२१ चैत, काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।
चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ ।
कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएलगत्तै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । शिक्षामन्त्री दिनेश गुणवर्धनले मन्त्रिपरिषदका सदस्यहरुले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् ।
सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक स्थितिबाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।
source https://www.onlinekhabar.com/2022/04/1104179
0 comments:
Post a Comment