१९ असोज, पोखरा । कास्कीको मादी गाउँपालिका र लमजुङको मध्यनेपाल जोड्ने ‘हंसपुर-टिमुरे’ पुल निर्धारित समयमै धमाधम बनेको भए यतिबेला दुई जिल्लाका बासिन्दालाई आउजाउ गर्न सजिलो हुने थियो । तर, समयमै पुल नबन्दा दुवै जिल्लाका स्थानीयलाई बर्खामा मर्का पर्ने गरेको छ ।
मादी नदीमाथि बनिरहेको उक्त पुल गत भदौमै सकिनुपर्थ्यो । तर, समय सकिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि ३० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय, कास्कीले आर्थिक वर्ष ०७२/७३ मा दुई वर्षभित्र सक्ने गरी सिरुवा कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । कार्यालयल ६ करोड ९२ लाख रुपैयाँ सिरुवासँग सम्झौता गरेको थियो ।
बीचमा कोभिड महामारीसँगै सुरु भएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीका कारण समयमा पुल निर्माणको काम नसकिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण सुवेदी बताउँछन् । ‘निर्माण व्यवसायीले कार्यतालिका बमोजिम काम गरिदिएको भए समयमै पुलको काम सकिन्थ्यो । निर्माण व्यवसायीले ढिलासुस्ती गरिदियो,’ उनले भने ।
सम्झौता म्याद सकिएपछि दोस्रोपटक थपिएको समय पनि गत फागुन ६ गते नै सकिइसकेको छ । ‘भदौ पाँच गतेको मन्त्रिपरिषद्को बैठकले कोभिड लकडाउन प्रभावित निर्माण व्यवसायीलाई ०७८ मसान्तसम्म समयसीमा थपिदिने निर्णय गरेको छ । सोही निर्णय बमोजिम अहिले ठेकेदार कम्पनीको चैतम्याद थप गरिएको छ,’ इन्जिनियर सुवेदीले भने ।
सिरुवा कन्स्ट्रक्सनले हंसपुर-टिमुरे जोड्ने पुलसँगै पोखरा विजयपुर खोला, काफलघारीमा पनि पुल बनाउने जिम्मा लिएको छ । पोखरा १३ र २८ नम्बर वडा जोड्ने उक्त पुल पनि अलपत्र छ । आर्थिक वर्ष २०७२/७३ मा २ वर्षभित्र सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले म्याद सकिएको लामो समय भइसक्दा पनि पूरा हुन सकेको छैन ।
०७५ असारमै पुल निर्माणको काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने पुलको काम समयमा नसकिएपछि ७७ वैशाखदेखि गत फागुन ६ गतेसम्म म्याद थपिएको थियो । तर, उक्त म्यादसमेत सकिइसकेको छ ।
उक्त पुल पनि सिरुवा कन्स्ट्रक्सनले निर्माण ठेक्का पाएको थियो । पुलको ४० प्रतिशतमात्रै भौतिक प्रगति छ । अहिले उक्त पुलको पनि कोभिड प्रभावित सुविधा प्राप्त गरेर चैत मसान्तसम्म पुनः म्याद थपिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।
३० महीनामा बन्नुपर्ने पुल ९ वर्षमा पनि सकिएन
कास्कीमा बनिरहेको पुलमध्ये घुम्ले बजार, मादी नदीमाथि बनिरहेको पुलको कामको ९ वर्षमा बल्लबल्ल ९८ प्रतिशत सकिएको छ । ०६९ साउनमा ३० महिनाभित्र सक्ने गरी सरकारले लोकप्रिय शंकरमाली जेभीसँग ५ करोड ९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । उक्त पुल पनि कास्की र लमजुङलाई जोड्ने गरी बनिरहेको हो ।
पटकपटक म्याद थप गरेर अन्तिम समय थपिएको म्यादसमेत गत असारमै सकिइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए । ‘पुलको अहिले फेरि चैत मसान्तसम्म सरकारले थपिइदिएको छ । थोरैमात्र काम बाँकी रहेकाले अब पुसभित्रै सकिन्छ,’ उनले भने । यसअघि पनि समयमै पुल नसकेको भन्दै जेभीले पटकपटक जरिवाना तिर्दै म्याद थप्दै आएको थियो ।
असोज मसान्तमा म्याद सकिनेगरी डिभिजन कार्यालयले नै सम्झौता गरेको बागलुङ-पोखरा सडकअन्तर्गतको फिर्केखोला पुलको काम पनि अलपत्रै छ । म्याद सकिन केहीदिनमात्रै बाँकी हुँदा पुलको जगको कामसमेत पूरा हुन सकेको छैन । कार्यालयले २०७५ असोजमा ८ गते शान्ति आरोग्य जेभीसँग १२ करोड ३२ लाख रुपैयाँमा २ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
‘सुरुका केही महिना जग्गा मुआब्जा विवादले काम हुनै पाएन । पछि फेरि त्यहाँ खानेपानी, बिजुली पोल लगायतले समस्या पार्यो’ पुलको काम हेरिरहेका डिभिजनका इन्जिनियर सन्तोष थापा भन्छन्, ‘अहिले बिजुली पोलको समस्या टर्यो । तर, खानेपानी पाइप र मुआब्जाको समस्या उस्तै छ ।’
पुल बनाउन खानेपानी पाइप सार्नुपर्ने र पाइप सार्दा पूरा पोखरामा पानीको समस्या आउने इन्जिनियर थापा सुनाउँछन् । ‘अहिले खानेपानीसँग छलफल भइरहेको छ । जग्गा मुआब्जाका लागि केन्द्रलाई पत्राचार गरिसकेका छौं । त्यसले गर्दा ढिलाइ हुन पुगेको हो,’ उनले भने ।
कोभिड महामारीका कारण सरकारले दिएको म्याद थप सुविधाले चैत मसान्तसम्म ठेकेदार कम्पनीले पुल निर्माण सकिइसक्नुपर्नेछ । त, इन्जिनियर थापाकै भनाइलाई आधार मान्ने हो भने जग्गा मुआब्जा विवादकै कारण पुल निर्माणको काम अझै लम्बिने देखिन्छ । ६ लेनको बाटोमा दुई लेनको मात्रै पुल हुँदा त्यहाँ दिनहुँ दुर्घटना हुने गरेको छ ।
यो पनि पढ्नुहोस ६ लेन सडकमा २ लेनको पुल, दिनहुँ दुर्घटना
डिभिजन कार्यालयको मातहतमा बनिरहेका पुलमध्ये ल्वाङ, घलेलको आँप खोला पुलको काम ९५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर किरण सुवेदीले जानकारी दिए । ७२/७३ मै ०७६ फागुनमा सक्ने गरी मृत सञ्जीवनी निर्माण सेवासँग चार करोड सम्झौता गरिएको थियो ।
उक्त पुलको दोस्रो पटक थपिएको गएको चैत मसान्तमा सकिइसकेको छ । ‘यो पुलको अधिकांश काम सकिइसकेको छ । आउँदो चैत मसान्तसम्म फेरि सरकारले म्याद थपेकाले त्यस अगावै पुस महिनाभित्रै पूरा भइसक्छ,’ इन्जिनियर सुवेदीले भने ।
source https://www.onlinekhabar.com/2021/10/1022458
0 comments:
Post a Comment