Tuesday, 25 April 2023

प्रचण्डको दैनिकी व्यस्त छ कि अस्तव्यस्त ?

गत चैत २६ गते गोरखा अस्पतालको वार्षिकोत्वस थियो । सोही अवसरमा आईसीयू सेवाको उद्घाटन गर्न देशका कार्यकारी प्रधानमन्त्री प्रचण्ड गोरखा पुगे ।

प्रधानमन्त्री जिल्ला आएको मेसोमा गोरखाका ‘अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम’ पनि सम्पन्न भयो । हेलिकप्टर चार्टर गरेर जम्बो टोलीसहित गोरखा पुगेका उनी ‘अत्यावश्यक कार्यक्रम’ सकाएर त्यही दिन काठमाडौं फर्किए ।

यसको ठिक १० दिनपछि उनी यही वैशाख ६ गते गोरखाको उत्तरी भेग चुनब्रुही गाउँपालिकाको छेकम्पारमा आयोजित ‘चुम श्याग्या शताब्दी महोत्सव-२०८०’ कार्यक्रम उद्घाटन गर्न पुनः जम्बो टोलीसहित गोरखा पुगे । यही अवसरमा ‘अगुवा कार्यकर्ता भेटघाट’ हुने नै भयो ।

प्रधानमन्त्री प्रचण्डसँगै माओवादी पार्टीकै उपाध्यक्ष तथा वर्तमान सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि टोलीमा मिसिएका थिए ।

गृहमन्त्री तीन दिन पहिले मात्र एक रात बसेर गोरखाका तीन गाउँपालिकामा योजना उद्घाटन र ‘अगुवा कार्यकर्ता भेला’ गरेर फर्किएका थिए ।

उद्घाटन भयो । प्रधानमन्त्री लगायत जिम्मेवारको काम सकियो ।

यथार्थ जान्ने फुर्सद कसलाई !

देशकै कार्यकारी प्रधानमन्त्रीको आतिथ्यमा गोरखा अस्पतालमा बिस्तार भएको आईसीयू सेवा स्वयं आईसीयूमा छ ।

आईसीयू सेवा बिस्तार गर्न आवश्यक जनशक्ति र उपकरणको उचित प्रबन्धविना बिस्तार गरिएको सेवा स्वयंलाई उपचार चाहिएको छ ।

उपकरण किन्ने त सरकारी निकायको प्राथमिकता नै होला । जनशक्ति व्यवस्थापनको सयौं उदाहरण त हाम्रै अघि छर्लङ्ग नै छन् ।

नाम नखुलाउने सर्तमा गोरखा अस्पतालमा कार्यरत एक विशेषज्ञ डाक्टरले भनेका थिए, ‘एकजना करार एनेस्थेटियोलोजिस्ट अनि एकजना अर्को करार मेडिसिनको कन्सल्ट्यान्ट डाक्टरको भरमा आईसीयू सेवा बिस्तार गर्ने योजना दिने व्यक्ति मेडिकल क्षेत्रसँग सम्बन्धित हुनैसक्दैन । कस्ता योजना र सोच भएकाको पेलानमा छौँ हामी ।’

जिल्लामा अति विशिष्ट पाहुनाको सवारी हुँदा व्यस्त हुने जिल्लाका एक उच्च सरकारी अधिकारीले भने, ‘लाखको योजना उद्घाटन गर्न लाखौं खर्च गरेर किन आउनुपर्ने होला है मन्त्रीहरूलाई ।’

उनीसँग उत्तर थिएन ।

… …

केही पहिले अनलानखबरमै मैले एउटा ब्लगमा लेखेको थिएँ, ‘प्रिय प्रचण्ड, सच्चिएर उदाहरण बन्ने कि सकिएर अपवाद ?’ यो लेख पढेपछि गोरखाका एक माओवादी केन्द्रीय सदस्यले फोनमा अलिक भावुक हुँदै भनेका थिए, ‘हामीले चाहेर पनि भन्न नसकेका कुरा कति सरल भाषामा तिमीले भनिदिएछौ ।’

केही दिन पहिले मात्र अजिरकोट गाउँपालिकाको एउटा बाटो उद्घाटन गर्ने सिलसिलामा गृहमन्त्री नारायणकाजीले पनि यही आशय व्यक्त गरे, ‘यो कार्यकालमा पनि भुइँमान्छेका लागि केही गर्न सकिएन भने हामी हुनु र नहुनुको फरक के हुन्छ र ? अब हाम्रो पार्टीको भविष्य विगतले होइन वर्तमानमा हामीले दिने डेलिभरीमा निर्भर छ ।’

प्रचण्डले यो आशयका वाक्य पटकपटक बोलिरहेकै हुन्छन् । अर्थात् माओवादी पंक्तिमा यसको आभास सबैलाई छ र उनीहरू स्वीकार्छन् पनि ।

कार्यकर्ता पंक्तिमा आदेश-निर्देशन पनि दिन्छन् ।

तर, जब आफ्नो व्यवहारको कुरा आउँछ, ठीक विपरीत प्रस्तुत हुन्छन् ।

राज्य/प्रशासन भुइँमान्छे/निमुखाको अभिभावक बन्नेछ भनेर सार्वजनिक रूपमा बोलेको भोलिपल्टै सयौं किलोमिटर हिंडेर न्याय खोज्न काठमाडौँसम्म आएका मिटरब्याज पीडितलाई गृहमन्त्री मातहत रहेको पुलिसबाटै अन्धाधुन्ध आक्रमण हुन्छ ।

माग सम्बोधन त धेरै परको कुरा ।

सायद, उपस्थिति देखाउने सजिलो बाटो यो भएर पो हो कि !

नेतृत्व यति विरोधाभाषमा किन हुन्छ होला?

अझ, माओवादी पृष्ठभूमिबाट आएर दोस्रो जीवन बाँचिरहेकाहरू किन स्वयंभित्र यतिविघ्न विरोधाभाषमा बाँचिरहन्छन् होला दैनिक?

जिन्दगीको एउटा कालखण्डमा आफूले ज्यानभन्दा बढी माया गरेका विचार-व्यवहारलाई त्यही जिन्दगीको अर्को कालखण्डमा किन पैतलामुनिसम्म राख्न अनिच्छा देखाउँछन् होला !

मृत्यु कि मुक्ति भनेर ज्यानको पर्वाह नगरेकाहरू यतिछिट्टै किन यति स्खलित भएका होलान् ?

प्रश्न सिङ्गो माओवादी आन्दोलनलाई माया गर्नेहरूसँग छ ।

उत्तर केही सीमित नेतृत्वलाई थाहा छ ।

जनतालाई यति थाह छ- यी र यस्ता प्रश्न माओवादी नेतृत्वले आजभोलि विल्कुलै रुचाउन्न ।

त्यसैले त, आजभोलि प्रश्नहरूकै खडेरी परिरहेको छ माओवादी वृतमा ।

… …

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको तेस्रो कार्यकाल सुरु गर्दा बुझिने भाषामै भनेका थिए, ‘विगतको कार्यकालमा मैले जानेर /नजानेर केही गल्ती गरेँ, यो कार्यकालमा जनताको पक्षमा सम्झनलायक कामबाहेक अरु केही गर्नेछैन ।’

ताली गडगडाहट बज्यो ।

त्यसपछिका समय कसरी बिताइरहेछन् भन्ने नदेख्ने को छ र !

नेतृत्व लिएको महिनौंसम्म मन्त्रीपरिषद् बिस्तारले पूर्णतासम्म नपाउँदाको छट्पटी भन्दा १९ वटा मन्त्रालयको नेतृत्व आफूसँगै राख्न पाउँदाको आत्मसन्तुष्टि बढी देखिएको भान हुन्थ्यो अघिल्लो सातासम्म ।

अहिले मन्त्रीपरिषद् बिस्तारको अर्को चरण पूरा भएको छ । कति चरणपछि यो काम सम्पन्न हुनेछ भन्ने प्रधानमन्त्री स्वयंलाई थाहा छैन ।

मन्त्रालय फेरिने हल्लाका बीच मन्त्रीहरूको निर्देशन कर्मचारीले नमान्दा प्रभावकारी योजना कार्यान्वयनसम्म जान नपाइरहेको दैनिक समाचारका बीच उनी ‘जनताका पक्षमा दृढतापूर्वक काम गर्न निर्देशन दिएको छु’ भन्ने वाक्यबाट सन्तुष्टि लिइरहे झैँ देखिन्छन् ।

कहिले दुई निजी बैंकको मर्जर कार्यक्रमको प्रमुख वक्ता त कहिले विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथि बन्ने अत्यन्तै व्यस्त कार्यक्रमका बीच उनी स्वयंले सपथ ग्रहण गर्दैगर्दाको लाइनबाट उछिट्टिएर धेरै पर पुगिसकेको उनले हेक्कै पाएका छैनन् ।

सत्ताका सहयात्री दलका नेता गगन थापाले त भनिसके संसदबाटै, ‘प्रधानमन्त्री लगायत मन्त्रीपरिषदका सदस्यको फुर्सद देखेर म चिन्तित छु ।’

यति धेरै चिन्ता लिने सहयात्री दलका नेता भएपछि प्रधानमन्त्री प्रचण्डलाई के चिन्ता !

खासमा, प्रचण्डलाई आफ्नो जिन्दगी व्यस्त जस्तो लाग्ला कि अस्तव्यस्त ?

… …

एक माओवादी आन्दोलनको शुभचिन्तक अनि माओवादी आन्दोलनमा त्याग गरेको परिवारको सदस्य भएकाले म प्रचण्ड नेतृत्वको माओवादीको सम्भवत: यो अन्तिम सरकारले केही ऐतिहासिक निर्णय गरोस् भन्ने कामना गरिरहेको हुन्छु । अझ, प्रचण्ड स्वयंले विगतका आफ्ना कमजोरी प्रस्ट स्वीकार गरेकाले केही सकारात्मक निर्णय त पक्कै हुन्छन् भन्नेमा हरेकदिन आशावादी पनि छु ।

आज जे छ- माओवादी आन्दोलनले गर्दा छ ।

आज जे छैन- माओवादी आन्दोलनले गर्दा छैन ।

शान्तिप्रक्रिया भएको दुई दशक पुग्नैलाग्दा ‘कागजका उपलब्धि’ बाहेक केही भएको रहेनछ भन्नेमा अधिकांश जनता पुगिसके ।

समाजको एक तप्काले जनयुद्धकालदेखि अहिलेसम्म भएका सबै बेथितिको एउटै कारण जनयुद्ध हो भन्ने भाष्य जबर्जस्त स्थापित गराइरहँदा अनि नेतृत्व स्वयंले देखाइएको सपनाबाट यू-टर्न लिइरहेको सन्दर्भमा ‘जनयुद्ध गलत थियो’ भन्ने न्यारेटिभलाई बल पुगिरहेको हेक्का प्रचण्डलाई जत्तिको कसलाई थाहा होला र !

तर, जबजब उनको नेतृत्वको पार्टी-सरकार आफ्नो कारण विवादमा फस्छ, उनी एउटै रटान लगाइहाल्छन्, ‘प्राप्त उपलब्धि गुम्रे खतरा बढ्दै गइरहेको छ । माओवादीकै नेतृत्वको सरकार भएपनि पार्टी एक्लैले यो उपलब्धिलाई जोगाइराख्न असफल हुने जोखिम बढिरहेको छ ।’

यति तुरूप फालेपछि उनी बढो आनन्दित देखिन्छन् ।

किनकि उनलाई प्रतिप्रश्न गर्ने जमात पार्टीभित्र छैन ।

अनि, आमजनताले उनलाई विश्वास गरिरहने समय छैन । सायद, विश्वास गर्नुको पनि एउटा सीमा हुन्छ क्यारे ।

विगत दुई दशकमा नयाँ बजार, लाजिम्पाट, खुमलटारले आफ्नो वास्तविक चिनारी धेरैलाई देखाइसक्यो ।

प्रिय प्रधानमन्त्री ज्यु,

तपाईंको छोरी भरतपुरकी मेयर रेणु दाहालले एउटा अन्तरवार्तामा भनेको सुन्दै थिएँ, ‘अहिलेसम्मका सारा उपलब्धिको एक्लो जस प्रचण्डलाई जान्छ । उहाँ नभएको भए आज मान्छेहरू यसरी बोल्न-लेख्न कहाँ सम्भव हुन्थ्यो ।’

यसमा थप टिप्पणी गर्नु त छैन तर जनताले भनिरहेको एउटा आवाज सुनाउनु पक्कै छ- प्राप्त उपलब्धिको प्रमुख हिस्सेदार तपाईं हो भने यो उपलब्धि गुम्यो भने त्यसको प्रमुख जिम्मेवार पनि तपाईं नै हुनुहुनेछ ।

… …

प्रचण्ड अनि प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरूले केही देखिनेगरी सकारात्मक नीतिगत सुधार गरेका छन् । नारायणकाजी श्रेष्ठले गृहमन्त्रीको रूपमा मन्त्री-सचिवले कानुनतः पाउने ‘सुराकी रकम’ खारेज गर्नुले एउटा मानक स्थापित गरेको पक्कै छ ।

प्रचण्ड सचिवालयले भएका कामहरू नियमित प्रचारप्रसार चुस्त बनाएकै छ ।

मुख्य कुरो, समय घर्किसकेको छ ।

किनकि, विरलै बोल्ने सहयात्री दलका नेताले ‘कांग्रेस सत्ताको नेतृत्व लिन तयार रहेको छ’ भन्ने सन्देश सार्वजनिक रूपमै दिइसके ।

अर्थात्, सत्ताको भागबण्डाको समयसीमा घर्किरहेको छ ।

आफूले नेतृत्व पाएको बेला केही नगर्ने अनि सत्ता गुमिसकेपछि ‘यसो यसो गर्न खोजेको थिएँ । समय मिलेन । अब मौका पाए गर्नेछु’ भनेर सार्वजनिक खपतका लागि बोल्नुको कुनै तुक हुनेछैन ।

प्रिय प्रधानमन्त्री ज्यु,

तपाईंलाई नेपाली जनताले बढी नै माया देखाएको छन् ।

पहिलोपटक गर्न नसकेका/नपाएका कुरा दोस्रोपटकमा पक्कै गर्लान् भनेर दोस्रो मौका दिए ।

त्यस्तो सपना देखाएर समाजलाई जुरुक्कै उठाएको नेतृत्वले जिम्मेवारी पूरा गर्ने ठाउँमा पुग्नसके अझ धेरै गर्ला कि भनेर दोस्रोपटकमा पनि नेतृत्वमा पुर्‍याए ।

दोस्रोपटकमा पनि विविध कारणले देखाएका सपना पूरा गर्न सकेनन् भनेर होला, समयले तपाईंलाई तेस्रो अवसर दिएको छ ।

यो पटक सत्ताबाट बहिर्गमन गर्दैगर्दा चाँहि आफूले देखेका सपना पूरा गर्न केही बाँकी नराख्नोस् है ।

भौतिकवादमा विश्वास गर्ने तपाईंलाई भाग्यले पटकपटक साथ दिँदैन ।

सबै तपाईंका सहयात्री दलका नेता शेरबहादुरजस्तो भाग्यमानी हुँदैनन् ।

जनताको मतबाट सत्ताको नेतृत्व लिन्छु भन्ने त स्वयं तपाईंले पनि सोच्नुभएको छैन होला ।

… …

एक मतदाताको हिसाबमा तपाईंलाई मेरा केही सुझाव छन्-

– विद्यालयको वार्षिकोत्सव उद्घाटनमा दिन बिताउनुभन्दा देशको नाजुक अर्थव्यवस्था सुधार्न गर्न सकिने छलफललाई समय दिनुहोला ।

– हेलिकप्टर चार्टर गरेर जम्बो टोलीसहित जिल्ला घुमेर उद्घाटनमा रमाउनुभन्दा स्थानीय सरकारलाई मजबुत-जिम्मेवार बनाउन गर्न सकिने नीतिगत सहयोग गर्नुहोला ।

– आकाशको चरा झार्ने सपना बाँडिरहँदा भुइँमान्छेका धरातलीय समस्या सुन्ने समय निकाल्नुहोला ।

मान्छेहरू भन्छन्, प्रचण्डलाई उनका आसेपासेले गुमराहमा राखेर यो कार्यकाल पनि असफल पार्ने षड्यन्त्र गरिरहेका छन् ।

यो सुन्दा मलाई बढो हाँसो लाग्छ ।

भुइँमान्छेकै हैसियतबाट उठेर यहाँसम्म आइपुगेको, भुइँमान्छेका समस्या कस्ता छन् भनेर दशकौंदेखि बुझेको मान्छेले ती सपना पूरा गर्ने ठाउँमा पुग्नेबित्तिकै आफूले तय गरेको बाटो बिर्सिहाल्ने भन्ने पनि हुन्छ?

प्रधानमन्त्रीका रूपमा विराजमान हुँदै गर्दा जनताका समस्या बिर्सिहाल्ने अनि सत्ता गुमेपछि तत्कालै सम्झिहाल्ने ‘रोग’ छ र?

… …

एउटा कुरा प्रष्ट छ, प्रचण्डले केही सकारात्मक पहल गर्न नचाहेको भए यो कार्यकाल प्रधानमन्त्री हुन यसरी लालायित हुने थिएनन् ।

केही त पक्कै छ जुन पूरा गर्न प्रधानमन्त्रीका रूपमा प्रचण्ड तेस्रोपटक कुर्सीमा छन् ।

जनताका लागि होला कि आफ्नै स्वार्थ समूहका लागि ? यो थाहा पाउन अझै एकाध वर्ष कुर्नैपर्छ ।

दशकौंदेखि प्रचण्डले केही गर्लान् कि भनेर कुरिहेका हामीलाई थप केही वर्ष कुर्न केको कठिनाई । हामीले जस्तै समयले पनि कुरोस् ।

अहिलेलाई शंकाको सुविधा ।

मात्र एउटै प्रश्न, सत्ताको नेतृत्व लिइरहनु भएको तपाईं स्वयंलाई आफ्नो दैनिकी व्यस्त लागिरहेको छ कि अस्तव्यस्त ?



source https://www.onlinekhabar.com/2023/04/1297854

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More