४ वैशाख, काठमाडौं । भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ ।
समस्याग्रस्त छ/सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ठेक्काका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको हो ।
उनीहरूबीच लामो समयदेखि अलपत्र योजना तोड्ने विषयमा छलफल भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।
सचिव शर्माका अनुसार बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण विषयमा पनि कुराकानी भएको थियो ।
भारतीय एक्जिम बैंकको लगानीमा विभिन्न योजना निर्माणाधीन छन् । ती योजना भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न गरेका छैनन् ।
दाङको लमही–घोराही सडकखण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो । सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका छन् ।
मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच रक्सौल-काठमाडौं रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको छ । सो रेलमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।
भेटमा नेपाल–भारत सीमामा रहेका रेलमार्गका विषयमा पनि काराकानी भएको छ । बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले जानकारी दिए ।
source https://www.onlinekhabar.com/2023/04/1293328
0 comments:
Post a Comment