१९ असोज, काठमाडौं । बैंकिङ, रेमिट्यान्स, सूचना प्रविधि, अटोमोबाइल इन्सोरेन्स, डिजिटल फाइनान्स, पर्यटन र उर्जा लगायतका व्यापार व्यवसायका क्षेत्रमा नेपालमा अग्रपंक्तिमा रहेको आइएमई समूह करिव डेढ दशक वर्षअघि ‘अटो’ बजारमा प्रवेश गर्यो । ‘आइएमई मोटर्स’ यो अवधिमा नै अटो बजारको अग्रपंक्तिमा आउने नाम बन्न पुगेको छ । कम्पनीले अहिलेसम्म प्राप्त गरेको सफलतालाई ‘जग’का रुपमा लिएर थप बजार र सेवा फैल्याउन प्रयत्नरत छ ।
‘अशोक ले-ल्यान्ड’सहित अघि बढेका आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालसामु अरुमा जस्तै यो व्यवसायमा पनि चम्किने चुनौती थियो । ढकालले त्यो चुनौतीलाई आत्मसाथ गरेर अघि बढाएको आइएमई मोटर्सले अहिले लगातार नयाँ उचाइ लिँदै गएको छ ।
नेपालमा ‘कमर्सियल भेहिकल’ र ‘हेभी इक्विपमेन्ट’ मा रहेको चर्को प्रतिस्पर्धामा अहिले आइएमई मोटर्स खरो उत्रिएको छ । कम्पनीले हेभी इक्विपमेन्ट ब्रान्ड ‘एक्स्कर्ट्स’ लाई पनि नेपाली ग्राहकमाझ लोकप्रिय बनाएको छ ।
यि दुबै ब्रान्डसँग जोडिएर काम गरिरहेको आइएमई मोटर्स अब दुबै सेगमेन्टका सवारीमा अग्रपंक्तिमा उभिने दौडमा छ । बजारमा रहेको तीव्र प्रतिस्पर्धाबीच कम्पनीको ‘ड्राइभिङ सिट’ अर्थात् प्रमुख कार्यकारी अधिकृत हुन करिब ६ महिना अघि आइपुगेका छन्, हेमन्त पुरानिक ।
सरल र उत्साहित सञ्चालक समिति, ऊर्जाशील टिम, गुणस्तरीय उत्पादन दिने ब्रान्ड, बलियो र सहयोगी प्यारेन्ट कम्पनी र निकट भविष्यमा आउने नयाँ उत्पादनलाई हेरेर सीईओ पुरानिक कम्पनीको भविष्य उज्वल देखिरहेका छन् ।कम्पनीको लक्ष्य
कम्पनी हाँकिरहेका पुरानिकसँग आफैं २४ वर्षदेखि अटोमोबिल क्षेत्रका विभिन्न कम्पनीमा काम गरेको अनुभव छ । दश वर्षदेखि नेपालकै विभिन्न अटो कम्पनीको नेतृत्व तहमा बसेर काम गरेका अनुभवी व्यक्ति हुन् उनी ।
‘आफ्नो काम इन्मान्दारिताका साथ गर्दा नतिजा आउँछ भन्नेमा म विश्वास राख्छु’ उनी भन्छन्, ‘आईएमई मोटर्स नेपालको एउटा प्रतिष्ठित कम्पनी हो, यसलाई नयाँ उचाइमा लैजान हाम्रो पुरै टिमले प्रयास गरिरहेको छ ।’
कम्पनी अहिले हेभी इक्विपमेन्ट ब्रान्डमा नेपालको दोस्रो र कमर्सियल भेहिकलमा तेस्रो पोजिसनमा आइपुगेको छ । सीईओ पुरानिक हेभी इक्विपमेन्टको बजारलाई थप बलियो बनाउन र कमर्सियल भेहिकलमा कम्पनीलाई नम्बर एक स्थानमा ल्याउन चाहन्छन् ।
त्यसैलाई लक्ष्य बनाएर काम गरिरहेको भन्दै पुरानिक भन्छन्, ‘हामी सँधै दुई नम्बरमा रहने भन्ने हुँदैन, हामी दीर्घकालीन लक्ष्यअनुसार प्रोडक्ट पोर्टफोलियो र सर्भिस नेटवर्कका हिसावले नम्बर एक कम्पनी बन्न प्रयास गर्नेछौं । हामी हिँडिरहेको बाटो त्यही हो ।’
कम्पनीले गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिलाई प्रमुख महत्व दिने बताएको छ । त्यसका लागि ‘आफ्टर सेल्स सर्भिस’ (विक्री पछिको सेवा) लाई महत्व दिएर अघि बढ्ने योजना आइएमई मोटर्सको छ ।
‘हामी भारी छुट वा सस्तो मूल्य दिएर सेवा खस्काउने र व्यापार बढाउने कुरामा विश्वास गर्दैनौं,’ सीईओ पुरानिक भन्छन्, ‘अलि महँगो नै होस्, तर, गुणस्तरमा हामी कुनै प्रकारको सम्झौता गर्दैनौं ।’ उनी एकपटक अशोक लेल्यान्ड र एक्स्कर्ट्सका उत्पादन किन्ने ग्राहकलाई जिन्दगीभर अरु ब्रान्डमा नजाने खालको वातावरण बनाउने गरी काम गरिरहेको बताउँछन् ।
कम्पनीले नेपालकै सबैभन्दा बढी राम्रो ‘पर्फमेन्स’ दिने ब्रान्ड बन्नका लागि काम गरिरहेको बताएको छ ।
ऊर्जाशील टिम वर्क
सीईओ पुरानिक कम्पनीको लक्ष्य पुरै टिम एक ढिक्का भएर पुरा गर्ने बताउँछन् । टिम वर्कलाई नै आफ्नो प्रमुखमध्येको एक हतियार बनाएर आफूहरु अघि बढेको उनको भनाइ छ ।
सीईओ पद कर्मचारी र सञ्चालक समितिको ‘पुल’ भएको भन्दै उनले आफ्नो भूमिका अनुसार नै काम गरिरहेको पुरानिक बताउँछन् ।
कम्पनीसँग ऊर्जाशील र सकारात्मक टिम भएकाले एउटा उच्च स्तरको लक्ष्य हासिल गर्न कुनै अप्ठेरो नभएको पुरानिकको दावी छ ।
‘सौभाग्य भनौं कि हाम्रो सञ्चालक समितिको अटोमोबिल उद्योगप्रति निकै लगाव छ, उहाँहरु यो व्यवसायमा एकदमै केन्दि्रकृत हुनुहुन्छ, कम्पनीलाई बच्चाजस्तै स्याहार्ने, स्वतन्त्रता दिने, नयाँ आइडियामा काम गर्न रुचाउने, ग्राहकलाई सेवा दिने कुरामा खुल्ला हुनुहुन्छ । यस्तो सहयोगी विशेषता भएको बोर्ड पाएर म खुसी छु,’ उनी भन्छन्,’ कम्पनीभित्र काम गर्न पनि पनि हामीले पारिवारिक वातावरण तयार गरेका छौं, टिम मेम्बरले आफ्ना व्यक्तिगत समस्या समेत हामीसँग खुलेर भन्न सक्ने वातावरण बनाएका छौं, यसका कारण पनि म यो टिमसँग काम गर्न पाउँदा उत्साहित मात्रै हैन, भाग्यमानी पनि सम्झिरहेको छु ।’
कार्यालयका कार्यकक्षलाई पनि ‘ओपन’ राखिएको भन्दै उनले आफूले गरिरहेको काम समेत सबै कर्मचारीले सहजै देख्न सकिने गरी कार्यकक्ष तयार गरिएको सीईओ पुरानिकले सुनाए ।
कम्पनीमा धेरै ‘वर्किङ चेम्बर’ बनाउँदा कर्मचारीहरु तथा विभिन्न विभागहरुबीच पनि ‘पर्खाल’ बने जस्तो हुने भएकाले सबै कुरा खुला राखेर ‘ओपन कल्चर’ काम गर्ने वातावरण बनाइएको उनको स्पष्टोक्ति छ ।सौहार्दपूर्ण वातावरणमा काम गरिरहेको भन्दै पुरानिक भन्छन्, ‘यहाँ कसैले कसैलाई भेट्न औपचारिकता छैन, हामी काम र समस्याहरुका विषयमा जतिसुकै बेला सबै कर्मचारीसँग छलफल गर्न तयार भएर बसेका छौं । ‘
कर्मचारीले कार्यालयमै आएर काम गर्नुपर्ने बाध्यात्मक अवस्था समेत सिर्जना नगरिएको र दिएको जिम्मेवारी जहाँसुकैबाट पुरा गर्दा हुने व्यवस्था गरिएको कम्पनीले बताएको छ । कर्मचारीबाट हुने त्रुटिलाई समेत कम्पनीले ‘सिकाइ’ का रुपमा ग्रहण गर्ने गरेको सीईओ पुरानिक बताउँछन् ।
‘दिइएको काम घरबाट गर्नुस्, पोखरा पुगेर गर्नुस्, बेलुका ९ बजे गर्नुस् वा विहानै गर्नुस्,’ उनी भन्छन्, ‘हामीले कार्यालयमा नयाँ कार्यसंस्कृति स्थापित गर्न खोजेका छौं, यसले कम्पनीमा काम गर्नेहरुलाई थप उत्साहित गर्ने र हाम्रो लक्ष्य उद्देश्यअनुसार नतिजा प्राप्त हुनेमा म विश्वस्त छु ।’ ‘टिम वर्क’ बलियो भएकाले विदाका दिनमा समेत टिमका सदस्य कार्यालय आएर काम गरिरहेको उनको भनाइ छ ।
आइएमई अटोमोटर्सलाई अशोक लेल्यान्ड र एक्स्कर्ट्स जस्ता ‘प्यारेन्ट कम्पनी’ को पनि बलियो साथ छ । ती कम्पनीसँग पनि निकै सौाहर्द्धपूर्ण र मित्रवत व्यवहार रहेकाले पनि आफूहरुको ‘टिम वर्क’ उदहारणीय बन्न पुगेको सीईओ पुरानिक बताउँछन् ।
सेवा नै केन्द्रमा
कम्पनीसँग उत्कृष्ट खालको सेल्स र आफ्टर सेल्स (सर्भिस) को नेटर्वक रहेको पुरानिक बताउँछन् । कम्पनीको देशभर १० वटा आफ्नै शाखा छन् । डिलर्स र वर्कसपहरुको नेटवर्क पनि देशब्यापी छ ।
कम्पनीको देशभर १५ वटा वर्कसपहरु छन् । त्यसबाहेक कम्पनीको आधिकारिक मेकानिकहरु पनि छन् ।
कम्पनीसँग २४ घण्टा नै उपलब्ध हुने ‘हेल्प लाइन नम्बर’ उपलब्ध छ । जुनसुकै समयमा समस्या पर्दा ग्राहकले सो नम्बरमा सम्पर्क गर्न सक्छन् र त्यसअनुसार तालिमप्राप्त र अनुभवी प्राविधिकबाट सेवा लिन सकिन्छ ।
कम्पनीसँग सेवा दिनका लागि ‘मोबाइल भ्यान’ पनि छन् । जसले सडकमै पुगेर पनि सवारी मर्मतको सुविधा दिन्छन् ।
कम्पनीसँग अनलाइन तालिम केन्द्र पनि सञ्चालनमा छ । कम्पनीले दक्ष प्राविधिकहरु तालिम केन्द्रहरुबाटै उत्पादन गरिरहेको छ ।‘आफ्टर सेल्स सर्भिस यो व्यवसायमा निकै महत्वपूर्ण पक्ष हो, तपाईं आफ्नो ‘सेलिङ स्किल’ ले एउटा सवारी बिक्री गर्न सक्नुहन्छ, तर, राम्रो आफ्टर सेल्स सर्भिस दिनुभयो भने थप १० वटा सवारी बेच्न सक्नहुन्छ,’ सीईओ भन्छन्,’ हामी त्यही गरिरहेका छौं, केही समय लाग्नसक्छ, तर हाम्रो आफ्टर सेल्स सर्भिसले नै बिक्री र बजार बढाउने छ ।’
स्पेयर्स पार्ट्सको सहज उपलब्धता, विक्रीपछिको स्तरीय सेवा, हेल्पलाइन नम्बर लगायतले ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको विश्वास छ ।
बेलुका अतिरिक्त समय समेत निर्धारण गरेर कम्पनीले दिने सेवालाई अझ मजबुत बनाउने तयारी पनि गरिएको छ । कम्पनीले भविष्यमा सातै दिन २४सै घण्टा चल्ने सर्भिस सेन्टर खोल्ने योजना पनि बनाएको छ ।
‘हामी वर्कसपलाई पनि विस्तार गर्ने तयारी गरिरहेका छौं,’ उनी भन्छन्, ‘प्रत्येक सय किलोमिटरको दूरीमा वर्कसप वा आधिकारिक मेकानिकसहितका आफ्टर सेल्स सर्भिस उपलब्ध हुने व्यवस्था गर्दैछौं ।’
गुनासो आएको ३ घण्टाभित्रै ग्राहकलाई सर्भिस दिने र २४ घण्टाभित्रै स्पेयर्स पार्ट्स उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता छ ।सेल्स नेटवर्क
कम्पनी सेल्स नेटवर्क विस्तार गर्ने योजनाको साथ अशोक लेल्यान्डको ‘दोस्त’ भन्ने गाडीलाई प्रवर्द्धन गर्ने योजनामा छ । ‘चोक-चोकमा दोस्त’ भन्ने नारासहित कम्पनी आक्रामक रुपमा सो बहुउपयोगी गाडी बिक्री गर्न चाहन्छ ।
बिक्रीका लागि सेल्स आउटलेट र डिलर्सहरु पनि बढाउने तयारीमा कम्पनी छ । मुख्यगरी दोस्त जस्तै ‘लाइट कमर्सियल भेहिकल’ को विक्री बढाउन कम्पनीले नयाँ रणनीतिका साथ काम गर्न खोजेको हो ।
कम्पनीले हेभी कमर्सियल भेहिकलका लागि थुप्रै डिलर्सहरु पनि नियुक्त गर्दैछ । ठूला कमर्सियल भेहिकल धेरै संख्या विक्री हुने क्षेत्रमा यसलाई लक्षित गर्ने योजना आइएमई मोटर्सको छ । दुबै खालका कमर्सियल भेहिकल सहज रुपमा उपलब्ध गराउने योजना अनुरुप कम्पनी अघि बढेको सीईओ पुरानिक बताउँछन् ।
भारतमा बस विक्रीमा नम्बर एक रहेको ‘अशोक लेल्यान्ड’ नेपालमा पनि त्यस्तै सफलताको लागि पुष्ठभूमि तयार पार्न जुटेको छ । नेपालमा राम्रो संख्यामा बस बेचिरहेको कम्पनी छिट्टै नेपालको ‘टप प्लेयर’ बन्ने दौडमा छ ।
‘हामी धेरै किसिमबाट बजारमा आक्रमक ढंगले अघि बढेका छौं,’ उनी भन्छन्, ‘हामी अफर, छुट र अरु लोभमा पारेर भन्दा पनि ग्राहकलाई गुणस्तरकै बलमा तान्न चाहन्छौं, हाम्रो उत्पादनहरुको गुणस्तर पनि त्यसैअनुसार भएकाले हामी आत्मविश्वासी छौं ।’
आफूहरु हतार गरेर गुणस्तर बिगार्नेभन्दा विस्तारैअघि बढेर ग्राहकलाई सन्तुष्ट गर्ने योजनामा रहेको पुरानिक बताउँछन् । रणनीतिक हिसावले नै बजार हिस्सा बढाउने, ग्राहकलाई आकषिर्त गर्ने र दिगो खालको व्यवसाय स्थापित गर्ने कम्पनीको योजना छ । त्यसले ग्राहकलाई पनि दीर्घकालसम्म लाभ मिल्ने र त्यसको बलमा देशले नै फाइदा उठाउने सीईओ पुरानिक बताउँछन् ।
उनका अनुसार अशोक लेल्यान्डका उत्पादनहरु सवारी तथा यात्रु सुरक्षाका हिसावले निकै उत्कृष्ट भएकाले पनि आइएमई मोटर्स बढी आत्मविश्वासी भएको हो । पछिल्लो सयममा सवारीमा सुरक्षाको सवाल महत्वका साथ उठेकाले त्यसको प्रत्याभूति दिन कम्पनीले विभिन्न कामहरु गरेको छ ।
अशोक लेल्यान्डको गाडीहरुमा थुप्रै सुरक्षा सम्बद्ध विशेषताहरु सुनिश्चित गरिएको आइएमई मोटर्सले जनाएको छ ।
‘डिजाइन फिलोसपी’ मा नै सुरक्षाको पक्षलाई कम्पनीले विशेष महत्व दिने गरेको पुरानिक बताउँछन् । ‘हाम्रा उत्पादनहरु सुरक्षाका हिसावले सबैभन्दा सुरक्षित भित्रै पर्छन्,’ उनले भने, ‘भारतमा हाम्रा बडी बिल्डर्सहरु आईएसओ चिन्ह प्रमाणपत्र पाएकाहरु छन्, त्यसले पनि हामी सुरक्षाका मामिलामा कति सम्वेदनशील छौं भन्ने प्रमाणित गर्छ ।’बलियो सेल्स र सर्भिस नेटवर्क, मजबुत टिमवर्क सँगै उत्पादनको उच्चस्तरको गुणको कारण पनि नम्बर १ बन्ने दौडमा आत्मबल सहित अघि बढ्न सकेको कम्पनी बताउँछ । कम्पनीले पछिल्लो समयमा संख्यात्मक र गुणस्तरका हिसावले बिक्री र विक्रीपछिको सेवालाई निकै अभिवृद्धि गरेको सीईओ पुरानिकको दावी छ ।
कम्पनीले सेवालाई प्रविधिसँग जोड्ने काममा पनि महत्व दिँदै आएको छ । आइएमई मोटर्सले आफ्नो एपमार्फत आफ्नो नजिकको सर्भिस सेन्टरबारे जानकारी लिनसक्ने र गाडी सर्भिसका लागि अनलाइन बुकिङ् गर्न सकिने व्यवस्था गरेको छ । हेल्पलाइन नम्बरबाट पनि सेवालाई प्रभावकारी बनाउन कम्पनीको जोडबल छ ।
एक्स्कर्ट्स पनि फैलिँदै
आइएमई अटोमोटिभ्सले विक्री गरिरहेको हेभी इक्विपमेन्ट ‘एक्स्कर्ट्स’ पनि बजारमा रुचाइएको ब्रान्ड बनेको छ । एक्स्कर्ट्सका तीनवटा ब्याकहोलोडर, क्रेन र कम्प्याक्टर नेपालमा बिक्री भइरहेका छन् ।
क्रेनको बजारमा एक्स्कर्ट्स नेपालमा नम्बर एक स्थानमा छ । करिब ८० प्रतिशत क्रेनको बजार हिस्सा एक्स्कर्ट्सको नै छ ।
‘ ब्याकहोलोडर ‘ मा एक्स्कर्ट्सको नेपालमा दोस्रो ठूलो बजार हिस्सा छ । सीईओ पुरानिकका अनुसार कम्प्याक्टरको बजार पनि फैलिँदो छ ।‘हामी निकै राम्रो ब्रान्ड एक्स्कर्ट्ससँग जोडिएका छौ । ५० भन्दा बढी विकसित तथा विकासशील देशमा यसका उत्पादन विक्री भइरहेका छन् । उनी भन्छन्, ‘हेकी इक्विपमेन्टका ग्राहकहरु सीमित छन्, हामीले उहाँलाई प्याकेज -बन्डल) मा अफर दिन सक्यौं भने त्यसबाट ग्राहकले पनि लाभ पाउँछन्, हामी अहिले त्यही गरिरहेका छौं । ‘
आइएमई मोटर्ससँग ब्याकहो लोडर, क्रेन र कम्प्याक्टरसँगै अशोक लेल्यान्डको बलियो टिपर पनि छ । यसरी एउटै ग्राहकलाई दुई खालका कम्पनीका उत्पादनको ‘कम्प्िलट सोलुसन’ का रुपमा दिन सकिने अवस्थामा आफूहरु रहेको पुरानिक बताउँछन् ।
नेपालमा छिट्टै एक्स्कर्ट्सको नयाँ रेन्जको ‘ हेभी अर्थ मुभर्स ‘ इक्विपमेन्ट पनि उपलब्ध गराउन लागिएको उनले बताए । एक्स्कर्ट्सले पनि छिट्टै ती खालका नयाँ उत्पादन नेपाली बजारमा ल्याउनेछ ।
कम्पनी भविष्यमा गुणस्तरीय विद्युतीय सवारी ल्याउने योजनामा पनि गृहकार्य गरिरहेको छ । अब विद्युतीय सवारी विकाससँगै महत्व पनि विश्वब्यापी रुपमा फैलिरहेका बेला आइएमई मोटर्स त्यसलाई पछ्याउन उत्साहित छ । स्तरीय विद्युतीय उत्पादनले अर्को तहको सफलतातर्फ डोर्याउन सकिनेमा कम्पनीका अधिकारीहरु विश्वस्त छन् ।
source https://www.onlinekhabar.com/2021/10/1022395
0 comments:
Post a Comment