Thursday, 20 April 2023

कर्णालीमा सडक छैनन्, मृत्यु रेखा मात्रै छन् !

८ वैशाख, सुर्खेत । ‘झल्को लाली ओठको, बाटो खुल्यो मोटर चल्यो, जुम्ला कालीकोटको’ लोक गायक मिलन लामाको यो गीत २०६२/६३ तिर कर्णालीका गाउँहरूमा खुब गुञ्जिन्थ्यो । पहिलो पटक गाडी पुग्दा बजारमा आएको यो गीत कर्णालीवासीको जिब्रोमै झुण्डिएको थियो । त्यसबेला यो मात्रै गीत संगीत थिएन, अर्को ढंगले भनिएको कर्णालीवासीको इतिहास, जीवन कथा र भोगाइ थियो ।

२०६३ सालपछि शान्ति प्रक्रिया सुरु भएसँगै कर्णाली राजमार्गको ट्रयाक पनि खुल्यो । १० वर्षे सशस्त्र संघर्षको अन्त्य हुनु र घरआँगनमै गाडी आउनु त्यस क्षेत्रका बासिन्दाका लागि उधुम उपलब्धि थियो । विकट पहाडी भूगोलमा आफ्नो आँगनसम्मै त्यो आधुनिक यन्त्र जोडिएको वस्तु पुग्दा, मिलन लामाको गीतले भनेजस्तै ‘उनीहरूका खुट्टा भुइँमै थिएनन् ।’

तर, कर्णालीवासीको त्यो खुशी धेरै समय टिकेन् । नागरिक अपेक्षा विपरीत त्यो बाटोमा दुर्घटना र क्षतिको ‘ग्राफ’ बढ्न थाल्यो । कतिसम्म भने चाडबाडको समयमा सिंगो कर्णाली शोकमा डुब्नुपर्ने अवस्था भयो । अहिलेसम्म हजार माथिको मृत्यु, हजार भन्दा बढी घाइते र थुप्रै अंगभंग भएका छन् । कर्णाली क्षेत्रको विकास रेखा मानिएको यो ‘राजमार्ग’ ले ट्रयाक खुलेको केही वर्ष भित्रै नयाँ नाम पायो– मृत्यु मार्ग ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि बल्ल सकिएको थियो । चट्टानै चट्टानका कारण ट्रयाक खोल्न समस्या भएपछि सरकारले यो काम नेपाली सेनालाई दियो ।

विश्व बैंकको आर्थिक सहयोगमा ट्रयाक खोली सञ्चालनमा आएको १७ वर्ष भयो । तर यो सडकको स्तरोन्नति वा पुनर्निर्माणमा सिंहदरबारको नजर पर्न सकेको छैन । सडक निर्माण त परको कुरा संघीय सरकारले न्यूनतम कामचलाउ सडकको स्तर कायम राख्न समेत सकिरहेको छैन । कतिसम्म भने यो सडकमा सामान्य सडक संकेत चिह्नहरू समेत छैनन् ।

न्यूनतम इन्जिनियरिङ मापदण्ड समेत पूरा नगरेको यो राजमार्गमा राज्यले नै नागरिकमाथि ज्यानमारा व्यवहार गरिरहेको ठान्छन् पहिलो संविधानसभा सदस्य समेत रहेका कालीकोटका नवराज कोइराला । ‘काठमाडौंका शासकहरूले कर्णाली यो देशकै एउटा टुक्रा हो भन्ने नै बिर्सिए’ उनले भने, ‘मैले स्वयं त्योे बेला सयौं पटक सदनमा कर्णाली राजमार्गबारे बोलें तर सरकारले कहिल्यै सुनेन ।’

राजमार्ग उद्घाटन गर्न ३० चैत २०६३ मा जुम्ला पुगेका तत्कालीन राष्ट्रिय योजना आयोगका एक जना सदस्य त्यही बाटो फर्किन डराएर हेलिकप्टरबाट काठमाडौं गएको कोइराला स्मरण गर्छन् । राजधानीले कर्णालीमाथि गर्ने भेदभावपूर्ण व्यवहार सम्बन्धी उनीसँग यस्ता धेरै दृष्टान्त छन् ।

‘राजमार्गको उद्घाटन गर्न तत्कालीन योजना आयोगका सदस्य जगदीशचन्द्र पोखरेलजी सुर्खेतबाट गाडीमा जुम्ला पुग्नुभएको थियो’ कोइरालाले भने, ‘तर बाटो यति अप्ठेरो थियो कि उहाँ त्यहीबाटो भएर फिर्ता जान सक्नु भएन । हेलिकप्टरबाट काठमाडौं जानुभयो ।’

पछि आयोगको उपाध्यक्ष समेत भएका पोखरेललाई कर्णाली राजमार्ग राष्ट्रिय गौरवको आयोजनामा राखिदिन पटक–पटक आग्रह गरे पनि उनले चासो नदिएको कोइरालाको आरोप छ । ‘पोखरेलजी पछि आयोगको उपाध्यक्ष पनि बन्नुभयो । तपाईंले उद्घाटन गरेको कर्णाली राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समेटदिनुपर्‍यो भनेर हामी धेरै पटक भेट्न गयौं’ कोइरालाले अनलाइनखबरसँग भने, ‘उहाँले धेरै भाषणमा कर्णाली प्रति आँशु त झार्नुभयो तर काम गर्नुभएन ।’

सरकारले विश्व बैंकको सहयोगमा सुर्खेतबाट दैलेखको खिड्कीज्युलासम्म १२६ र खिड्कीज्युलादेखि जुम्लासम्म १०७ किलोमिटर ओटासिल प्रविधिको कालोपत्रे गरेको थियो । तर, पाँच वर्षमै सडकको करिब ९५ प्रतिशत भागमा कालोपत्रे उप्किएको छ ।

राजमार्गले कर्णालीको सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै कर्णाली नदीको किनारै किनार भएर मुगु जोडेको छ । तर, २३२ किलोमिटर लामो यो राजमार्ग गुणस्तर र सुविधाका दृष्टिले ‘राजमार्ग’ नै होइन, पहाडमा हतार हतारमा खनिएको ‘ट्रयाक’ मात्रै हो ।

यातायात सुविधाका लागि आतुर कर्णालीवासीका लागि यो मृत्यु मार्ग भएको छ । राजमार्गले बर्सेनि कैयौंको अकालमै ज्यान लिइरहेको छ । दुर्घटना अन्यत्र पनि हुन्छन् तर कर्णाली राजमार्गमा हुने दुर्घटनाको स्वतन्त्र अध्ययन गर्ने हो भने कमजोर पूर्वाधारमा गर्नुपर्ने यात्राका कारण धेरैले ज्यान गुमाएको देखिने थियो । तर, यस्तो अध्ययनमा कसैले चासो दिएका छैनन् । राजधानी र प्रदेश सदरमुकाम वरपर पिचमाथि पिच गर्ने संघीय सत्तालाई कर्णालीवासीको यो दुःख नियाल्ने फुर्सद पनि छैन ।

कर्णाली राजमार्ग भनिने यो सडकमा कसरी गाडी चलाउनुपर्छ भन्ने थाहा पाउन एक जना चालकको भनाइ पर्याप्त छ । ‘साँघुरो र अप्ठ्यारो भीर भएको ठाउँमै गाडी पास गर्न समस्या हुन्छ, अर्कोपट्टिबाट गाडी आयो भने त ब्याक गर्नुपर्छ’ कर्णाली राजमार्गका गाडी चालक गणेश विकले भने, ‘सडकमै कुनै गाडी बिग्रियो भने त अरू गाडी समेत त्यतै बास बस्नुपर्छ ।’

मुलुक स्तब्ध बनाउने दुर्घटना

५ चैत २०६६ मा कालिकोटबाट सुर्खेत फर्कंदै गरेको काँक्रेविहार यातायातको ना.३ ख ५८६८ नम्बरको यात्रुवाहक बस दैलेखको किटु भीरमा चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्यो । त्यो दुर्घटनामा ४१ जनाले ज्यान गुमाए । त्यो मुलुककै लागि कहालीलाग्दो क्षण थियो ।

मुटु हल्लाउने अर्को घटना थियो २७ असोज २०६८ को । त्यसदिन दशैं बिदामा घर फर्किएका विद्यार्थी चढेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७, पिनाटपने खोलामा खस्दा ३३ जनाले ज्यान गुमाएका थिए ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७, पिनाटपनेमा भएको दुर्घटना ।

फूलपातीका दिन नेपालगञ्जदेखि सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस भिरालो कच्ची बाटोबाट २०० मिटर तल खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भएको थियो । दशैंको मुखमा भएको दुर्घटनाले मुगुवासीलाई मात्रै शोकमा डुबाएन, देशै स्तब्ध बन्यो ।

त्यसको दुई महिनापछि नै २०६८ मंसिरमा कालीकोटको सेराबाडा बित्तामोडमा बस दुर्घटना हुँदा २८ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष भएका अरू दुर्घटनामा पनि धेरैले ज्यान गुमाएका थिए । त्यस वर्ष जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो । ट्राफिक प्रहरीका भनाइमा, यी मृत्युको कारण साँघुरो सडक, आवश्यक संकेत चिह्नहरू नहुनु र गाडीको क्षमता र यात्रुको संख्यामा सन्तुलन नमिल्नु थियो ।

यस्तै २०७१ सालमा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दुधे बालकसहित १८ जनाको ज्यान गयो । उक्त बस सडकभन्दा २०० मिटर तल तिला नदीमा खसेको थियो ।

यी घटना कर्णाली राजमार्गमा भएका केही ‘ठूला’ दुर्घटना हुन् । यी घटनाले कर्णालीको सडक दुर्घटनाको चित्र प्रस्तुत गर्छ ।

कर्णाली राजमार्गमा बेला–बेला हुने यस्ता ठूला दुर्घटनाले देशलाई नै स्तब्ध बताउँछ । यहाँ हुने सडक दुर्घटना बारे थुप्रै गीत बने, कथा लेखिए । तर, अवस्था उस्तै छ । मुलुकलाई नै भावविह्वल बनाउने यी दुर्घटनाले भूपी शेरचनको कविता ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ झैं सत्ताको कुर्सीमा बसेका शासकहरूलाई कहिल्यै छुन सकेन ।

नौ वर्ष : दुर्घटनामा हजारको मृत्यु

प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त विवरण अनुसार ७० दशकको ९ आर्थिक वर्षमा मात्रै कर्णालीमा १ हजार ८२१ सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९९१ छ । यस्ता दुर्घटनामा परी १ हजार ५२७ कर्णालीवासी गम्भीर घाइते भएका छन् । यी दुर्घटनाको सामाजिक, मानवीय र भौतिक क्षतिको हिसाबकिताब गर्नै कठिन छ ।

प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्कले भन्छ, प्रदेशमा बर्सेनि सडक दुर्घटनाको ‘ग्राफ’ बढ्दो छ । तर, न्यूनीकरणमा कसैले चासो दिएको छैन । ‘सवारी दुर्घटना न्यूनीकरणमा कुनै निकायले गम्भीर पहल गरेकै छैनन्’, इन्जिनियर रमेश सापकोटा भन्छन् ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालीकोट खण्डका विभिन्न स्थानमा साँघुरा मोडहरू छन् । ‘यी मोडहरूले दुर्घटनाको जोखिम बढाएका छन्’ इन्जिनियर सापकोटा भन्छन्, ‘राजमार्गको एक मोडबाट अर्को मोडमा गाडी देख्न सकिंदैन । कर्णालीका धेरै सडकमा ट्राफिक संकेत पनि छैन । अनि दुर्घटना नभएर के हुन्छ ?’

साँघुरा र अप्ठ्यारा सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्ता लगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठ बताउँछन् । ‘कर्णालीको भूगोल आफैंमा कठिन छ  । सडक पनि जीर्ण हुँदा दुर्घटना रोक्ने चुनौती छ’ एसएसपी श्रेष्ठले भने, ‘तीव्र गतिका कारण पनि दुर्घटना हुने गरेको हाम्रो तथ्याङ्कले देखाउँछ ।’

एसएसपी श्रेष्ठ थप्छन्, ‘अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू थप विकराल हुनेछन् ।’

यातायात व्यवसायी चन्द्र भारती कमजोर सडक सुरक्षा र चालकको लापरबाहीका कारण दुर्घटना बढ्ने गरेको बताउँछन् । ‘कर्णाली राजमार्ग मृत्युमार्ग बन्दा पनि देशले ध्यान दिएन । यो सडक सडक विभागको मापदण्ड अनुसार बनेको छैन । यसले दुर्घटनाको जोखिम बढाइरहेको छ’ उनले भने । सानो सडक, साना मोडहरू, अत्यधिक गतिमा सवारी चलाउने, ओभरटेक गर्ने र लामो रुटमा एउटै चालक हुने अनि ओभर लोड बोक्ने जस्ता कारणले सवारी दुर्घटना बढिरहेको उनको बुझाइ छ ।

यात्रा, भगवान भरोसा

कर्णाली राजमार्गको यात्रा यहाँका नागरिकका लागि भगवान भरोसा जस्तै हुन्छ । साँघुरो र जीर्ण त्यसमाथि एकतर्फी गाडी गुड्न पनि मुश्किल पर्ने सडकमा यात्रा गर्नु चुनौतीपूर्ण हुन्छ ।

‘कर्णालीको यात्रा त भगवान भरोसा रहेछ, छेउतिर हेर्‍यो कर्णाली नदी, माथिबाट खस्ने सुख्खा पहिरोले कतिबेला मरिन्छ जस्तो लाग्ने’ नयाँ वर्ष मनाउन रारा पुगेर फर्किएका जाजरकोटका भौतिक मल्ल भन्छन्— ‘एउटा भनाइ छ नि ‘बालबाल बचियो’ । हो त्यस्तै हुन्छ, कर्णाली राजमार्गको यात्रा ।’

राजमार्गमा आवश्यक मर्मतसम्भार गर्ने ठाउँ नहुँदा गाडीले यात्रु मात्रै बोक्ने नभई, कहिलेकाहीं यात्रुले गाडी धकेल्दै (बोक्दै) गन्तव्यसम्म पुर्‍याउने गरेका छन् । सामान्यतया सहज र छिटो गन्तव्यमा पुग्न सडकयात्रा गर्ने गरिन्छ । तर, कर्णालीको अवस्था उल्टो छ । कसैले यात्रा गर्नै परे ‘मन दह्रो’ बनाएर घरबाट निस्कनुपर्छ ।

जुम्ला, मुगु र कालीकोटका राजनीतिक दल र तिनका नेता, कार्यकर्ता चुनावमा कर्णाली राजमार्ग स्तरोन्नति गर्ने चर्को नारा लगाउँछन् । तर, जितेपछि बेवास्ता गर्छन् । दैलेख आठविस नगरपालिका–५ की धनसरा शाही (५५) ले भनिन्, ‘यही राजमार्ग पिच गर्ने नारा लगाएर धेरै नेताले चुनाव जिते । तर, जितेर गएपछि देखामुखा पर्दैनन् ।’ राजमार्ग छेउमा उनको पसल छ । उनी भन्छिन्, ‘पसलको सामान ल्याउन सुर्खेत गइरहनुपर्छ । सकुशल घर पुगेको दिन नयाँ जीवन पाए जस्तो हुन्छ ।’

कर्णाली राजमार्ग गतिलो नहुँदासम्म कर्णालीको विकास अधुरो हुने उनको बुझाइ छ । ‘पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ सडक’ उनले भनिन्, ‘सधैं भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता छ  हाम्रो ।’

दैलेख आठविस नगरपालिका–५ की धनसरा शाही

कर्णालीको प्रमुख पर्यटकीय स्थल रारा पुग्ने एक मात्रै सडक मार्ग कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता हुँदा पर्यटक भित्र्याउन समेत समस्या भएको मुगुका पत्रकार अंकलाल बुढा बताउँछन् । ‘रारामा धेरै पर्यटक घुम्न आउन चाहन्छन् । तर, एकपटक रारा पुगेको पर्यटक अर्कोपटक नफर्किने कसम खाएर जान्छ’ उनले भने, ‘सडक जीर्ण र साँघुरो हुँदा सुर्खेतबाट मुगु पुग्न नै दुई दिन लाग्छ । सास्ती उस्तै खेप्नुपर्छ ।’

किन हुन्छन् यसरी दुर्घटना ?

कर्णालीमा पहाडी भू–भाग छ । साँघुरा एकसरे सडक छन् । त्यसमाथि सवारी साधनहरूले मनपरी तरिकाले यात्रु कोच्ने गर्दछन् । बसमा भित्र मात्रै होइन, छतमा पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । हेर्दै थाहा हुन्छ कति जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यतामा छन् कर्णालीवासी ।

जाजरकोट र पश्चिम रुकुम जोड्न ठूली भेरीमा निर्माणाधीन बेलिब्रिज भत्किंदा दुई जनाको मृत्यु भएको छ ।

सार्वजनिक यातायातमा मात्रै होइन, मालवाहक ट्रक समेत खाली हुँदैनन् । अझ, हिजोआज त हाइस र साना सवारी साधनहरू धेरै दुर्घटनामा पर्न थालेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्रेष्ठका अनुसार, मुगुमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटना यान्त्रिक गडबडी र साँघुरो सडककै कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

उनका भनाइमा, दुर्घटना भएको सडक हालसम्म ट्रयाक मात्रै खुलेको कच्ची सडक हो । ‘कच्ची सडक, माथिबाट पहिरो आएको रहेछ । पहिरो पन्छाएर साइड काट्दा बस दुर्घटना भएको देखिन्छ’, एसएसपी श्रेष्ठ भन्छन् ।

यस क्षेत्रमा विकट भूगोल, असुरक्षित सडक र मानवीय त्रुटि नै दुर्घटनाको प्रमुख कारण रहेको एसएसपी श्रेष्ठ बताउँछन् । ‘चालक, यान्त्रिक गडबडी र सडकको अवस्था नै दुर्घटनामा प्रमुख जिम्मेवार देखिन्छन्’ अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘सडकको अवस्था, खाल्डाखुल्डी र मौसमलाई हेरेर गति निर्धारण गर्नुपर्छ । तर, चालकले पनि त्यसमा ध्यान दिएको देखिंदैन ।’

यस बाहेक ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन, ओभरटेक र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग दुर्घटनाका अरू कारण रहेको श्रेष्ठले बताए । सवारी दुर्घटनामा अन्यत्रको तुलनामा कर्णाली क्षेत्रमा मानवीय क्षति धेरै हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

‘दुर्घटना भएकै बेला उद्धार गर्न सकिए, धेरैको ज्यान जोगाउन सकिन्छ । तर, भौगोलिक बनावटका कारण कर्णालीमा तत्काल उद्धार गर्न सम्भव हुँदैन’ एसएसपी श्रेष्ठले भने, ‘जसले गर्दा सवारी दुर्घटना हुँदा, लगभग शतप्रतिशत यात्रुको मृत्यु हुनेगर्छ ।’

विकट भूगोल र बजेटको अभाव यो राजमार्गको मुख्य समस्या रहेको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर टोपनारायण पौडेल बताउँछन् । ‘राजमार्गको भूबनोट नै पहिरो आउने खालको छ । कमजोर चट्टान र भिरालो जमिन भएका कारण राजमार्गमा सधैं पहिरो खस्छ’ इन्जिनियर पौडेलले भने, ‘हामीले मर्मतसम्भार त गर्दै आएका छौं । तर, यो राजमार्गको पुनर्निर्माण नै आवश्यक छ ।’

दैलेखको राकममा भएको बस दुर्घटना ।

पहिरो रोकथामका लागि सडकको स्तरोन्नति मात्रैले पुग्दैन, कतिपय ठाउँमा पुनर्निर्माण नै गर्नुपर्छ । उनका अनुसार, भिरालो र कमजोर भूभागमा सिमेन्टेड आडहरू राख्न सकिन्छ तर त्यसका लागि पर्याप्त बजेट चाहिन्छ । ‘पहिरोले गर्दा अधिक ठाउँमा सडक भत्किएको, भासिएको छ । हामीले भत्किएको सडक टाल्ने काम गरिरहेका छौं । त्यो दीर्घकालीन समाधान हैन’ उनले भने ।

सडक डिभिजन कार्यालय जुम्लाका पूर्वप्रमुख लीलाबहादुर भण्डारी कर्णाली राजमार्ग इन्जिनियरिङ मापदण्ड अनुसार नै नभएको बताउँछन् । ‘सुरुवाती चरणमै राजमार्ग दुई लेनको हुनुपर्ने थियो’ उनले भने, ‘सेनाले हतारहतारमा काम गरेकाले पनि मापदण्ड नपुगेको हुनसक्छ, पछि जति प्रयास गर्दा पनि त्यो मापदण्ड पूरा गर्न सकिएन ।’

प्रदेश सरकारको प्रयास असफल

कर्णालीमा धनजनको क्षति बढेपछि २०७४ फागुनदेखि कर्णाली प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम ल्याएको थियो । जसको मुख्य उद्देश्य कर्णाली राजमार्ग लगायत अन्य सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्नुथियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघि सारेको यो कार्यक्रम तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरु गरेका थिए ।

सरकारका अन्य कार्यक्रम जस्तै सडक सुरक्षा कार्यक्रम पनि अलपत्र पर्‍यो । कार्यक्रम अन्तर्गत कर्णाली राजमार्ग (२३२ किलोमिटर), छिन्चु–जाजरकोट सडक (१०७ किलोमिटर), सुर्खेत–दैलेख सदरमुकाम (६५ किलोमिटर) र कपुरकोट–रुकुम सडकखण्ड लगायतका प्रमुख राजमार्गमा सञ्चालित बसहरूमा जीपीएस जोड्ने, प्रहरीले गस्ती गर्ने लगायतका कार्यक्रम थिए । तर, ती सबै योजना कार्यान्वयन हुन सकेनन् ।

आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण ३ असोज २०७५ मा चीनबाट सुरु गरेका तत्कालीन मुख्यमन्त्री शाहीले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणलाई प्राथमिकता दिएका थिए । चीनसँगका नाका खोल्ने र सडक सञ्जालले जोड्न कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख थियो ।

सोही अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १ वैशाख २०७५ मा रारामा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो ।

प्रदेश र संघीय सरकारको यही प्राथमिकतामा चीन सरकारले पनि चासो दिएको थियो । चिनियाँ सीमावर्ती क्षेत्र हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किलोमिटर सडक निर्माण गर्न चीन सरकारले सम्भाव्यता अध्ययन समेत गरेको छ ।

पूर्व मुख्यमन्त्री शाहीका अनुसार, हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माणका लागि चीन सरकार मातहतको चाइना हाइवे कम्पनीसँग ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे गर्ने ‘समझदारी’ भएको थियो । सहमति अनुसार चाइना हाइवेले ६ महिना लगाएर ‘फिजिबिलिटी’ अध्ययन र सर्भे समेत गरिदिएको छ । उक्त सर्भे अनुसार उक्त फास्ट ट्रयाक निर्माणमा ६४ अर्ब लाग्ने अध्ययन प्रतिवेदन पनि पेश गरेको थियो ।

नेपाल र चीनबीच सम्पन्न ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ सम्बन्धी समझदारी कार्यान्वयनको हिसाबले पनि यो सडक चीन सरकारको चासोमा पर्छ । हिल्सा–जमुनाह द्रुतमार्गको हवाई सर्भेपछि शाहीले यो सडक रणनीतिक महत्वको हुनु कर्णालीवासीका लागि ‘लाइफलाइन’ हुने बताउँदै आएका थिए ।

संविधानतः प्रदेश सरकारले अर्को देशसँग कुनै पनि सहमति–सम्झौता गर्न नमिल्ने भएकाले संघीय सरकारमार्फत चीन सरकारको सहयोग कर्णालीमा आउने अपेक्षा गरिएको थियो । तर, तत्कालीन संघीय सरकारले खासै चासो नदिएपछि उक्त योजना अगाडि बढ्न नसकेको शाही बताउँछन् ।

संघ प्रदेशका भिन्न प्राथमिकता र राजनीतिक दलका नेताहरूका आपसमा बाझिने विचारहरूले देखाउँछन् कि– कर्णालीवासीका दुःखका दिन अझै बाँकी छन् । किनकि यो सडक मर्मत गरेर मात्रै पुग्दैन धेरै ठाउँमा पुनर्निर्माण नै गर्नुपर्छ । तब मात्रै कहालीलाग्दो दुर्घटनाको यो ग्राफ घट्न सक्छ ।



source https://www.onlinekhabar.com/2023/04/1295465

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More