Wednesday 16 February 2022

स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

५ फागुन, काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।

निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।

दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

पेस गर्नु  पर्ने कागजातहरू 

दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ ।

विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।

राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण, महाधिवेशनसम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिलगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ ।

दलको कोष, आर्थिक व्यवस्थापन र त्यसका जिम्मेवार पदाधिकारी, उम्मेदवार मनोनयन कार्यविधि, अनुशासन कारबाही र पुनरावेदन सुन्ने संयन्त्र, लेखा परीक्षण, नीति तथा कार्यक्रम निर्माणमा सदस्य तथा तल्ला निकायको सहभागिता, विधान संशोधन, विघटन, नियमावली बनाउने अधिकार, सदस्यता र नवीकरण शुल्कलगायत विषय विधानमै उल्लेख हुनुपर्नेछ ।

आयोगमा हाल करिब ११९ दल दर्ता कायम छ । विसं २०७४ को निर्वाचनमा भाग लिएका दलमध्ये स्थानीय तहमा तत्कालीन १८ दलको प्रतिनिधित्व थियो ।



source https://www.onlinekhabar.com/2022/02/1080276

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More