Tuesday 31 May 2022

रुकुम पूर्वको बयलडाँडामा सैनिक क्याम्प राख्न खोजिएपछि स्थानीयको विरोध

१८ जेठ, रुकुमपूर्व । ढोरपाटन शिकार आरक्षले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६, बयलडाँडामा आर्मी क्याम्प राख्न खोजेपछि त्यसको विरोध गर्दै आएका स्थानीयले धर्ना स्थगित गरेका छन् ।

आर्मी क्याम्प बसेपछि वनजंगलमा आफूहरुको सम्बन्ध नरहने र आर्मीले भने अनुसार चल्नुपर्ने भन्दै स्थानीय यही जेठ १५ गतेबाट धर्नामा बसेका थिए ।

स्थानीय, जनप्रतिनिधि र ढोरपाटन आरक्षका प्रतिनिधिबीचको छलफलमा २४ गते गाउँपालिकास्तरीय सर्वपक्षीय बैठक बस्ने र सोही बैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने मौखिक सहमतिपछि स्थानीयले धर्ना फिर्ता लिएको छलफलमा सहभागी ढोरपाटन शिकार आरक्षका सहायक वार्डेन अविनास थापामगरले जानकारी दिए ।

मंगलबार बिहानबाट साँझ अबेरसम्म बयलडाँडामा आरक्षको टोली र पुथा उत्तरगंगा ५ र ६ नम्बर वडाका हालका तथा निवर्तमान वडाध्यक्षहरुसँग छलफल गरिएको थियो । छलफलमा केही पार्टीका प्रतिनिधि र स्थानीय पनि सहभागी थिए ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ६ को बयलडाँडामा ढोरपाटन शिकार आरक्षले आर्मी क्याम्प बनाउन भनेर यही जेठ १२ गते राति डोजर लगाएर जमिन खन्न सुरु गरिएको थियो । त्यसलगत्तै जेठ १३ गतेको दिन वडामा रहेको सामुदायिक वन सरोकार समितिले त्यसको विरोध गर्दै विज्ञप्ती निकालेको थियो । १३ गतेकै दिन तकसेरामा आर्मी क्याम्प राख्ने पक्षमा रहेका र विरोध जनाएकाहरुसँगै सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गर्दा पनि कुनै सहमति हुन सकेन ।

सो छलफलबाट सहमति नजुटेपछि १५ गते साँझबाट स्थानीयले धर्ना नै सुरु गरेका थिए । त्यसै दिन आरक्षबाट सहायक वार्डेन थापामगर र दुर्गा बक्स गुल्मका उपसेनानीसहितको टोली बयलडाँडामा आएको थियो । सो टोलीलाई बयलडाँडा प्रवेश गर्न पनि स्थानीयले केहीबेर अवरोध गरेका थिए ।

आर्मीले दुःख दिने चिन्ता

पुथा उत्तरगंगाको वडा नम्बर ६ मा डिम्मुरगैरा र मयाङ दुई ठूला गाउँ छन् । यस ठाउँमा बहुमत नागरिकको सहमतिविना आर्मी क्याम्प किन राख्न लागियो भन्ने कुरामा स्थानीयले विरोध जनाउँदै आएका छन् । आरक्षको आर्मी क्याम्प वयलडाँडामा राखियो भने वनजंगल, जडिबुटीसँग हाम्रो सम्बन्ध हुँदैन भन्ने बुझाइ नागरिकमा छ ।

स्थानीय धनबहादुर सेनले भने, ‘अहिलेसम्म हामीले भोगचलन र आफैं संरक्षण गर्दै आएको वनजंगलमा आर्मीको क्याम्प बस्ने बित्तिकै उसको सिफारिस र अनुमतिमा चल्नुपर्ने हुन्छ, हामी त्यो चाहँदैनौ । अहिले जसरी चलिरहेका छौं, हामी यही अवस्थामा रहन चाहन्छौं ।’

यही आर्मी क्याम्प पहिले वडा नम्बर १३ मा राख्न खोजिएको थियो । त्यस ठाउँमा नागरिकले विरोधको संकेत देखाएपछि ६ नम्बर वडाको बयलडाँडामा राख्न लागिएको पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताए । आरक्षले आफ्नो एरिया घेराबन्दी गर्दै जान थालेको बताउँदै अध्यक्ष घर्तीले यहाँका नागरिक सबैलाई सहमतीमा ल्याएर आरक्षले काम गर्नुपर्ने बताए । ‘जनताका मागलाई सम्बोधन हुने गरी आरक्षले सहमति कायम गर्नुपर्छ,’ अध्यक्ष घर्तीले भने, ‘२४ गते सर्वपक्षीय बैठक बसी सहमतीबाट निर्णय गर्छौं ।’

उनले थपे, ‘जनतामा आरक्षको आर्मी क्याम्प बसे यसले दुःख दिन्छ भन्ने बुझाइ परेको छ । जनताले बुझेको जस्तो दुःख आरक्षले दिँदैन, किनकी आरक्ष पनि सरकारको एउटा अंग हो । तर अहिले जती खुल्लमखुल्ला वन, जंगल, जडिबुटी स्थानीयले उपभोग गर्न पाएका छन् त्यो चाहिँ पछि हुँदैन । किनकी सरकारको, आरक्षको आफ्नै नियम, कानुन, मापदण्ड छ । यस प्रकारको नियम, कानुनले जनताको जीवनमा अहिले र पछिको स्थितिमा भने प्रभाव पार्ने नै गर्छ ।’

पुथामा बयलडाँडाको कुरा मात्र नभई ढोरपाटन शिकार आरक्षले छोएको सबै ठाउँका नागरिकले आरक्षले निर्माण गर्ने सुरक्षा पोष्टको विरोध गर्दै आएको उनको भनाइ छ । यहाँका नागरिकले मध्यवर्ती क्षेत्र घोषणाको पनि विरोध गर्दै आएका छन् ।

वयलडाँडामा नेपाल सरकारले नै आरक्षको सुरक्षा पोष्ट राख्ने निर्णय गरेकाले सोही अनुसार यहाँका सरोकारवाला निकायसँग छलफल गरी काम अघि बढाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कंडेलले बताए । साथै सरकारको प्रस्तावित मध्यवर्ती क्षेत्रमा परेको रुकुम(पूर्व) सहित बागलुङ र गुल्मीका नागरिकसँग यसअघि वडास्तरमा पुगेर छलफल गरेको पनि वार्डेन कंडेलले बताए ।

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाका ८ वटा वडा (१, २, ३, ५, ६, १०, ११ र १३ नम्बर वडा)लाई ढोरपाटन शिकार आरक्षले छोएको छ । अन्य वडाको आधा भाग आरक्ष क्षेत्रमा पर्छ भने २ नम्बर वडाको सबै क्षेत्र आरक्षमै पर्छ ।

आरक्षको सबैभन्दा बढी अर्थात ६० प्रतिशत भू–भाग रुकुम(पूर्व) मा पर्छ । यो ६० प्रतिशत भाग नै पुथा उत्तरगंगा गाउँपालिकामा पर्छ । बाँकी केही भाग बागलुङ र म्याग्दीमा पर्छ । रुकुम(पूर्व) मा आरक्षको धेरै भाग परे पनि मुख्य कार्यालय भने बागलुङमै छ ।



source https://www.onlinekhabar.com/2022/06/1136189

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More