Thursday 17 February 2022

प्रधानमन्त्रीको नजर एमालेतिर

५ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नै सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षीसँग सम्वाद बढाएका छन् ।

सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु राणासहित बालकोट पुगेका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका छन् । बिहीबार नै सत्तारुढ चार दलको बैठकअघि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थिए । सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि एमाले नेताहरु निरन्तर सम्पर्कमा छन् ।

सबै छलफलमा एमाले नेताहरु एमसीसी पास गर्न सकारात्मक देखिएका छन् । तर शर्त छ, कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादी सम्मिलित गठबन्धन तोड्नुपर्छ । देउवा गठबन्धन तोडेर आए सरकारमा सहभागी हुने या सहमतिमा प्रतिनिधिसभा विघटन गरेर आउँदो जेठमा अर्ली इलेक्सन गर्ने विषयमा छलफल गर्न ओली खुल्ला रहेको बालकोट स्रोतले बताएको छ ।

एमाले अध्यक्ष ओलीले कांग्रेस नेताहरुलाई ‘तपार्इँहरु कहाँ जाने तय गर्नुस्’ भन्ने गरेका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा भने पाँचदलीय गठबन्धन तोड्ने निर्णयमा पुगिसकेका छैनन् । उनलाई एमसीसी अनुमोदन नगरी पनि भएको छैन ।

बालकोट जानुअघि बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकमा पनि प्रधानमन्त्री देउवाले भोलि शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्न सहमति मागेका थिए ।

बैठकको सुरुमै उनले आफ्नो लामो कुरा नभएको भन्दै भने, ‘अस्ति तपाईहरुले टेबल गर्न दिन्छु भन्नुभएकै हो, अब टेबल गर्न दिनुस् ।’ कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी अनुमोदनका लागि प्रस्तुत हुँदा पक्षमा मत दिने कि विपक्षमा भन्ने दलहरुको आफ्नो रोजाई भएको बताएका थिए ।

तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एमसीसी टेबल भए विपक्षमा मत हाल्ने र सरकार छाड्ने पार्टीको निर्णय मात्र सुनाएनन्, संसद अवरोध कायमै रहेकाले एमसीसी टेबल नमिल्ने बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टेबल गर्न दिने सहमति भएको स्वीकार गरे । तर एमालेले संसद अवरोध कायमै राखेका बेलामा छलफल गर्ने वातावरण नबन्ने र पार्टीको बैठक ७ गते रहेको पनि बताए ।

कांग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री एकीकृत समाजवादीको बैठकसम्म पर्खिन पनि तयार छन् । किनकी एससीसी अनुमोदनका लागि अमेरिकाले दिएको म्याद २८ फेब्रुअरी अर्थात १६ फागुनसम्म छ । तर एकीकृत समाजवादीको बैठकपछि ८ गते पनि अहिलेको जस्तै अवस्था आउने उनको आशंका छ । त्यहीकारण प्रधानमन्त्री देउवा चार दलको बैठक लगतै ओलीलाई भेट्न बालकोट पुगेका छन् । एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले गठबन्धनको बैठकमै म ओलीजीलाई भेट्छु, पोजिसन क्लियर गर्नुस् भन्छु भन्नुभएको थियो ।’

गठबन्धनको बैठकमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले पनि एमसीसीमाथि संसदमा छलफलको वातावरण नभएकाले संसदको अवरोध खुल्ला गर्ने वातारण मिलाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । उनीहरुले संसद अवरोध हटाउनका लागि एमालेसँग संवाद गर्नुपर्नेमा जोड दिएका थिए ।

कांग्रेस नेताहरुका अनुसार एमाले नेताहरुको संवाद भने संसदको अवरोध खुलाउन मात्र सिमित छैन । एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि कांग्रेस नेताहरुले एमाले नेताहरुसँँग सरकारमा साझेदारीदेखि अर्ली इलेक्सनसम्म छलफल गर्ने गरेका छन् ।

तर एमाले नेताहरु भने गठबन्धन टुटाउन देउवा सहमत भए बल्ल कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने बताउँछन् । ‘एमसीसी हाम्रा लागि अपरिचित विषय होइन । हामी सत्तामा हुँदा पनि पास गर्न खोजेकै थियौं,’ ओली निकट एक नेताले अनलाइनखबरसँग भने, ‘अहिले सरकारले ल्याउन खोजेको प्रस्तावलाई संसदमा आन्दोलनरत एमालेले यसै समर्थन गरेर समाजसेवा त गर्दैन नि । त्यसैले पहिले गठबन्धन टुट्नुपर्छ भन्ने हाम्रो बटमलाइन हो ।’

एमाले अध्यक्ष ओलीले कांग्रेस नेताहरुलाई ‘तपाईँहरुसँग १६५ नहुँदा न हाम्रो काम छ, नभए के काम छ र ?’ भन्ने गरेको उनी निकट एक नेता बताउँछन् ।

यद्यपि बिहीबार भएको भेटमा प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ओलीसमक्ष कुनै ठोस प्रस्ताव नल्याएको एमाले प्रचार विभाग प्रमुख विष्णु रिजाल बताउँछन् । ‘प्रधानमन्त्रीज्यूले एमाले अध्यक्ष ओलीलाई कुनै ठोस प्रस्ताव गर्नुभएन, उहाँले खाली एमसीसी अनुमोदनका लागि समर्थन गर्न आग्रह गर्नुभयो,’ रिजालले भने ।

कांग्रेस नेताहरु पनि प्रधानमन्त्री देउवा भने गठबन्धन तोड्ने निर्णयमा नपुगिसकेको नेताहरु बताउँछन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारण पनि देउवालाई यस्तो निर्णय गर्न अप्ठ्यारो परेको बताइन्छ ।

बालुवाटार बैठकमा सहभागी नेताहरुका अनुसार एमसीसी टेबल गर्ने दिन माओवादी केन्द्रको तुलनामा एकीकृत समाजवादी केही लचिलो छ । यदि उसले एमसीसी टेबल गर्न दिने र विपक्षमा मत दिएर पनि सरकारमा बस्ने वा फ्लोरबाट समर्थन गर्ने भनिराख्यो भने के गर्ने भन्ने प्रश्न कांग्रेस नेताहरुमा छ ।

तर प्रधानमन्त्री देउवाको पनि सीमा छ भन्ने गठबन्धनका नेताहरु बुझ्नुपर्ने भन्दै कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले अहिलेसम्म पनि गठबन्धन कायम राख्न चाहनुभएको छ, तर उहाँले चाहेर मात्र सम्भव हुन्न । उहाँको पनि आफ्ना सीमाहरु छन् ।’



source https://www.onlinekhabar.com/2022/02/1080868

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More