Monday, 3 April 2023

पहिलो परीक्षामा रवि लामिछाने

२० चैत, काठमाडौं । आगामी १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ५९ जनाको उम्मेदवारी परेको छ । बारा–२ मा २६ जना, चितवन–२ मा २४ जना र तनहुँ–१ मा ९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएकाले तनहुँ–१, रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले बारा–२ र नागरिकता विवादमा रवि लामिछाने पदमुक्त भएकाले चितवन–२ रिक्त भएको थियो । तीनवटै क्षेत्रमा सत्तारुढ दलहरुले साझा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दल एकल प्रतिस्पर्धामा उत्रिएका छन् ।

गत चुनावको परिणाम र उम्मेदवारहरुको पृष्ठभूमि हेर्दा यो उपनिर्वाचनमा रास्वपा बलियो प्रतिस्पर्धी देखिएको छ ।

रास्वपाबाट उम्मेदवार बनेका तीनै उम्मेदवार आ–आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्ने व्यक्ति हुन् । चितवन–२ मा सभापति रवि लामिछाने आफैं उम्मेदवार छन् भने तनहुँ–१ मा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेल उम्मेदवार छन् । अर्थशास्त्री वाग्ले केही दिन अगाडि मात्रै कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका हुन् । पूर्वडीआईजी खरेल गत चुनावमा आफ्नै नेतृत्वको सुशासन पार्टीबाट काठमाडौं–१ मा उम्मेदवार थिए । चुनाव नजिते पनि खरेलले सम्मानजनक मत पाएका थिए ।

अघिल्ला चुनावहरुको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धी शक्ति चाहिँ सत्ता गठबन्धन र एमाले नै हो । गत चुनावमा तनहुँ–१ मा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेलले २५ हजार ३१३ मत ल्याएर जित्दा १९ हजार ९२५ मत पाएर एमालेका एकबहादुर राना निकतम प्रतिद्वन्द्वी बनेका थिए । उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराई र एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

भट्टराई कांग्रेस पार्टीका केन्द्रीय नेता हुन् । उनीसँग प्रतिस्पर्धा गर्न एमालेले गत चुनावमा काठमाडौं–६ बाट हारेका सर्वेन्द्रलाई यहाँ ल्याएको छ । सर्वेन्द्र गत चुनावमा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वास जित्दै उनी तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमको व्यक्तित्व बिर्सदा यो निर्वाचन क्षेत्रको मुख्य प्रतिस्पर्धी उम्मेदवार गोविन्द र सर्वेन्द्र हुन् ।

तनहुँ १ का उम्मेदवारहरु बायाँबाट क्रमश: एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई ।

रास्वपाका विकास सिग्देलले गत चुनावमा ६ हजार मत मात्रै पाएका थिए । त्यो चुनावमा ६ हजार ८ सय मत ल्याएका पुराना कांग्रेस नेता गोविन्दराज जोशीले यसपटक उम्मेदवारी दिएनन् ।

चितवन–२ मा पनि कांग्रेस, एमाले र रास्वपा नै प्रतिस्पर्धी शक्ति देखिन्छन् । गत चुनावमा फराकिलो मतान्तरले जितेका रविसँग प्रतिस्पर्धा गर्न कांग्रेसले जीतनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई अगाडि सारेको छ । गत चुनावमा रविले ४९ हजार ३०० मत ल्याएर जित्दा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए । यसपटक कांग्रेस र एमालेले उम्मेदवार फेरेका छन् ।

बारा–२ को प्रतिस्पर्धा भने चितवन र तनहुँभन्दा भिन्न छ । यहाँ सत्तारुढका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । अघिल्ला दुई चुनावमा गठबन्धनकै जगमा यो क्षेत्र जसपाका रामप्रसाद सहायले जितेका थिए । तर उनलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादव आफैं उपनिर्वाचन लड्न यहाँ आएका छन् । गत चुनावमा यादव सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

उपेन्द्रसँगको प्रतिस्पर्धामा एमालेबाट पुरुषोत्तम पौडेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाको उम्मेदवारी परेको छ । पूर्वमन्त्री पौडेल एमालेका पुरानै नेता हुन् । शिवचन्द्र भने केहीदिन अगाडि मात्रै माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश गरेका हुन् ।

गत चुनावमा शिवचन्द्र जसपाका रामसहायसँग ३५४ मतको झिनो अन्तरले पराजित भएका थिए । तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्रले १३ हजार ४६८ मत पाउँदा एमालेको समर्थन पाउँदै रामसहायले जितेका थिए । अहिले शिवचन्द्र जनमत पार्टी प्रवेश गरेकाले उनको उम्मेदवारीलाई अर्थपूर्ण छ ।

यो क्षेत्रमा पनि जसपालाई समर्थन गर्ने निर्णयपछि माओवादी केन्द्र उपनिर्वाचनमा उम्मेदवारविहीन बनेको छ । तनुहँ र चितवनमा गत चुनावमा पनि माओवादीको उम्मेदवार थिएन । तर राम्रै जनमत भएको बारा–२ उपेन्द्र यादवलाई छोड्ने निर्णयका कारण माओवादी केन्द्रले शिवचन्द्र कुशवाह गुमाउनु परेको छ भने उपनिर्वाचनमा रास्वपा तेस्रो प्रतिस्पर्धी शक्तिका रुपमा देखिएको छ ।

बारा ४ का उम्मेदवार बायाँबाट क्रमश: जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल ।

यद्यपि, अघिल्लो मतपरिणाम हेर्दा बारा–२ मा रास्वपा प्रतिस्पर्धी शक्ति होइन । तर सशक्त प्रचारसहित रमेश खरेललाई उम्मेदवार बनाएर रास्वपाले आफूलाई एउटा राजनीतिक शक्तिका रुपमा देखाउन खोजेको छ ।

माओवादी केन्द्रसँग भने ४ मंसिरकै चुनावमा पनि रास्वपाले हाराहारीको मत पाएको थियो । गठबन्धन गरेकाले माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेपनि समानुपातिकमा रास्वपा भन्दा ठूलो अन्तर थिएन ।

एकल प्रतिस्पर्धा गरेर पनि प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले ११ लाख ३० हजार समानुपातिक मत पाउँदा माओवादी केन्द्रले ११ लाख ७५ हजार मत पाएको थियो । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन जोगाउन यो उपनिर्वाचनमा कतै पनि उम्मेदवारी नदिने निर्णय गरे ।

दलगत उम्मेदवारी हेर्दा कांग्रेस अघिल्लो चुनावकै अवस्थामा छ । कांग्रेसले बारा–२ गत चुनावमा माओवादी केन्द्रलाई छोडेको थियो भने चितवन–२ र तनहुँ–१ मा आफ्नै उम्मेदवार थियो । अर्का प्रतिस्पर्धी दल एमालेले यो उपनिर्वाचनमा बढाउने नीति लिएको छ ।

गत चुनावमा जसपालाई समर्थन गरेको बारा–२ मा यसपटक एमालेले आफ्नै उम्मेदवार उठाएको छ भने चितवन र तनहुँमा यसअघि पनि प्रतिस्पर्धी शक्ति थिए । यो तीन मध्ये कुनैपनि क्षेत्र गत चुनावमा नजितेकाले एमालेलाई यो उपनिर्वाचन लाभ उठाउने अवसर रहेको छ ।

रविको राजनीति

दलगत र उम्मेदवारका रुपमा हेर्दा यो उपनिर्वाचन अरुलाई भन्दा रास्वपा सभापति रवि लामिछानेका निम्ति बढी अर्थपूर्ण देखिन्छ । किनकी पार्टी गठन भएको ६ महिना पुग्दा नपुग्दै दुई गठबन्धनसँग प्रतिस्पर्धा गरेको रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्यो र कुल २१ सिटसहित संसदको चौथो ठूलो दल बन्यो ।

तर रास्वपाले पाएको यो मतलाई उसप्रतिको आकर्षणसँगै ठूला दलहरुप्रति असन्तुष्टि मानिएको थियो । चुनावपछिको बितेको तीन महिने अवधिमा सत्तामा समेत बसिसकेकाले रास्वपा यो उपचुनावमा संसदको चौथो ठूलो दलको हैसियतमा सहभागी हुँदैछ । यसअर्थमा जनतासामू पहिलो परीक्षा पनि हो ।

११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए । उनको दलले एक राज्यसहित तीन मन्त्री पाएको थियो । तर नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा सांसदसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री र पार्टी सभापतिबाट पदमुक्त भए । पदमुक्त भएका लामिछानेले गैरसांसदका रुपमा फेरि सरकारमा जान चाहेका थिए । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन नमानेपछि रास्वपाले २२ माघमा सरकार छोड्यो ।

त्यसयता पनि लामिछानेको राजनीति ‘जता सत्ता, उतै रास्वपा’ जस्तो देखिएको छ । प्रधानमन्त्री पदका निम्ति प्रचण्डले एकपछि अर्को गठबन्धन फेरिरहँदा लामिछानले सधैं सँगै रहे । राष्ट्रपति चुनावमा कांग्रेस उम्मेदवारलाई भोट दिएको रास्वपाले ६ चैतमा प्रधानमन्त्रीलाई फेरि विश्वासको मत दियो । आफ्ना एजेण्डाहरु समावेश भए र मन्त्रालयमा सहमति भए अहिले पनि आफ्नो दल सरकारमा जानसक्ने रास्वपा नेताहरु बताउँछन् ।

यो उपचुनावमा रास्वपा र सभापति रवि लामिछानेले यो विषयमा जवाफ दिनुपर्ने देखिन्छ । किनकी प्रतिस्पर्धामा रहेका कांग्रेस र एमाले दुबै दलले रास्वपामाथि प्रश्न उठाउने संकेत गरेका छन् । तनहुँ १ मा पुगेका कांग्रेस महामन्त्री गगन थापा भन्छन्, ‘तनहुँबासीले प्रश्न गर्नुपर्छ, पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा किन मत हालेको ? केही दिनपछि गठबन्धनबाट किन निस्केको ? राष्ट्रपतिमा रामचन्द्रलाई किन मत हालेको ?’

मंसिरकै चुनावमा रविसँग पराजित भएका एमाले नेता कृष्णभक्त पोखरेल पनि सांसद भएपछि लामिछाने र उनको दल रास्वपाले गरेको सत्ता केन्द्रित गतिविधिलाई जनताको बीचमा लैजाने बताउँछन् । ‘जान्नेलाई छान्ने भन्नुभयो तर उहाँ कति जान्ने रहेछन् भन्दा नागरिकता लिनुपर्छ भन्ने पनि थाहा नपाउने जान्ने रहेछन्’ उनले भने, ‘हिजो नो नट अगेन भन्नुभयो, आज उहाँलाई किन नभन्ने ?’

त्यसैले पुराना र प्रमुख दलहरुप्रति असन्तुष्ट मत पाएर राष्ट्रिय शक्ति बनेका रास्वपा सभापति लामिछानेलाई उपचुनाव राजनीतिक लाइफलाइन रहेको देखिन्छ ।



source https://www.onlinekhabar.com/2023/04/1287285

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More