Sunday 20 February 2022

सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सर्वोच्च अदालतको आदेश

९ माघ,काठमाडौं । सर्वोच्च अदालतले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो ।

ऐनमा भएको व्यवस्था अनुसार सरकारले अदालत गठन नगरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको थियो । सर्वोच्च अदालतले ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नू भनी आदेश दिएको हो ।

यो मुद्दाको जवाफ दिने क्रममा सरकारले सातवटै प्रदेशमा उपभोक्ता अदालत गठनको गृहकार्य भइरहेको जानकारी गराएको थियो । अरु छ वटा प्रदेशमा प्रदेश राजधानीमा र बाग्मती प्रदेशको हकमा काठमाडौंमा उपभोक्ता अदालत गठन गर्ने सरकारको तयारी थियो । सर्वोच्चले त्यही तयारी कार्यान्वयन गर्नू भनी आदेश दिएको हो ।

२०७३ साल भदौ २३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै उपभोक्ताहरु अन्याय पर्दा सुनुवाइ गर्ने संयन्त्र नभएकाले सबै प्रदेशमा एक-एक वटा उपभोक्ता अदालत बनाउने घोषणा गरेका थिए ।

उपभोक्ता अदालतमा को-को हुन्छन् ?

उपभोक्ता अदालतमा न्यायपरिषदको सिफारिसमा सरकारले तोकेको जिल्ला न्यायाधीश अध्यक्ष र दुईजना सदस्य हुन्छन् । एकजना सदस्य न्यायसेवाका उपसचिव स्तरका कर्मचारी र अर्का उपसचिवस्तरका सरकारले तोकेका कर्मचारी हुने ऐनमा उल्लेख छ ।

जिल्ला अदालत सरहको उपभोक्ता अदालतले उपभोक्ताको हकहित विरुद्धका क्रियाकलापको आरोपमा परेको मुद्दाको प्रारम्भिक सुनुवाइ र न्यायनिरुपण गर्नेछ । यो अदालतको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन लाग्छ ।



source https://www.onlinekhabar.com/2022/02/1082560

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More