नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । नेपालमा जलस्रोत, जंगल, हिमशृंखला, खनिज पदार्थ, जमिन इत्यादि प्रमुख प्राकृतिक सम्पदाका रूपमा रहेका छन् ।
यिनीहरूको समुचित प्रयोगबाट नेपालले आफ्नो आर्थिक तथा सामाजिक अवस्थालाई स्तरोन्नति गर्न सक्दछ तर विडम्बना नेपालले सुनको कचौरा लिएर माग्न बसेको, माल पाएर चाल नपाएको मुलुकको संज्ञा पाएको छ ।
दशकौंदेखि राजनैतिक अस्थिरतामा रुमल्लिएको नेपालले आफूलाई त्यस्तो ऐना अगाडि कहिल्यै हेर्न पाएन जुन ऐनामा आर्थिक र सामाजिक विकासको चित्र र समृद्धिको आधार देख्न सकियोस् । अहिले वा भोलिलाई होस् नेपालको मूलतः आर्थिक विकासको मेरुदण्ड जलस्रोतमा आधारित जलविद्युत्, चुनढुंगामा आधारित सिमेन्ट उद्योग र पर्यटन उद्योग नै हुन् ।
कछुवा गतिमा भए पनि नेपालले जलविद्युत्मा आत्मनिर्भरको बाटो पहिल्याइसकेको छ । त्यस्तै सिमेन्ट उत्पादनमा पनि आत्मनिर्भरको नजिक छ । पेट्रोलियम पदार्थपछि नेपालमा सबैभन्दा बढी आयात हुने सामग्रीमध्ये स्टिल तथा फलामजन्य पदार्थ पर्दछ । यी दुवै आयातितलाई विस्थापन गर्ने स्रोत नेपालमा नभएको भने होइन । पेट्रोलियमलाई विद्युत्ले र फलामलाई आफ्नै देशमा रहेको फलाम खानीको उत्खनन् र व्यावसायिक उत्पादन गरेर विस्थापन गर्न सकिन्छ ।
विश्वमा शक्तिशाली राष्ट्रहरूको मापन निजसँग भएको ऊर्जाको स्रोतबाट गर्न सकिन्छ । समयसँगै भइरहेको प्रविधिको तीव्र विकासले ऊर्जाका नयाँ-नयाँ स्रोत मात्र हैन किफायती र दीर्घकालीन प्रयोग समेतलाई मध्यनजर गर्दै ऊर्जाका विविध स्रोत पहिचान भई प्रयोगमा आएका छन् । जलविद्युत्, सौर्य, थर्मल हुँदै आज अधिकांश शक्तिशाली राष्ट्रहरू आणविक ऊर्जाको उत्पादनमा तल्लीन छन् । जसमा आणविक पदार्थको सानो औंसबाट हजारौं वाट प्रतिघण्टा ऊर्जा उत्पादन गर्न सकिन्छ ।
जलविद्युत्मा जल, सौर्यमा घाम, थर्मलमा कोइला प्रयोग भए जस्तै आणविक ऊर्जा उत्पादन गर्न आणविक पदार्थ युरेनियम प्रयोग गरिन्छ । हाल आएर आणविक ऊर्जाको प्रयोग बढ्दै जानुमा सस्तो, भरपर्दो र शून्य कार्बन उत्सर्जन जस्ता कारण रहेका छन् भने यसका चुनौतीमा विकिरण चुहावट, विकार व्यवस्थापन इत्यादि पर्दछन् ।
हाल विश्वमा ३० देशमा गरी ४४३ वटा आणविक ऊर्जा उत्पादन गर्ने आणविक भट्टीहरू प्रयोगमा छन् । हाम्रा नजिक रहेका छिमेकी मुलुकहरू चीनमा ५०, भारतमा २३ तथा पाकिस्तानमा ६ वटा आणविक भट्टी रहेका छन् ।
नेपालमा युरेनियमको खानी र आणविक ऊर्जा उत्पादनको सम्भावना
खानी तथा भूगर्भ विभागले नेपालमा युरेनियम धेरै स्थानमा रहेको तथ्याङ्क देखाएको छ । मकवानपुरको धियाल, तिनभंगाले-कालोपानी क्षेत्र, मुस्ताङको लोमान्थाङ क्षेत्र, बझाङको सेनगढ, निम्लीगढ क्षेत्र, लाङ्गटाङ्ग हिमाल क्षेत्र, काठमाडौंको जगते इत्यादि क्षेत्रमा प्रशस्त मात्रामा युरेनियम पाइने सम्भावना रहेको बताएको छ ।
नेपाल बहुमूल्य खनिज पदार्थ रहेको देश भएतापनि पहिचान उत्खनन र उत्पादनमा चुनढुङ्गा बाहेक अन्य खनिज पदार्थमा नेपालले व्यावसायिक सफलता हासिल गर्न सकेको छैन । नेपालमा धौबादी फलाम खानीको पहिचान भएको वर्षौं भएतापनि उत्खनन र नमूना परीक्षण भने हालै चीन सरकारको सहयोगमा भइरहेकोमा फलाम उद्योगको स्थापनाको सम्भाव्यता र विस्तृत डिजाइनको ठेक्का केही महिनाअघि मात्र भएको छ ।
नेपालमा सामान्य प्रविधि, स्रोत र साधनबाट सञ्चालन गर्न सकिने उद्योग स्थापना गर्न यति सकस भइरहेको बेलामा विशेष किसिमको प्रविधि, स्रोतसाधन आवश्यक पर्ने आणविक ऊर्जा उत्पादन गर्ने भट्टी स्थापना र सञ्चालन गर्न नेपालमा हालको परिप्रेक्ष्यमा कठिन छ । तसर्थ नेपालमा रहेको कच्चा युरेनियमलाई सामान्य प्रशोधन गरी पहेंलो (एल्लो) केक बनाएर विदेशी बजारमा बेच्न सकिन्छ ।
एल्लो केक बनाउन कच्चा युरेनियमको धाउलाई पिसेर मसिनो पाउडर बनाइन्छ जसलाई युरेनियमको पल्प्ड धाउ भनिन्छ र सोपश्चात एसिडको घोलसँग प्रतिक्रिया गराई लिचआउट गरेर एल्लो केक तयार गरिन्छ ।
युरेनियमको प्रयोग र यसको बजार मूल्य
पारमाणविक भार २३८ भएको रेडियोधर्मी रसायनिक तत्व युरेनियमको परमाणुक्रम ९२ हो । यसले लगातार ऊर्जावान् विकिरण फ्याँकिरहने गर्दछ । यसको यही विकिरण शक्तिलाई फिल्डमा गाइगर काउन्टर र प्रयोगशालामा लिक्विड सिन्टिलेशन काउन्टर जस्ता उपकरणबाट मापन गरी उपस्थिति पत्ता लगाइन्छ । ऊर्जा उत्पादन, भौगर्भिक अध्ययन, आणविक हतियार, चिकित्साशास्त्रको क्षेत्रमा युरेनियम प्रयोग गरिन्छ ।
हाल युरेनियम एल्लो केकको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ४५ डलर प्रति केजी रहेको छ । १ केजी शुद्ध युरेनियमबाट २७०० टन कोइला बराबरको ऊर्जा उत्पादन गर्न सकिन्छ । १ टन कोइलाबाट २४६० किलोवाट आवर ऊर्जा उत्पादन हुँदा १ केजी युरेनियमबाट करिब ६६.५ लाख किलोवाट आवर ऊर्जा उत्पादन हुन्छ ।
यदि सोही बराबरको ऊर्जा उत्पादन हाइड्रोबाट गर्ने हो भने २७५ मेगाबाट क्षमता बराबरको जलविद्युत् आयोजनाको आवश्यकता पर्दछ । यसरी युरेनियमको सानो औंसको प्रयोगबाट करोडौं मूल्य बराबरको ऊर्जा उत्पादन गर्न सकिने भएकोले शक्तिशाली राष्ट्रहरू आणविक ऊर्जा उत्पादनमा आकषिर्त भइरहेका छन् ।
मकवानपुरको तिनभंगाले कालोपानी क्षेत्रबाट मात्र ३५ मेटि्रक टन शुद्ध युरेनियम निस्कने अध्ययनले देखाएको छ । जसको बजार मूल्य करिब १४ खर्ब रुपैयाँ पर्न जान्छ । यसबाट मकवानपुरको एउटा खानीमा १४ खर्बको युरेनियम रहेको देखिन्छ र सोच्नुस् देशैभर कतिको होला ? नेपालमा बेलाबखत युरेनियमको आंशिक प्रशोधित पहेंलो पदार्थ (एल्लो केक) सहित मान्छेहरू पक्राउ परेकोमा घटनाहरू सार्वजनिक भएबाट पनि युरेनियमको तस्करी भइरहेको छ भन्ने बुझिन्छ ।
आणविक ऐन सम्बन्धी व्यवस्था
नेपाललाई ८ जुलाई सन् २००८ मा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको (आईएईए) को सदस्यता प्राप्त गरेपश्चात आणविक सम्बन्धी ऐन बनाउने दबाव परेको थियो । आईएईएको दबाव र विभिन्न समयमा संसदीय समितिमा सम्बन्धित विधेयक उपरको छलफल पार गर्दै अन्ततः रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ जारी भयो । जसको प्रस्तावनामा ‘रेडियोधर्मी पदार्थ एवम् प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र ऐनीकरण गर्ने विकिरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न’ समावेश गरिएको छ । ऐन निर्माण भएतापनि युरेनियम उत्खनन, संरक्षण तथा व्यवसायीकरणको लागि सम्बन्धित नियमावली, निर्देशिका, मापदण्डहरूको निर्माण हुन भने बाँकी नै छन् ।
शक्तिशाली राष्ट्रहरूको चासो
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको -आईएईए) ले नेपाललाई अन्वेषण सम्बन्धी उपकरण तथा कर्मचारीहरूलाई तालिम पनि दिएको छ । विश्वका मुलुकहरू बीच भइरहेका जति पनि युद्ध र मनमुटावहरू छन्, ती सबै ऊर्जा स्रोत, त्यसको उपयोग र त्यसले सिर्जना गर्न सक्ने अर्थोपार्जनका कारण भएका छन् । नेपालको युरेनियममा छिमेकी मुलुक चीन, भारत मात्र नभएर अमेरिकादेखि रसियासम्मका मुुलुकहरूको चासो रहेको छ ।
विदेशीहरू हिमाल आरोहणको बहानामा नेपाल आउने अनि हिमाली क्षेत्रको रेडियोधर्मी विकिरणको अध्ययन गरेर जाने समेत गरेको पाइएको छ । अमेरिकाको जीटीआरआई तथा दक्षिण कोरियाको आईजीएमएस संस्थाले ऊर्जाजन्य खानी अन्वेषणको लागि खानी विभागसँग सहकार्य गर्न प्रस्ताव नै राखिसकेका छन् । ऊर्जाको नयाँ-नयाँ स्रोतको पहिचान भइरहँदा नेपाल जस्तो मुलुकको प्राकृतिक स्रोतमा विदेशी चासो हुनु स्वाभाविक नै हो ।
निर्यातको सम्भावना
नेपालले शुद्ध युरेनियमको उत्पादन तथा भट्टी निर्माण गरी आणविक ऊर्जा उत्पादन गर्ने कार्य हाललाई सम्भावना र उचित पनि देखिन्न । शुद्ध युरेनियम उत्पादन गर्न विशेष किसिमको प्रविधि र सुरक्षाका संरचनाहरू निर्माण गर्नुपर्ने हुन्छ । जुन खर्चालुका साथै विकिरण चुहावटको हिसाबले पनि खतरापूर्ण रहेको छ भने आणविक भट्टीबाट विद्युत् निकाल्दा हाल जल ऊर्जाबाटै उत्पादन गरिएको विद्युत् निर्यात गर्न हम्मे हम्मे परिरहेको छ । हाल जलविद्युत् उत्पादन र खपत सँगसँगै वृद्धि भइरहेको र आणविक ऊर्जाबाट विद्युत् निकाली हालिएमा त्यसको व्यवस्थापन झन् जटिल हुन सक्छ ।
तसर्थ नेपालको युरेनियमलाई आंशिक रूपमा प्रशोधन गरी एल्लो केक उत्पादन गर्ने र सोको निर्यात गर्नु नै सबैभन्दा उत्तम उपाय हुने देखिन्छ । युरेनियमको एल्लो केक उत्पादन गर्न महँगो प्रविधिको आवश्यकता नपर्ने साथै विकिरण चुहावट तथा ढुवानी गर्ने हिसाबले पनि कम जोखिमपूर्ण रहन्छ ।
जलविद्युत् जस्तै शून्य कार्बन उत्सर्जन हुने आणविक ऊर्जाले, सन् २०३५ सम्ममा विश्वव्यापी रूपमा वृद्धि हुने ऊर्जा खपतको ४१ प्रति हिस्सा ओगट्ने अनुमान गरिएको छ । अधिकांश मुलुकले आणविक ऊर्जालाई आफ्नो ऊर्जा उत्पादनको मिश्रणमा समावेश गर्दैछन् । सफा ऊर्जा उत्पादन, चिकित्सा क्षेत्र तथा विविध अध्ययन-अनुसन्धानको क्षेत्रमा प्रयोग हुने युरेनियमको महत्व भविष्यमा झन् बढेर जाने देखिन्छ ।
युरेनियम उत्खननको नाममा वैदेशिक एलिट लगानीकर्ताको हस्तक्षेप, अपारदर्शी तथा अव्यवस्थित राजस्व संकलन, संकलित राजस्वको दुरुपयोग, असन्तुलित वैदेशिक सम्बन्ध, विकिरण चुहावट इत्यादि युरेनियम उत्खननका समस्या हुन सक्दछन् । अतः नेपालले युरेनियम उत्खनन गर्नुपूर्व यसको बजार, उत्खनन, प्रशोधन तथा ढुवानीको जटिलता र व्यापारलाई ध्यानमा राखी आवश्यक कानुन, नीति, नियम निर्माण तथा वैदेशिक समझदारी निर्माण गर्दै युरेनियम निर्यात गर्न सके आर्थिक समृद्धि हासिल गर्न मद्दत पुग्ने देखिन्छ ।
source https://www.onlinekhabar.com/2022/09/1195554
0 comments:
Post a Comment