Friday, 14 April 2023

हजुरआमालाई गोली चलाएपछि भागेका थिए प्रहरी हवल्दार प्रकाश

२ वैशाख, काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार नयाँ वर्षको पारिवारिक जमघट थियो । रोल्पाका छिमेकी समेत रहेका प्रहरी हवल्दार प्रकाश पुन मगर पनि त्यहाँ पुगेका थिए ।

‘नेता पुनको भाइको साथी पनि भएकाले उहाँ प्रायः आइराख्नुहुन्थ्यो’, पुननिकट स्रोतले भन्यो, ‘शुक्रबार पनि त्यही भएर आउनु भएको थियो, पुनको आमालाई उहाँले हजुरआमा भन्नुहुन्थ्यो ।’

कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका उनी ड्यूटी सकेर त्यहाँ पुगेका थिए । साथमा पेस्तोल लिएरै गएका थिए ।

प्रहरीका अनुसार, विशिष्ट व्यक्ति सुरक्षामा खटिने सुरक्षाकर्मीलाई जुनसुकै बेला हतियार चाहिन सक्ने हुनाले स्थायी रुपमा दिने गरिन्छ । त्यहाँ हवल्दार मगरले मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा विवाद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए ।

‘विवादबीच आफूसँग भएको पेस्तोल निकालेछन्, त्यसक्रममा एक्कासी पड्किएको जस्तो देखिएको छ’, ती अधिकृत भन्छन् ।

नेता पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । गोली लागेलगत्तै हवल्दार प्रकाश त्यहाँबाट भागेको स्रोतले जनाएको छ । घटना शुक्रबार बेलुकी साढे ९ बजेको भए पनि प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो । त्यसपछि खटिएको टोलीले उनको कोठाबाट प्रकाशलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रकाशलाई प्रहरी प्रधान कार्यालय, नक्साल ल्याएर सोधपुछ भइरहेको छ ।



source https://www.onlinekhabar.com/2023/04/1292593

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More