Wednesday, 5 April 2023

रुसले पायो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष, युक्रेनको आलोचना

२३ चैत, काठमाडौं । रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौका पाएको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने चासो छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्य राष्ट्र छन् । उनीहरुले एक–एक महिना पालैपालो अध्यक्षता गर्न पाउँछन् । रुसले गत वर्ष फेब्रुअरीमा पनि अध्यक्षता गर्ने मौका पाएको थियो । अहिले फेरि १ अप्रिलदेखि रुसले अध्यक्षता सम्हालेको छ ।

रुसले युक्रेन युद्धमा आफूलाई फाइदा हुने गरी र आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा ज्यादा मजबुत ढंगले प्रस्तुत गर्ने गरी अध्यक्ष पदलाई उपयोग गर्छ कि भन्ने आशंका अन्तर्राष्ट्रियस्तरमा रहेको बीबीसीले जनाएको छ ।

सयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत वेसिली नेभेन्जियाले रुसको सरकारी समाचार एजेन्सी ताससँग कुरा गर्दै सुरक्षा परिषदको अध्यक्षता ग्रहण पछि रुसले धेरै मुद्दाहरुमा बहस गराउने योजना बनाएको बताएका छन् । त्यो योजनामा हतियार नियन्त्रणका विषय पनि छन् । उनले नयाँ विश्व व्यवस्थाबारे पनि बहस गरिने बताएका छन् जसले हालको एक ध्रुवीय व्यवस्थामा परिवर्तन ल्याउने विश्वास छ ।

युक्रेनको आलोचना

युद्ध अपराधको आरोपमा गत महिना इन्टरनेश्नल क्रिमिनल कोर्टले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । अहिले उनैले सुरक्षा परिषदको अध्यक्षताको जिम्मेवारी पाएपछि आलोचना भइरहेको छ ।

रुसले अप्रिल १ देखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेपछि युक्रेनले कडा शब्दमा आलोचना गरेको छ । युक्रेनका विदेशमन्त्री दमित्रो कुलेबाले अप्रिल फूलको दिन गरिएको हालसम्मकै खराब मजाक भनेर टिप्पणी गरेका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय समुदायको अनुहारमा झापड हानेको पनि भनेका छन् ।

यसैगरी युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले अन्तर्राष्ट्रिय कानुनमा एक अर्को बलात्कार भनेर आलोचना गरेका छन् ।

रुसबारे कडा टिप्पणी गर्दै उनले अरु देशमा आक्रामक युद्ध गर्ने, मानवीय कानुनको उल्लंघन गर्ने, संयुक्त राष्ट्रसंघको मूल्य मान्यतालाई नमान्ने देशले संयुक्त राष्ट्रसंघ जस्तो संस्थाको सुरक्षा परिषदको अध्यक्षता गर्न नसक्ने बताएका छन् ।

रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र बेलायत छन् ।

स्थायी सदस्यसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ । गत वर्ष संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्ताव रुसले भिटो पावर प्रयोग गरेर रोकिदिएको थियो ।



source https://www.onlinekhabar.com/2023/04/1288356

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More