Friday, 11 February 2022

दूधको मूल्यवृद्धि : किसानको नाममा व्यापारीलाई फाइदा

२८ माघ, काठमाडौं । तीन महिना लामो कसरतपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव दूधको मूल्य बढाउन सफल भएका छन् । तर कतिपयले मन्त्री यादव व्यापारीको स्वार्थमा परेर दूधको मूल्य बढाएको आरोप लगाएका छन् ।

सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले दूधमा प्रतिलिटर  ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाएको छ । तर किसानले बेच्ने मूल्यमा लिटरमा ६ रुपैयाँ ५२ पैसा मात्रै बढेको छ । उपभोक्ता अधिकारकर्मीले किसानको नाममा मूल्य बढाउने तर व्यापारीलाई मोटो रकम नाफा सुनिश्चित गरिएको भन्दै आलोचना गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्ट्यान्डर्ड दूधको मात्रै मूल्य बढाउन अनुमति दिए पनि डीडीसी र निजी डेरीले सबै प्रकारको दूधको मूल्य बढाएका छन् । देशैभर अब डीडीसीको स्ट्यान्डर्ड दूधको मूल्य लिटरमा ९ रुपैयाँ, चिया मिल्क १० रुपैयाँ, गाईको दूध १२ रुपैयाँ र फूल कि्रम दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढेको छ ।

यस्तै निजी क्षेत्रका डेरीहरुले फागुन एक गतेदेखि लागु हुनेगरी स्ट्यान्डर्ड दूधको मूल्य लिटरमा १० रुपैयाँले बढाउने निर्णय गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर मूल्य बृद्धिबारे जानकारी गराएका नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघले फुलकि्रम, गाईको दूध र टी मिल्कको मूल्य बढाएर तोक्न बाँकी रहेको जनाएका छन् ।

मूल्य सिफारिससम्बन्धी अध्ययन कार्यदलमा बसेर पछि छाडेका उपभोक्ता संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना अहिले बढेको मूल्यबाट किसानले धेरै लाम नपाउने बताउँछन् ।

२०७६ साल भदौयता दूधको उपभोक्ता मूल्य बढेको छैन । उत्पादन लागतमा भएको वृद्धि र हरेक दुई वर्षमा मूल्य बढाउन पाइने कानुनी सुविधाका कारण दूधको मूल्य बढ्नु स्वाभाविक थियो । गत पुसमा केन्द्रीय सहकारी संघले दूधको मूल्य बढाउनु पर्ने भन्दै मन्त्रालयमा एक निवेदन पेश गरेको थियो । त्यसको केही दिनमै बागमती प्रदेश सरकार अन्तर्गतको दूग्ध विकास कार्यालयले पनि दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय सरकारलाई सिफारिस गर्‍यो ।

यही अधारमा टेकेर कृषिमन्त्री  र सचिवले दूधको मूल्य बृद्धिबारे अध्ययन गर्न केन्द्रीय दूग्ध विकास बोर्डलाई निर्देशन दिए । मन्त्रीको निर्देशनपछि बोर्डले अनुसन्धान समिति गठन गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतकाअनुसार सहकारीको निवेदन, मन्त्री र सचिवको निर्देशन, मूल्य बढाउने अध्ययन समिति गठन, प्रतिवेदन तयार र मूल्य बढाउन सिफारिस एक महिनाकै बीचमा भएको छ ।

‘योजनाबद्ध रुपमा द्रुत गतिमा मूल्य बढाउन मन्त्रालयले अग्रसरता  देखाउनु, मूल्य बढाउन सिफारिस गर्ने समितिमा मूल्य बढ्दा फाइदा हुने समूहको बर्चश्व रहनुले मूल्यवृद्धि विवादमा तानियो’ मन्त्रालय स्रोतले भन्यो ।

दूधको मूल्यवृद्धि किसानका गरिएको दाबी डीडीसीको छ । शुक्रबारबाट लागू हुने गरी बढाइएको दूधको मूल्यले ७५ प्रतिशत रकम किसानलाई जाने संस्थानका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सन्जीब झाको दाबी छ ।

शुक्रब्ाार मात्रै दूधको मूल्य बढाएका निजी डेरीले पनि आफूहरुलाई कुनै नाफा नरहेको दाबी गरेका छन् । इन्धन लगायतको मूल्यवृद्धिका कारण बढेको मूल्यमा कुनै फाइदा नभएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । ‘किसान बचाउन हामीले मूल्य बढाएका हौं, हामीलाई कुनै फाइदा छैन,’ अध्यक्ष दाहालले भने ।

नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने सरकारी तथ्याङ्क छ । जसमध्ये ३१ लाख लिटर हाराहारी दूध किसानले घरायसी प्रयोजनमा प्रयोग गर्छन् भने बाँकी ३१ लाख लिटर दूध दैनिक बिक्रीमा आउँछन् । जसमध्ये १० लाख ५४ हजार लिटर दूध औपचारिक प्रणालीबाट बिक्री हुने र बाँकी २० लाख ४६ हजार लिटर दूध अनौपचारिक च्यानलबाट बिक्री वितरण भइरहेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । अहिले भएको मूल्य बृद्धि औपचारिक च्यानलको १० लाख ५४ हजार लिटरको हो ।

यसबाहेक अनौपचारिक च्यानलको भनिएको दैनिक २० लाख लिटर भन्दा बढी दूध निजी डेरीले हालको भन्दा पनि बढी मूल्यमा बजार खुल्ला पोकामा बिक्री गरिरहेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन् ।

‘एउटै मूल्यमा किसानबाट किनेर निकाल्नुपर्ने सबै पदार्थ निकालेर न्युनतम प्रतिलिटर ९० रुपैयाँ भन्दा बढीमा खुला दूध बिक्री भइरहेको छ,’ तिमिल्सना भन्छन्, ‘कसैले अनुगमन नगरेको अनौपचारिकमा पनि फाइदा औपचारिकमा पनि फाइदा हुनेगरी मूल्य बढाइयो ।’



source https://www.onlinekhabar.com/2022/02/1077688

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More