Thursday 29 September 2022

एमालेमा पूर्वमाओवादी समूह असन्तुष्ट बनेको हो ?

१३ असोज, काठमाडौं । दलहरुले चुनावका उम्मेदवार टुंग्याउँदै गर्दा एमालेमा रहेका पूर्वमाओवादी नेता असन्तुष्ट बनेको चर्चा सुरु भएको छ । कतिपय सञ्चार माध्यममा अहिले उनीहरु असन्तुष्ट रहेको र माओवादीमै फर्किन लागेको भन्ने कोणबाट समाचारहरु प्रकाशित भइरहेका छन्। यसको सत्यता बुझ्न हामीले पूर्व माओवादी समूहका केही नेताहरुसँग कुरा गर्‍यौं ।

पूर्व माओवादी समूहका एक नेताले आफूहरुलाई प्राथमिकता नदिइएको भन्ने बुझाइ केही साथीहरुको रहेको तर त्यो माओवादीमै फर्किने तहको असन्तुष्टि नभएको बताए । ‘बाहिर समाचारमा आए जस्तो त होइन तर यता १० भाई तिर र हाम्रो तिर पनि प्राथमिकतामा परिएन कि भन्ने साथीभाईलाई लागेको छ,’ आफ्नो नाम उल्लेख गर्न नचाहने ती नेताहरुले भने, ‘अलि सन्तुलन मिलेन कि भन्ने हो तर माओवादीमै फर्किने तहको असन्तुष्टि होइन ।’

तत्कालीन नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामै फर्किदा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरी एमालेमै बसेको थिए । उनीहरुलाई माओवादीले कारवाही गरेपछि संघीय सांसद पद गुमेको थियो । त्यस्तै करिब दर्जन प्रदेशसभाका सांसद पनि एमालेमै रहेका थिए।

प्रत्यक्ष चुनाव जितेका पूर्व माओवादी समूहका लगभग धेरैले एमालेबाट टिकट पाए पनि समानुपातिकमा नसमेटिएको भन्दै केही असन्तुष्टि भने रहेको ती नेताको भनाइ छ । ‘प्रत्यक्ष सांसद जति थिए ती चाहिँ करिब-करिब आएका छन्,’ उनको भनाइ छ, ‘समानुपातिक अलि मिलेको छैन । समानुपातिक सूची बनाउँदा सन्तुलन बिग्रियो भन्ने हाम्रा तिरका साथीहरुको गुनासो छ ।’

आज बोलाइएको नेकपा एमालेको सचिवालय बैठकले त्यसमा सम्बोधन गर्छ कि भन्ने आशा रहेको भन्दै उनले भने, ‘आजको सचिवालयले के गर्छ, त्यो चाहिँ हुनुपर्ने हुन्छ ।’

पूर्व सांसद गौरीशंकर चौधरीले भने समानुपातिक सूचीमा राख्नेबारे आफूहरुसँग छलफल नगरिएको बताए । ‘समानुपातिकमा को–को परे थाहा नै छैन,’ उनले भने, ‘१६ गतेपछि मात्रै थाहा होला । को को परे भनेर हामीलाई नाम भनेको छैन ।’

पूर्वमाओवादी समूहबाट नेकपा एमालेका पदाधिकारी रहेका एक नेताले पनि पार्टीभित्र आफूहरुलाई धेरै प्राथमिकता नदिइएको भन्दै सन्तोषजनक अवस्था नरहेको बताए ।

माओवादी केन्द्रनिकट स्रोतका अनुसार प्रभु साह लगायतका केही नेताहरु माओवादीमै फर्किन संवादमा आएका थिए । तर, अन्तिममा उनी माओवादीमा फर्किन हच्किएका छन् ।

पूर्वमाओवादी समूहका नेताहरु अहिले नै माओवादीमा फर्किहाल्ने अबस्था नरहेको बताउँछन् । ‘माओवादीमा रहेका सहकर्मीहरुले हालखबर के कस्तो छ भनेर बुझ्ने त कुरा त भइहाल्यो, तर माओवादीको उच्च तहबाट हामीलाई लानुपर्छ भन्ने पनि छैन । हाम्रो तर्फबाट पनि तुरुन्तै माओवादीमा जाने भन्ने पनि छैन ।’



source https://www.onlinekhabar.com/2022/09/1198549

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More