नेपालको पूर्वको मेचीनगरदेखि पश्चिममा भीमदत्तनगरसम्म फैलिएको राजमार्ग हो– महेन्द्र राजमार्ग । पूर्व–पश्चिम राजमार्ग र पूर्व–पश्चिम लोकमार्गसमेत भनिने यसलाई सरकारले तराईको राजमार्ग पनि भन्दै आएको छ । तर यसलाई तराईको राजमार्ग भन्नु उपयुक्त हुँदैन । किनभने यो राजमार्ग तराईको परम्परागत बस्ती भएर गएको छैन । तर यो राजमार्ग तराईको सीमान्त र एक वैकल्पिक मार्ग भने अवश्य हो ।
महेन्द्र राजमार्गलाई ‘चुरिया राजमार्ग’ भन्नु उपयुक्त हुनसक्छ । किनभने यो राजमार्ग चुरे पर्वतको फेदैफेद र चुरियालाई चिर्दै पनि गएको छ । नेपालको सबैभन्दा लामो यो राजमार्ग नेपालमा कर्णालीबाहेक सबै प्रदेश र तराईमा पर्साबाहेक सबै जिल्लालाई छोएर गएको छ । दुई लेनको यो राजमार्ग अहिले ४ लेनको रूपमा विस्तार भइरहेकोबाट यस राजमार्गको महत्व र विशिष्टता झल्किन्छ ।
मुलुकको आर्थिक क्रियाकलापको मुख्य आधार र मेरुदण्ड मानिएको पूर्व–पश्चिम राजमार्ग प्राकृतिक सम्पदाले समृद्ध छ । एक हजार बढी किलोमिटर लामो यो राजमार्गको उत्तरी भाग त प्राकृतिक सम्पदाको मुहान नै हो तर यस राजमार्गको दक्षिणी भागले पनि ठाउँठाउँमा मानिसलाई आकर्षित गर्दछ ।
सप्तरीको महुली नदीको पश्चिमी किनारमा महेन्द्र राजमार्गको दक्षिण एउटा ठूलो वन छ, करिब कोसभर लामो । यस वनको आकार अर्थात् यसको परिधि नौ किलोमिटर लामो छ । राजमार्गबाट दक्षिण महुली नदीको पश्चिमी किनारा हुँदै हिंड्दै गएपछि यो वन आइहाल्छ । यो वनको आकृतिलाई हेर्दा यसले आफ्नो शिरले महुलीलाई ढोगेको प्रतीत हुन्छ । गुगल म्यापमा यो वन ‘वामकोल्टे परी सुतिरहेको कुनै भालु’ प्रतीत हुन्छ । यो वन मूलतः चुरिया वनको एउटा खण्ड हो ।
यो एक प्रकारले चुरेको वनान्त खण्ड हो । यहाँ उल्लेख भएअनुसार यस वनमा बाइस प्रकारका रूखहरू छन् । तर यो मुख्य रूपमा साखुवन हो । वसन्त ऋतुमा यस वनको हरिताम्बरा अत्यन्तै मनोरम हुन्छ । स्थानीय बोलचालमा यसलाई कुकुरहर्का भनिन्छ । तर यसको नाम लोहजारा वन हो ।
वनको मध्य भागमा पूर्वी र पश्चिमी किनारमा अत्यन्तै रमणीय शीतल दहहरू छन् । आकारमा पूर्वपट्टिको दह सानो र पश्चिमपट्टिको ठूलो छ । लोहजारा दह भनेपछि प्रायः पश्चिमपट्टिको दह नै बुझिन्छ । यस स्थानमा समाधिस्थ बाबा (महात्मा) लोहजारा ठाकुर वा बाबा ठाकुर थिए । यहाँ लोहजारा भनेपछि दह, वन, गाउँ र बाबा भनी चारैथोक बुझिन्छ । यसमा मूल लोहजारा भनेको कुन हो; दह, वन, गाउँ वा बाबा ? जान्न मुश्किल छ । दहको बीचमा निर्मित एक मन्दिरमा बाबाको प्रतिमा स्थापित छ । मन्दिरसम्म पुग्न पुल निर्माण गरिएको छ । यहाँ दुईवटा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।
मन्दिर लोहजारा ठाकुरको समाधिस्थल हो । दहमा कमल फुल्छ । दहमा रंगविरंगी चराहरूको चिरविर शीतल वातावरणलाई अत्यन्तै मनमोहक र रमणीय बनाउँछ । यहाँ प्रायः म्युजिक भिडियो शूट भइरहेको हुन्छ । जलविहारको आनन्द वर्णनातीत छ तर यसले कमल फूलको विकास र विस्तारमा बाधा पुर्याउँछ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिले दहको संवर्द्धन गरी यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटनको विकासमा योगदान गरेको छ ।
खुला चरनका कारण वनको बिरुवा हुर्कन गाह्रो हुन्छ । हुनत वन तारबार गरिएको पनि देखिन्छ । यस क्षेत्रका धेरै कुराहरू प्रकाशमा आउन बाँकी छ जस्तो लाग्दछ । यहाँ नजिकै भेडिया मठ छ । भेडिया मठमा पनि सिद्ध महात्माको प्रसिद्ध समाधि छ ।
भेडिया मठ लोहजारा वनको पुछारमा छ । भेडिया मठ बाबा वनखण्डीको प्रसिद्ध समाधिस्थल हो । लोहजारा दहमा बाबा लोहजारा ठाकुरको र भेडियामा बाबा वनखण्डीको समाधिस्थल छ । लोहजारा ठाकुर र वनखण्डी को थिए ? यिनीहरूबीच सम्बन्ध के थियो ? कि दुवै व्यक्तित्व एउटै व्यक्तिको हो ? यी प्रश्नरूका उत्तर खोतलिएका छैनन् । इतिहासकारका अनुसार यहाँ नजिकै एक ढिस्कोमा प्राचीन धातुका सामग्रीहरूको अवशेष भेटिने गरेको छ । यस स्थानको उत्खनन भएमा प्राचीन कुराहरू प्रकाशमा आउन सक्छ । तर वनखण्डी नै चुरियाको अन्तस्थ हो ।
वनखण्डीलाई वनसखण्डी पनि भनिन्छ । लेखाइमा पनि विविधता देखिन्छ ः वनसखण्डी, वनस खण्डी । वास्तवमा यो ‘वनखण्डी’ हो । वनको खण्डलाई वनखण्ड भनिन्छ । वनको उपवन वा वनखण्ड र उपखण्ड पनि हुन्छ । भेडिया मठमा एउटा गुरुकुल छ । जसको नाम ‘वनखण्डी गुरुकुल’ हो । वनखण्डी भनी गुरुकुलजस्तो विद्वत् संस्थाको नाम हुनुले वनखण्डी कि वनसखण्डी भन्नेमा विवाद रहँदैन । तथापि यस्तो प्रख्यातस्थलको नाममा पाइएको स्थानीयमा अस्पष्टता समाप्त भएमा राम्रो हुनेछ । हुनत भेडिया मठ भन्नेमा कुनै अस्पष्टता छैन ।
मठ भनेको एक आध्यात्मिक केन्द्र भन्ने बुझिन्छ । जहाँ गुरुवास हुन्छ र गुरुले आफ्ना शिष्यहरूलाई शिक्षा, दीक्षा दिनुका साथै सर्वसाधारणलाई उपदेश दिन्छन् । मठहरूले आध्यात्मिक कार्यका साथै सामाजिक, सांस्कृतिक, साहित्यिक विकासमा ठूलो योगदान गर्दछ । हिन्दू धर्म र सन्त समाज शंकराचार्यद्वारा स्थापित चारवटा मठहरूको अधीन मानिन्छ । हिन्दू धर्मको विकास, प्रचार–प्रसार र ऐक्यबद्धतामा यी मठहरू कडीको रूपमा रहेका छन् । मठको मतको प्रचार अभियानमा योगी, सन्त, साधु, सन्यासी, महात्माहरू खटिन्थे, दुर्गम स्थानहरूमा गएर तप गर्दथे । यस्तो अभियान सनातन धर्ममा मात्र होइन अन्य धर्महरूमा पनि पाइन्छ । ती साधु सन्यासीहरू बस्ने स्थान कुटी, आश्रम, मठ आदि भनिन्थे । ती स्थान पछि तिनको समाधिस्थलमा परिणत हुन्थ्यो । लोहजारा वन र दह पनि त्यसै क्रममा योगीहरूको तपस्थल बन्न पुग्यो ।
यहाँ हेर्न लायक धेरै कुरा छन् तर गाइडको अभाव छ । दहको डिलमा केही भौतिक जानकारी भने राखिएको देखिन्छ । जलवायु उत्थानशील परियोजनाद्वारा राखिएको एक बोर्डमा लोहजारा दह ५० हजार वर्गमीटरमा फैलिएको जनाइएको छ । मध्यवर्ती क्षेत्र १५ हजार वर्गमिटर, गहिराइ ५ देखि १० फिट, पानीको स्रोत ः वर्षा र भूमिगत पानी, प्रजाति÷जैविक विविधता ः रैथाने माछा १६, अन्य माछा ७, रूख २२, चरा ५५, जलीय वनस्पति ३ । यसभन्दा थप कुरा बताइदिनेको अभाव छ ।
इतिहासकार हरिकान्तलाल दासका अनुसार भेडिया मठ सिख सम्प्रदायका संस्थापक गुरु नानकका शिष्य बाबा मोहनदास वैरागीको आश्रम हो, जो पछि उनको समाधिस्थलमा परिणत भयो । यो मठ बाबा मोहनदासका साथै उनका शिष्य महात्माहरूको पनि समाधिस्थल हो । चुरेको पुछारमा अन्तिम टाकुरामाथि मठको आकर्षक भवन निर्माण गरिएको छ । डिजाइनको दृष्टिले भवनलाई अद्वितीय र अनुपम मान्नुपर्छ । पिरामिड शैलीमा निर्मित मठ (भवन) को केन्द्रमा मूल भवनमा र उत्तरी–पश्चिमी कोणस्थित उपभवनमा बाबा मोहनदासको समाधि छ । त्यस्तै अरू तीनवटै कोणस्थित उपभवनहरूमा अन्य महात्माहरूको समाधि छ । वर्तमानमा कायम रहेको मठको भवन २०४९ सालमा निर्माण गरिएको हो ।
भेडिया मठमा एउटा सिख ग्रन्थको पाण्डुलिपि थियो, जो अब छैन । पुरातत्व विभागले उक्त पाण्डुलिपि राष्ट्रिय अभिलेखालयमा राख्न निर्देशन दिएको थियो तर अभिलेखालयले ध्यान दिएन र सुरक्षाको अभावमा चोरी हुन गयो । भनिन्छ यहाँ गुरु नानक आफैं आएका थिए र उनले नै उक्त पाण्डुलिपि छोडेका थिए । यस कुराबाट यो मठ साढे पाँच सय वर्षभन्दा पुरानो रहेको देखिन्छ । मठको महन्तसँग राजा राजेन्द्र विक्रम शाहको अभिलेख रहेको कुरा इतिहासकार दासले दुई दशकअघि लेख्नुभएको थियो । यसबाट यो मठ कमसेकम दुई सय वर्ष पुरानो रहेको भन्न सकिन्छ । हाल यहाँ हिन्दू देवीदेवताका मन्दिर, मूर्ति, प्रतिमा, शिवलिंग, शालिग्राम पनि स्थापित छन् । हालै यहाँ शनि मन्दिर पनि निर्माण गरिएको छ । यहाँ छेउमै गुरुकुल सञ्चालन गरिएको छ ।
वर्षाको मौसम आरम्भ भइसकेपछि पनि पानी नपर्दा वा सुख्खा खडेरी पर्दा वा पानीका लागि त्राहि त्राहिको स्थिति हुँदा वर्षा होस् भनेर इन्द्र देवताको पूजा गर्ने चलन द्वापर युगदेखिकै छ । वर्षालाई आवाहन गर्दै पहाडमा भ्यागुतोको बिहे गर्ने, मधेशमा जटजटिन खेल्ने सामाजिक चलन पनि छ । यसैगरी सप्तरीमा समयमा वर्षा नहुँदा भेडिया मठमा सरकारी स्तरबाटै पूजा गर्ने चलन छ । भेडिया मठको पूजाका लागि सरकारी बजेट नै खर्च गरिन्छ । उक्त पूजामा जिल्लाका प्रमुख सरकारी अधिकारी तथा जनप्रतिनिधिहरू समेत सरिक हुन्छन् ।
भेडिया मठमा पछिल्लोपटक २०७५ साल साउन १८ गते वर्षा पूजा आयोजना गरिएयता महामारीका कारण भएको छैन । सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पूजा तथा हवन गरेका थिए । त्यस अवसरमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक खेम थापा, तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार बहरखेर सहभागी थिए । वर्षा पूजाको खर्च मालपोत कार्यालय र जिल्ला विकास समितिले बेहोर्दै आएकोमा हाल तिरहुत गाउँपालिकाले नै पूजा खर्च बेहोर्न थालेको छ । पूजाका लागि वार्षिक बजेट व्यवस्था नै गरिएको बताइन्छ । भेडिया मठमा पूजा–हवन गर्नाले अतिवृष्टि वा अनावृष्टि नहुने धारणा रहिआएको छ । यस कारणले पनि आम जनमानसमा भेडिया मठको निकै प्रभाव छ । भेडिया मठ अर्थात् वनखण्डीको सबैभन्दा चर्चित कुरो साखुको वृक्षमा आँप फल्नु हो । यहाँ पुराना दुई चार वटा साखुको त्यस्ता वृक्ष छन्, जसमा अझै पनि मौसमी आँप फल्दछ, जो आफैंमा एक आश्चर्यको विषय बनेको छ । साखु वृक्षमा आँप फल्ने कुरा सुनसरीको रामधुनीमा पनि समान रूपमा पाइन्छ ।
रामधुनीमा पनि वनखण्डी मठ रहेको देखिन्छ, जहाँ कालान्तरमा वनखण्डी बाबाको आश्रम थियो र भेडिया मठ झैं समाधिस्थलमा परिणत भयो । यहाँ सुरसैर नदी (सुनसरी खोला) मा एक प्रसिद्ध स्नानघाट छ, जहाँ बाबा वनखण्डी स्नान गरी सिद्धि प्राप्ति गरेको बताइन्छ । साहिबराज बाबा वनखण्डी यस मठमा वि.सं. १७३२ देखि ८६ वर्षसम्म तप गरेको बताइन्छ । यस मठमा समाधिस्थ महात्माहरूमा जौरा भेरा साहेब, लकरी महन्त, मोहन दास, ठाकुरदास, बुद्ध दास, तीर्थ दास, गोपाल दास, गम्भीर दास, निहाल दासको नाम लिइन्छ । रामधुनीका महात्मा मोहनदास र भेडिया मठका संस्थापक मोहनदास एकै व्यक्ति थिए कि भनी अनुमान गर्न सकिन्छ ।
भारत सरकारले निर्माण गर्दै गरेको रामायण सर्किटमा रामधुनीलाई पनि जोड्ने पहल भइरहेको छ । रामकथामा उल्लेखित ती स्थलहरू, जहाँ भगवान रामको उपस्थिति थियो, त्यस्ता १५ वटा धर्मस्थललाई यातायातको माध्यमबाट जोड्ने गरी भारतद्वारा निर्मित ‘रामायण सर्किट’मा जनकपुरको जानकी मन्दिरलाई जोडिएकाले रामधुनीलाई पनि जोड्ने प्रयास भएको हो । किनभने वर्तमान रामधुनी नगरपालिका–४ मा अवस्थित रामधुनी जंगलमा भगवान रामको पदार्पण भएको मानिन्छ । त्यसबेला भगवान रामले बालेको धुनी अहिलेसम्म बलिरहेको विश्वास गरिन्छ । यहाँ अझै पनि अयोध्याका धार्मिक पर्यटक वर्षै पिच्छे आइरहेका छन् । रामधुनीको विकासमा भारतका उदासी सम्प्रदायले पनि योगदान गरेको छ । उनीहरूले यहाँ धर्मशाला, मन्दिरलगायत विभिन्न संरचना निर्माण गरिदिएका छन् । रामधुनीको लिंक धरानको पिण्डेश्वर महादेवको मन्दिरसँग पनि रहेको छ । पिण्डेश्वरमा पनि अखण्ड दीप प्रज्वलित छ । यी दुई स्थानमा कहींको पनि दियो केही गरी निभ्यो भने अर्को दीपबाट ज्योति ल्याई बाल्ने चलन छ । यसप्रकार लोहजाराको ठाकुर बाबा दह र भेडिया मठको सम्बन्ध रामधुनीदेखि पिण्डेश्वर महादेवसँग जोडिन पुगेको छ । रामधुनीको बारेमा शोध प्रबन्ध गरिएको पनि जानकारीमा आएको छ । रामधुनीको बारेमा अनुसन्धान गरिएका धेरै कुरा आम जानकारीमा आउनसकेको छैन ।
समग्रमा अनेकानेक विषय समेटिएको लोहजारा पर्यटन क्षेत्रले पर्याप्त प्रचार पाउन सकेको छैन । लोहजारा दहमा नयाँ विक्रम संवत्, छठ, शिवरात्रि, फागु पूर्णिमा, रमजान आदिमा मेला लाग्दछ । त्यस्तै भेडिया मठमा कात्तिक हरिबोधनी एकादशी तथा माघको भीमा एकादशीमा ठूलो मेला लाग्दछ । मेलाका अवसरहरूमा पर्यटकको ठूलो भीड लागे पनि अन्य समयमा उदासीनता छाएको हुन्छ । यहाँको पर्यटकीय सम्भावना र पूर्वाधारको व्यवस्थाको विषयमा छलफल गर्ने गरिएको देखिंदैन । सम्बन्धित गाउँपालिकाको वेबसाइटमा पनि पर्यटकीय सूचना राखिएको छैन । आन्तरिक वा बाह्य पर्यटकहरूका लागि आवश्यक सेवा र पर्याप्त सूचनाको अभाव छ । होटल, ट्राभल र टूर अपरेटरहरूको संजालमा जोड्न सकिएको छैन । पर्यटकीय क्षेत्रमा पूर्वाधारको एकीकृत एवं समन्वयात्मक विकासका सम्भावनालाई अवसरको रूपमा उपयोग गर्न सकिएको छैन । पर्यटकले उपभोग गर्ने सेवा र वस्तुको उपलब्धता छैन । पर्यटनजन्य क्रियाकलापलाई सघाउ पुग्ने व्यवस्था बन्न सकेको छैन ।
दुई कोसमा फैलिएको दह र मठ क्षेत्रमा आन्तरिक आवागमनका लागि सडक र यातायात व्यवस्थाको अभाव छ । टुरिष्ट गाइडहरू छैनन् । स्थानीयलाई पनि उपयुक्त प्रशिक्षण दिन नसकेको देखिन्छ । पर्यटन विकासका सम्भावना तथा अवसरहरू प्रशस्त भए पनि यसलाई उपयुक्त स्तरमा विकास गरी आय आर्जनमा रूपान्तरण गर्ने कार्यमा सरकारी निकायहरूको चासो देखिन्न । ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमको उपलब्धिलाई मूल्याङ्कन गरी दिगो विकासका कार्यक्रमहरू सुरु गर्न सकिएको छैन । यथेष्ट स्रोत, तथ्याङ्क एवं सूचनाको अभावमा प्राकृतिक, धार्मिक सम्पदाको संरक्षण व्यवस्थाको अभाव छ । पर्यटन क्षेत्रका साझेदार सरकारी, गैरसरकारी एवं निजी लगानीकर्ताहरूको पहुँच कायम हुनसकेको छैन । द्वन्द्वकालमा भएको नकारात्मक प्रचारको खारेजी हुन नसक्दा विदेशी पर्यटकहरू अझै अन्योलमा रहेको प्रतीत हुन्छ । स्थानीय तहको संलग्नता र सक्रियता विना पर्यटन क्षेत्रको विकास दिगो हुन नसक्ने अवस्था टड्कारो हुँदाहुँदै पनि स्थानीय तहले जिम्मेवारी र स्वामित्व लिन सकेको देखिन्न । स्थानीय तहले व्यवस्थापकीय, नीतिगत र कानुनी व्यवस्था गर्न सकेको देखिंदैन । पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न रहने सडक, खानेपानी, विद्युत्, संचारसँग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुनसकेको छैन ।
लोहजाराको ठाकुर बाबा दह (लोहजारा दह) र भेडिया मठ तिरहुत गाउँपालिकाको वडा नं. ५ मा पर्दछ । पूर्व–पश्चिम राजमार्गको महुली बजार (अग्निसाईर कृष्णासवरन गाउँपालिका–६) देखि ४ किमि दक्षिण जाँदा यो पर्यटकीय स्थलमा पुग्न सकिन्छ । बस, जिप, बाइक आदि जाने–आउने गरेको देखिन्छ । साविक लोहजारा गाउँ विकास समितिको वडा नं. ९ भेडिया गाउँमा पर्ने भएकोले वनखण्डीलाई भेडिया मठ भनिएको हो । भेडिया बस्तीदेखि ५०० मिटरको दूरीमा यो मठ पर्दछ । राजविराजबाट जाँदा कञ्चनपुर हुलाकी राजमार्गको मैनाकडेरी चोकबाट ५ किमि उत्तर बस, जिप, बाइक वा सिटीरिक्साबाट भेडिया मठ पुग्न सकिन्छ । राजविराजबाट कञ्चनपुर पुग्ने हुलाकी राजमार्गमा राजविराजदेखि बिरौलसम्म आफ्नै मार्ग र त्यहाँदेखि कञ्चनपुरसम्मको मार्ग ऐतिहासिक चन्द्रनहरको डिलसँगै गाँसेर निर्माण गरिएको छ ।
लोहजारा दह र भेडिया मठ सप्तरीको र खासगरी पूर्व–पश्चिम राजमार्गछेउको विशिष्ट पर्यटकीय गन्तव्य हो । तर समुचित प्रचारको अभावमा अज्ञात रहेको अवस्था छ । दह, वन, मठ, चरा आदि विविधताको संगम लोहजारा क्षेत्र पर्यटनको एक विशिष्ट केन्द्र हो । यहाँ प्रकृतिसँगै जीवन विचरण गर्दछ । प्रचार र पूर्वाधारको केही कमी छ । प्रदेश सरकारले लोहजारा क्षेत्र विकास कार्यालय खडा गरिदिनुपर्छ । पर्यटनको यो गन्तव्य प्रकृति र जीवनको साथ मनोरम विचरणका लागि आनन्ददायी छ । आकाश, वन, र चराचुरुङ्गीका साथ जलविहारको विछट्टै आनन्द प्राप्त गर्ने ठाउँ हो यो । आम पर्यटकले थाहा जानकारी पाएमा एकपटक, अनि पटक पटक यो ठाउँ घुम्न चाहन्छन् । चाहेमा घन्टौं घुम्न र हेर्न पाउँछन्, फोटो खिच्न पाउँछन्, भिडियो बनाउन सक्छन्, त्यति सामग्री छ यहाँ ।
वनभित्र पिकनिक स्पटको रूपमा बस्ने खाने ठाउँ पनि बनाइएको छ । जैविक विविधताको अध्ययन र मनोरञ्जनका लागि अत्यन्त उपयुक्त यो ठाउँ सबैभन्दा ठूलो कुरो धार्मिकस्थल पनि हो वनखण्डी र ठाकुर बाबा दहको । यसले धार्मिक पर्यटकको शृंखलालाई अन्त्यहीन बनाउन सक्छ र यस क्षेत्रलाई समृद्ध बनाउन सक्छ । दह, वन, मठ, चरा आदि विविधताको संगम लोहजारा क्षेत्र पर्यटनको एक विशिष्ट केन्द्र हो । यहाँ प्रकृतिसँगै जीवन विचरण गर्दछ । प्रचार र पूर्वाधारको केही कमी छ । प्रदेश सरकारले लोहजारा क्षेत्र विकास कार्यालय खडा गरिदिनुपर्छ ।
लोहजारा दहदेखि २–३ किमि पश्चिम उत्तर टेंगरीमा पनि कजला दह र दहसँगै कजला बाबा ठाकुरको मठ वा मन्दिर छ । टेंगरीकै एक अर्को स्थानमा धेना बाबा ठाकुरको मठ छ । टेंगरी पहिले प्रसवनी गाउँ विकास समितिको वडा नं. ९ मा पर्दथ्यो । हाल परिवर्तित अवस्थामा अग्निसाईर कृष्णा संवरण गाउँपालिकाको वडा नं. ४ मा पर्दछ । यस पालिकामा अग्निसाईर, सुरिलगढ, तिरहुत गोरमुराईन, कजला दह जस्ता पर्यटन क्षेत्र पर्दछन् । यी सबै ठाउँमा सिरुवा पर्वको अवसरमा वैशाख १ र २ गते मेला लाग्दछ ।
कजला दह चुरिया वनकै एउटा हिस्सा हो । यहाँ यो वन ३० हेक्टरमा फैलिएको छ, जसको दक्षिणी पश्चिमी भागमा कजला दह पर्दछ । दहको लम्बाइ २०० मिटर र चौडाइ ५० मिटर जति हुनुपर्छ । पुरनी र जलकुम्भी नामक वनस्पतिले दह भरिएको देखिन्छ । दहमा अनेकांै प्रजातिका माछा रहेको बताइन्छ । दहको मध्यभागतिर ५० मिटरजतिको अन्तरमा दुईवटा भँवरी (कुवा) रहेको बताइन्छ । भँवरीमा अनेक जलजीव रहेको बताइन्छ । अनजान मानिस भँवरीमा फस्ने वा डुब्ने खतरा रहन्छ । कजला दहको उत्तरी डिलमा कजला बाबाको मन्दिर छ । पहिले यहाँ फुसको दुईचारी थियो । पछि एकजना नजिकैको जग्गाधनीले ईंटाको कोठा बनाइदियो । हाल गाउँपालिकाले वर्तमान मन्दिरको छेउमै नयाँ संरचना बनाउन थालेको छ, जसको फाउन्डेशनसम्मको काम भइसकेको छ । कजला क्षेत्रलाई सिद्ध मठको रूपमा मानिन्छ । मन्दिरको निर्माण कार्य पूरा भइसकेपछि मन्दिरलाई दहको बीचमा पार्ने गरी दहको विस्तार गरिने र दहलाई वारपार गर्ने पुलसमेत निर्माण गर्ने गरी ठूलै योजना रहेको स्थानीय बताउँछन् ।
दहको दक्षिणी डिलमा ‘सहेली’ भन्ने धार्मिक स्थान छ । सहेली भनेको योगिनी अर्थात् ‘देवी’को अंश हो । स्थानीयका अनुसार पूर्ण निशाकालमा सहेली भन्ने स्थानको चारवटै कुनाबाट सहेलीहरू हातहातमा आरती लिएर निस्कन्छन् र त्यस चौरीको भ्रमण गरेर पुनः आ–आफ्नै स्थानमा पुगेर विलुप्त हुन्छन् । त्यस स्थानलाई स्थानीय समुदायले श्रद्धाका साथ पुज्दै आएका छन् । त्यहाँ कुनै मानिसले फोहोर गर्यो भने उसको अनिष्ट हुने विश्वास गरिन्छ ।
दहको दुवै डिलमा मानव निर्मित प्राचीन इनारको अवशेष देखिन्छ । यहाँ अरू पनि पुरातात्विक संरचनाहरू रहेको अनुमान गरिन्छ । किनभने वर्षामा माटो बगेर ईंटा बाहिरिने गरेको बताइन्छ । दहको उत्तरी भागलाई पिकनिक स्पटको रूपमा विकसित गर्ने प्रयास भइरहेको छ । पिकनिकको लागि चारवटा शेड निर्माण गरिएको छ भने एउटा शेड निर्माणाधीन अवस्थामा छ । यहाँको पिकनिक स्पट कत्तिको चल्तीमा छ भन्ने कुरा यसैबाट बुझिन्छ ।
यहाँ पिकनिक जानेहरूले मन्दिरको सम्मानमा आघात पुग्ने कुनै पनि कार्य गर्न नहुने भनाइ छ, त्यसो गरेमा अनिष्टको सामना गर्नुपर्ने हुनसक्छ । हालैमात्र राजविराजबाट गएको एक महत्वपूर्ण सरकारी संस्थासँग आबद्ध व्यवसायीहरूको पिकनिक टोलीले अनजानमा त्यस्तै परिस्थितिको सामना गर्नुपर्यो । पिकनिक टोली फर्किने बेलामा गाडी (बस) त्यहीं फस्यो । गाडी ब्याक गर्न लाग्दा गाडीको एउटा पाङ्ग्रा हिलोमा फसे झैं फस्यो, जबकि त्यहाँ हिलो भने पटक्कै थिएन । ट्याक्टर, जेसिबी लगाउँदा पनि बस टसमस भएन, बसलाई उम्काउन बाँधिएको साङ्लो (सिक्री) नै चुँडियो । तेस्रो दिन गएर स्थानीयहरूको सल्लाह अनुसार गाडी मालिकले पूजापाठ गरेर ढोग लगाएपछि बस सहजै पछाडि सर्यो । यो चमत्कारी स्थान रहेको बताइन्छ ।
एक पटक बलिया बथनाहाका जमिनदारको हात्ती दहको भँवरीमा फस्यो । हात्तीको पूरै जिउ भँवरीमा डुब्यो, सुँडको टुप्पो मात्र पानी बाहिर रह्यो र जसले गर्दा हात्तीले सास लिन पाई बाँचेको थियो । हात्तीको उद्धार गर्ने अनेक उपाय गरियो तर कुनै पनि उपाय काम लागेन । अन्ततः जमिनदारले सवा मन लड्डु बाबालाई चढाई ढोग गरेपछि हात्ती सहजै बाहिर निस्क्यो ।
त्यस्तै केही वर्षअघि सिरुवा मेला चलिरहँदा ठूलै आँधीबेहरी र असिना पानी आयो । कजला क्षेत्रबाहिर ठूल्ठूलो असिना झर्यो तर मेलामा भने न हावाको झोंका थियो, न त असिना पानी । बाबाको शक्ति र कृपाले गर्दा मेलापात गर्न आएकाहरू असिना–पानीबाट जोगिएको विश्वास गरिन्छ । यहाँ यस्ता अनेक चामत्कारिक घटना सुन्न पाइन्छ । पहिले महेन्द्र राजमार्गको तेरहौता, जण्डौल वा महुलीबाट मात्र पुग्न सकिने यो पिकनिक स्पटमा पुग्नलाई राजविराज–कञ्चनपुर हुलाकी मार्ग बनेपछि अहिले राजविराजबाट मात्र सात किमी गाडी कुदाउनुपर्ने भएको छ ।
(लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।)
source https://www.onlinekhabar.com/2022/02/1085461
0 comments:
Post a Comment