Friday, 13 May 2022

छिटपुट बाहेक निर्वाचन शान्तिपूर्ण : यसपालि दलकै कार्यकर्ता चुनौती

३० वैशाख, काठमाडौं । ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश उम्मेदवारलाई लक्षित गरेर विष्फोटक पदार्थ राखिएका थिए । कतिपय स्थानमा तर्साउनलाई शंकास्पद वस्तु मात्रै राखिएका थिए भने केही स्थानमा विष्फोट पनि भए ।

तर पाँच वर्षपछि शुक्रबार नयाँ जनप्रतिनिधि चुन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार लक्षित विष्फोटका कुनै घटना सार्वजनिक भएनन् । देशभर चार वटा शंकास्पद वस्तु भेटिए । राति ९ बजेसम्म कुनै मानवीय क्षतिको विवरण आएको छैन ।

यद्यपि, उदयपुरमा बुथ कब्जा गर्ने प्रयास भएपछि प्रतिकारमा गोली चलाउँदा एक जना गम्भीर घाइते छन् ।

समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको पनि निष्कर्ष छ । मतदान सकिएपछि आयोजित पत्रकार सम्मेलनमा थपलियाले भनेका छन्, ‘निर्वाचन आमरुपमा शान्तिपूर्ण भयो, यसका लागि सहयोग गर्ने मतदाता, निर्वाचन कार्यमा संलग्न हुने कर्मचारी, सुरक्षाकर्मी र सरोकारवालाप्रति आयोग धन्यवाद दिन चाहन्छ ।’

तर राजनीतिक दल र उम्मेदवारबीच भएको आपसी विवाद, अत्यन्त सामान्य विषयले पनि उग्ररुप लिँदा कतिपय स्थानमा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थपलियाको विश्लेषण छ । कतिपय अवस्थामा मौसमको प्रतिकुलताका कारण पनि १७ स्थानीय तहका २८ मतदानस्थलका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको उनले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसी चाहिँ देशभर ७५३ स्थानीय तहमा एकै पटक निर्वाचन हुँदा यत्तिको संख्यामा निर्वाचन स्थगित हुनु नगन्य भएको बताउँदै निर्वाचन सुरक्षाका दृष्टिकोणले सफल भएको बताउँछन् ।

यसपालि दलकै कार्यकर्ता चुनौती

गृह मन्त्रालयले चुनावअघि गरेको विश्लेषणमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र फुटेर बनेको नयाँ समूह, मोहन वैद्य नेतृत्वको पार्टी, जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा, मंगोल अर्गनाइजेसन, शिव सेनालगायतका समूहबाट सुरक्षा चुनौती रहेको अनुमान गरेको थियो ।

तर शुक्रबार दिनभरिको स्थिति हेर्दा यो निर्वाचनमा कुनै संगठित समूहको चुनौती देखिएन, बरु मुख्य राजनीतिक दलका कार्यकर्ता नै निर्वाचनको चुनौतीका रुपमा देखा परे । उनीहरुले नै सामान्य विवादमा झै–झगडा गर्दा झडप र ढुंगा हानाहानको स्थिति सिर्जना भयो ।

काभ्रेको पाँचखालमा मतदानस्थल तोडफोड ।

‘विगतका निर्वाचनमा सिंगो प्रणालीलाई नै चुनौती दिँदै निर्वाचन बहिस्कार गर्ने शक्ति देखिएका थिए, २०६४ सालको निर्वाचनमा झण्डै एक सय बढी हतियारधारी समूह नै छन् भन्ने सरकारी तथ्यांक थियो’ सुरक्षाविद् इन्द्र अधिकारी भन्छिन्, ‘यसपालि चाहिँ कुनै संगठन समूह पनि विरोधमा देखिएनन् र अघिल्ला निर्वाचनहरुको तुलनामा यसपालिको चुनाव धेरै शान्तिपूर्ण देखियो ।’

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीको बुझाइमा विगतमा चरणबद्ध रुपमा हुने निर्वाचनमा भएका झडप र यसपालि एकैचरणमा मतदान हुँदा भएका घटना संख्यात्मक रुपमा हेर्दा पनि कम छन् ।

‘एकै चरणमा भएकाले धेरै भएजस्तो देखिएको हुनसक्छ, तर पहिलेभन्दा कम तनाव देखिएको छ’ कार्कीले अनलाइनखबरसँग भने, ‘यसको कारण सबैको निर्वाचनप्रतिको संस्कारमा वृद्धि भएकाले हुनसक्छ ।’ यसपालि केही अपवादबाहेक उम्मेवादरबीच पनि हार्दिकता देखिएको उनी बताउँछन् ।

शुक्रबार जति घटना भएका छन्, ती अधिकांश सामान्य विवादमा दुई पक्षका व्यक्ति उत्तेजित हुँदा देखिएको परिणाम भएको कार्कीको बुझाइ छ ।

देशभर ४७ स्थानमा हवाइ फायर

प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांक अनुसार देशभर शुक्रबार ४७ स्थानमा हवाइ फायर भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता केसीका अनुसार स्थिति नियन्त्रणबाहिर जान खोजेपछि ती स्थानमा प्रहरीले हवाइ फायर गरेको हो ।

प्राप्त विवरण अनुसार प्रदेश नं. १ मा ओखलढुंगाको चम्पादेवी गाउँपालिका, प्रदेश २ को बाराको पचरौता नगरपालिका–२, देवताल गाउँपालिका–७, रौतहटको फतुवा विजयपुर नगरपालिका–२, पर्साको छिपहरमाई गाउँपालिका–१, वीरगञ्ज–२७, सर्लाहीको धनकौल गाउँपालिका–२, रामनगर गाउँपालिका–४ र ५ मा प्रहरीले हवाइ फायर गरेको छ ।

बागमती प्रदेशको दोलखाको बैतेश्वर गाउँपालिका–१, २, ३, विगु गाउँपालिका–२, खाडादेवी गाउँपालिका–१, सुनापाती गाउँपालिका–३, मन्थली नगरपालिका–१२, ९, सिन्धुपाल्चोकको बाह्रविसे, काभ्रेको तेमाल गाउँपालिका–७, नुवाकोटको सूर्यगढी गाउँपालिका–४ मा गोली चलेको छ ।

गण्डकी प्रदेशमा गोरखाको गण्डकी गाउँपालिका–७ मा गोली चलेको छ । कर्णालीमा हुम्लाको अदानचुली गाउँपालिका–४, हुम्लाको चंखेली गाउँपालिका–२, दैलखेको ठाँटिकाँध गाउँपालिका–६, कालीकोटको रास्कोट नगरपालिका–४, कालीकोटको पलाता गाउँपालिका–९, थिर्पु, डोल्पाको मुड्केचुला गाउँपालिका–४ मा प्रहरीले हवाइ फायर गरेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका, ढकारी गाउँपालिका, मेल्लेख गाउँपालिका–५, दार्चुलाको शैल्यशिखर नगरपालिका–६, बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिकामा पनि हवाइ फायर भएको छ ।

बझाङमा केदारस्यु गाउँपालिका–४, थलारा गाउँपालिका–५, जयपृथ्वी नगरपालिका – ७, छविसपाथिभेरा गाउँपालिका–६, सुर्मा गाउँपालिका–३, मष्टा गाउँपालिका–५ मा हवाइ फायर भएको छ ।

हवाइ फायरको संख्या बढी देखिनुमा प्रहरी कर्मचारीको जनशक्ति अभाव हुनुको पनि एउटा कारण भएको अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) भन्छन्, ‘एकै चरणमा हुँदा जनशक्ति व्यवस्थापनमा समस्या भयो, एक जना असईको नेतृत्वमा तीन जना प्रहरी खटिँदा तनाव व्यवस्थापन गर्न सुरुमै हवाइ फायर गर्नुपर्ने स्थिति भयो ।’

निर्वाचनको संवेदनशील समयमा सामान्य अवस्थामा जस्तो सम्झाइबुझाइ र माइकिङ गर्न थाल्दा आक्रोशित भिड मतदान स्थलमा पुगेर विथोल्न सक्ने भएकाले हवाइ फायर गर्ने नीति अख्तियार गरिएको उनी बताउँछन् ।

‘विगतमा चरणबद्ध रुपमा निर्वाचन हुँदा एउटा चार जना प्रहरी हुने संवेदनशील मतदान केन्द्रमा घटीमा पनि ६ देखि ८ जना प्रहरी हुन्थे’ उनले सुनाए, ‘अहिले जनशक्ति निकै कम हुँदा कस्तो स्थिति छ भने उदयपुरमा एक जना गम्भीर घाइते भएको भनिएको तनावमा यतिवेलासम्म घटनास्थलमा खटिएको प्रहरी टोली बाहिर निकिस्न सकेको छैन ।’

हालसम्म घटना भएको स्थानमा मद्दतको टोली पनि पुग्न नसकेको उदयपुरका एसपी सुवासचन्द्र बोहरा बताउँछन् ।

ओखलढुंगामा भएको हवाइ फायरको कारण पनि कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयबाट सुरु भएको विवाद थियो ।
जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे भएको झडपमा प्रहरीले सम्झाउन खोज्दा बुथमा लगाएको बार नाघेर दुई पक्षका व्यक्ति मतदान सामग्री भएको ठाउँतिर प्रवेश गरेको डीएसपी सुकदेव खनाल बताउँछन् ।

लगत्तै प्रहरीले हवाइ फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको खनालले बताए । उनका अनुसार यो मतदान केन्द्रमा असईको नेतृत्वमा जम्मा तीन जना प्रहरी मात्रै थिए । ‘समयमै हवाइ फायर गरेकाले थप अप्रिय घटना हुन पाएन’ उनी भन्छन् ।

सुरक्षा तयारीप्रति आयुक्तहरुको असन्तुष्टि

निर्वाचन आयोगका केही पदाधिकारीले चाहिँ अनौपचारिक कुराकानीमा सुरक्षा निकायको तयारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुको बुुझाइमा रौतहटमा मतपेटिका लिएर भागेको घटना गम्भीर सुरक्षा कमजोरी हो । अन्य कतिपय स्थानमा पनि सुरक्षा लापरबाही देखिएको उनीहरुको बुझाइ छ ।

तर नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी अहिले जुन किसिमले सुरक्षाकर्मीलाई परिचालन गरिएको छ, त्यसलाई हेर्दा सुरक्षा संयन्त्रमाथि प्रश्न गर्ने ठाउँ नभएको बताउँछन् ।

‘एकै चरणमा चुनाव हुँदा सुरक्षाकर्मीको पर्याप्त डिप्लोयमेन्ट पनि हुन सकेन’ मल्ल भन्छन्, ‘फेरि देशभर झडपका घटना सार्वजनिक भएपनि स्थिति नियन्त्रणमा लिन नसकेका घटना छैनन् भन्दा पनि फरक पर्दैन ।’

सुरक्षाविद् अधिकारी पनि शुक्रबार साँच्चै माहौल बिग्रिएर तनावग्रस्त हुने परिस्थिति सिर्जना भएको भए कतिपय बुथहरुमा प्रहरीले कम जनशक्तिका कारण हात उठाउनुको विकल्प नहुने स्थिति रहेको बताउँछिन् । उनी भन्छिन्, ‘जनशक्ति व्यवस्थापनमा एकदमै भद्रगोल स्थिति थियो ।’

आयोगका आयुक्तहरुले म्यादी प्रहरीमा पनि दक्ष जनशक्ति कम भएको परिणाम यसपालि देखिएको आरोप लगाएका छन् ।

उनीहरुको बुझाइमा म्यादी प्रहरीमा पूर्वसुरक्षाकर्मी पर्याप्त भर्ना नलिँदा पनि सुरक्षा व्यवस्थापनमा समस्या भएको हो ।

तर प्रहरी अधिकृतहरु चाहिँ त्यो मान्न तयार छैनन् । प्रहरी प्रवक्ता केसी भन्छन्, ‘म्यादी प्रहरी भर्नाको प्राथमिकता नै पूर्वसुरक्षाकर्मी हुन्, त्यसपछि अनुभवीलाई नै प्राथमिकता दिइएको थियो ।’



source https://www.onlinekhabar.com/2022/05/1125827

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More