Sunday, 2 April 2023

नेपालका अर्थशास्त्रीसँग केही अपेक्षा

भनिन्छ- चार अर्थशास्त्री छन् भने पाँच विचार आउँछन्। यसो भन्दैमा नाम चलेका विश्वविद्यालयबाट विद्यावारिधि गरेका र दशकौं लामो अनुभव भएका जान्नेसुन्नेलाई देशको अर्थतन्त्रको वास्तविक अवस्थाबारे सतही बुझाइ राखिरहने छुट हुँदैन। तपाईंहरूले भन्नुपर्छ कि हाम्रो आर्थिक अवस्था के हो र अब देशमा के हुन्छ ?

हुन त तपाईंहरूले भन्नुहोला कि लण्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड, स्टानफोर्ड लगायत संसारका नाम चलेका विश्वविद्यालयमा पढ्ने र पढाउनेहरू र हामीभन्दा धेरै ठूलो दिमाग भएकाहरूले त कहिले मन्दी आउँछ, कसरी आयो र अब के हुन्छ र के गर्ने भनेर ठ्याक्कै भन्न सक्दैनन् भने हामीले कसरी थाहा पाएर भन्न सकौंला ? कतिपयले त हामीले भने पनि सुन्ने कोही छैन वा मैले भनेको कुरा अर्थशास्त्रको ज्ञान नभएको एउटा साधारण मान्छेले वा राजनीतिज्ञले बुझ्दैनन् भनिरहेका हुन्छन्।

जुनसुकै विषयको विशेषज्ञ भए पनि साधारण शब्द र भाषामा आम जनमानसलाई आफ्ना विषयवस्तुहरू प्रष्ट रूपमा बुझाउन सक्दैन भने उसले विशेषज्ञ हुँ भनेर फुर्ती नलगाए हुन्छ। नामको अगाडि प्राध्यापक, डाक्टर लेखेर नाम लामो गराएर मात्र के गर्नु र ? यदि चाहिएको बखतमा समाधान दिन सक्दैनौं भने जिन्दगीभरि पढेको, व्यक्तिगत र सरकारी लगानी गरेको के काम लाग्यो र ?

हाम्रोमा त एउटै अर्थशास्त्रीले फरक कार्यक्रममा एउटै विषयमा फरक–फरक कुरा गर्छ। नागरिकले कसरी थाहा पाउने पैसा कहाँ छ भनेर ? कसैले भन्छ- अर्थतन्त्र टाटपल्टिन भ्रष्टाचारको दोष छ, कसैले हामी अल्छी भएर भन्छ। अर्कोले भन्छ व्यापारी र बैंकर उही व्यक्ति तथा समूह भएर सबै खेलखण्ड बिग्रेको हो।

एउटा पार्टीसँग सम्बन्धित अर्थशास्त्रीले एउटा भन्छ, अर्को पार्टीसँग जोडिएकोले अर्को भन्छ। उनीहरूको व्याख्याले न समस्याको पहिचान गर्न सक्छ न समाधानको उपाय बताउन। आँखा देख्न नसक्नेले हात्ती छामेजस्तो व्याख्या सुन्नु परिरहेको छ हामीले।

यो मेरो उनीहरूको कुरा बुझ्न नसक्ने क्षमताले गर्दा पनि भएको हुनसक्छ। म आफैं पनि अर्थशास्त्रको विद्यार्थी हुँ। यसको केही प्रतिशत दोष मेरो भागमा पनि पर्छ।

नेपालमा सरकारी एवम् गैरसरकारी क्षेत्रमा विभिन्न निकाय तथा थिङ्क ट्यांकहरू नभएका होइनन्। त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयदेखि नेपाल सरकारको नीति अनुसन्धान परिषद, निजी क्षेत्रका आईआईडीएस, एसएडब्ल्युटीईई, इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्ट (आईपीआरएडी) लगायत विभिन्न संस्थाहरूको मुख्य काम नै यही होला। तर किन तपाईंहरूबाट कुनै निचोड आउन सकिराखेको छैन ? तपाईंहरू किन एकठाउँमा बसेर, मन्थन गरेर कुरोको चुरो निकाल्न सफल हुनुभएको छैन ? यदि पढेको कुरा काम लगाउन सकिएन, वर्तमान र भविष्यको लागि प्रयोगमा आएन भने अध्ययन गरेको औचित्य कसरी पुष्टि गर्न सक्नुहुन्छ ? नेपाली अर्थतन्त्रको वास्तविक अवस्था के हो, यो किन भयो, अब के हुन्छ र अब के गर्नुपर्छ भन्ने उत्तर पाउन किन सकिराखेका छैनौं?

सर्वसाधारणले के बुझिरहेका छन् ?

एउटा साधारण मानिसले देख्ने–बुझ्ने भनेको सतहमा छरपस्ट भएको नतिजा हो। उसलाई ती कुराहरूको स्रोत के हो, के प्रक्रिया पार गरेर यो परिणाम आयो भन्ने त्यति ज्ञान हुँदैन। उसले अहिले देखिराखेको त सहकारी संस्थाहरू भागिराखेको, पसलका सटरहरू झारेर ताल्चा झुन्डाइराखेको, लघुवित्त र वित्तीय संस्थाहरू विरुद्ध दुर्गा प्रसाईं लगायत अन्यको आन्दोलन भइराखेको, बैंकका कर्मचारीलाई कालो मोसो दलेको, ऋणको सावाँ–व्याज तिर्न नसकेको, आफू बसिरहेको घरजग्गा बैंकले लिलामी गरिदिन्छ कि भन्ने भय रहेको, ५०-६० लाख रुपैयाँ बुझाएर गैरकानुनी रूपमा युरोप, अमेरिका जानु परेको, भारतीय १०० रुपैयाँ १५५ नेपाली रुपैयाँमा पाइरहेको, सरकारको राजस्व लक्ष्य अनुसार नउठेको आदि हो।

त्यसैगरी उद्योगी व्यापारीहरूले आफ्नो उद्योगको क्षमता अनुसार उत्पादन गर्दा बजार नपाएको, बजारको मागमा ह्रास आएको, बजारबाट उधारो नउठिरहेको, ऋणको सावाँ–व्याज तिर्न हम्मेहम्मे परेको, घरभाडा र कर्मचारीको तलब तिर्न पैसा नभएको आदि अवस्था हो।

केही प्रश्न

१. हामीले हाम्रो अर्थ–व्यवस्थामा विगत डेढ–दुई दशकमा त्यस्तो के चमत्कार गर्‍यौं, के उत्पादन गरेर के बेच्यौं ? जसले गर्दा हाम्रा खेतबारीभरि पक्की घर बने। बाटोघाटोभरि साइकल विस्थापित गरेर मोटरसाइकल र गाडी छपक्कै भए ? पहिले ९ घन्टा लाग्ने बाटोमा अहिले १४ घण्टा किन नलागोस्, नेपालीले मोज गरिरहेकै छन् !

२. के नेपाली १/५०० का नोटहरू जनताले घरमा लुकाएकै हुन् त ? एक अर्थमन्त्रीले सबै लुकाएको पैसा निकाल्छु भन्नुहुन्थ्यो, खोइ त ?

३. नेपाल लिटरेचर फेस्टिभलमा युवराज खतिवडाले भन्नुभयो कि हामी धेरै माथि नपुगिसकेकोले खसे पनि खासै चोट लाग्दैन। मेरो जिज्ञासा, एक करोड भएको मान्छेले २० लाख गुमायो भने उसको जीवन खासै नबिथोलिएला, तर २० लाखको सम्पत्ति भएकोले सबै गुमायो भने उसलाई कस्तो होला ? मेरो विचारमा उहाँले ठूलो अर्थतन्त्रलाई हेरेर हाम्रो अंकसँग निरपेक्ष तुलना गर्नुभयो। बलियोलाई एक मुड्की हाने खासै असर नपर्ला तर कमजोर त थचक्क बसिहाल्छ, होइन र ?

४. नेपाल-भारत खुला सिमानालाई आर्थिक लाभहानिका दृष्टिले कसरी बुझ्ने ?

५. २०५६ सालमा ५००० रुपैयाँ प्रति कट्ठा पर्ने जग्गा अहिले १००० गुणाले बढेर ५० लाख प्रतिकट्ठा पुग्यो। नेपालीको प्रतिव्यक्ति आय लगभग १२५० अमेरिकी डलर छ, विकसित देशहरूको हाम्रो भन्दा ४०-५० गुणा बढी भइसक्यो। यस्तो अवस्थामा त चोखो कमाइले घरजग्गा कसरी जोड्ने ? अहिलेको घरजग्गाको मूल्य र नेपालीको आयस्तरको असमानताले कस्तो असर पार्ला ? यदि यो समस्या नै हो भने यसलाई कसरी सम्बोधन गर्न सकिएला ?

अर्कोतर्फ नेपालमा प्रवाह गरिएका ऋणहरूको मुख्य सुरक्षण भनेको नै घरजग्गा हो। ठूलो ठूलो व्यापारिक कर्जाहरूमा त घरजग्गाको मूल्यांकनले पूरा ऋणको केही भाग मात्र सुरक्षित होला। ऋणीहरूले मेरो घरजग्गा लिलाम गर म ऋण तिर्न सक्दिनँ भनेर बैंकको ढोकामा लाइन लागे भने के गर्ने ?

६. भनिन्छ, केही कुराको पनि शर्टकट हुँदैन, तर यदि हामी स्मार्ट छौं भने किन शर्टकट नरोज्ने ? अहिलेको अवस्थाबाट निस्किएर अगाडि बढ्नलाई धेरै लामो समय लाग्न सक्छ तर हाम्रो जीवन त छोटो छ। सकभर बाँचुञ्जेल दुःख किन पाउने ? हामीसँग त्यस्तो कुनै रामवाण छैन जसले हामीलाई सजिलै अहिलेको स्थितिबाट निस्किएर दिगो रूपमा अघि बढाउन सक्छ ? जस्तो कि ठूलो मात्रामा ऋण लिने, पैसा छाप्ने, भारतीय रुपैयाँसँगको विनिमय दरलाई चलाउने वा अन्य कुनै ?

७. दिनहुँ १५०० जति नेपाली रोजगारीको सिलसिलामा भारत बाहेक अन्य देशहरूमा र ५०० जति विदेश पढ्नको लागि गइरहेका छन्, यसको के असर पर्ला र यो जनशक्तिलाई कसरी नेपालमै रोजगारी दिन सकिएला ?

८. पूँजीवादी अर्थव्यवस्थाले जहिले पनि वृद्धि मात्र हुनुपर्दछ भन्छ, यसको लागि त हामीले हाम्रो उत्पादन र उपभोग सधैं बढाई नै राख्नुपर्ने भयो। जुन कुरालाई पृथ्वीको वातावरण र स्रोतले कहिलेसम्म धान्न सक्ला ? अनि हामीले यो पनि देखिरहेका छौं कि भर्खरै संयुक्त राज्य अमेरिकाको दुई वटा बैंकहरू समस्याग्रस्त भए। हामी यसरी नै अगाडि बढिरह्यौं भने हामी पुग्ने ठाउँ पनि त्यही नै हो र आइलाग्ने समस्या पनि त्यही नै हो। त्यसैले अहिलेबाटै सचेत भएर कस्तो किसिमको अर्थ व्यवस्था गराउने हो भन्नेतर्फ पनि सोच्ने कि ?

यी माथिका लगायत यावत् विषयहरूउपर मन्थन गरी नेपालका योग्य अर्थशास्त्रीहरूले आफ्नो अहं त्यागेर एकै थलोमा आएर अहिलेको अर्थतन्त्रबारे गम्भीर विमर्श गर्नुपर्छ। समस्याको पहिचान र समाधानको विधि प्रस्तुत गर्नुपर्छ।

(अर्थशास्त्रमा एमफिल गरिरहेका लेखक चार्टर्ड एकाउन्टेन्ट हुन्।)



source https://www.onlinekhabar.com/2023/04/1286710

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More