरै मात्रामा चिनी मिसाइएको हुन्छ । यसले खानालाई स्वादिष्ट त बनाउला तर चिनीको बढी मात्राले डायबिटिज अर्थात् मधुमेह रोग हुने सम्भावना धेरै नै वृद्धि हुन्छ । अझ आफ्नो वंशमा कसैलाई मधुमेह छ भने त यो खतरा झन् धेरै हुन्छ ।
जंक फुडमा प्रशस्त मात्रामा नुन राखिएको हुन्छ । दालमोठ, पापड, भुजिया आदि तयारी खानामा धेरै मात्रामा नुन राखिएको हुन्छ र शरीरमा नुनको मात्रा चाहिने भन्दा धेरै नै बढी हुन जान्छ । जसका कारण उच्च रक्तचापमा वृद्धि हुन्छ । रक्तचाप वृद्धि भएपछि प्रमुख रूपमा मुटुलाई असर गर्छ । साथै यसले मिर्गौला फेलियर हुने, मस्तिष्क घात हुने सम्भावना पनि धेरै नै वृद्धि गर्छ ।
किशोरावस्थामा शरीरमा अनेक किसिमका हार्मोन सम्बन्धी परिवर्तन हुन्छ । यसलाई सन्तुलन गर्नका लागि सन्तुलित आहारको जरुरत पर्छ । तर बारम्बार जंक फुड खाने गर्नाले यसका लागि आवश्यक पौष्टिक तत्व पुग्दैन । जसले गर्दा किशोर-किशोरीमा बानी-व्यहोरा परिवर्तन, चिडचिडाहट, मन उदास, डिप्रेसन हुने लगायतका विभिन्न मानसिक समस्या उत्पन्न हुन्छन् । मानसिक समस्याले कुनै न कुनै रूपमा मुटु र मस्तिष्कलाई पनि असर पुर्याउँछ ।
नाफामुखी व्यापार
विश्वमै जंक फुड एउटा राम्रो नाफाको व्यापार भएको छ । आजको प्रतिस्पर्धात्मक युगमा मानिसले छिटो तयार हुने खानेकुरालाई प्राथमिकता दिने भएकाले रेस्टुरेन्टहरूले फास्ट फुडहरू उपलब्ध गराउन थालेका थिए । त्यसपछि उत्पादकहरूले अझ त्योभन्दा छिटो हुने तयारी खानाहरू उत्पादन गरेर बजारमा उपलब्ध गराउन थालेका हुन् । यसरी तयारी खाना उत्पादन गरेर बट्टा, प्ल्ाास्टिक, सिसी, कागज आदिमा बन्द गरी बजारमा पठाउँदा धेरै दिनसम्म नबिगि्रयोस् भनेर ती खानामा विभिन्न रसायन राखिएको हुन्छ । यसले खानालाई केही दिनसम्म बिग्रन दिंदैन तर स्वास्थ्यमा भने हानि पुग्छ ।
यस्तैगरी बजार वृद्धि गर्नका लागि ती खानालाई आकर्षक देखाउन खानामा विभिन्न किसिमका रंगहरूको प्रयोग गरिएको हुन्छ । यस्ता कतिपय रंगहरू अखाद्य पनि हुन्छन् । जंग फुड प्याक गर्न प्रयोग गरिएका प्लास्टिक, टिन, कागज, बोतललाई आकर्षक देखाउन आकर्षक डिजाइन, फलफूल र खाद्यवस्तुको आकर्षक रंगीन चित्र प्रयोग गरिएको हुन्छ । यसले उपभोक्ताको मन लोभ्याउँछ र किन्छन् ।
जंक फुड बढी बिक्री गर्नका लागि उत्पादकले खाद्यवस्तुको पोषणमा भन्दा स्वादमा बढी ध्यान दिएको हुन्छ । त्यसकारण आफ्नो उत्पादनलाई बढी स्वादिष्ट बनाउनका लागि त्यसमा अजिनोमोटो, क्याफिनलगायत विभिन्न रसायनिक वस्तु मिश्रण गरिएको हुन्छ । यस्ता तत्वले मानिसलाई त्यस्ता वस्तु किन्न लोभ्याउँछ । तर यस्ता वस्तुको बढी प्रयोगले शारीरिकलगायत अनेक मानसिक समस्या पनि हुने गरेको पाइएको छ । त्यस्तै स्वाद वृद्धि गर्न बढी तेल, बोसो, चिनी, नुनको प्रयोग गरिएको हुन्छ । यस्ता वस्तुले मानिसलाई निश्चय नै आकर्षण गर्छ । जसले गर्दा व्यापारीको बिक्री त बढ्छ तर उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्छ ।
त्यस्तैगरी आफ्नो उत्पादनको बिक्री बढाउन उत्पादक तथा व्यापारीहरूले अनेक किसिमका आकर्षक विज्ञापनहरू गर्ने गरेका छन् । यस्ता विज्ञापनमा हाइट बढाउने, बुद्धि बढाउने, सम्झना शक्ति बढाउने, साहसिक र बहादुर बनाउने, रोगबाट बचाउने, सफल बनाउने जस्ता विभिन्न किसिमका भ्रमपूर्ण सन्देश पनि प्रवाहित गरिएको हुन्छ ।
यस्ता विज्ञापनले विशेषगरी किशोर-किशोरीको मनलाई आकषिर्त गरिरहेको हुन्छ । यस्तै विज्ञापनका कारण केटाकेटी यस्ता वस्तु दौंतरीका अगाडि खाँदा पनि गर्वको महसुस गर्छन् । उपभोक्ताहरूको यही मनस्थितिको फाइदा लिएर उत्पादकहरूले आफ्नो बजार विस्तार गर्छन् ।
औद्योगिकीकरण र सहरीकरणका कारण जंक फुडको प्रयोग सर्वप्रथम युरोप, अमेरिकामा नै भएको हो, र अहिले पनि यसको सबैभन्दा बढी प्रयोग युरोप र अमेरिकामा नै भइरहेको छ । त्यसै कारणले गर्दा पनि अहिले युरोप र अमेरिकामा मुटु रोग मानिसको मृत्युको प्रमुख कारण बनिरहेको छ । मुटु रोग लाग्नुमा चिल्लो, नुुनिलो र गुलियो बढी भएका खाद्यवस्तुको सेवन हो भन्ने कुरा त्यहाँ भएका विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।
यसै कारण उनीहरूले अहिले यस्ता वस्तुको उपभोग कम गर्नका लागि जंक फुड खाने बानीमा परिवर्तन गरिरहेका छन् । बेलायत, आयरल्याण्डलगायत कतिपय युरोपियन मुलुकले त दीर्घकालीन कार्यक्रम नै बनाएर जंक फुड उपभोगमा कटौती गर्दैछन् । तर जंक फुडको व्यापार ती मुलुकहरूको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस्ता वस्तुको व्यापारलाई उनीहरूले एशिया, अपि|mका र ल्याटिन अमेरिकामा प्रवर्द्धन गरिरहेका छन् । यसैका कारण नेपालमा पनि बहुराष्ट्रिय कम्पनीका उत्पादन र तिनीहरूको विज्ञापन प्रशस्त देखिने गरेको छ ।
उत्पादक कम्पनीहरूले आफ्ना उत्पादनलाई बढाइँचढाइ गरेर विज्ञापन गरिरहेका हुन्छन् र त्यसले हाम्रो मन तानिरहेको हुन्छ । किन्ने बित्तिकै खान सकिने, पकाएर खान पनि सजिलो, स्वाद पनि हुने जस्ता कारणले हामी त्यस्ता वस्तु खाइरहेका छौं, तर त्यस्ता वस्तु हाम्रो स्वास्थ्यका लागि हानिकारक छन् भने किन महँगो पैसा तिरेर त्यस्ता वस्तु खाने ?
खाना छान्दा हामीले सर्वप्रथम सन्तुलित आहार नै छान्नुपर्छ । मानिसलाई चिल्लो, गुलियो, नुनिलो वस्तु पनि आवश्यक पर्छ तर न्यूनतम मात्रामा । साथै हाम्रो शरीरलाई खनिज, भिटामिन, प्रोटिन, फाइबरलगायत अन्य विभिन्न तत्वको पनि जरुरत पर्छ । खानामा यस्ता तत्व पनि सन्तुलित रूपमा समावेश भएको हुनुपर्छ । तर चिल्लो, गुलियो र नुनचाहिं चाहिने भन्दा बढी र भिटामिन, प्रोटिन, खनिज, फाइबर जस्ता महत्वपूर्ण तत्व चाहिं नाममात्रको भएमा हामी रोगी बन्छौं ।
कोक, पेप्सी, रेडबुल जस्ता जंक फुडको प्रचलन हुनुअघि मानिसहरूले पेय पदार्थका रूपमा पानी, दूध, दही, मोही, लस्सी, ताजा जुस, कागती पानी प्रयोग गरी भिटामिन, खनिज, प्रोटिन आदि प्राप्त गरिरहेका थिए ।
खाजाको रूपमा गहुँ, कोदो, फापर, मकैको रोटी, गहुँ-धानको चिउरा, भटमास, चना, केराउ, बोडीको परिकार, हरियो मकै, हरियो तरकारीका परिकार, आलु, सखरखण्ड, काँक्रो, गाँजर, मुला, मेवा, केरा आदि जस्ता स्वास्थ्यवर्द्धक खाद्यवस्तुहरू प्रयोग गर्ने गरेका थिए । तर आज यस्ता खाद्यवस्तुको प्रयोग ज्यादै न्यून भएर गइसकेको छ । यस्ता उपयोगी खाद्य वस्तुको प्रयोग गर्दा पनि तेलमा तारेर, भुटेर, ज्यादा मसला, नुन, चिनी प्रयोग गरेर खाने गरिन्छ । जसले गर्दा यसमा भएको पोषकतत्व नष्ट हुन्छ भने शरीरलाई हानि पुर्याउने तत्वको मात्रा भने बढ्न जान्छ । त्यसकारण परम्परागत खाद्य वस्तुहरूको प्रयोग गर्दा पनि सही तरिकाले पकाउन आवश्यक छ ।
१७ फागुन, काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।
कैलाशकूट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको थियो ।
यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उनले बताए ।
बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन मात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिए ।
नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।
आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
१६ फागुन, काठमाडौं । एक वर्ष ७ महिना लामो प्रयासपछि भारतबाट सरकारी स्तर (जीटूजी)मार्फत रासायनिक मल खरिद गर्ने समझदारी भएको छ । नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म निरन्तर उपलब्ध गराउन दुई देशका अधिकारीबीच सोमबार सम्झौता भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलकाअनुसार अब प्रत्येक वर्ष भारतबाट कम्तीमा एक लाख ५० हजार मेटि्रकटन देखि बढीमा २ लाख १० हजार मेट्रिकटन युरिया र डीएपी मल खरिद सुनिश्चित भएको छ ।
नेपालले ग्लोबल टेन्डरबाट खरिद गर्ने गुणस्तरकै मल ल्याइने गरी भएको सम्झौतामा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गरेका हुन् ।
मूल्य कति, आइपुग्छ कहिले ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार अहिले भएको सम्झौता नीतिगत विषय मात्रै हो । सम्झौतामा भारतले खरिद गरेको मूल्यमै नेपाललाई दिने भन्ने मात्रै उल्लेख छ ।
सम्झौतापछि अब दुवै सरकारले मलको मूल्य निर्धारण गर्न खरिद सम्बन्धी छुट्टै संयन्त्र बनाउने मन्त्रालय सचिव प्रकाश सञ्जेलले बताए । सहसचिवले नेतृत्व गर्ने उक्त संयन्त्रले मलको मूल्य सिफारिस गर्छ भने मल खरिद प्याकेजिङ र डेलिभरीका लागि भारत र नेपालले तोकेका कम्पनीलाई थप सहजीकरण गर्ने छ ।
नेपालका लागि मल आपूर्तिकर्ताको रुपमा कृषि सामाग्री कम्पनी तोकिएको छ भने भारतले कुन निकाय भन्ने निश्चित नगरेको मन्त्रालयले जनाएको छ ।
‘अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नै हरेक वर्ष सहसचिव स्तरीय समितिले मूल्य सिफारिस गर्छ । यो सम्झौताअनुसारको पहिलो खेप मल जेठ अन्तिममा आईपुग्छ,’ मन्त्रालयका प्रवक्ता सञ्जेलले भने ।
नेपालले खरिद गरेको मल नेपालको सीमाका डिपोहरुसम्म भारतीय कम्पनीले ल्याईदिने गरी थप समझदारी हुने मन्त्रालयको भनाइ छ ।
सम्झौताअनुसार पाँच वर्षमा नेपालले कुल ९ लाख ३५ हजार मेट्रिकटन रासायनिक मल भारतबाट खरिद गर्नेछ । जसमा ५ लाख ६५ हजार मेट्रिकटन यूरिया र ३ लाख ७० हजार मेट्रिकटन मल डीएपी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । जसअनुसार आव ७८/७९ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म मल जीटूजीमा उपलब्ध हुनेछ ।
ठेकदारको धोकापछि जीटूजी
आर्थिक वर्ष २०७६/०७७ मा रासायनिक मल खरिद गर्न ठेक्का पाएका तीन वटा ठेकदार कम्पनीले समयमै मल ल्याएनन् । धान रोप्ने मू्ख्य सिजन असारमै मल अभाव भएपछि किसानहरु समस्यामा परेका थिए ।
मल लिन किसानले हैरानी खेपेपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुसालको तीव्र आलोचना भयो । मल नल्याउने ठेकदारलाई मन्त्री भुसालले कारबाही गरे ।
तत्कालीन मन्त्री भुसालले छिमेकका भारत लगायतका मुलुकसँग रासायनिक मल उपलब्धताका लागि परामर्श थालेका थिए ।
भारत, बंगलादेश, चीन, ओमन, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकसँग छलफल भएपनि पहिलो चरणमा बंगलादेशबाट मात्रै ५० हजार मेटि्रकटन युरिया मल पैंचोमा आयो ।
तत्कालको समस्या टरे पनि दीर्घकालीन रुपमा मलको खोजी गर्दा भारतले मल जीटूजीमा दिने वचन दिएको थियो । त्यसपछि बढेको प्रक्रिया मल खरिद सम्बन्धी समझदारीको मस्यौदा हुँदै १९ महिनामा समझदारीमा परिणत भएको कृषि मन्त्रालयले जनाएको छ ।
मस्यौदामा लामो विवाद भए पनि २०७७ माघमा भारतले मस्यौदामा समझदारी जनाएको थियो । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा वाषिर्क ७ लाख मेटि्रकटन रासायनिक मलको माग छ ।
१६ फागुन, काठमाडौं । काभ्रेको बनेपामा एउटा शंकास्पद वस्तु भेटिएको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ ।
शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।
१६ फागुन, काठमाडौं । पिएरे एमरिक ओबामेयाङले लगातार गोल गर्दा बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गरेको छ ।
यस जितपछि बार्सिलोना एट्लेटिको मड्रिडलाई पछि पार्दै अंकतालिकामा चौथो स्थानमा समेत उक्लेको छ ।
ओबामेयाङले बार्सिलोनाका लागि पछिल्लो तीन खेलमा गोलसंख्या पाँच पुर्याउने क्रममा बिल्बाओविरुद्ध ३७औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । त्यसपछि उसमान डेम्बेलेले ७३औं, फ्रेन्की डे जोङले ९०औं र मेम्पिस डिपाएले इन्जुरी टाइममा गोल गरे ।
गत फेब्रुअरीमा मात्र आर्सनलबाट बार्सिलोना आएका ओमाबेयाङ बार्सिलोनाका लागि यस सिजन सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा पुगिसकेका छन् । उनी भन्दा बढी डिपाएले ९ र डे जोङले ६ गोल गरेका छन् ।
८ डिसेम्बरदेखि बार्सिलोना अपराजित छ ।
जितपछि बार्सिलोनाले २५ खेलबाट ४५ अंक जोडेको छ र एट्लेटिको मड्रिडलाई पछि पारेर चौथो स्थानमा उक्लेको छ ।
अन्य खेलमा दोस्रो स्थानको सेभियाले तेस्रो स्थानको रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । सेभियाको २६ खेलबाट ५४ अंक छ भने बेटिसको समान खेलबाट ४६ अंक छ ।
१६ फागुन, धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ ।
धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको छ ।
निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सोमबार बिहान १० बजेपछि पार्टी कार्यालयमा सभापति पदको मतगणना सुरु गरिने जानकारी दिए ।
कांग्रेसको सभापतिका लागि नारायणदत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार कुल खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुुनेछ ।
पहिलो चरणमा कुनै एक जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सर्वाधिक मत ल्याउने दुई जनाबीच पुनः दोस्रो चरणमा प्रतिस्पर्धा हुुनेछ ।
१६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको २७ नं वडा कार्यालयको निर्माणाधीन भवन विवादमा परेको छ । ऐतिहासिक फल्चा रहेको ठाउँमा व्यावसायिक प्रयोजनसहितको वडा कार्यालय भवन बनाउन शिलान्यास गरिएको भन्दै स्थानीयले त्यसको विरोध गरेका हुन् ।
ठमेलस्थित अहिले ज्याठामा रहेको मल्लकालीन छुस्याबहालको सम्मुखमा वय्लाछी फल्चा थियो भन्ने स्थानीयको दाबी छ । यसको सांस्कृतिक एवं ऐतिहासिक महत्वलाई त्यहाँ रहेको शिलालेखले समेत स्पष्ट पारेको भन्दै वडा कार्यालयको ठाउँमा फल्चा पुनर्निर्माण गर्न गुठियार एवं स्थानीयले माग गरेका छन् ।
५२ वर्षअघिसम्म सो क्षेत्रमा फल्चा रहेको प्रमाण रहेको भन्दै गुणाकर महाविहारका गुर्जु एवं अन्य स्थानीयले वडा कार्यालयमा निवेदन दिएका थिए । तर वडाले सोको बेवास्ता गरेको उनीहरुको आरोप छ ।
शिलालेख विशेषज्ञ सिद्धिरत्न शाक्य छुस्याबहालभित्र रहेको एउटा शिलालेखले अहिले वडा कार्यालय भवन बनिरहेको ठाउँमा फल्चा रहेको प्रमाण दिने बताउँछन् । तहलाछी टोलका गुणज्योति र उनका परिवारले उक्त फल्चा बनाएको भन्ने कुरा सो अभिलेखमा लेखिएको शाक्य बताउँछन् ।
‘गुणकीर्ति महाविहारको निर्माण पूरा गरेपछि लोकहित र सबैलाई सुख होस् भन्नको लागि त्यो पाटी बनाइएको रहेछ ।’ उनले अनलाइनखबरसँग भने ‘पाटीसँगै थप जग्गा समेत राखिएको भन्ने कुरा सो अभिलेखमा भेटिन्छ ।’
त्यो पार्टीमा हरहर लोकेश्वरको प्रतिमा राखिएको थियो । कसैले सो पाटी भत्कायो भने पञ्च महापाप लाग्छ भन्ने व्यहोरा शिलालेखमा उल्लेख गरिएको छ । सो पार्टीको संरक्षण गर्नु सबैको दायित्व रहेको भन्दै त्यसको संरक्षण गर्नेलाई १००० वटा विहार बनाएको र कोटी यज्ञ गरे बराबरको पुण्य प्राप्त हुने कुरा अभिलेखमा लेखिएको शाक्य बताउँछन् ।
त्यस्तै, सम्पदा अभियान्ता आलोकसिद्धि तुलाधर मल्लकालीन सम्पदा रहेको ठाउँमा व्यावसायिक प्रयोजन सहितको वडा कार्यालय भवन बनाउन खोज्नु दुखद् रहेको बताउँछन् । ५२ वर्षअघिसम्म सो ठाउँमा फल्चा रहेको र त्यो गाईजात्राको दिन नगरपरिक्रमा गर्नेहरुले विश्राम गर्ने स्थल समेत रहेको भन्दै त्यसलाई मास्न नहुने तर्क गर्छन् ।
‘फल्चा र बहालको बीचमा बाटो थिएन तर २०४७ सालमा गणेशमान शक्तिमा आएपछि बीचबाट बाटो राखियो ।’ तुलाधर भन्छन् ‘२७ सालभन्दा पहिले बहालको नापनक्सा हुँदासम्म रम्यकुटाकार शैलीको चैत्य अहिले वडा कार्यालयको भवन बन्न लागेका ठाउँमा थियो । एकमहिना लगाएर त्यो भित्र ल्याएको भन्ने कुरा चैत्यको पादपीठमा रहेको शिलालेखमै उल्लेख छ ।’
शिलापत्रमा आठ लोकेश्वरमध्ये हराहर लोकेश्वरको नाममा सो पाटी बनाइएको उल्लेख छ ।
त्यस्तै, पाटीको थामलाई अड्याउनको लागि राखिने ढुंगाबाट बनेको इल्वहँ पनि अहिले निर्माणाधीन भवनमा भेटिएको छ । त्यसको पाँचवटा अवशेष पनि अझै भेटिन्छ । त्यसैले त्यही ठाउँमा पाटी थियो भनेर दाबी गर्न सकिने शिलालेख विशेषज्ञ शाक्य बताउँछन् । जग राख्नको लागि खनिएको ठाउँमा पुराना जस्ता देखिने इँटा समेत भेटिएपछि स्थानीयले त्यहाँ उत्खनन् गरेर मात्रै निर्माण अघि बढाउन आग्रह गरिएको अभियान्ता तुलाधर बताउँछन् ।
पुरातत्व विभागको चासो
सो ठाउँमा रहेको वय्लाछीलाई पुरातत्व विभागले पनि सांस्कृतिक महत्वको ठाउँ भन्दै ध्यानाकर्षण भएको जनाएको छ । माघ २७ गते विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले वडा कार्यालयलाई लेखेको पत्रमा वय्लाछी आफैँमा सांस्कृतिक महत्वयुक्त सम्पदा रहेको भन्दै त्यो ठाउँमा निर्माण गर्दा कुनै असर पर्ने/नपर्ने यकिन नहुँदासम्म निर्माण कार्य रोक्न आग्रह गरिएको छ । सो पत्रको जवाफमा बन्नलागेको भवनको डिजाइन एवं लालपूर्जाको फोटोकपी समेत पठाउन लागिएको २७ नं वडाका वडाध्यक्ष चिनियाँमान बज्राचार्यले जानकारी दिए ।
त्यसो त छुस्याबहालमा भेटिएको रम्यकुटाकार शैलीको चैत्यले स्थानीयले दाबी गरे अनुसार छुस्याबहाल अघि फल्चा थियो भन्ने पुष्टि गरेको छ । संरचनामा कुनै समय फल्चा थियो भन्ने कुरालाई पुष्टि गर्ने जानकारहरुको बुझाइ छ ।
त्यसो त छुस्याबहालको सम्मुखमा एउटा पाटी थियो भन्ने कुरालाई पुष्टि गर्ने अर्काे आधार बहालभित्र रहेको एउटा अभिलेख पनि हो । नेपाल संवत् ७८८ मा राखिएको सो अभिलेखमा बहालको सम्मुखमा एउटा पाटी र जग्गा थियो भन्ने कुरा उल्लेख गरेको छ ।
निर्माणबारे के भन्छ महानगरपालिका ?
उता काठमाडौं महानगरपालिकाले भने अहिले वडा कार्यालय बनाउन लागिएको ठाउँमा फल्चा थियो भन्ने तर्कको प्रमाण नरहेको बताउँछन् । अहिले महानगरपालिकाको र स्थानीय युवा क्लबको नाममा जग्गा रहेको भन्दै यदि फल्चा थियो भन्ने प्रमाण जुटाउन सके १० दिनभित्र फल्चा निर्माणको काम सुरु गर्ने बताए ।
वडा कार्यालय भवन निर्माणको विषयमा वडाध्यक्ष चिनियाँमान बज्राचार्य भन्छन् :
अहिले हामीले वडा नं २७ को कार्यालयको निर्माणाधीन भवन ज्याठा सामुदायिक क्लबको ४ आना र बौद्धिक विकास नाम गरेको स्कुलको नाममा रहेको जग्गामा बनाइएको हो । बौद्धिक विकास नामक स्कुल अहिले बन्द भइसकेको छ । ज्याठा क्लबभित्रको ४ आना जग्गामा अहिलेसम्म पनि भवन थियो ।
काठमाडौं महानगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि हरेक वडाको आफ्नै भवन बनाउने निर्णय भए बमोजिम हामीहरुले नयाँ भवन निर्माण गर्न ठाउँ खोज्दै गएका थियौं । सोही क्रममा ज्याठा क्लबले महानगरपालिकासँग मिलेर भवन बनाउने योजना बनायो ।
अहिले हामीले बनाउन लागेको भवन पनि मल्लकालीन शैलीमा बनाउन लागिएको हो । त्यसको माथिल्लो २ तला वडा कार्यालयको लागि, एक तला क्लबको लागि, एक तलाको हल र पुछार तलामा पसल राख्ने योजना बनाइएको छ ।
अहिले छुस्याबहालसँग फल्चा रहेको दाबी गरिएको ठाउँलाई बाटोले छुट्याएको छ । उहाँहरूले भनेको फल्चाको तस्वीर र लालपुर्जा नभएकोले हामीहरूले भवन बनाउन लागेको हो ।
१६ फागुन, काठमाडौं । कोरोना महामारीबाट उठ्दै गरेको नेपालको पर्यटन उद्योगमा रसिया-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव पर्ने भएको छ । नेपालको साहसिक पर्यटनमा यूरोप र अमेरिकी पर्यटकको भूमिका ठूलो छ । तर, युद्धका कारण रसियन तथा युक्रेन र यसको आसपासको ‘हवाईमार्ग’ प्रयोग गरी यात्रा गर्नुपर्ने मुलुकका नागरिकले तत्कालका लागि यात्राको योजना नबनाउने भएका कारण आगामी पर्वतारोहण सिजनमै पर्यटक आगमन प्रभावित हुने नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछाने बताउँछन् । ‘अब रसियन र युक्रेनी नागरिक त तत्कालका लागि भ्रमणमा निस्कने छैनन्,’ उनी भन्छन्, ‘यसबाहेक यी दुई मुलुकको एयरस्पेस प्रयोग गरी यात्रामा निस्कने यात्रुको योजना पनि प्रभावित हुन्छ ।’
आइतबार मात्र जर्मनी र फिनल्याण्डले रुसी विमानलाई उनीहरुको आकासमा उड्न नदिने गरी घोषणा गरेका छन् । नेपालमा जर्मन, पोल्याण्ड तथा रसियन नागरिकहरु समेत साहसिक पर्यटनमा बढी आउने गर्छन् । पर्वतारोहण तथा पदयात्रामा यस्ता पर्यटक बढी आउने गर्छन् । नेपालमा पर्यटकबाट हुने आम्दानीमा साहसिक पर्यटकको भूमिका ठूलो छ । किनकि उनीहरू लामो अवधिको बसाइका लागि आउने गर्छन् ।
ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार युरोपबाट पूर्वनिर्धारित बुकिङ क्यान्सिल हुन थालेको छ । यो प्रवृत्ति लामो समय रहने चिन्ता व्यवसायीको छ । युद्ध बढ्दै जाँदा मुलुकहरुले बोर्डर बन्द गर्ने भएकाले समेत युरोपको बजार मुख्य सिजनमै प्रभावित हुने सुवेदीले बताए । ‘यो अवस्था नेपाली पर्यटन उद्योगका लागि चिन्ताको विषय हो’ उनले भने ।
नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं युरोप युद्ध नेपाली पर्यटनका लागि समेत दुर्भाग्य भएको बताउँछन् । ‘हामी कोरोनाबाट उठ्दाउठ्दै अब राम्रा दिन आउँछन् भन्ने अपेक्षामा थियौं,’ उनले भने, ‘यो सपनामा युद्धले पानी छ्यापिदियो ।’ उनका अनुसार यो वर्ष रसिया र युक्रेनबाट मात्र नभई समग्र युरोपबाटै नेपाल आउने पर्यटकको संख्यामा भारी गिरावट आउने निश्चित छ । युद्धका कारण यी मुलुकको अर्थतन्त्रमा समेत मन्दी आउने भएकाले तत्काल अन्तर्राष्ट्रिय पर्यटक बढ्ने सम्भावना कम हुने उनको भनाइ छ ।
कोरोना महामारीकै बीच एक वर्षमा ९९७ जना युक्रेनी नेपाल भ्रमणमा
युरोप महादेशबाट बढी नेपालमा भ्रमणमा आउने मुलुकमध्ये युक्रेन समेत अग्रणी स्थानमा पर्छ ।
सन् २०२१ कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित समय हो । कडा प्रतिवन्ध र क्यारेन्टिन नियमका वावजुत यो वर्ष ९९७ जना युक्रेनी नागरिक नेपाल भ्रमणमा आएको अध्यागमन विभागको तथ्यांक छ । यस वर्ष ५०७ जना पुरुष र ४०९ जना महिलाले नेपाल भ्रमण गरेका थिए । यो संख्या युरोपका अन्य मुलुक स्वीट्रल्याण्ड, स्वीडेन, स्लोभाकिया, स्लोभानिया, पोल्याण्ड, नर्वे, न्युजिल्याण्ड, इटाली, फिनल्याण्ड, चेक रिपब्लिकजस्ता मुलुकबाट आएका पर्यटक संख्या भन्दा बढी हो ।
न् २०२२ को सुरुवातबाट भने युक्रेनमा युद्धको आंशका बढेको थियो । जसको असर आगमनको तथ्यांकमा समेत देखिन्छ । सन् २०२२ को जनवरीमा युक्रेनबाट मात्र ४१ जना नेपाल भ्रमणमा आएका छन् । यो संख्या अबको केही महिना उत्साहजनक रुपमा बढ्ने छैन । जसले समग्रमा नेपालको पर्यटक आगमन नै प्रभावित हुने देखिन्छ ।
रुसबाट एक वर्षमा आए २१ सय पर्यटक आए
युद्धमा होमिएको रुसबाट एक वर्षको अवधिमा २१ सय पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक अध्यागमन विभागसँग छ । सन् २०२१ मा यो मुलुकबाट २१०७ जना नागरिक नेपाल भ्रमणमा आएका हुन् ।
सन् २०२१ को जस्तै उत्साह सन् २०२२ को सुरुवातमा रुसी नागरिकमा समेत देखिएको छैन । सन् २०२२ को जनवरीमा रुसबाट मात्र १२१ जना रुसी नागरिक नेपाल भ्रमणमा आएका छन् । तथ्यांकले रुसी नागरिकले समेत यात्राको योजना कम गरिरहेको देखाएको छ । सन् २०२२ को जनवरीमा युरोप महादेशमध्ये बेलायतबाट सबैभन्दा बढी १,८२४ जना आएका थिए । सन् २०२१ मा भने वर्षभर बेलायतबाट कुल ८,६८० जना पर्यटक नेपाल आएका थिए ।
मुख्य स्रोत बजार प्रभावित हुँदा पनि सरोकारवालाई भने छैन चासो
युरोप नेपाली पर्यटनको मुख्य स्रोत बजार हो । यहाँबाट पर्यटक आगमन प्रभावित हुँदा मुलुकको आम्दानीमै ठूलो प्रभाव पर्छ । तर, यसबारे सरोकारवालालाई चिन्ता र चासो भने छैन ।
रुस र युक्रेन युद्धपछि पर्यटक आगमनमा विकल्प खोज्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कुनै छलफल भएको छैन । नेपाली पर्यटनको प्रवर्द्धन गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डमा समेत यसबारे अहिलेसम्म कुनै छलफल भएको छैन ।
अर्कोतर्फ निजी क्षेत्रले समेत सरकारलाई झक्झक्याउन कुनै पहल थालिसकेको छैन । मन्त्रालयका एक उच्च अधिकारीले यसबारे कुनै छलफल र चासो राख्ने काम नभएको स्वीकार गरे ।
१६ फागुन, काठमाडौं । जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दियो । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया सुरु हुनेछ ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा कुनै फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रियाहरू खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले केही दिनअघि नै शाहविरुद्ध जाहेरी दर्ता गरिसकेको छ । अब भने प्रहरीले प्रमाण संकलनको प्रक्रिया सुरु गर्छ ।
आरोपित पल शाह र उनका समर्थकले पीडित किशोरीको सहमतिमा उनीहरूसँगै बस्ने गरेको भनी दाबी गरेका छन् । तर मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मञ्जुरी लिएरसमेत करणी गर्न नपाइने उल्लेख छ । उक्त दफमा भनिएको छ, ‘मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’ यो आरोप पुष्टि भएमा पीडितको उमेरले गणना गर्दा शाहमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।
प्रहरीले सुरुमा पीडित किशोरी र उनका संरक्षक(बाबु)को बयान लिन्छ । फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृत समक्ष गर्ने भनाइलाई महत्वपूर्ण प्रमाण मानिन्छ । त्यसपछि पीडितका संरक्षकसँग प्रहरीले सोध्छ । प्रमाणका लागि पीडित किशोरीले स्वास्थ्य परीक्षण समेत गरिसकेकी छन् ।
त्यसपछि प्रहरीले अभिनेता पल शाहको बयान लिन्छ । बयानका क्रममा शाहले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन् । उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउनेछन् । प्रहरीले अनुसन्धानका क्रममा घटना देख्ने वा त्यससँग सरोकार राख्ने मानिसहरूसँग समेत बुझ्न र बयान लिन सक्नेछ । शाहले एउटा कुराकानीका क्रममा ‘आफूहरूबीच सम्बन्ध भए पनि पीडित किशोरी गर्भवती नभएको’ भनी बोलेको अडियो सार्वजनिक भएको छ । प्रहरीले त्यो अडियो रेकर्डसमेत प्रमाणको रुपमा पेस गर्नसक्छ ।
अनुसन्धान टुंगिएपछि मुद्दा चल्ने प्रमाण भेटिएमा प्रहरीले शाहविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध मुद्दा दायर गर्नेछ । पीडितका बाबुले जाहेरी दिएको अनि पीडित किशोरीले नै आफूमाथि बलात्कार भएको स्वीकारेकाले शाहविरुद्ध मुद्दा दायर गर्ने करिब-करिब निश्चितजस्तै छ । मुद्दा दायर हुनासाथ जिल्ला अदालतमा शाहको बयान हुनेछ ।
बयान सकिएपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ । अदालती भाषामा थुनछेक बहस भनिने यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । सामान्यतयाः ३ वर्षभन्दा बढी सजाय तोकिएको अनि प्रारम्भिक रुपमा हेर्दा कुनै न कुनै प्रमाण भेटिएमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने चलन हुन्छ ।
अभिनेता शाहविरुद्ध पीडित किशोरीले नवलपरासीमा समेत किटानी जाहेरी दिएकी छन् । जुन जिल्लामा अपराध भएको हो, त्यही जाहेरी दिनुपर्ने कानुनी व्यवस्था भएकाले नवलपरासीमा समेत आफूमाथि जबर्जस्ती भएको भन्दै किशोरीले जाहेरी दिएकी हुन् । उनले गत ७ चैत २०७७ मा आफूमाथि गैडाकोट रिसोर्टमा जबर्जस्ती भएको आरोप लगाएकी छन् ।
अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा हिरासतमा रहेका पल शाहले अदालतको सामना गरेपछि उनलाई फेरि प्रहरीले नवलपरासीमा ल्याउनेछ । त्यहाँ पनि तनहुँकै झै प्रक्रिया अघि बढ्छ र प्रहरीले प्रमाण देखेमा सरकारी वकिल कार्यालयले शाहविरुद्ध नवलपरासी जिल्ला अदालतमा बलात्कारको दोस्रो मुद्दा चलाउनेछ ।
बलात्कारको मुद्दामा पीडित किशोरीमात्रै होइन, उनको पहिचान खुल्ने अरु विवरणसमेत गोप्य राख्नुपर्ने भएकाले जिल्ला अदालतमा यो मुद्दा बन्द इजलासमा सुनुवाई गर्नेछ । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीकै कारणले पल शाहले नवलपरासीमा परेको जाहेरीबाट उन्मुक्ति पाउँदैनन् ।
१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता आइतबार ब्याख्यात्मक घोषणासंगै प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।
नेपालको सम्झौतामा हस्ताक्षर गरेको चार वर्ष ६ महिना र दर्ता भएको २ वर्ष ८ महिनापछि प्रतिनिधिसभाले एमसीसी सम्झौता अनुमोदन गरेको हो ।
सम्झौतामा हस्ताक्षर गर्दा २०७४ भदौ २९ गते गर्ते र अनुमोदन गर्दा २०७८ फागुन १५ गते दुबै पटक प्रधानमन्त्रीमा शेरबहादुर देउवा छन भने हस्ताक्षर गर्दा अर्थमन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की थिए, प्रतिनिधिसभाबाट हुँदा जनार्दन शर्मा अर्थमन्त्री छन् ।
यो बीचमा बनेका अरु सरकारले पनि एमसीसीलाई अगाडि बढाउन भूमिका खेल्यो । र सम्झौता भइसकेपछि नै अमेरिकाले नेपालमा सरकार फेरिँदा एमसीसी परियोजना फिर्ता हुँदैन भन्ने सुनिश्चितता खोज्यो । त्यसका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट अनुमोदन गर्ने प्रस्ताव अघि बढाएका थियो ।
२०७५ माघ २५ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदमा एमसीसी संसदबाट अनुमोदन गराउने प्रस्त्ााव लगेका थिए । सोही दिन मन्त्रिपरिषदले स्वीकृति प्रदान गर्यो । र मन्त्रिपरिषदको निर्णयपछि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७६ असार ३० गते प्रतिनिधिसभामा यो सम्झौता दर्ता गरेका थिए ।
यसरी संसद पुगेको चार वर्षसम्म एमसीसी सम्झौता प्रतिनिधिसभामा अडि्कयो । पाँच वर्षमा सकिने परियोजना सम्झौता भएको चार वर्षसम्म प्रतिनिधिसभामै अडि्कनुको कारण हो- एमसीसीबारे राजनीतिक दलहरूका फरक-फरक बुझाई ।
सम्झौता अनुमोदन गर्दा प्रतिनिधिसभाले तिनै फरक फरक बुझाईलाई समेटेर ब्याख्यात्मक घोषणा पनि संगै पारित गरेको छ ।
१२ बुँदे व्याख्यात्मक घोषणामा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने, नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरू भन्दा माथि रहेको, एमसीए-नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र बौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने लगायतका घोषणा गरिएको छ । साथै, एमसीसीका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लंघन भएका ठहर गर्दा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने पनि घोषणा गरिएको छ ।
यी प्रश्न उठाएर राजनीतिक दलहरूले एमसीसी खारेजको माग गर्दै आएका थिए । अमेरिकी कानुन लागू हुने, अमेरिकाले मात्रै सम्झौता रद्ध गर्न सक्ने जस्ता प्रश्नहरू नागरिक स्तरमा पनि उठेका थिए ।
राजनीतिक दलहरू र नागरिक स्तरमा उठेका प्रश्नहरूको सम्बोधन गर्दै प्रतिनिधिसभाले ब्याख्यात्मक घोषणा र एमसीसी एकसाथ पारित गरेको हो । त्यो पनि एकै दिनमा ।
आइतबार दिउँसो ३ बजे बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि समान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए । सामान्य प्रस्ताव माथिको छलफल साँझ ६ बजे सकियो । र दोस्रो बैठक साँझ साढे ६ बजेलाई बोलाइयो । दोस्रो बैठकमा अर्थमन्त्री शर्माले ब्याख्यात्मक घोषणा र एमसीसीमाथि विस्तृत (दफावार) छलफल गरियोस भन्ने प्रस्ताव पेश गरे । दुबै प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले अनुमोदन गरेको हो ।
टेबुल गर्दा तितरबितर, पास गर्दा उकै ठाउँ
सरकारले यहि फागुन ८ गते प्रतिनिधिसभामा एमसीसी छलफलका लागि टेबुल गरेको हो । सम्झौता भएको चार वर्षपछि छलफलका लागि टेबुल हुँदासम्म एमसीसी के हुन्छ ? भन्ने अन्योलता कायमै थियो ।
एमसीसी टेबुल गर्न अर्थमन्त्री शर्मा नै प्रतिनिधिसभामा गएनन् । अर्थमन्त्री प्रतिनिधिसभा नजानुको कारण हो- उनी नेतृत्वको दल नेकपा माओवादी केन्द्र यथास्थितिमा एमसीसी पास गर्न हुन्न भन्नेमा थियो । र यहि माग राखेर माओवादीका नेता कार्यकर्ता सडक आन्दोलनमा थिए ।
अर्थमन्त्रीको अनुपस्थितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्ऽबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्दा सत्तागठबन्धनमा रहेका दलहरू तितरबितर थिए । तर, पास गर्दा एकै ठाउँ आइपुगे ।
संसदमा टेबुल गर्न सहमत भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी टेबुल गरेर मात्रै रहन चाहन्थ्यो । तर, सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा १२ गतेलाई राखिएको प्रतिनिधिसभाबाटै एमसीसी अनुमोदन गराउन चाहन्थे । प्रमुख सत्ता घटकहरूका बीचमा सहमति नजुटेपछि कांग्रेस र प्रधानमन्त्री देउवाले प्रमुख विपक्षी दल नेकपा एमालेसंग संवाद अघि बढायो । र एमसीसी पास गर्न सहयोग नगरे सत्तासमिकरण फेर्नेसम्मको तयारी गरे ।
यस्तैमा सभामुख अग्नि प्रसाद सापकोटाले पनि सकि्रयता बढाए । एमसीसी अनुमोदनको प्रक्रिया र आफ्नो भूमिकाका विषयमा आन्तरिक रुपमै परामर्श लिँदै यथास्थितिमा एमसीसी अगाडि बढाउन सहयोग नगर्ने संदेश प्रधानमन्त्रीसम्म पुर्याए ।
१२ गतेको प्रतिनिधिसभा बैठकमा हुने सामान्य छलफलमै एमसीसी फेल गराउने राण्नीतिमा लागे माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी । यी दुई दलको तयारीमा सभामुख सापकोटाको सहयोग हुन सक्ने र सामान्य छलफलमै एमसीसी फेल हुने डरले प्रधानमन्त्रीले नै रोके प्रतिनिधिसभा बैठक ।
१२ गते पछि झनै राजनीतिक भेटवार्ता बाक्लियो । नेपाली कांग्रेस प्रमुख विपक्षी नेकपा एमालेसंग सत्ता सहकार्य नै गर्ने गरी वार्तामा जुट्यो । प्रतिनिधिसभा बैठक रोकेर बसेको कांग्रेस-एमाले वार्ता ‘सहमति उन्मुख’ पुगेको दाबी गरियो । यसले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई झस्कायो । र गठबन्धन टुट्न सक्ने आशंकालाई लिएर दुई सत्ता घटक आन्तरिक छलफलमा जुटे । माओवादी केन्द्रले एमाले नेताहरूसँग पनि संवाद गर्यो । तर, पार लागेन ।
एमसीसी सम्झौत्ालाई लिएर गठबन्धन टुट्ने र कांग्रेस- एमाले समिकरण बन्ने सम्भावना बढेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका दोस्रो तहका नेताहरू सक्रिय भए ।
शुक्रबार विहान अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले गृहमन्त्री बालृकष्ण खाँणलाई फोन गरेर व्याख्यात्मक घोषणामा सहमति जुट्न सक्ने संकेत गरेका थिए । लगतै गृहमन्त्री खाँणले पार्टी महामन्त्री गगनकुमार थापासँग सम्वाद गरे, जसले व्याख्यात्मक घोषणाको प्रस्ताव अघि सारेका थिए ।
कांग्रेस-एमालेसंग समिकरण नै बनाउने हदसम्म पुग्न सक्ने त्रास भएपछि प्रचण्ड र माधव नेपाल दोस्रो तहका नेताहरूले भने जस्तै ब्याख्यात्मक ब्याख्यासहित एमसीसी पास गर्न (फेस सेभिङका लागि) तयार भयो । र फागुन १३ गते प्रधानमन्त्री निवास वालुवाटारमा भएको सत्तागठबन्धनको शीर्ष नेताहरूको बैठकमा ब्याख्यात्मक घोषणाको विषयले औपचारिक प्रवेश पायो ।
गत शनिबार कांग्रेस महामन्त्री गगनकुमार थापा र गृहमन्त्री खाँण, माओवादी नेता एवं अर्थमन्त्री शर्मा र नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका नेता विरोध खतिवडा र रामकुमारी झाँक्री, अन्तराष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दी लगायतले ब्याख्यात्मक टिप्पणीको ड्राफ्ट नै तयार पारे । उनीहरूले १० बुँदे ड्राफ्ट तयार पारेका थिए । (पारित हुँदा त्यहि विषय १२ बुँदमा समेटिएको छ ।)
तर, व्याख्यात्मक घोषणाको विकल्पमाथि छलफल हुँदा समेत प्रधानमन्त्री देउवा एमसीसी पास हुनेमा ढुक्क थिएनन् । व्याख्यात्मक घोषणासंगै एमसीसीमा सघाउन प्रचण्ड र माधव नेपाल तयार हुँदा पनि प्रधानमन्त्री देउवा विश्वस्त हुन सकेनन र एमालेसँग सम्वाद कायमै राखे ।
आफुहरूप्रति प्रधानमन्त्रीको अविश्वास रहेको जानकारीमा राखेका माओवादी अध्यक्ष प्रचण्डले आइतबार बिहान पार्टीको विस्तारित बैठक राखेर व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय गराए ।
लगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गए । वालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको बैठक थियो । गठबन्धनले पनि आजै एमसीसी पारित गर्ने निर्णय गर्यो ।
वालुवाटारको सत्ता गठबन्धनको बैठकको बीचमै उठेर माधव नेपाल पार्टीको स्थायी कमिटी बैठकमा गए । माधव नेपालले पनि स्थायी कमिटीको बैठकबाट व्याख्यात्मक घोषणासँगै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराए ।
यही बीचमा जनता समाजवादी पार्टी (जसपा) ले पनि एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय लियो ।
माओवादी केन्द्रले संसदीय दलको बैकठ राखेरै व्याख्यात्मक घोषणालाई अनुमोदन गर्यो ।
राजनीतिक दलहरू व्यस्त हुँदा दिउँसो १ बजेका लागि बोलाईएको प्रतिनिधिसभा बैठक प्रभावित भयो । २ घण्टा ढिलो गरी दिउँसो ३ बजे मात्रै सुरु भएको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य (सैद्धान्तिक) छलफल गरियोस भन्ने प्रस्ताव राखे ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले ब्याख्यात्मक टिप्पणी आउने चर्चाको थप चर्चा गरे । ब्याख्यात्मक टिप्पणीको कानुनी हैसियत के हुन्छ ? भनी प्रश्न गरे । नेकपा एमालेका सांसद भीम रावल, नेमकिपाका सांसद प्रेम सुवालले भने कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने मत राखे । सामान्य छलफलमाथिको प्रस्ताव बहुमतले पारित भयो । र दोसो बैठक साँझ साढे ६ बजेलाई तय भयो ।
प्रतिनिधिसभा बैठक स्थगित भए लगत्तै नयाँ वानेश्वरमै मन्त्रिपरिषद्को बैठक बस्यो । ब्याख्यात्मक घोषणा पढेर मुख्यसचिवले सुनाए । मन्त्रिपरिषद्ले पारित गर्यो । र सोही पारित ब्याख्यालाई कार्य व्यवस्था परामर्श समितिले तुरुन्तै कार्यसूचीमा चढायो । र प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री शर्माले ब्याख्यात्मक घोषणा र एमसीसीमाथिको दफावार छलफ,ल एकसाथ पेश गरे । सांसदहरूले एक साथ छलफलमा भाग लिए । प्रतिनिधिसभाले पनि एकै साथ बहुमतले पारित गर्यो ।
एउटा परिवारमा अधिकतम कति सदस्य होलान् ? वैज्ञानिकहरूले एउटा यस्तो परिवार पत्ता लगाएका छन् जहाँ सय, हजार होइन पूरै २ करोड ७० लाख जना सदस्य छन् । यो परिवार विश्वमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो पारिवारिक वंश रहेको वैज्ञानिकहरूको भनाइ छ ।
यी सबै मानिसहरू एक अर्कामा टाढाटाढाका भए पनि नातेदार हुन् । यो पारिवारिक वंश १० हजार वर्ष पूरानो भएको बताइएको छ ।
यो पारिवारिक वृक्षले मानिसको उत्पत्तिका विषयमा बुझ्नका लागि सहयोग गर्ने वैज्ञानिकहरूको अपेक्षा छ । साथै यो जम्बो पारिवारिक वृक्षले विभिन्न खाले चिकित्साजन्य रहस्यहरू सुल्झाउन पनि सहयोग गर्नेछ ।
शोधकर्ता टोलीका प्रमुख डाक्टर यान वोंगका अनुसार यो विशाल फेमिली ट्री ले जेनेटिक विविधतालाई बुझ्नका लागि पनि सहयोग गर्नेछ ।
साइन्स जर्नलमा छापिएको उक्त शोध अनुसार वैज्ञानिकहरूले विभिन्न ८ वटा डाटाबेसमा रहेका तीन हजार ६०९ जना मानिसको जिनको अध्ययन गरेका थिए । त्यसपछि कम्प्युटर एल्गोरिदमका माध्यमबाट उनीहरूका पूर्वजहरू संसारमा कहाँ कहाँ बस्दथे भन्ने खोजी गरे । त्यसबाट वैज्ञानिकहरूले उक्त वंशमा २ करोड ७० लाख मानिस रहेको पत्ता लगाए ।
अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा डाक्टर यानको टोलीले यो शोध गरेको थियो । शोधकर्ताहरूले सो पारिवारिक वृक्ष अर्थात् फेमिली ट्री मा एक पछि अर्को गर्दै तानेदारलाई जोडे । ती मानिसहरू कुनै न कुनै रुपमा एक अर्कासँग रगतको नातामा जोडिएका थिए । ती मानिसहरूको डिएनए केही सय वर्षदेखि नै जम्मा गरिएको थियो र करोडौं मानिसहरूको नमूना जाँच गरी वैज्ञानिकहरूको टिमले संसारको सबैभन्दा ठूलो पारिवारिक वृक्ष बनाएका थिए ।
१५ फागुन, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ मा रहेको सूर्यकिरण किसान वचत तथा ऋण सहकारीको निर्वाचनमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमाले विजयी बनेको छ । शनिबार राति सम्पन्न भएको मत गणनामा एमाले निकटका महेन्द्रराज डल्लाकोटी नेतृत्वको प्यानल नै विजयी भएको हो ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविरुद्ध एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो । सञ्चालक समितिका पदाधिकारी, सदस्य र लेखा समिति सबैमा एमाले निकटका सेयर सदस्य निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित डल्लाकोटीले २४४ मत प्राप्त गर्दा प्रत्यासी गठबन्धनका उम्मेदवार नेत्रप्रसाद शर्माले १९२ मत पाए । उपाध्यक्षमा एमालेकै भरतराज घिमिरेले २४० र सचिवमा विष्णुु पौडेलले २३८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत वसन्तप्रसाद लामिछानेले जानकारी दिए । त्यस्तै कोषाध्यक्षमा चेतनाथ कँडेलले २७० मत ल्याएर निर्वाचित भए ।
अध्यक्षमा नेकपा एकिकृत समाजवादीका, उपाध्यक्षमा पराजित नेपाली कांग्रेसका, सचिवमा पराजित नेकपा माओवादी केन्द्र र कोषाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार हुन् ।
सदस्यहरुमा एमाले निकटका अर्जुन कुमार सापकोटा, रामप्रसाद कोइराला, वालकृष्ण सापकोटा, अणकुमारी न्यौपाने, तारा लामा, प्रेम प्रसाद उपाध्याय, दिलवहादुर विक, कृष्णवन्धु भुर्तेल र इन्द्रकला डल्लाकोटी निर्वाचित भए ।
लेखा सुपरिक्षवेक्षण समिति संयोजकमा एमाले निकटका प्रेमनाथ लम्साल निर्वाचित भए । लम्सालले २४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रामचन्द्र उप्रेतीले १८२ मत पाए ।
लेखा सदस्यहरुमा एमाले निकटकै केदार प्रसाद खतिवडा २४२ मत र धनराज सिलवाल २३८ मतका साथ विजयी भए ।
१५ फागुन, बुटवल । मिनी स्थानीय तहको चुनावको रुपमा हेरिएको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनमा ६ दलीय गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
४ हजार ३ सय मतदाता रहेको खानेपानीको अधिवेशनमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन गरेका थिए । चुनावबाट अध्यक्षसहित पदाधिकारीमा एमाले उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई क्लीन स्वीप गरेका छन् ।
शनिबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार ३ हजार १०१ मत खसेको चुनावमा एमालेका अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १७ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका मोतिलाल ढकालले १२ सय ६७ मत पाए । नवनिर्वाचित अध्यक्ष कुँवर खानेपानी संस्थाका हालका अध्यक्ष हुन् भने पराजित ढकाल यसअघिको अधिवेशनमा पनि कुँवरसँगै पराजित भएका थिए ।
उपाध्यक्षमा एमालेकै उम्मेदवार अनिशा पौडेल १५ सय ९ मतसहित विजयी हुँदा गठबन्धनकी उम्मेदवार मिनादेवी रिमालले १३ सय ९८ मत पाएर पराजित भइन् ।
सचिवमा एमालेका हरि पाण्डेयले १५ सय ६१ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी गठबन्धनका डिल्लीराज मरासिनीले १३ सय २४ मत पाए ।
यस्तै कोषाध्यक्षमा एमाले उम्मेदवार कृष्णप्रसाद ज्ञवालीले १६ सय २६ मत प्राप्त गरेर विजयी हुँदा गठबन्धनका उम्मेदवार थानेश्वर भट्टराईले १२ सय २७ मत पाए ।
देवदह नगरपालिकाका वडा नंं. ५, ६, ७, ८ र ९ का उपभोक्ता रहेका खानेपानीको निर्वाचनमा वडागतरुपमा पनि सबै वडामा गठबन्धन भन्दा एमाले उम्मेदवारले धेरै मत पाएका छन् । निर्वाचनमा ४८ मत बदर भएको निर्वाचन अधिकृत पदमराज भुसालले बताए ।
यो खानेपानी संस्थाको चुनावी नतिजाले आउँदो स्थानीय तहको चुनावलाई समेत प्रभाव पार्ने भएकाले दुबै पक्षले प्रतिष्ठाको विषय बनाएर उपभोक्तालाई छुटैछुटको अफरसहित एक हप्तासम्म चुनावी अभियान चलाएका थिए ।
नेपाली कांग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेलले ६ दलको गठबन्धन गर्दा पनि जित्न नसक्नु गम्भीर समीक्षाको विषय भएको प्रतिक्रिया दिए । ‘केन्द्रमा कांग्रेसका एकथरि नेताहरु गठबन्धन गर्न हुँदैन, कांग्रेस एक्लै जित्छ भन्दै कुर्लिनुहन्छ तर धरातल अर्कै छ,’ भुर्तेलले भने, ‘देवदह खानेपानीको चुनावको नतिजा आउने स्थानीय, प्रदेश र संघको चुनावका लागि उदाहरण र पाठ हुनुपर्छ ।’
१५ फागुन, काठमाडौं । दश किलोमिटर दुरीको केटिएम रनको उपाधि केन्याका धावक सिमोन किप्लागेट र सशस्त्र प्रहरी बल (एपीएफ)की खेलाडी पुष्पा भण्डारीले जितेका छन् ।
दश किलोमिटर स्पर्धामा सर्वाधिक पुरस्कार राशी राखेर आयोजना गरिएको प्रतियोगिता पुरुषतर्फ केन्याली खेलाडी सिमोन र महिलातर्फको भण्डारी विजेता बन्न सफल रहे ।
शनिबार काठमाडौंमा भएको दौडमा सिमोनले निर्धारित दुरी ३० मिनेट ५५.५७ सेकेन्ड र भण्डारीले ३६ मिनेट २०.२० सेकेन्डमा पूरा गरे । विजेता दुवै खेलाडी मेडल, ट्रफीसहित एक-एक लाख रुपैयाँ प्राप्त गरे ।
शेर्पा आउटडोरको केटिएम सिटीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ दुर्गाबहादुर बुढाले ३० मिनेट ५७.६० सेकेन्डको समय निकाल्दै दोस्रो बने ।
तेस्रो बनेका मुकेशपलले ३१ मिनेट २२.६३ सेकेन्डमा निर्धारित दुरी पार गरे । चौथौं बनेका अजित कुमार यादवले ३१ मिनेट ३६ दशमलव ४२ सेकेन्डको समय निकाले । सन्तोष विष्ट पाँचौ, सुवास कार्की छैटौं, टंक कार्की सातौं, राजेन्द्र तामाङ आठौं, सञ्जिव नेपाली नवौं र दिनेशसिंह बोगटी दशौं स्थान हासिल गरे ।
महिलातर्फ एपीएफकी फुलमती राना ३७ मिनेट १४ दशमलव ०१ सेकेन्डको समय निकाल्दै दोस्रो बनिन् । तेस्रो बनेकी राममाया बुढा ३९ मिनेट ४२ दशमलव ०८ सेकेन्डमा निर्धारित दुरी पार गरिन् ।
महिला स्पर्धामा बिन्द्रा श्रेष्ठ चौथो, सिमोन थारु पाँचौं, सरस्वती बोहरा छैटौं, आशा रावल सातौं, बिमला कार्की आठौं, राधिका श्रेष्ठ नवौं र कृष्णश्वेरी सिन्तकला दशौं स्थानमा रहे ।
दुवै स्पर्धाका उपविजेताले ५० हजार रुपैयाँ, तेस्रोले ३० हजार, चौथोंले २० हजार, पाँचौले १० हजार, छैटौंले ५ हजार रुपैयाँ प्राप्त गरे ।
सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गरे । विजेता खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी बोर्ड सदस्य यकेन्द्र कुँवर र नन्दा बस्याल लगायतले पुरस्कृत गरेका थिए ।
दरबारमार्गबाट सुरु भएको दौड, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली, माइतिघर, बानेश्वर पुगेर पुन सोही रुट हुँदै त्रिपुरेश्वर, न्युरोड, जमल भएर दरबारमार्ग आएर समापन भएको थियो ।
१४ फागुन, धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–१ को मंगलपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश ०१०० १० प २०७७ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे दुर्घटना हुँदा चालक गौरीगंगाका ३३ वर्षीय साजन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा ११ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
विकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ ।
नेपालको पूर्वको मेचीनगरदेखि पश्चिममा भीमदत्तनगरसम्म फैलिएको राजमार्ग हो– महेन्द्र राजमार्ग । पूर्व–पश्चिम राजमार्ग र पूर्व–पश्चिम लोकमार्गसमेत भनिने यसलाई सरकारले तराईको राजमार्ग पनि भन्दै आएको छ । तर यसलाई तराईको राजमार्ग भन्नु उपयुक्त हुँदैन । किनभने यो राजमार्ग तराईको परम्परागत बस्ती भएर गएको छैन । तर यो राजमार्ग तराईको सीमान्त र एक वैकल्पिक मार्ग भने अवश्य हो ।
महेन्द्र राजमार्गलाई ‘चुरिया राजमार्ग’ भन्नु उपयुक्त हुनसक्छ । किनभने यो राजमार्ग चुरे पर्वतको फेदैफेद र चुरियालाई चिर्दै पनि गएको छ । नेपालको सबैभन्दा लामो यो राजमार्ग नेपालमा कर्णालीबाहेक सबै प्रदेश र तराईमा पर्साबाहेक सबै जिल्लालाई छोएर गएको छ । दुई लेनको यो राजमार्ग अहिले ४ लेनको रूपमा विस्तार भइरहेकोबाट यस राजमार्गको महत्व र विशिष्टता झल्किन्छ ।
मुलुकको आर्थिक क्रियाकलापको मुख्य आधार र मेरुदण्ड मानिएको पूर्व–पश्चिम राजमार्ग प्राकृतिक सम्पदाले समृद्ध छ । एक हजार बढी किलोमिटर लामो यो राजमार्गको उत्तरी भाग त प्राकृतिक सम्पदाको मुहान नै हो तर यस राजमार्गको दक्षिणी भागले पनि ठाउँठाउँमा मानिसलाई आकर्षित गर्दछ ।
सप्तरीको महुली नदीको पश्चिमी किनारमा महेन्द्र राजमार्गको दक्षिण एउटा ठूलो वन छ, करिब कोसभर लामो । यस वनको आकार अर्थात् यसको परिधि नौ किलोमिटर लामो छ । राजमार्गबाट दक्षिण महुली नदीको पश्चिमी किनारा हुँदै हिंड्दै गएपछि यो वन आइहाल्छ । यो वनको आकृतिलाई हेर्दा यसले आफ्नो शिरले महुलीलाई ढोगेको प्रतीत हुन्छ । गुगल म्यापमा यो वन ‘वामकोल्टे परी सुतिरहेको कुनै भालु’ प्रतीत हुन्छ । यो वन मूलतः चुरिया वनको एउटा खण्ड हो ।
यो एक प्रकारले चुरेको वनान्त खण्ड हो । यहाँ उल्लेख भएअनुसार यस वनमा बाइस प्रकारका रूखहरू छन् । तर यो मुख्य रूपमा साखुवन हो । वसन्त ऋतुमा यस वनको हरिताम्बरा अत्यन्तै मनोरम हुन्छ । स्थानीय बोलचालमा यसलाई कुकुरहर्का भनिन्छ । तर यसको नाम लोहजारा वन हो ।
वनको मध्य भागमा पूर्वी र पश्चिमी किनारमा अत्यन्तै रमणीय शीतल दहहरू छन् । आकारमा पूर्वपट्टिको दह सानो र पश्चिमपट्टिको ठूलो छ । लोहजारा दह भनेपछि प्रायः पश्चिमपट्टिको दह नै बुझिन्छ । यस स्थानमा समाधिस्थ बाबा (महात्मा) लोहजारा ठाकुर वा बाबा ठाकुर थिए । यहाँ लोहजारा भनेपछि दह, वन, गाउँ र बाबा भनी चारैथोक बुझिन्छ । यसमा मूल लोहजारा भनेको कुन हो; दह, वन, गाउँ वा बाबा ? जान्न मुश्किल छ । दहको बीचमा निर्मित एक मन्दिरमा बाबाको प्रतिमा स्थापित छ । मन्दिरसम्म पुग्न पुल निर्माण गरिएको छ । यहाँ दुईवटा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।
मन्दिर लोहजारा ठाकुरको समाधिस्थल हो । दहमा कमल फुल्छ । दहमा रंगविरंगी चराहरूको चिरविर शीतल वातावरणलाई अत्यन्तै मनमोहक र रमणीय बनाउँछ । यहाँ प्रायः म्युजिक भिडियो शूट भइरहेको हुन्छ । जलविहारको आनन्द वर्णनातीत छ तर यसले कमल फूलको विकास र विस्तारमा बाधा पुर्याउँछ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिले दहको संवर्द्धन गरी यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटनको विकासमा योगदान गरेको छ ।
खुला चरनका कारण वनको बिरुवा हुर्कन गाह्रो हुन्छ । हुनत वन तारबार गरिएको पनि देखिन्छ । यस क्षेत्रका धेरै कुराहरू प्रकाशमा आउन बाँकी छ जस्तो लाग्दछ । यहाँ नजिकै भेडिया मठ छ । भेडिया मठमा पनि सिद्ध महात्माको प्रसिद्ध समाधि छ ।
भेडिया मठ लोहजारा वनको पुछारमा छ । भेडिया मठ बाबा वनखण्डीको प्रसिद्ध समाधिस्थल हो । लोहजारा दहमा बाबा लोहजारा ठाकुरको र भेडियामा बाबा वनखण्डीको समाधिस्थल छ । लोहजारा ठाकुर र वनखण्डी को थिए ? यिनीहरूबीच सम्बन्ध के थियो ? कि दुवै व्यक्तित्व एउटै व्यक्तिको हो ? यी प्रश्नरूका उत्तर खोतलिएका छैनन् । इतिहासकारका अनुसार यहाँ नजिकै एक ढिस्कोमा प्राचीन धातुका सामग्रीहरूको अवशेष भेटिने गरेको छ । यस स्थानको उत्खनन भएमा प्राचीन कुराहरू प्रकाशमा आउन सक्छ । तर वनखण्डी नै चुरियाको अन्तस्थ हो ।
वनखण्डीलाई वनसखण्डी पनि भनिन्छ । लेखाइमा पनि विविधता देखिन्छ ः वनसखण्डी, वनस खण्डी । वास्तवमा यो ‘वनखण्डी’ हो । वनको खण्डलाई वनखण्ड भनिन्छ । वनको उपवन वा वनखण्ड र उपखण्ड पनि हुन्छ । भेडिया मठमा एउटा गुरुकुल छ । जसको नाम ‘वनखण्डी गुरुकुल’ हो । वनखण्डी भनी गुरुकुलजस्तो विद्वत् संस्थाको नाम हुनुले वनखण्डी कि वनसखण्डी भन्नेमा विवाद रहँदैन । तथापि यस्तो प्रख्यातस्थलको नाममा पाइएको स्थानीयमा अस्पष्टता समाप्त भएमा राम्रो हुनेछ । हुनत भेडिया मठ भन्नेमा कुनै अस्पष्टता छैन ।
मठ भनेको एक आध्यात्मिक केन्द्र भन्ने बुझिन्छ । जहाँ गुरुवास हुन्छ र गुरुले आफ्ना शिष्यहरूलाई शिक्षा, दीक्षा दिनुका साथै सर्वसाधारणलाई उपदेश दिन्छन् । मठहरूले आध्यात्मिक कार्यका साथै सामाजिक, सांस्कृतिक, साहित्यिक विकासमा ठूलो योगदान गर्दछ । हिन्दू धर्म र सन्त समाज शंकराचार्यद्वारा स्थापित चारवटा मठहरूको अधीन मानिन्छ । हिन्दू धर्मको विकास, प्रचार–प्रसार र ऐक्यबद्धतामा यी मठहरू कडीको रूपमा रहेका छन् । मठको मतको प्रचार अभियानमा योगी, सन्त, साधु, सन्यासी, महात्माहरू खटिन्थे, दुर्गम स्थानहरूमा गएर तप गर्दथे । यस्तो अभियान सनातन धर्ममा मात्र होइन अन्य धर्महरूमा पनि पाइन्छ । ती साधु सन्यासीहरू बस्ने स्थान कुटी, आश्रम, मठ आदि भनिन्थे । ती स्थान पछि तिनको समाधिस्थलमा परिणत हुन्थ्यो । लोहजारा वन र दह पनि त्यसै क्रममा योगीहरूको तपस्थल बन्न पुग्यो ।
यहाँ हेर्न लायक धेरै कुरा छन् तर गाइडको अभाव छ । दहको डिलमा केही भौतिक जानकारी भने राखिएको देखिन्छ । जलवायु उत्थानशील परियोजनाद्वारा राखिएको एक बोर्डमा लोहजारा दह ५० हजार वर्गमीटरमा फैलिएको जनाइएको छ । मध्यवर्ती क्षेत्र १५ हजार वर्गमिटर, गहिराइ ५ देखि १० फिट, पानीको स्रोत ः वर्षा र भूमिगत पानी, प्रजाति÷जैविक विविधता ः रैथाने माछा १६, अन्य माछा ७, रूख २२, चरा ५५, जलीय वनस्पति ३ । यसभन्दा थप कुरा बताइदिनेको अभाव छ ।
इतिहासकार हरिकान्तलाल दासका अनुसार भेडिया मठ सिख सम्प्रदायका संस्थापक गुरु नानकका शिष्य बाबा मोहनदास वैरागीको आश्रम हो, जो पछि उनको समाधिस्थलमा परिणत भयो । यो मठ बाबा मोहनदासका साथै उनका शिष्य महात्माहरूको पनि समाधिस्थल हो । चुरेको पुछारमा अन्तिम टाकुरामाथि मठको आकर्षक भवन निर्माण गरिएको छ । डिजाइनको दृष्टिले भवनलाई अद्वितीय र अनुपम मान्नुपर्छ । पिरामिड शैलीमा निर्मित मठ (भवन) को केन्द्रमा मूल भवनमा र उत्तरी–पश्चिमी कोणस्थित उपभवनमा बाबा मोहनदासको समाधि छ । त्यस्तै अरू तीनवटै कोणस्थित उपभवनहरूमा अन्य महात्माहरूको समाधि छ । वर्तमानमा कायम रहेको मठको भवन २०४९ सालमा निर्माण गरिएको हो ।
भेडिया मठमा एउटा सिख ग्रन्थको पाण्डुलिपि थियो, जो अब छैन । पुरातत्व विभागले उक्त पाण्डुलिपि राष्ट्रिय अभिलेखालयमा राख्न निर्देशन दिएको थियो तर अभिलेखालयले ध्यान दिएन र सुरक्षाको अभावमा चोरी हुन गयो । भनिन्छ यहाँ गुरु नानक आफैं आएका थिए र उनले नै उक्त पाण्डुलिपि छोडेका थिए । यस कुराबाट यो मठ साढे पाँच सय वर्षभन्दा पुरानो रहेको देखिन्छ । मठको महन्तसँग राजा राजेन्द्र विक्रम शाहको अभिलेख रहेको कुरा इतिहासकार दासले दुई दशकअघि लेख्नुभएको थियो । यसबाट यो मठ कमसेकम दुई सय वर्ष पुरानो रहेको भन्न सकिन्छ । हाल यहाँ हिन्दू देवीदेवताका मन्दिर, मूर्ति, प्रतिमा, शिवलिंग, शालिग्राम पनि स्थापित छन् । हालै यहाँ शनि मन्दिर पनि निर्माण गरिएको छ । यहाँ छेउमै गुरुकुल सञ्चालन गरिएको छ ।
वर्षाको मौसम आरम्भ भइसकेपछि पनि पानी नपर्दा वा सुख्खा खडेरी पर्दा वा पानीका लागि त्राहि त्राहिको स्थिति हुँदा वर्षा होस् भनेर इन्द्र देवताको पूजा गर्ने चलन द्वापर युगदेखिकै छ । वर्षालाई आवाहन गर्दै पहाडमा भ्यागुतोको बिहे गर्ने, मधेशमा जटजटिन खेल्ने सामाजिक चलन पनि छ । यसैगरी सप्तरीमा समयमा वर्षा नहुँदा भेडिया मठमा सरकारी स्तरबाटै पूजा गर्ने चलन छ । भेडिया मठको पूजाका लागि सरकारी बजेट नै खर्च गरिन्छ । उक्त पूजामा जिल्लाका प्रमुख सरकारी अधिकारी तथा जनप्रतिनिधिहरू समेत सरिक हुन्छन् ।
भेडिया मठमा पछिल्लोपटक २०७५ साल साउन १८ गते वर्षा पूजा आयोजना गरिएयता महामारीका कारण भएको छैन । सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पूजा तथा हवन गरेका थिए । त्यस अवसरमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक खेम थापा, तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार बहरखेर सहभागी थिए । वर्षा पूजाको खर्च मालपोत कार्यालय र जिल्ला विकास समितिले बेहोर्दै आएकोमा हाल तिरहुत गाउँपालिकाले नै पूजा खर्च बेहोर्न थालेको छ । पूजाका लागि वार्षिक बजेट व्यवस्था नै गरिएको बताइन्छ । भेडिया मठमा पूजा–हवन गर्नाले अतिवृष्टि वा अनावृष्टि नहुने धारणा रहिआएको छ । यस कारणले पनि आम जनमानसमा भेडिया मठको निकै प्रभाव छ । भेडिया मठ अर्थात् वनखण्डीको सबैभन्दा चर्चित कुरो साखुको वृक्षमा आँप फल्नु हो । यहाँ पुराना दुई चार वटा साखुको त्यस्ता वृक्ष छन्, जसमा अझै पनि मौसमी आँप फल्दछ, जो आफैंमा एक आश्चर्यको विषय बनेको छ । साखु वृक्षमा आँप फल्ने कुरा सुनसरीको रामधुनीमा पनि समान रूपमा पाइन्छ ।
रामधुनीमा पनि वनखण्डी मठ रहेको देखिन्छ, जहाँ कालान्तरमा वनखण्डी बाबाको आश्रम थियो र भेडिया मठ झैं समाधिस्थलमा परिणत भयो । यहाँ सुरसैर नदी (सुनसरी खोला) मा एक प्रसिद्ध स्नानघाट छ, जहाँ बाबा वनखण्डी स्नान गरी सिद्धि प्राप्ति गरेको बताइन्छ । साहिबराज बाबा वनखण्डी यस मठमा वि.सं. १७३२ देखि ८६ वर्षसम्म तप गरेको बताइन्छ । यस मठमा समाधिस्थ महात्माहरूमा जौरा भेरा साहेब, लकरी महन्त, मोहन दास, ठाकुरदास, बुद्ध दास, तीर्थ दास, गोपाल दास, गम्भीर दास, निहाल दासको नाम लिइन्छ । रामधुनीका महात्मा मोहनदास र भेडिया मठका संस्थापक मोहनदास एकै व्यक्ति थिए कि भनी अनुमान गर्न सकिन्छ ।
भारत सरकारले निर्माण गर्दै गरेको रामायण सर्किटमा रामधुनीलाई पनि जोड्ने पहल भइरहेको छ । रामकथामा उल्लेखित ती स्थलहरू, जहाँ भगवान रामको उपस्थिति थियो, त्यस्ता १५ वटा धर्मस्थललाई यातायातको माध्यमबाट जोड्ने गरी भारतद्वारा निर्मित ‘रामायण सर्किट’मा जनकपुरको जानकी मन्दिरलाई जोडिएकाले रामधुनीलाई पनि जोड्ने प्रयास भएको हो । किनभने वर्तमान रामधुनी नगरपालिका–४ मा अवस्थित रामधुनी जंगलमा भगवान रामको पदार्पण भएको मानिन्छ । त्यसबेला भगवान रामले बालेको धुनी अहिलेसम्म बलिरहेको विश्वास गरिन्छ । यहाँ अझै पनि अयोध्याका धार्मिक पर्यटक वर्षै पिच्छे आइरहेका छन् । रामधुनीको विकासमा भारतका उदासी सम्प्रदायले पनि योगदान गरेको छ । उनीहरूले यहाँ धर्मशाला, मन्दिरलगायत विभिन्न संरचना निर्माण गरिदिएका छन् । रामधुनीको लिंक धरानको पिण्डेश्वर महादेवको मन्दिरसँग पनि रहेको छ । पिण्डेश्वरमा पनि अखण्ड दीप प्रज्वलित छ । यी दुई स्थानमा कहींको पनि दियो केही गरी निभ्यो भने अर्को दीपबाट ज्योति ल्याई बाल्ने चलन छ । यसप्रकार लोहजाराको ठाकुर बाबा दह र भेडिया मठको सम्बन्ध रामधुनीदेखि पिण्डेश्वर महादेवसँग जोडिन पुगेको छ । रामधुनीको बारेमा शोध प्रबन्ध गरिएको पनि जानकारीमा आएको छ । रामधुनीको बारेमा अनुसन्धान गरिएका धेरै कुरा आम जानकारीमा आउनसकेको छैन ।
समग्रमा अनेकानेक विषय समेटिएको लोहजारा पर्यटन क्षेत्रले पर्याप्त प्रचार पाउन सकेको छैन । लोहजारा दहमा नयाँ विक्रम संवत्, छठ, शिवरात्रि, फागु पूर्णिमा, रमजान आदिमा मेला लाग्दछ । त्यस्तै भेडिया मठमा कात्तिक हरिबोधनी एकादशी तथा माघको भीमा एकादशीमा ठूलो मेला लाग्दछ । मेलाका अवसरहरूमा पर्यटकको ठूलो भीड लागे पनि अन्य समयमा उदासीनता छाएको हुन्छ । यहाँको पर्यटकीय सम्भावना र पूर्वाधारको व्यवस्थाको विषयमा छलफल गर्ने गरिएको देखिंदैन । सम्बन्धित गाउँपालिकाको वेबसाइटमा पनि पर्यटकीय सूचना राखिएको छैन । आन्तरिक वा बाह्य पर्यटकहरूका लागि आवश्यक सेवा र पर्याप्त सूचनाको अभाव छ । होटल, ट्राभल र टूर अपरेटरहरूको संजालमा जोड्न सकिएको छैन । पर्यटकीय क्षेत्रमा पूर्वाधारको एकीकृत एवं समन्वयात्मक विकासका सम्भावनालाई अवसरको रूपमा उपयोग गर्न सकिएको छैन । पर्यटकले उपभोग गर्ने सेवा र वस्तुको उपलब्धता छैन । पर्यटनजन्य क्रियाकलापलाई सघाउ पुग्ने व्यवस्था बन्न सकेको छैन ।
दुई कोसमा फैलिएको दह र मठ क्षेत्रमा आन्तरिक आवागमनका लागि सडक र यातायात व्यवस्थाको अभाव छ । टुरिष्ट गाइडहरू छैनन् । स्थानीयलाई पनि उपयुक्त प्रशिक्षण दिन नसकेको देखिन्छ । पर्यटन विकासका सम्भावना तथा अवसरहरू प्रशस्त भए पनि यसलाई उपयुक्त स्तरमा विकास गरी आय आर्जनमा रूपान्तरण गर्ने कार्यमा सरकारी निकायहरूको चासो देखिन्न । ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको उपलब्धिलाई मूल्याङ्कन गरी दिगो विकासका कार्यक्रमहरू सुरु गर्न सकिएको छैन । यथेष्ट स्रोत, तथ्याङ्क एवं सूचनाको अभावमा प्राकृतिक, धार्मिक सम्पदाको संरक्षण व्यवस्थाको अभाव छ । पर्यटन क्षेत्रका साझेदार सरकारी, गैरसरकारी एवं निजी लगानीकर्ताहरूको पहुँच कायम हुनसकेको छैन । द्वन्द्वकालमा भएको नकारात्मक प्रचारको खारेजी हुन नसक्दा विदेशी पर्यटकहरू अझै अन्योलमा रहेको प्रतीत हुन्छ । स्थानीय तहको संलग्नता र सक्रियता विना पर्यटन क्षेत्रको विकास दिगो हुन नसक्ने अवस्था टड्कारो हुँदाहुँदै पनि स्थानीय तहले जिम्मेवारी र स्वामित्व लिन सकेको देखिन्न । स्थानीय तहले व्यवस्थापकीय, नीतिगत र कानुनी व्यवस्था गर्न सकेको देखिंदैन । पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न रहने सडक, खानेपानी, विद्युत्, संचारसँग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुनसकेको छैन ।
लोहजाराको ठाकुर बाबा दह (लोहजारा दह) र भेडिया मठ तिरहुत गाउँपालिकाको वडा नं. ५ मा पर्दछ । पूर्व–पश्चिम राजमार्गको महुली बजार (अग्निसाईर कृष्णासवरन गाउँपालिका–६) देखि ४ किमि दक्षिण जाँदा यो पर्यटकीय स्थलमा पुग्न सकिन्छ । बस, जिप, बाइक आदि जाने–आउने गरेको देखिन्छ । साविक लोहजारा गाउँ विकास समितिको वडा नं. ९ भेडिया गाउँमा पर्ने भएकोले वनखण्डीलाई भेडिया मठ भनिएको हो । भेडिया बस्तीदेखि ५०० मिटरको दूरीमा यो मठ पर्दछ । राजविराजबाट जाँदा कञ्चनपुर हुलाकी राजमार्गको मैनाकडेरी चोकबाट ५ किमि उत्तर बस, जिप, बाइक वा सिटीरिक्साबाट भेडिया मठ पुग्न सकिन्छ । राजविराजबाट कञ्चनपुर पुग्ने हुलाकी राजमार्गमा राजविराजदेखि बिरौलसम्म आफ्नै मार्ग र त्यहाँदेखि कञ्चनपुरसम्मको मार्ग ऐतिहासिक चन्द्रनहरको डिलसँगै गाँसेर निर्माण गरिएको छ ।
लोहजारा दह र भेडिया मठ सप्तरीको र खासगरी पूर्व–पश्चिम राजमार्गछेउको विशिष्ट पर्यटकीय गन्तव्य हो । तर समुचित प्रचारको अभावमा अज्ञात रहेको अवस्था छ । दह, वन, मठ, चरा आदि विविधताको संगम लोहजारा क्षेत्र पर्यटनको एक विशिष्ट केन्द्र हो । यहाँ प्रकृतिसँगै जीवन विचरण गर्दछ । प्रचार र पूर्वाधारको केही कमी छ । प्रदेश सरकारले लोहजारा क्षेत्र विकास कार्यालय खडा गरिदिनुपर्छ । पर्यटनको यो गन्तव्य प्रकृति र जीवनको साथ मनोरम विचरणका लागि आनन्ददायी छ । आकाश, वन, र चराचुरुङ्गीका साथ जलविहारको विछट्टै आनन्द प्राप्त गर्ने ठाउँ हो यो । आम पर्यटकले थाहा जानकारी पाएमा एकपटक, अनि पटक पटक यो ठाउँ घुम्न चाहन्छन् । चाहेमा घन्टौं घुम्न र हेर्न पाउँछन्, फोटो खिच्न पाउँछन्, भिडियो बनाउन सक्छन्, त्यति सामग्री छ यहाँ ।
वनभित्र पिकनिक स्पटको रूपमा बस्ने खाने ठाउँ पनि बनाइएको छ । जैविक विविधताको अध्ययन र मनोरञ्जनका लागि अत्यन्त उपयुक्त यो ठाउँ सबैभन्दा ठूलो कुरो धार्मिकस्थल पनि हो वनखण्डी र ठाकुर बाबा दहको । यसले धार्मिक पर्यटकको शृंखलालाई अन्त्यहीन बनाउन सक्छ र यस क्षेत्रलाई समृद्ध बनाउन सक्छ । दह, वन, मठ, चरा आदि विविधताको संगम लोहजारा क्षेत्र पर्यटनको एक विशिष्ट केन्द्र हो । यहाँ प्रकृतिसँगै जीवन विचरण गर्दछ । प्रचार र पूर्वाधारको केही कमी छ । प्रदेश सरकारले लोहजारा क्षेत्र विकास कार्यालय खडा गरिदिनुपर्छ ।
लोहजारा दहदेखि २–३ किमि पश्चिम उत्तर टेंगरीमा पनि कजला दह र दहसँगै कजला बाबा ठाकुरको मठ वा मन्दिर छ । टेंगरीकै एक अर्को स्थानमा धेना बाबा ठाकुरको मठ छ । टेंगरी पहिले प्रसवनी गाउँ विकास समितिको वडा नं. ९ मा पर्दथ्यो । हाल परिवर्तित अवस्थामा अग्निसाईर कृष्णा संवरण गाउँपालिकाको वडा नं. ४ मा पर्दछ । यस पालिकामा अग्निसाईर, सुरिलगढ, तिरहुत गोरमुराईन, कजला दह जस्ता पर्यटन क्षेत्र पर्दछन् । यी सबै ठाउँमा सिरुवा पर्वको अवसरमा वैशाख १ र २ गते मेला लाग्दछ ।
कजला दह चुरिया वनकै एउटा हिस्सा हो । यहाँ यो वन ३० हेक्टरमा फैलिएको छ, जसको दक्षिणी पश्चिमी भागमा कजला दह पर्दछ । दहको लम्बाइ २०० मिटर र चौडाइ ५० मिटर जति हुनुपर्छ । पुरनी र जलकुम्भी नामक वनस्पतिले दह भरिएको देखिन्छ । दहमा अनेकांै प्रजातिका माछा रहेको बताइन्छ । दहको मध्यभागतिर ५० मिटरजतिको अन्तरमा दुईवटा भँवरी (कुवा) रहेको बताइन्छ । भँवरीमा अनेक जलजीव रहेको बताइन्छ । अनजान मानिस भँवरीमा फस्ने वा डुब्ने खतरा रहन्छ । कजला दहको उत्तरी डिलमा कजला बाबाको मन्दिर छ । पहिले यहाँ फुसको दुईचारी थियो । पछि एकजना नजिकैको जग्गाधनीले ईंटाको कोठा बनाइदियो । हाल गाउँपालिकाले वर्तमान मन्दिरको छेउमै नयाँ संरचना बनाउन थालेको छ, जसको फाउन्डेशनसम्मको काम भइसकेको छ । कजला क्षेत्रलाई सिद्ध मठको रूपमा मानिन्छ । मन्दिरको निर्माण कार्य पूरा भइसकेपछि मन्दिरलाई दहको बीचमा पार्ने गरी दहको विस्तार गरिने र दहलाई वारपार गर्ने पुलसमेत निर्माण गर्ने गरी ठूलै योजना रहेको स्थानीय बताउँछन् ।
दहको दक्षिणी डिलमा ‘सहेली’ भन्ने धार्मिक स्थान छ । सहेली भनेको योगिनी अर्थात् ‘देवी’को अंश हो । स्थानीयका अनुसार पूर्ण निशाकालमा सहेली भन्ने स्थानको चारवटै कुनाबाट सहेलीहरू हातहातमा आरती लिएर निस्कन्छन् र त्यस चौरीको भ्रमण गरेर पुनः आ–आफ्नै स्थानमा पुगेर विलुप्त हुन्छन् । त्यस स्थानलाई स्थानीय समुदायले श्रद्धाका साथ पुज्दै आएका छन् । त्यहाँ कुनै मानिसले फोहोर गर्यो भने उसको अनिष्ट हुने विश्वास गरिन्छ ।
दहको दुवै डिलमा मानव निर्मित प्राचीन इनारको अवशेष देखिन्छ । यहाँ अरू पनि पुरातात्विक संरचनाहरू रहेको अनुमान गरिन्छ । किनभने वर्षामा माटो बगेर ईंटा बाहिरिने गरेको बताइन्छ । दहको उत्तरी भागलाई पिकनिक स्पटको रूपमा विकसित गर्ने प्रयास भइरहेको छ । पिकनिकको लागि चारवटा शेड निर्माण गरिएको छ भने एउटा शेड निर्माणाधीन अवस्थामा छ । यहाँको पिकनिक स्पट कत्तिको चल्तीमा छ भन्ने कुरा यसैबाट बुझिन्छ ।
यहाँ पिकनिक जानेहरूले मन्दिरको सम्मानमा आघात पुग्ने कुनै पनि कार्य गर्न नहुने भनाइ छ, त्यसो गरेमा अनिष्टको सामना गर्नुपर्ने हुनसक्छ । हालैमात्र राजविराजबाट गएको एक महत्वपूर्ण सरकारी संस्थासँग आबद्ध व्यवसायीहरूको पिकनिक टोलीले अनजानमा त्यस्तै परिस्थितिको सामना गर्नुपर्यो । पिकनिक टोली फर्किने बेलामा गाडी (बस) त्यहीं फस्यो । गाडी ब्याक गर्न लाग्दा गाडीको एउटा पाङ्ग्रा हिलोमा फसे झैं फस्यो, जबकि त्यहाँ हिलो भने पटक्कै थिएन । ट्याक्टर, जेसिबी लगाउँदा पनि बस टसमस भएन, बसलाई उम्काउन बाँधिएको साङ्लो (सिक्री) नै चुँडियो । तेस्रो दिन गएर स्थानीयहरूको सल्लाह अनुसार गाडी मालिकले पूजापाठ गरेर ढोग लगाएपछि बस सहजै पछाडि सर्यो । यो चमत्कारी स्थान रहेको बताइन्छ ।
एक पटक बलिया बथनाहाका जमिनदारको हात्ती दहको भँवरीमा फस्यो । हात्तीको पूरै जिउ भँवरीमा डुब्यो, सुँडको टुप्पो मात्र पानी बाहिर रह्यो र जसले गर्दा हात्तीले सास लिन पाई बाँचेको थियो । हात्तीको उद्धार गर्ने अनेक उपाय गरियो तर कुनै पनि उपाय काम लागेन । अन्ततः जमिनदारले सवा मन लड्डु बाबालाई चढाई ढोग गरेपछि हात्ती सहजै बाहिर निस्क्यो ।
त्यस्तै केही वर्षअघि सिरुवा मेला चलिरहँदा ठूलै आँधीबेहरी र असिना पानी आयो । कजला क्षेत्रबाहिर ठूल्ठूलो असिना झर्यो तर मेलामा भने न हावाको झोंका थियो, न त असिना पानी । बाबाको शक्ति र कृपाले गर्दा मेलापात गर्न आएकाहरू असिना–पानीबाट जोगिएको विश्वास गरिन्छ । यहाँ यस्ता अनेक चामत्कारिक घटना सुन्न पाइन्छ । पहिले महेन्द्र राजमार्गको तेरहौता, जण्डौल वा महुलीबाट मात्र पुग्न सकिने यो पिकनिक स्पटमा पुग्नलाई राजविराज–कञ्चनपुर हुलाकी मार्ग बनेपछि अहिले राजविराजबाट मात्र सात किमी गाडी कुदाउनुपर्ने भएको छ ।
(लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।)