Friday, 5 May 2023

पपस्टार एड शीरनले जिते प्रतिलिपि अधिकारको मुद्दा

काठमाडौं । आफ्नो चर्चित गीत ‘थिंकिङ आउट लाउड’बारे एक अमेरिकी अदालतमा भइरहेको सुनुवाइमा बेलायती पपस्टार एड शीरनको जित भएको छ । उक्त गीत लेख्दा शीरनले मार्विन गेको गीत ‘लेट्स इट अन’बाट साहित्यिक चोरी नगरेको फैसला अदालतले गरेको हो ।

अदालतको यो फैसलापछि खुसी र राहत महसुस गरेका शीरनले प्रतिक्रिया दिंदै यसलाई रचनात्मक स्वतन्त्रताको जित भएको बताएका छन् । यी अंग्रेज गायकले बिहीबार न्युयोर्कको म्यानहटन अदालतमा न्यायाधीशले फैसला सुनाउँदा खुसीले आफ्नो टोलीका सदस्यहरुलाई अँगालो हालेका थिए ।

यो गीतबाटै शीरनले सन् २०१४ मा ग्रामी अवार्ड पनि जितेका थिए । चासोपूर्वक हेरिएको यो मुद्दा गेका सहलेखक एड टाउनसेन्डका उत्तराधिकारीले सन् २०१७ मा गायक शीरनविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा दायर गरेका थिए । ‘थिंकिङ आउट लाउड’ गीतले गेको मेलोडी, लय र हुकलाइन कपी गरेको रिटमा दाबी गरिएको थियो ।

साथै उनीहरुले शीरनको उक्त हिट गीतबाट नाफाको अंश समेत मागेका थिए । अदालत बाहिर गायक-गीतकारले पत्रकारसँग कुरा गर्दै गीत चोरीको आरोप लाग्नु विनाशकारी रहेको प्रतिक्रिया दिए ।

‘म अदालतको फैसलाबाट निकै खुसी छु,’ गायक शीरनले भने, ‘यदि जुरीले यो विषयलाई अर्को तरिकाले निर्णय गरेको भए, हामी गीतकारहरुको रचनात्मक स्वतन्त्रतालाई पनि अलविदा भन्न सक्थ्यौं ।’ यो मुद्दाले भविष्यमा गीतकारको रचनात्मक स्वतन्त्रतालाई अवरोध पुग्न सक्ने भन्दै संगीतकर्मीले यो मुद्दालाई नजिकबाट नियालिरहेका थिए ।

यो मुद्दा पछिल्लो एक वर्षमा शीरनको दोस्रो प्रतिलिपि अधिकारको परीक्षण पनि थियो । अप्रिल २०२२ मा उनले लण्डनमा सन् २०१७ को उनको गीत ‘शेप अफ यु’विरुद्ध परेको मुद्दा पनि जितेका थिए ।



source https://www.onlinekhabar.com/2023/05/1302323

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More