Wednesday, 6 April 2022

गोकर्णेश्वरको मेयरमा कांग्रेसका दीपक रिसालको दाबी

२४ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसालले दाबी गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा हालका मेयर सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक मेयरमा आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘हामीबीच भएको सहमति अनुसार अघिल्लो पटक सन्तोष चालिसे जीलाई सघाएँ अब यसपटकको चुनावमा उहाँले मलाई सघाउनुपर्छ ।’ २०७४ सालमा चालिसेले कांग्रेस नेताहरुसँगको छलफलमा आफू फेरि नदोहिरिने भन्दै रिसाललाई मेयर पदका लागि छाडिदिने बताएका थिए ।

रिसालले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र पारेको बताए । ‘सन्तोषजी आफैंले अबको मेयरको उम्मेदवार दीपक हो भनेपछि मेरो बाटो खुल्ला भएको छ,’ रिसालले भने, ‘त्यसै अनुसार मैले मेयर पदमा चुनाव लड्ने तयारी गरिरहेको छु ।’

को हुन् दीपक रिसाल ?

दीपक रिसाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी निवासी हुन् । उनी हाल नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिवको जिम्मेवारीमा छन् । नगरपालिकाको सल्लाहकारको भूमिका रहेर उनले नगरपालिकाका कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा पनि भूमिका खेलेका छन् । २०४६ सालदेखि कांग्रेसको राजनीतिमा लागेको बताउने उनी राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय छन् ।

उनी अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको पूर्वअध्यक्ष हुन् । उनी हाल गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको वर्तमान महासचिव छन् । गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि सप्ताह लगाएर आर्थिक संकलन समेत गरेको उनी बताउँछन् ।

उनले गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने आफ्नो सपना रहेको बताए । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्न चाहना छ,’ उनले भने, ‘हालका मेयर सन्तोष चालिसे जीको अगुवाईमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न चाहान्छु ।’

शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभिर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए । ‘राजनीतिक तथा सामाजिक संघ संगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेताहरुसँग सुमधुर सम्बन्ध पनि भएकाले गोकर्णेश्वर नगरपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ उनले भने ।

गोकर्णेश्वर नगरपालिकाको मेयरमा विमल ठकुरी पनि आकांक्षी छन् । नेपाल मेडिकल कलेजका जागिरेसमेत रहेका उनको संगठनमा भने राम्रो पकड नभएको स्थानीय कांग्रेसका नेताहरु बताउँछन् । उनी अघिल्लो पटक प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तर नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसँग पराजित भएका थिए ।



source https://www.onlinekhabar.com/2022/04/1105837

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More