Monday, 3 April 2023

मणिको आश्चर्यले भरिएको डेब्यू

२१ चैत, काठमाडौं । ४ चैतमा शहीद स्मारक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लब मनाङमर्स्याङ्दीसँग २–१ ले पराजित भयो । खेल गुमाएको पीडा बोकेर मणि लामा ड्रेसिङ रुममा मात्र के पुगेका थिए— गजबको ‘सरप्राइज्ड’ पाए । राष्ट्रिय टिमका नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्वर्टो एनेस उनको नजिक आए र भने, ‘तिमी टिममा छौ, सामान लिएर होटल आउनू ।’

राष्ट्रिय टिमको छोटो प्रशिक्षणपछि मणिले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा लाओस विरुद्ध २७ वर्षको उमेरमा डेब्यू गरे । ८ चैतमा दशरथ रंगशालामा भएको खेलको ७३औं मिनेटमा नवीन लामालाई प्रतिस्थापन गरी मैदान छिरेका थिए, मणि । १४ चैतमा भुटानसँग भएको खेलमा बेञ्चमै बसेका उनले तीन दिनपछि लाओससँग भएको फाइनलमा पूर्ण समय मैदानमा बिताए । राष्ट्रिय टिमका अरू सदस्यहरूसँग उपाधि जितेको खुसी साटे ।

मणि अहिले पनि राष्ट्रिय टिममा पहिलो बोलावटको खुसी शब्दमा व्यक्त गर्न सक्दैनन् । भन्छन्, ‘रोहित दाइ, किरण दाइ, अञ्जनहरूलाई जहिले पनि फिल्डमा देखिरहेको । उनीहरूलाई भेट्दा, आफ्नो अनुभव सुनाउँदा छुट्टै हुने रहेछ ।’

उनका लागि राष्ट्रिय टिमको अनुभव नयाँ होइन । सन् २०१७ देखि २०२२ सम्म तीनपल्ट राष्ट्रिय फुटसल टिमको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । २०१९ मा नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुदको तयारीका क्रममा उनी राष्ट्रिय टेबलटेनिस टिमको बन्द प्रशिक्षणमा थिए ।

तर उनकै भाषामा खेलको राजा फुटबलको क्याम्प भने अरूभन्दा फरक हुने रहेछ । ‘फुटबलमा सबै जनाको शैली नै फरक पाएँ । सबैको इनर्जी, एटिच्युड र बडी ल्यांग्वेज नै फरक थियो’ लामा भन्छन्, लामो समयदेखि राष्ट्रिय टिममा खेलेको अनुभवी दाइभाइहरू थिए । उनीहरू व्यावसायिक र स्वतन्त्र देखिन्थे ।’

राष्ट्रिय टिमका अधिकांश नियमित खेलाडी विदेशिनु र नयाँ प्रशिक्षकको आगमनसँगै नेपाल टिम फेरिएको छ । यो परिस्थितिमा मणिले राष्ट्रिय टिममा मिडफिल्डको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । छोटो तयारीका कारण नेपालले सुरुवाती दुई खेलमा सन्तुलित प्रदर्शन गर्न सकेको थिएन । मणिलाई पनि नयाँ अनुभव र माहोलका कारण सोचेजति प्रदर्शन गर्न सकिनँ कि जस्तो लागेको छ ।

दशरथ रंगशालामा पहिलोपल्ट धेरै दर्शकसामू देशका लागि खेल्न लागेको  सम्झेरै डराएका उनी आफ्नो प्रदर्शनमा त्यसको असर पर्न नदिन चनाखो थिए । ‘वार्मअप गर्दादेखि नै माहोल देखेर नर्भस र एक्साइटेड पनि थिएँ । जब मैदान छिरें, डरले गर्दा खेल्नै नसक्ने हो कि जस्तो पो लाग्न थाल्यो’ उनले अनुभव सुनाए, ‘राम्रो खेल्न सकिनँ भने फर्केर आउने सम्भावना पनि कम हुनसक्छ भन्ने भयो । यो अवसरलाई उपयोग गर्नुपर्छ भनेर आफूलाई शान्त राखेर खेलें ।’

लाओस विरुद्धको पहिलो खेलमा मणिले डेब्यू गर्नुअघि नै नेपाल २–० ले अगाडि थियो । नेपालले त्यही नतिजामा खेल जित्यो । फाइनलमा भने लाओसले सुरुवाती अग्रता लिएको थियो । त्यो बेला मणिलाई डर लागेको थियो । भन्छन्, ‘आयुश र मनिष भाइले गोल गरेपछि डेब्यू प्रतियोगिता सार्थक भयो ।’

टेबलटेनिसका स्टार

काठमाडौं, छैमलेका मणि जावलाखेल, ललितपुरमा हुर्किए । उनले विद्यालय शिक्षा लिएको स्कुल आदर्श विद्या मन्दिर (एभीएम)मा टेबलटेनिस र क्रिकेटको माहोल थियो । मणिले त्यतिबेला राष्ट्रिय टिममा रहेका पुरुषोत्तम बज्राचार्यसँग टेबलटेनिस सिक्न थाले । सानैदेखि टीटी ब्याट र बलसँग सहज मानेका उनी २०६६ सालमा १४ वर्षको उमेरमै टेबलटेनिसको जुनियर टिममा परे ।

२०६९ (सन् २०१२) मा टेबलटेनिसको यू–१८ साफ च्याम्पियनसिपमा मणिले नेपाल टिमको प्रतिनिधित्व गरी टिम स्पर्धा र युगल स्पर्धा गरी दुई रजत पदक जिते । अर्को वर्ष वल्र्ड जुनियर क्याडेट सिरिज र युथ एशियन गेम्स खेले । २०७३ सालमा पूर्वाञ्चलमा भएको आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबका लागि सिनियरतर्फ पुरुष एकलमा काँस्य जितेपछि  राष्ट्रिय टिमसम्म पुगे ।

टेबलटेनिसमा करिअर उकालो लाग्दै थियो । काठमाडौंमा उच्च तहमै पुगेको फुटसल संस्कृतिले लोभ्यायो । टेबलटेनिसका साथै फुटसल पनि खेल्न थाले । ‘खुला मैदानमै फुटबल खेलेर हुर्किएको मलाईसम्म टर्फमा खेलिने फुटसल रमाइलो लाग्यो । दिनदिनै टोलका दाइहरूसँग मिलेर खेल्न थाल्यौं’ मणिले फुटसलको सुरुवाती दिन सम्झिए, ‘लगातार खेलेपछि राम्रै खेल्ने भएँ ।’

धोबिघाटको काठमाडौं फुटसलबाट सुरु भएको उनको यात्रा किक अफ फुटसल टिमसम्म पुग्यो । धोबिघाटमै खेल्नेहरू मिलेर बनाएको त्यो टिमले २०७३ मै पहिलोपल्ट राष्ट्रिय फुटसल टिमको निर्माणका लागि छनोट प्रतियोगिता खेल्यो । त्यसमा गरेको प्रदर्शनका आधारमा किक कफ टिमबाट मणिसहित तीन जना राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे ।  सन् २०१७ (२०७४, असोज)मा नेपालको पहिलो फुटसल टिमले इरानमा एएफसी फुटसल च्याम्पियनसिप छनोट खेलेको थियो । त्यसमा प्रमुख खेलाडीका रूपमा मणिको सहभागिता रह्यो । उनले सन् २०१९ (२०७६, कात्तिक) मा इरान र सन् २०२२ (२०७८, चैत)मा थाइल्याण्डमा एएफसी फुटबल च्याम्पियनसिप छनोट खेले । ६ वर्षको बीचमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका मणिले नेपालका लागि ९ खेलमा सर्वाधिक ३ गोल गरेका छन् ।

‘टेबलटेनिसमा प्रतियोगिता कम हुन्थ्यो । फुटसलमा हप्तैपिच्छे प्रतियोगिता भइरहन्थ्यो’ मणि भन्छन्, ‘एक समय त म दुवै खेल्दैथिएँ । साफमा बन्द प्रशिक्षणमा रहँदा म फुटसल पनि खेलिरहेको थिएँ । छान्नुपर्ने समय आएपछि चाहिं धेरै खेल्न पाइने र धेरैले फलो गर्ने भएकाले फुटसल नै रोजें ।’

फुटसलबाट फुटबलको संयोग

फुटसलमा स्थापित भएका मणिका लागि फुटबलको यात्रा एउटा रमाइलो संयोगका रूपमा रह्यो । सानैदेखि फुटबल नै उनको मनपर्ने खेल भए पनि उनले २२ वर्षको उमेरमा मात्र फुटबलको औपचारिक प्रशिक्षण सुरु गरेका हुन् ।

मणि २०७५ सालमा टेबलटेनिस खेलाडीका रूपमा खेलाडी कोटामा विभागीय टोली एपीएफमा आबद्ध भएका हुन् । २०७६ मा एशियन फुटसल च्याम्पियनसिप छनोटका लागि राष्ट्रिय टिममा परेपछि विभागमा उनले फुटसल खेल्ने थाहा पाए । मणि भन्छन्, ‘फर्केर आएपछि राजेन्द्र गुरु (तत्कालीन प्रशिक्षक राजेन्द्र तामाङ) ले बोलाएर ट्रायल लिनुभयो, अनि औपचारिक प्रशिक्षण थालें ।’

२०७६ मै मणिले ए डिभिजन लिगमा पहिलोपल्ट एपीएफ टिमका लागि खेले । तर धेरै अवसर पाएनन् । २०७८ को लिगमा तुलनात्मक रूपमा अवसर पाए । सोही वर्ष एपीएफले आहा रारा गोल्डकप र विराट गोल्डकप गरी मोफसलका दुई प्रतियोगिता जित्यो । यो सिजन भने मणिले ए डिभिजन लिगमा सुरुदेखि प्रभावशाली प्रदर्शन गरे । लिगको सुरुवाती पाँच चरणका खेलमा मणिले दुई गोल गरेका छन् भने एक खेलमा प्लेयर अफ द म्याच बने । पाँच खेलको प्रदर्शनका आधारमा राष्ट्रिय टिमका नवनियुक्त प्रशिक्षक एनेसले उनलाई टिममा बोलाए । ‘विश्वास राखेर मिहिनेत गर्दै गएँ, अहिले राष्ट्रिय टिमबाट पनि डेब्यु गरें । यो एकदमै फुल अफ सरप्राइज्ड नै हो’, मणि भन्छन् ।

२७ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका मणिले बुझेका छन्, यो अर्को अवसर हो । किनकि नेपालले साढे दुई महिनापछि साफ च्याम्पियनसिप खेल्दैछ, त्यसपछि विश्वकप छनोटका खेलहरू हुनेछन् । यो प्रतियोगितामा नेपालको राष्ट्रिय टिममा स्थान बनाउन अझै मिहिनेत गर्नुपर्छ भन्ने आफूले बारम्बार सम्झिरहेका छन् । ‘अहिले प्रशिक्षकले हतारमा टिम बनाउनुभएको हो । साफ र विश्वकप छनोट ठूलो प्रतियोगिता हो । उहाँ (प्रशिक्षक)ले नयाँ खेलाडीहरू पनि ल्याउनुहुनेछ’ मणिले आफ्नो निष्कर्ष सुनाए, ‘मेरा लागि चुनौती आउँछन्, मैले सबै पक्षलाई सन्तुलित राख्नुपर्छ ।’

फुटसलले सिकाएको क्लोज कन्ट्रोल, तीव्र निर्णय क्षमता र फुटवर्कले उनलाई फुटबलमा धेरै सहयोग पुगेको छ । ठूलो मैदानमा खेलिने फुटबलका लागि इन्डोरेन्सको समस्याले भने उनलाई सुरुवाती दिनहरूमा सताएको थियो । अहिले दुवैतिर उत्तिकै सहजताका साथ खेल्छन् । अनि, रिअर अर्को खेलतर्फ ‘स्वीच’ गर्ने मुडमा छैनन् । बाँकी करिअर फुटबलमै बिताउने लक्ष्य छ । फुटबलका लागि छुट्टै खालको लगाव र माया रहेको भन्दै उनी भन्छन्, ‘फुटबल खेलको राजा जस्तै हो । धेरै सपना बोेकेर मिहिनेत गरेको थिएँ, राष्ट्रिय टिममा डेब्यू पनि गरें । अहिले मेरो लागि पूरा फोकस फुटबलमै छ ।’



source https://www.onlinekhabar.com/2023/04/1287352

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More