Thursday, 23 September 2021

पोखरामा कुकुर पाल्न पनि दर्ता गनुपर्ने

८ असोज, पोखरा । पोखरामा कुकुर पाल्नका लागि महानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो ।

कुकुर पाल्ने, तर पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । उनले कुकुर पालन दर्ता प्रक्रियाले रेबिजविरुद्धको खोप कार्यक्रमलाई पनि सहज पुग्ने दाबी गरिन् ।

‘कुकुर पालेर खुला बाटोमै दिसापिसाब गराउँदै हिँड्नाले वातावरणमात्रै होइन, मानव स्वास्थ्यमा पनि असर पर्‍यो,’ उपप्रमुख गुरुङले भनिन्, ‘सबै कुकुर महानगरमा दर्ता भएपछि रेबिजविरुद्धको खोप लगाउन पनि सजिलो हुन्छ। सहर पनि सफा हुन्छ ।’

उपप्रमुख गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको कमी हुने र छाडे कारबाही गर्न पनि सजिलो हुने दाबी गरिन् । दर्ता प्रक्रियासँगै कुकुरलाई ट्याग (चिन्ह) दिइनेछ । जसका कारण कुकुर धनी पहिचान गर्न सजिलो हुने महानगरको भनाइ छ ।

दर्ता भएका कुकुरको विवरण अद्यावधिक गर्न पशु महाशाखाले ताकेता गर्ने र नियमित निगरानीमा राखिने महानगरले जनाएको छ । पोखरा महानगरपालिकाले कुकुर सडकमा छाडा छोड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना गर्दै आएको छ ।



source https://www.onlinekhabar.com/2021/09/1017695

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More