Saturday, 4 September 2021

एकीकृत समाजवादी रोजे शाक्य र आचार्यको मुख्यमन्त्री पद जोगिन्छ : नेतृ झाँक्री

१९ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उनीहरुलाई नै विश्वासको मत दिने बताएकी छन् ।

शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् । ‘दल छान्ने अधिकार २३ गतेसम्म छ । उहाँहरुले नेकपा एकीकृत समाजवादीतर्फ कायम राख्नुभो भने उहाँहरुलाई नै विश्वासको मत दिन कोशिस गर्छौं’ नेतृ झाँक्रीले भनिन् ।

नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताइन् । ‘उहाँहरु दल त्याग गरेर हाम्रो पार्टीमा आउनुभएन भने विश्वासको मत लिनुपर्ने हुन्छ, त्यतिबेला उहाँहरु अल्पमतमा पर्नुहुन्छ’ उनले भनिन्, ‘हामीले विश्वासको मत दिने प्रश्न आउँदैन ।’

एमाले विभाजन भएपछि नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

नेतृ झाँक्रीले दल विभाजनमा साथ नदिएका एमालेका तत्कालिन माधवकुमार नेपाल पक्षका नेताहरु स्वार्थी बनेको बताइन् । ‘कति स्वार्थी ट्रेन चढ्छन्, कति झर्छन्, उहाँहरुलाई देखेर पार्टी बनाउन लागेको होइन’ उनले भनिन् ।



source https://www.onlinekhabar.com/2021/09/1008473

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More