Monday, 31 July 2023

फिल्म ‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मन’मा रिलिज

काठमाडौं । अर्पण गिरीको डेव्यु निर्देशन रहेको फिल्म ‘वानर सेना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो मनमा’ बोलको गीतमा शीर्ष कलाकारमा निर्देशक समेत रहेका गिरी (अरमान जंग) र आरजु प्रसाईं छन् ।

गीतमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा निर्देशक गिरीको शब्द रचना तथा स्वर अनि जोन तामाङको संगीत छ । पौराणिक कथावस्तुमा फिल्म निर्माण भएकाले पनि दशैं घटस्थापना (असोज २६) प्रदर्शन गर्न लागिएको जनाइएको छ ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बासकोटाले अभिनय गरेका छन् ।

फिल्मको सबै छायांकन सर्लाही र सप्तकोशी किनारमा गरिएको हो । पटकथा पनि निर्देशक गिरीले नै लेखेका हुन् । फिल्ममा युवराज गिरीको लगानी छ ।



source https://www.onlinekhabar.com/2023/07/1344320

Sunday, 30 July 2023

गौर हत्याकाण्ड : अनिश्चितकालीन रौतहट बन्द स्थगित

१५ साउन, जनकपुरधाम । गौर हत्याकाण्ड पीडिति संघर्ष समितिले आजदेखि घोषणा गरेको अनिश्चितकालीन रौतहट बन्द स्थगित गरेको छ ।

संघर्ष समितिकी संयोजक रुपसागर देवीले आइतबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै अनश्चितकालीन रौतहट बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको बताइन् ।

आफूहरु न्याको माग गर्दै अनिश्चितकालीन बन्द गर्न लागेको आन्दोलनको कार्यक्रममा सत्ताधारी पार्टीहरु मुठभेट सिर्जना गर्न खोजेकाले बन्दको कार्यक्रम तत्कालका लागि परिमार्जन गरी अन्य कार्यक्रम यथावत राखिएको उनको भनाइ छ ।

१७ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।

घटनाको मुख्य अभियुक्त तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर, हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् ।

दोषीहरुलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै संघर्ष समितिले गत साउन १ गते स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएको थियो ।

साउन १२ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको छ । संघर्ष समितिले शुक्रबार पालिकापालिकामा घटना विषयमा जानकारी गराएका थिए भने शनिबारदेखि रौतहटको चपुरमा पीडित परिवारहरु आमरण अनशनमा बसेका छन् ।

आइतबार रौतहटमा मोटरसाइकल जुलुस प्रदर्शन भएको थियो । आजदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको थियो ।

रौतहट बन्दको कार्यक्रममा जोरजवरजस्ती व्यवसायी वा जनतालाई दुःख दिने कार्य गरे प्रतिकार गर्ने जसपाले चेतावननी दिएको थियो ।

आमजनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहको पहलमा संघर्ष समितिले आन्दोलन थालेको हो ।



source https://www.onlinekhabar.com/2023/07/1343894

एसियन गेम्समा स्वर्ण जित्ने बक्सरलाई बक्सिङ महासंघले १० लाख दिने

१५ साउन, काठमाडौं । नेपाल बक्सिङ महासंघले आगामी १९औं एसियन गेम्समा पदक जित्ने खेलाडीहरुलाई नगद प्रदान गर्ने निर्णय गरेको छ ।

बक्सिङ महासंघले आइतबारको निर्णय अनुसार १९औं एसियन गेम्समा स्वर्ण जित्ने खेलाडीलाई १० लाख दिने निर्णय गरेको हो ।

यस्तै रजत जित्नेलाई ५ लाख र कांस्य जित्नेलाई २ लाख प्रदान गर्ने महासंघको बैठकबाट सर्वसम्मत निर्णय भएको बक्सिङ महासंघले जनाएको छ ।

यसैगरी महासचिवको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट माग गरी भाद्र महिनाभित्रमा संघको क्यालेन्डर प्रकासित गर्ने र वार्षिक तालिका प्रकाशन गर्ने निर्णय गरियो । यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

नेपाल बक्सिङ महासंघको कोष बृद्धिका लागि महासंघका पदाधिकारीहरुबाट १५ हजार र सदस्यहरुबाट १० हजार सहयोग स्वरुप संकलन गर्ने निर्णय सर्व सम्मतीबाट निर्णय गरिएको छ ।

साथै मासिक रुपमा पदाधिकारीहरुबाट ५ हजार र सहस्यहरुबाट ३ हजार संकलन गर्ने निर्णय भएको छ ।

महासंघको बेवसाइट, खेलाडीहरुको डाटा र दीर्घकालीन योजनाहरुलाई कार्यपत्र प्रस्तुत गरी अपडेट गर्ने कार्यका लागि महासंघको केन्द्रीय सचिव पुस्करराज पन्तलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठक समापनपछि पोखरामा भएको नेपाल बक्सिङ महासंघको छैटौं साधारण सभा तथा निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।



source https://www.onlinekhabar.com/2023/07/1343889

कैलालीमा आफन्तको हत्या आरोपमा ३ महिलासहित ४ जना पक्राउ

१५ साउन, धनगढी । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेको जानकारी दिए ।

प्रहरीका अनुसार मृतक मञ्चु र गोमा नातेदार हुन् ।  उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुुलेको डीएसपी चन्दले बताए ।

मृतक रावलका छोरा विवेकले गत जेठ २५ गते वकिललाई भेट्न गौरीगंगा नगरपालिकाको मसुरीया जान्छु भनी हिँडेकी आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाँऊ भनी असार १ गते प्रहरीमा निवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले मञ्जु रावलको हत्या भएको निष्कर्षसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो ।

साउन १४ गते प्रतिवादी सरिता रावलले मन्जुको हत्या गरेर शव मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनको सेतीखोर खोला नजिकै खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको बयान दिएकी थिइन् । सोही आधारमा प्रहरीले उनलाई घटनास्थल लगेको थियो ।

उनले भनेकै स्थानमा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेको र गुलाबी रंगको कुर्ता सुुरुवालले मृतकको पहिचान भएको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 



source https://www.onlinekhabar.com/2023/07/1343881

विरोधका बीच स्वार्थ बाझिने अर्थ समितिको सभापतित्व गर्दै विनोद चौधरी

१५ साउन, काठमाडौं । विपक्षीको विरोध र आफ्नै पार्टीका सांसदको असन्तुष्टि हुँदाहुँदै पनि नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभाको अर्थ समितिको सभापतित्व गर्ने भएका छन् । समितिको बैठक सोमबार ११ बजेका लागि बोलाइएको छ । सो बैठकको सभापतित्व ज्येष्ठ सदस्यका रुपमा चौधरीले गर्ने भएका हुन् ।

स्वार्थ बाझिने भएकाले चौधरीले समितिको सभापतित्व गर्ने मात्रै होइन, समितिमै बस्न पनि नमिल्ने भनेर विरोध हुँदै आएको छ ।

प्रतिनिधिसभाका समितिहरुको सभापति अहिलेसम्म पनि चयन हुन सकेको छैन । त्यसो हुँदा प्रतिनिधिसभा नियमावलीअनुसार समितिका ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्दै आएका छन् । अर्थ समितिमा सबैभन्दा ज्येष्ठ सदस्य दीपक बोहोरा हुन् । तर, स्वास्थ्य समस्याका कारण उनी बोल्न सक्दैनन् ।

समितिको दोस्रो ज्येष्ठ सदस्य विनोद चौधरी हुन् । तर, उनी लामो समयदेखि समितिको बैठकमा उपस्थित नहुँदा त्यसपछिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले समितिको सभापतित्व गर्दै आएका थिए । तर, २१ असारमा चालिसे अनुपस्थित हुँदा चौैधरीले समितिको सभापतित्व गरेका थिए ।

सोमबार विनोद चौधरीले सभापतित्व गर्ने गरी बैठक बोलाइएकोमा चालिसे सन्तुष्ट छैनन् । ‘मैले सात‐आठवटा बैठकको सभापतित्व गरिसकेको छु, तर अहिले आएर उहाँले सभापतित्व गर्छु भन्न नमिल्नुपर्ने हो,’ उनले भने, ‘तर, आफ्नै पार्टीको नेता हो, उहाँले सभापतित्व गर्छु भन्नुलाई अन्यथा लिन मिलेन,’ उनले भने ।

प्रतिनिधिसभा नियमावली २०७९ मा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगरिने उल्लेख छ । नियमावलीको को नियम १७५ (२) मा भनिएको छ, ‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन ।’ अर्थ समितिको कार्यक्षेत्रमा अर्थ मन्त्रालय, लगानी बोर्ड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग छन् ।

चौधरीको बैंक तथा वित्तीय संस्थामा ठूलो लगानी रहेको र ती विषय समितिको कार्यक्षेत्र पर्ने भएकाले त्यहाँ उनको स्वार्थ बाझिने विरोधीहरुको भनाइ छ ।

कांग्रेसकै एक वरिष्ठ नेताले पनि समितिमा चौधरीको स्वार्थ बाझिने बताए । ‘उहाँ ठूलो व्यापारी हुनुहुन्छ, त्यसो हुँदा सभापतित्व गर्न मिल्दैन भनेर समितिमा आवाज पनि उठेको छ । तर, पनि उहाँले सोमबारलाई बैठक बोलाउनुभएछ,’ ती नेताले नाम उल्लेख नगर्ने शर्तमा भने ।

एमालेका सांसद् सूर्य थापाले समितिमा चौधरीको स्वार्थ बाझिने भन्ने विषय पनि उठेको र उनले समय पनि नदिएकाले उनी पछिका ज्येष्ठ सदस्य चालिसेले सभापतित्व गरिरहेको बताए । ‘उहाँको स्वार्थ बाझिने कुरा आएको छ, त्यसो हुने नहुने स्वघोषणा गर्नुपर्छ भनेर मैले भनेको छु, तर जनताबाट निर्वाचित भएको आएको सांसद्को हैसियतले सभापतित्व गर्न पाउनुपर्छ भन्ने उहाँले भन्नुभएको छ,’ उनले भने ।

चौधरीले बीचमा आफूले अब समय दिने र नियमित रुपमा सभापतित्व गर्ने भने पनि समय नदिएको उनले बताए । ‘उहाँ आफैँ विवादित पनि हुनुहुन्छ, उहाँले समय नदिएर लामो समय अर्को सदस्यले सभापतित्व गरिसकेको अवस्थामा अहिले आएर सभापतित्व गर्छु भन्नु स्वाभाविक छैन,’ उनले भने ।

यसअघि २१ असारमा बसेको बैठकमा चौधरीले सभापतित्व गरेपछि राप्रपाका ज्ञानेन्द्र शाही, एमालेका सूर्य थापालगायतले विरोध गरेका थिए । ‘उहाँ सभापति मात्रै होइन, सदस्य पनि बन्न मिल्दैन,’ चौधरीबारे राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भनेका थिए ।

अर्थसमितिमै अन्य केही सदस्यहरु पनि स्वार्थ बाझिने किसिमकै छन् । अर्की सदस्य भगवती चौधरी फरवार्ड लघुवित्तकी निवर्तमान अध्यक्ष हुन्् । त्यस्तै, जुलीकुमारी महतो पनि व्यवसायी हुन् ।

सांसद्् चौधरीले भने प्रतिनिधिसभा नियमावली बमोजिम आफूले समितिको सभापतित्व गर्नु नियमसम्मत हुने बताउँछन् । ‘समितिको ज्येष्ठ सदस्य दीपक बोहोरा बोल्न नसक्ने भएकाले उहाँले सभापतित्व गर्नुभएको छैन, त्यसपछिको ज्येष्ठ सदस्य म हुँ,’ उनले भने, ‘समिति बैठकमा  उपस्थित ज्येष्ठ सदस्यले सभापतित्व गर्ने हो, म समेत अनुपस्थित हुँदा सन्तोष चालिसेले सभापतित्व गर्नुभएको हो,’ उनले भने ।

आफ्नो विशेषज्ञता र कार्यअनुभवका आधारमा आफू अर्थ समितिको सदस्य हुनु स्वाभाविक रहेको उनको भनाइ छ । तर, अन्य कसैको स्वार्थ पूर्तिका लागि स्वार्थको द्वन्द्वको विवाद झिकिएको उनको भनाइ थियो । ‘विभिन्न पेशा व्यवसायका मानिसहरु पहिले पनि मन्त्री भएका छन्, अहिले पनि छन्, उनीहरुको स्वार्थ नबाझिने, मेरो मात्रै बाझिने भन्ने हुँदैन,’ उनले भने । स्वार्थ बाझिने नाममा विषयवस्तुबारे जानकारी नभएको मानिसलाई समितिमा नराख्ने, त्यसबारे जानकारी नै नभएकोलाई राख्ने कुरा उचित नहुने उनको भनाइ छ । ‘स्वार्थको द्वन्द््व भनेको अमूर्त र अपरिभाषित विषय हो, कसैमाथि प्रहार गर्नुपर्यो भने यो विषय ल्याउने गरिएको छ,’ उनले भने ।



source https://www.onlinekhabar.com/2023/07/1343882

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

१५ साउन, धनगढी । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ । उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1343879

आज खीर खाने दिन, यसकारण खाइन्छ खीर

१५ साउन, काठमाडौँ । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।

वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।

दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।

यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।



source https://www.onlinekhabar.com/2023/07/1343868

Saturday, 29 July 2023

नेपालका पुरण राईले स्कटल्याण्डमा जिते प्रो बक्सिङ

१४ साउन, काठमाडौं । नेपाली मुक्केबाज पुरण राईले स्कटल्याण्ड प्रो बक्सिङ इभेन्ट जितेका छन् ।

उनले राएन कार्टलाई तेस्रो चरणमा टेक्निलकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेको नेपाल प्रो फेसनल बक्सिङ कमिसन एनपीबीसी अध्यक्ष राजनविक्रम प्रजापतिले जानकारी दिए ।  जितपछि उनले युबीए स्कटल्याण्ड टाइटल बेल्ड पनि जितेका छन् ।

नेपालका अर्का खेलाडी आकाश डाँगी भने युबीए, युबीओ टाइटल म्याचमा एन्डी बेलसँग पराजित भए । अर्का खेलाडी म्याक्स बस्नेतको फाइट भने रद्द भयो । उनको विपक्षी केही दिनअघि घाइते भएकोले म्याच रद्द भएको म्याक्सले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2023/07/1343310

कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प : बाबुराम भट्टराई

१४ साउन, काठमाडौं । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् ।

नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठनको पहल भइरहेका बेला भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङलेले यही साउन १६ गते अपराहृन ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षले बहुमत जुटाउन सकेका छैनन् । सत्ता गठबन्धनले राप्रपाको साथ खोजेका छन् र कोशीका नेताहरुलाई छलफलका लागि काठमाडौंमा बोलाएका छन् ।

तर डा. भट्टराईले भने यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने बताएका हुन् ।

भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’

जसरी भए पनि सरकार बनाउन खोजेका दलहरुको प्रयासलाई भट्टराईले सत्ता लिप्सा देखाएको भनेर टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने !’

नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो । सर्वोच्चले संविधानको धारा १६८ -२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।



source https://www.onlinekhabar.com/2023/07/1343302

समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चा घोषणा गर्दै

१४ साउन, काठमाडौं । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।

‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा हुन लागेको हो ।

बिहान साढे १० बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन् ।



source https://www.onlinekhabar.com/2023/07/1343296

Friday, 28 July 2023

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

१३ साउन, बाजुरा  । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् ।

शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिमाली गाउँपालिका-३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो ।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।

साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ ।

पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई  स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ ।

घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको छ ।

गौमूलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन् । विसं २०७७ मा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए ।

सयौँ बिघा जमिनमा क्षति पुगेको थियो भने दर्जनौ पशु चौपाया मरेका थिए । त्यो बेला पनि पालिकाका तर्फबाट उद्धार सम्भव नभएपछि तत्कालीन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो ।

साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भूगर्भविद्ले सुझाव दिएका थिए । त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परीक्षणका लागि ७४ करोड रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन ।

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोखिममा छन् । उनीहरुले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन् । भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयले भने पनि पालिकास्तरीय तयारी पनि हुनुपर्ने र जिल्ला तहमा प्रशासनको पूर्वतयारी पनि गरिएको बताएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1343136

बाघको सङ्ख्या तेब्बर बढ्यो, व्यवस्थापनमा चुनौती

१३ साउन, काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ ।

वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ ।

यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३-३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए ।

कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए ।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

सङ्कल्प दोब्बर, वृद्धि झण्डै तेब्बर

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ ।

उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई ३५ पुगेको थियो ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ ।

सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए ।

बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु    

नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।

उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ ।

वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए ।

साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।

बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।



source https://www.onlinekhabar.com/2023/07/1343103

Thursday, 27 July 2023

‘पितृसत्तात्मक सोच भएकाहरूले समलिंगी विवाहलाई विकृति भनिदिन्छन्’

१२ साउन, काठमाडौं । १३ जेठमा सर्वोच्च अदालतले समलिंगी, तेस्रोलिंगीको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएपछि उत्साहित भएका यौनिक तथा लैंगिक अल्पसंख्यकहरू काठमाडौं जिल्ला अदालतले विवाह दर्ता गर्न अस्वीकार गरिदिएपछि फेरि अर्को कानुनी लडाइँमा लागेका छन् ।

२८ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले माया गुरुङ र सुरेन्द्र पाण्डे जोडीको विवाह दर्ता गर्न अस्वीकार गरेपछि यो मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

एउटा कानुनी लडाइँ बाँकी नै रहे पनि सर्वोच्चको आदेश विश्वमै दुर्लभ र ऐतिहासिक भएको समलिंगी, तेस्रोलिंगी समुदाय बताउँछन् । अब ढिलो–छिटो समलिंगी, तेस्रोलिंगी विवाहले नेपालमा कानुनी मान्यता पाउनेमा उनीहरू आशावादी छन् । समाजमा हेयको पात्रको रूपमा हेरिने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अहिले पनि राज्यको मूलप्रवाहीकरणमा आउन सकेका छैनन् ।

नेपालमा समलिंगी, तेस्रोलिंगी समुदायको स्थिति, उनीहरूले भोग्नुपरेको समस्या र उनीहरूमाथि राज्यस्तरबाट हुनुपर्ने काम आदि विषयमा यो समुदायको अधिकारका लागि सक्रिय नीलहिरा समाजका संस्थापक अध्यक्ष तथा संविधानसभाका सदस्य सुनिलबाबु पन्तसँग अनलाइनखबरका लागि विनोद ढकालले गरेको कुराकानी :

सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गर्न अन्तरिम आदेश दियो, तर जिल्ला अदालतले दर्ता गर्नै मानेन । नेपाली समाजमा धेरैले चासो दिएको यो विषय के हो ?

२०६४ पुसमा म सहित अरू चारवटा संस्थाले दिएको एउटा मुद्दामा सर्वोच्च अदालतले ‘महिला र पुरुष बाहेक अर्को लिंगका व्यक्तिहरू पनि छन् र उनीहरूलाई पहिचान अनुसार नागरिकता दिनू’ भनेर निर्देशनात्मक आदेश दिएको थियो ।

त्यतिबेला लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि सम्पूर्ण विभेदकारी कानुन संशोधन वा खारेज गर्नु पनि भनेको थियो । समलिंगी तथा तेस्रोलिंगी विवाह गर्दा सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा कस्तो प्रभाव पर्न सक्छ त्यस बारेमा सरकारलाई सुझाव दिन एउटा समिति गठन गर्न र समितिको सुझाव अनुसार कानुन पास गर्न पनि सरकारलाई आदेश दिएको थियो ।

समितिले ४/५ वर्ष अध्ययन गरेर महिला–पुरुष जस्तै समलिंगी, तेस्रोलिंगी समुदायलाई पनि विवाह गर्न दिंदा हुन्छ, सामाजिक, आर्थिक र सांस्कृतिक हिसाबले पनि राम्रो प्रभाव पर्छ भनेर प्रतिवेदन बुझाएको पनि ७ वर्ष भइसक्यो । तर संसद र सरकारले यस सम्बन्धी कानुन बनाएनन् ।

कानुन नबनेको नाममा अनन्तकालसम्म नागरिकलाई आफ्नो हकअधिकारबाट वञ्चित बनाइराख्न पाइँदैन हामीलाई तुरुन्तै राहत हुने खालको अन्तरिम आदेश होस् भनेर नीलहिरा समाजका अध्यक्ष पिंकी गुरुङ सहितले मुद्दा दिनुभएको थियो । सर्वोच्चले त्यही कुरा सुनेर सरकारका नाममा कारण देखाउ आदेश दिएको छ र कानुन नबनुन्जेलसम्मका लागि अस्थायी प्रावधान राखेर विवाह गर्न दिनू भनेको छ ।

यो असाध्यै राम्रो आदेश आएको थियो, विश्वले नै उदाहरणको रूपमा हेरेको थियो, यौनिक तथा लैंगिक अल्पसंख्यकको हकअधिकार प्राप्तिका लागि र विवाहको हक समेत दिनु कोसेढुंगा हो भनेर नेपालभित्र पनि खुशियाली थियो र बाहिरका देशले पनि प्रेरणाको रूपमा हेरेका थिए ।

यही आदेश अनुसार समलिंगी, तेस्रोलिंगी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डे विवाह दर्ता गर्न जिल्ला अदालत, काठमाडौंमा जानुभयो । तर न्यायाधीश माधवप्रसाद मैनालीले यो विवाह दर्ता गर्न मिलेन भन्ने निर्णय दिनुभयो ।

उहाँले सर्वोच्चमा दिएको रिटमा हामीलाई विपक्षी बनाएको रहेनछ भन्ने कारण दिनुभयो । अर्को कारण चाहिं यो फैसलामा विवाह दर्ता गर्नू भनेको रहेछ, हामीले त विवाह दर्ता गर्दैनौं, विवाह दर्ता भनेको स्थानीय तहमा हुने हो, हामीले त दर्ता विवाह मात्र गर्ने हो भनेर शब्दमा खेल्नुभयो ।

मैले मैनाली श्रीमानलाई इजलासमा सोधेको पनि थिएँ, त्यसो भए विवाह दर्ता गर्न कहाँ जानुपर्छ ? उहाँले स्थानीय तहमा जानुस्, वडामा जानुस् भन्नुभयो । यो खालको सामान्य विवाह भएको भए त मुद्दा लिएर सर्वोच्चमा किन जानुपथ्र्यो, सर्वोच्चले किन अन्तरिम आदेश दिनुपर्थ्यो ? त्यो अवस्था नरहेर नै आएको हो भन्दाखेरि उहाँले शब्दमा खेलिरहनुभयो, मान्नुभएन ।

कोही समलिंगी, तेस्रोलिंगी जोडी स्थानीय तहमा विवाह दर्ता गर्न जानुभयो ?

पहिला जाँदा विवाह दर्ता नभएको स्थिति छ । त्यहाँको विवाह दर्ताको फारम नै पति–पत्नी लेखेको छ, पुरुष–महिला हुनुपर्ने खालका छन् । त्यो परिवर्तन गर्नू भन्ने अदालतको आदेश पनि छैन ।

फेरि हामीलाई चाहिं सांस्कृतिक विवाह भन्दा पनि कानुनी विवाह चाहिएको हो । हामीले रिट निवेदनमा माग पनि त्यही गरेका थियौं । संघीय राजधानी भएकाले काठमाडौंको हकमा जिल्ला अदालतमा र बाँकी चाहिं उच्च अदालतमा विवाह दर्ता गर्न आदेश होस् भनेका थियौं । माग अनुसार हामी जाने त काठमाडौं जिल्ला अदालत नै हो, त्यहीं गयौं ।

२०६४ सालमा सर्वोच्चले समलिंगी, तेस्रोलिंगी समुदायका लागि विभेदकारी कानुन खारेज गर्न र विवाह सम्बन्धी कानुन बनाउन आदेश दिएको थियो । २०७४ मा मुलुकी देवानी संहिता र फौजदारी संहिता बन्यो । त्यतिबेला तपाइँहरूले कुनै पहल गर्नुभएन ?

कानुन बनाउने बेलामा समलिंगी, तेस्रोलिंगी समुदायको प्रतिनिधित्व ज्यादै महत्वपूर्ण हुँदोरहेछ । पहिलो संविधानसभामा म थिएँँ, यो आवाज एकदमै जोडका साथ उठेको थियो । त्यसपछि दोस्रो संविधानसभामा यो समुदायको कोही पनि नहुँदा पहिलो संविधानसभाले मस्यौदा गरेको हकअधिकार धेरै काटिन पुगे ।

मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी देवानी र फौजदारी कानुन निर्माण हुँदा संसदमा हाम्रो समुदायको कोही पनि थिएनौं, त्यसैले संविधानमै आएको कुरा पनि कानुनमा आएन । २०६४ सालमै सर्वोच्च अदालतले विभेदकारी कानुन हटाउनु भनेपछि समलिंगी, तेस्रोलिंगीको विवाह दर्ता हुने गरी कानुन बनाउनुपर्थ्यो ।

त्यसलाई अटेर गर्ने पुरातनपन्थी (कन्जरभेटिभ) सोच संसदभित्र देखियो । सर्वोच्चले अहिले कानुन नबनेको नाममा अन्याय गर्न पाइँदैन अस्थायी दर्ता किताब राखेर भए पनि विवाह गर्न देऊ भनेर दिएको आदेश संसदलाई झापड नै हानेको हो । अब संसदलाई लाज हुनुपर्ने हो ।

समलिंगी, तेस्रोलिंगी समुदायलाई विवाहको अधिकार किन आवश्यक छ ?

मैले यसै विषयमा बनाएको फिल्म नीलो फूल (ब्लु–फ्लावर) हालै युट्युबमा रिलिज भएको छ । फिल्ममा गाउँको एक समलिंगी पुरुष पात्रलाई जबर्जस्ती महिलासँग विवाह गराइन्छ । त्यो पुरुषले गर्न चाहन्न भनेर भाग्न खोज्दा पनि जबर्जस्ती विवाह गराइन्छ । महिलालाई चाहिं तिम्रो पुरुष समलिंगी हो भनेर भनिएको पनि हुँदैन, थाहा नदिई विवाह गराइन्छ । उनीहरूको बच्चा पनि हुँदैन, बच्चा नहुँदाखेरि समलिंगी पात्रलाई अलि कम र महिलालाई असाध्यै धेरै लाञ्छना लाग्छ ।

खासमा पितृसत्तात्मक संरचनालाई निरन्तरता दिन विपरीत लिंगीहरूबीच विवाह हुने गर्छ । त्यसबाट सबै खुशी हुँदैनन्, सबैलाई उपयुक्त हुँदैनन् । जो समलिंगी छन् उनीहरूलाई विपरीत लिंगीप्रति आकर्षण नै हुँदैन । विवाहमा न्यूनतम आवश्यकता भनेको शारीरिक आकर्षण हुनुपर्छ । पति–पत्नीमा त्यो नै नभएपछि बलजफ्ती विवाह गराएर काम छैन ।

जो व्यक्तिको आकर्षण विपरीत लिंगीप्रति छैन, समलिंगीप्रति छ, अथवा जो लिंगको हिसाबले महिला र पुरुष भन्दा फरक हुनुहुन्छ उहाँहरूले आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउनुपर्छ । विवाह भनेको केटाले केटीलाई सिन्दुर हाल्ने मात्रै होइन, दुई वटा आत्माको मिलन हुनुपर्छ ।

बहुसंख्यकले विपरीत लिंगीसँग विवाह गर्छन्, गरिराखुन् त्यसमा समस्या छैन । तर त्यसले अल्पसंख्यकलाई असर पार्नुभएन । लोकतन्त्रमा अल्पसंख्यकको पनि उसको रोजाइ र अधिकारको सम्मान हुनुपर्छ । त्यसैले यो समुदायको मान्छेले पनि रोजेको व्यक्तिसँग विवाह गर्न पाउनुपर्छ, राज्यले विभेद गर्न पाइँदैन ।

उपप्रधानमन्त्री भइसक्नुभएका कमल थापाले समेत समलिंगी विवाह विकृति हो भन्नुभयो । नेपालमा परम्परागत मान्यता पनि विवाह, यौन सम्बन्ध र सन्तान उत्पादनसँग सम्बन्धित हुन्छ भन्ने छ । समलिंगी विवाहको मान्यता चाहिं कसरी विकास भयो ?

जो पुरुष हुनुहुन्छ उहाँको महिलाप्रति रुचि छ विवाह गर्नुभयो । त्यो उहाँको प्रकृतिको कुरा हो । समलिंगीहरूको पुरुष समलिंगी भए महिलाप्रति, महिला समलिंगी भए पुरुषप्रति रुचि नै हुँदैन, अर्थात् हाम्रो प्रकृति अलग छ । बहुसंख्यक विपरीत लिंगीप्रति आकर्षित हुन्छन्, विवाह गर्छन्, आपसमा सम्बन्ध हुन्छ, त्यसपछि बच्चा जन्मिन्छ ।

हामीहरूको प्रेम हुन्छ, शारीरिक सम्बन्ध हुन्छ, त्यसबाट बच्चा जन्मिंदैन । विपरीत लिंगीको पनि कति कारणले बच्चा हुँदैन, तैपनि विवाह भइरहेको हुन्छ । मानिसको निश्चित उमेर अगाडि बच्चा हुँदैन र निश्चित उमेरपछि पनि बच्चा हुँदैन, त्यसपछि श्रीमान्–श्रीमती अलग हुने त ? विपरीत लिंगी पनि कतिपयको बच्चा हुँदैन, नहुनेले के गर्ने ? त्यसैले बच्चाका लागि मात्र विवाह हुँदैन ।

हाम्रो धर्मशास्त्रमा समलिंगी विवाहको उदाहरण प्रशस्तै छन् । धर्मयुद्ध जित्नका लागि पाण्डवहरूका लागि राजकुमार अर्बानले आफूलाई बलि चढाउनुपर्ने हुन्छ । ऊ १६ वर्षको पनि भएको हुँदैन । अर्बानले म धर्मयुद्धको जितका लागि बलि चढ्न तयार छु, तर मेरो अन्तिम इच्छा विवाह सुख भोग्न चाहन्छु भन्छन् । भोलि मृत्यु हुने राजकुमारका लागि राजकुमारी कोही पनि नपाएपछि कृष्ण भगवान आफैंले स्त्रीको रूप लिएर अर्बानसँग विवाह गर्छन्, अनि उसको बलि चढाइएपछि तीन दिनसम्म विधवा भएको कहानी छ । त्यही कहानीमा आधारित भएर अहिले पनि भारतको तमिलनाडुको कोगाबाम भन्ने गाउँमा हरेक वर्ष मेला लाग्छ । तेस्रोलिंगी हिजडाहरू जानुहुन्छ त्यहाँ ।

त्यस्तै विष्णुले मोहिनी रूप लिएपछि, भष्मासुरलाई मारिसकेपछि शिवसँग मोहित भएपछि शिव र मोहिनीको समागम हुन्छ र हरिहरपुत्र जन्मिन्छन् । यस्ता धेरै कथा छन्, समलिंगी तेस्रोलिंगी विवाह नयाँ कुरा होइन । अहिले आएर सम्बन्धहरूलाई अधिकारसँग, कानुनसँग जोडियो । बहुसंख्यकले मात्र पाउने अल्पसंख्यकले नपाउने भन्ने त भएन, राज्यले तिमीहरू अल्पसंख्यक भयौ, यो अधिकार पाउँदैनौं भन्न मिलेन ।

पितृसत्तात्मक धर्मका ठेकेदारहरूले समलिंगी विवाहको विरोध गरेका छन् । क्रिश्चियन धर्मले पनि गर्छ, इस्लाम, हिन्दु, बौद्ध, जैन धर्म सबै पितृसत्तात्मक सोच भएका धार्मिक संगठनले समलिंगी, तेस्रोलिंगी समुदायको विवाहको विरोध गर्छन् । किनभने पितृसत्ता निरन्तरता पाउनका लागि पुरुषले आफू जस्तै पुरुषहरूको जमात जन्ती लिएर अर्को गाउँबाट महिलालाई आफ्नो प्रभाव क्षेत्रमा ल्याउनुपर्छ ।

त्यसपछि कम्तीमा एक वर्ष आफ्नो नियन्त्रणमा राख्नुपर्छ । भविष्यमा जन्मिने बच्चा, त्यो पनि छोरा हुनुपर्छ । ताकि भविष्यमा उसले डिक्लियर गर्न सकोस् कि यो बच्चा मेरो वंश हो । यो पितृसत्ताले डिजाइन गरेको हो । समलिंगी, तेस्रोलिंगी विवाहको विरोध भएको त्यही कारण हो । विकृति भनिएको कारण पनि त्यही हो, कहाँ छ विकृति ?

अर्को भ्रम चाहिं समलिंगी विवाह गर्न दियो भने सबै विपरीत लिंगी जोडीले पनि पतिले पत्नीलाई छोड्छ र आफू जस्तै केटा खोज्न थाल्छ, पत्नीले पनि आफ्नो पतिलाई छोड्ने भन्ने हुन्छ । विवाह नगर्ने जोडीले महिला–पुरुषबीच विवाह नै गर्न नचाहने केटाले केटा खोज्ने, केटीले केटी खोज्ने मात्र हुन्छ बच्चा नै जन्मिंदैन, सृष्टि नै हुँदैन भन्ने ठूलो भ्रम फैलाइएको छ ।

जो आफैं विपरीत लिंगीप्रति आकर्षित हुनुहुन्छ, उहाँहरूले पहिलेदेखि विपरीत लिंगीमै विवाह गरिरहनुभएको छ त्यो त निरन्तर रहिहाल्छ । इच्छा नभई विपरीत लिंगीमा विवाह गराएर समलिंगीहरूको जीवन किन बर्बाद गर्ने ? उहाँहरूसँग जोडिएर आउने महिला र पुरुष जो हुनुहुन्छ उहाँहरूलाई त शारीरिक रूपमा पनि आकर्षित हुने मान्छे चाहिएको हो नि त ! किन उहाँहरूको जिन्दगी बर्बाद गर्ने भनेर सोचिंदैन ।

समलिंगीहरूले विवाह गर्दा विपरीत लिंगीलाई जबर्जस्ती हुँदैन । तर, विपरीत लिंगीको विवाह हुँदा समलिंगीहरूको जबर्जस्ती विवाह भएको छ । त्यसको अन्त्य हुनुपर्छ ।

सर्वोच्चको आदेशपछि भविष्यमा समलिंगी, तेस्रोलिंगी विवाहले कानुनी मान्यता पाउला । यसरी समलिंगी, तेस्रोलिंगी विवाह सहज हुँदा समाजलाई के फाइदा हुन्छ ?

एउटा त नेपाल एकदमै स्वतन्त्र, उदार, मानवअधिकारलाई सम्मान गर्ने देश रहेछ भनेर नेपालको छवि राम्रो हुन्छ । पर्यटन प्रवद्र्धन पनि हुने मैले देखेको छु । अहिले विपरीत लिंगी विवाह हुँदा नेपाली नागरिकले मात्र होइन विदेशी नागरिकले पनि आएर विवाह गरिरहेका छन् । आवश्यक कागजपत्र पूरा गरेकाहरूले निश्चित शुल्क तिरेर विवाहको प्रमाणपत्र लिएर गइरहेका छन् ।

विश्वमा समलिंगी, तेस्रोलिंगी विवाहलाई कानुनी मान्यता दिने देशहरू कम छन् । हाम्रोमा सहज भयो भने यहाँ आएर विवाह गर्न चाहने, हनिमुन मनाउन चाहने जोडीलाई हामीले स्वागत गर्न सक्छौं । यसले पर्यटन प्रवद्र्धन हुनसक्छ । फेरि विपरीत लिंगीहरूप्रति परिवारका लागि, बच्चाका लागि धेरै खर्च गर्नुपर्ने भएकाले उहाँहरूले भन्दा समलिंगी जोडीहरूले धेरै खर्च गर्ने विदेशमा भएका अध्ययनहरूले देखाएका छन् ।

बच्चाका लागि खर्च गर्नु नपर्ने हुनाले उनीहरूसँग पैसा पनि धेरै हुन्छ । विवाहसँगै जोडेर नेपाल सरकारले समलिंगी जोडीलाई विवाह गर्न स्वागत गर्छाैं भनेर भिसा निःशुल्क दिने वा यस्तै कुनै घोषणा गर्न सक्छ, वा स्वागत मात्र गरे भयो ।

विवाह गर्ने भनेपछि अरू सामान्य पर्यटकले भन्दा बढी खर्च भइहाल्छ । भोज हुन्छ, पोशाकहरूको किनबेच हुन्छ, फूल लगायत सजावटका सामान, मदिराहरूको किनबेच बढ्छ । खानाको लागि महँगो प्याकेजहरू बन्न सक्छ । यसले त्यो समलिंगी, तेस्रोलिंगी समुदायलाई रोजगारी पनि सिर्जना गर्छ ।

अर्को कुरा यस्तो जोडी बनेर बसेकाहरू ढुक्क हुनसक्छन् । कानुनी हिसाबले पनि जोडी स्थापित भयो भन्दा चिन्ता हुँदैन, मानसिक स्वास्थ्य राम्रो हुन्छ । अहिले त विवाह दर्ता हुँदैन, जीवनभर सँगै बसेकाहरूले मरेका बेला दागबत्ती दिन पाउँदैनन् । परिवारले आएर खोसिदिन्छ । दुःखजिलो गरेर कमाएको सम्पत्ति मरेपछि आफ्नो जीवनसाथीलाई दिन पाइँदैन । कसैलाई परिवारले घरबाट निकालेको होला, गाली गरेको होला उही आएर सबै सम्पत्ति लैजान्छ ।

कोही दुर्घटनामा पर्ला, कोमामा जानुपर्ला, आफ्नो निर्णय आफैं गर्न नसकेका बेला उसको तर्फबाट जीवनसाथीले निर्णय गर्न पाउँदैन, डाक्टरलाई यस्तो उपचार गरिदेऊ भन्न पाउँदैन, परिवारलाई कुर्नुपर्ने हुन्छ । यो खालका धेरै समस्या हामीले देखेका छौं । मरिसकेपछि लास उठाएर अन्तिम काजक्रिया पनि गर्न नदिएको उदाहरण छ । विवाहले कानुनी मान्यता पाएर सम्बन्धको स्थायित्व छ भन्ने भयो भने ढुक्क हुन्छ ।

समलिंगी, तेस्रोलिंगी समुदायले भोग्ने समस्या विवाह मात्रै हो कि अरू पनि छन् ?

अहिले यो समुदायलाई आरक्षण दिइएको छैन, समावेशी नहुँदाखेरि अहिलेको निजामती सेवामा खुलेर आएको एक जना पनि हुनुहुन्न, यो खालको बहिष्करण छ । राजनीतिमा पनि म पहिलो संविधानसभामा सदस्य भएँ । त्यसअघि पनि कोही भएन, पछि पनि भएन । खुलेर आउने वातावरण नभएका कारण ।

जनगणनाले पनि यो समुदायलाई राम्रोसँग गन्न सकेन, २०७८ को जनगणनामा जम्मा २९२८ जना छन् भन्ने तथ्यांक आएको छ । जनगणनाले तेस्रोलिंगीको सानो संख्या मात्र गन्न सक्यो, समलिंगी महिला, पुरुष पनि गन्न सकेन जो अलि धेरै ठूलो संख्यामा हुन्छन् ।

निजी क्षेत्रमा पनि रोजगारीको अवसर छैन । स्कुलमा पढ्ने वातावरण राम्रो छैन, शिक्षकहरूले जिस्क्याइदिन्छन्, अरूले पनि जिस्क्याइदिन्छन् र सानैमा स्कुल छोड्ने गरेको पाइएको छ । गाउँतिर बस्न गाह्रो हुन्छ, हाउभाउ अलि भिन्न हुँदैमा छक्का, हिजडा भनेर गाली गर्ने चलन छ । कसैको मेन्टल हेल्थ यसरी डिस्टर्ब भएको हुन्छ, तैपनि गाली गर्न छोड्दैनन् मान्छेहरूले । त्यसपछि गाउँ छोडेर आउनुपर्‍यो । त्यसैले आफ्नो प्रगति गर्न स्थापित हुन पनि यो समुदायलाई गाह्रो छ ।

पेशा व्यवसाय वा रोजगारीमा स्थापित भएका यो समुदायका व्यक्तिहरू कत्तिको हुनुहुन्छ ?

मेक अप आर्टिस्ट, मोडल भएर राम्रो काम गरेकाहरू छन् । धनी परिवारमा जन्मेका र परिवारले स्वीकारेका र व्यापारमा स्थापित भएका पनि छन् । तर अधिकांश तेस्रोलिंगीलाई जीविकोपार्जन गर्नै कठिन छ । दुई चार सय जना यौन पेशामा पनि लागेका छन् । जीविकोपार्जनको अर्को उपाय नभएपछि यौन पेशामा लाग्न बाध्य छन् ।

यो कुरा सरकारलाई पनि थाहा छ । पुलिसलाई पनि थाहा छ । अहिलेको काठमाडौंको मेयरलाई पनि थाहा छ । त्यसैले पुलिसले लखेट्ने, उनीहरू भाग्ने, समातेको जस्तो गर्ने, फेरि छोड्ने, मिलेमतोमा काम पनि हुने, यो खालको असमञ्जस्यको स्थिति छ । यो क्रम वर्षौंदेखि चलिरहेको छ । यसलाई व्यवस्थित गर्ने हो भने निश्चित क्षेत्र तोकिदिनुपर्छ । नभए प्रतिबन्ध लगाउने हो भने अर्को केही उपाय गरिदिनुपर्‍यो ।

घरपरिवारले पनि बस्न दिंदैन, कहाँ जाने भन्ने सवाल छ । सीप धेरै छैन, सानै उमेरमा बहिष्करणमा परेको हुनाले । काठमाडौंको मेयर बालेन शाहले अरू धेरै सुधार गर्नुभएको छ, त्यसैले यो विषयमा पनि गम्भीर ध्यान दिएर बरु एउटा एरिया नै छुट्याइदिए सबैभन्दा राम्रो हुन्थ्यो ।

समलिंगी, तेस्रोलिंगीमाथि गर्ने सामाजिक व्यवहार चेतनासँग जोडिएको हुन्छ । आरक्षणको व्यवस्थाले मात्रै यो समुदायको उत्थान हुन सक्ला ?

पहिलो कुरा आरक्षणले विस्तारै समावेशिताको ढोका खोल्छ । त्यसपछि छिःछिः–दुर्दुर् गर्नेहरू पनि साथी र सहकर्मी हुन्छन् । बुझ्ने वातावरण बन्दै जान्छ, यिनीहरू पनि हामी जस्तै मान्छे रहेछन्, हाम्रो जस्तै अनुभूति हुँदोरहेछ भन्ने हुन्छ । त्यसपछि जो सरकारी निकायमा पुग्छन्, अरूहरूका लागि प्रेरणाको स्रोत बन्छन् । हामी पनि अलिकति पढ्न लेख्न सक्यौं भने हुने रहेछ । हामी जस्तो मान्छेले पनि सरकारी काम गर्न सक्ने रहेछौं भन्ने हुन्छ ।

नत्र भने अति नै सीमान्तकृत बनाइएको समुदायलाई आरक्षण दिइएन भने सामाजिक वातावरण नहुँदा उनीहरू प्रतिस्पर्धामा आउन सक्दैनन् । आरक्षण पनि जति उदार बनेर आयो त्यति चाँडो मूलधारमा आउँछन् । यो समुदायले विभेदरहित समाजमा आफ्नो उन्नति प्रगति गर्न अरूसरह पाउने भएको भए त आरक्षणको आवश्यकता नै पर्दैनथ्यो, आफैं भइहाल्थ्यो, समाजलाई, राज्यलाई योगदान गथ्र्यो । अहिले त उनीहरू बोझ जस्तो बनेका छन् । उनीहरू उत्पादनमूलक हुन सक्दैनन्, समाजलाई योगदान दिन समाज र राज्यले नै रोकिरहेको छ ।

आरक्षणले उसको सिर्जनात्मक क्षमतालाई एक खालको वातावरण बनाइदिने हो । धेरैलाई आरक्षण भनेको आफ्नो खल्तीको भाग सेयर गरेको जस्तो लाग्छ, त्यो हुँदै होइन । उसलाई पनि राज्यको मूलधारमा आएर केही गर्ने वातावरण बनाइदिने हो । यसले त समाजलाई नै योगदान हुने हो, काम गरेपछि उसले पनि कर तिर्छ, तर राष्ट्रिय पूँजी निर्माणमा त्यो समुदायलाई आउन दिइरहेको छैन, यसको घाटा राज्यलाई नै छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर ।



source https://www.onlinekhabar.com/2023/07/1342555

धनगढीमा अवैध क्लिनिक चलाउने ४ जना पक्राउ

१२ साउन, कैलाली । धनगढीमा अवैध रूपमा क्लिनिक सञ्चालन गरेका चार जना पक्राउ परेका छन् ।

बिहीबार प्रदेशकाे सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयकाे संयुक्त टाेलीले धनगढी उपमहानगरपालिका-२ र ३ बाट अवैध मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले बताए ।

उनकाअनुसार वडा नम्बर ३ मै सञ्चालन गरिएकाे फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र वडा नम्बर २ मा रहेकाे रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

उनीहरूले प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1342601

गिद्धको इतिवृत्त पुस्तकमा

कतिपय वन्यजीवहरु यस्ता छन् जसलाई मानिसले घृणा, भय, हिंश्रक तथा हेयको विम्ब भिराइदिएको हुन्छ । मिथक, अन्धविश्वास तथा किम्वदन्तीका कथानकहरुको टेकोमा नकारात्मकताको पर्याय बनाइएका अभागी वन्यजीव मध्ये गिद्ध पनि एउटा हो भन्दा फरक पर्दैन । सायद हाम्रो समाजमा यस्ता कुनै मान्यता, परम्परा तथा व्यवहारहरु छैनन् जसले गिद्धलाई राम्रो तथा असल रुपमा प्रस्तुत गरेको होस् । कसैलाई गलत नजरले हेर्नुलाई ‘गिद्धे दृष्टि’ भनिन्छ जबकि गिद्धले जिउँदो जीवमाथि कहिल्यै पनि आँखा लगाउँदैन र केवल मरेको सिनो मात्रै खान्छ ।

चलचित्र ‘लुट’को एउटा चर्चित संवाद छ ‘काठमाडौं शहर, हेर्दा लाग्छ रहर, साला गिद्धै गिद्धको शहर’ । यो संवादमा पनि गिद्धलाई नराम्रो ढंगले चित्रित गरिएको छ । सायद गिद्धप्रति मानिसको यस्तै नकारात्मक व्यवहारका कारण गिद्धैगिद्धको सहर भनिएको काठमाडौंबाट गिद्धहरु करीब लोप नै भैसकेका छन् भन्ने कुरा चलचित्रको कथाका लेखकलाई सायद थाहा नहोला ।

गिद्ध देख्दा आकर्षक हुँदैन र यो मानिससँग नजिकिने खालको मायालु व्यवहारको पनि हुँदैन । वास्तवमा जनावरको सिनोलाई आहारा बनाउने गिद्धको त्यही खाद्य व्यवहार नै गिद्धप्रति आम मान्छेको धारणा नकारात्मक बनाउने र उसलाई फोहोर, अशुद्धि र अपसकुनको प्रतीकको रुपमा हेरिने प्रमुख कारक तत्व हो । तर सिनो खाने गिद्धको त्यही बानी नै पर्यावरण चक्रको सन्तुलनमा कति महत्वपूर्ण हुन्छ भन्ने कमैलाई थाहा छ । गिद्धबारे आम सर्वसाधारणमा जानकारी तथा चेतनाप्रवाहका साथै गिद्धको संरक्षण र अनुसन्धानको काममा डेढ दशकयता अहोरात्र खटिएका छन् पंक्षविद् कृष्णप्रसाद भुसाल । गिद्धविज्ञको पहिचान बनाएका उनै भुसालले गिद्धका गुत्थी पर्गेल्दै तयार पारेको ‘गिद्धः प्रकृतिका कुचिकार’ शीर्षकको पुस्तक हालै बजारमा आएको छ ।

कुलचन्द्र अर्याल

वास्तवमा गिद्ध कुनै अपसकुनयुक्त, हिंश्रक, घृणित तथा खराब पंक्षी होइन । मरेका जनावरको सिनो तथा फ्याँकिएका अन्य मासुजन्य फोहर पदार्थलाई खाइदिएर गिद्धले हाम्रो वरपरको वातावरणलाई प्रदूषित र दुर्गन्धित हुनबाट रोक्नुका साथै रोगमुक्त बनाउन पनि मद्दत गर्छ । त्यसैले जीव वैज्ञानिकहरु गिद्धलाई ‘प्रकृतीको कुचिकार’ भन्दछन् जसले प्रकृतिमा रहेका फोहोर अवशेषलाई सफाचट् पारिदिन्छ ।

पुस्तकमा चिन्ता व्यक्त गर्दै लेखक भुसाल भन्छन्– तीन दशक अघिसम्म लाखाँैको संख्यामा पाइने गिद्ध पछिल्ला दशकहरुमा मानवीय कारणले नै लोप हुने अवस्थामा पुगेका छन । गिद्ध लोप हुँदै जाँदा पर्यावरणीय सन्तुलनमा खलबली आएको छ र अन्ततः यसको असर मानव समुदायलाई नै परेको छ ।

एकसय पृष्ठको यो पुस्तक दुई खण्डमा विभाजन गरिएको छ । गिद्ध संरक्षण सचेतनाको प्रचारप्रसारका साथै संरक्षणमा आम जनसमुदाय र सरोकारवालाहरुलाई गोलबन्द गर्न र नयाँ पुस्तालाई गिद्धको अध्ययन तथा संरक्षणमा उत्पे्ररित गर्ने उद्देश्यका साथ पुस्तक तयार पारिएको बताउँछन् भुसाल ।

पुस्तकको पहिलो खण्डमा लेखकले गिद्धको परिचय, महत्व, पछिल्लो तीस वर्षको सिंहावलोकनका साथै गिद्ध संरक्षणको क्षेत्रमा नेपालमा भए गरेका प्रयासहरुबारे व्याख्या गरेका छन् । यो खण्डमा गिद्ध प्रजातिको उत्पत्ति, यसको भौगोलिक वितरण तथा फैलावट, गिद्ध संरक्षणका विषयमा विश्वव्यापी अवस्थाका साथै गिद्धका विशेषता, आनिबानी र प्रजननका विषयमा पनि मिहीन ढंगले यो खण्डमा प्रकाश पार्ने काम लेखकले गरेका छन् ।

डेढ दशकदेखि गिद्धको संगतमा रहेका भुसालले दोस्रो खण्डमा आफ्नो भोगाइ, सिकाइ र स्मरणहरु पस्किने काम गरेका छन् । आफ्नो जन्म जिल्ला अर्घाखाँचीको घेरालेक भन्ने अक्करे पहाडबाट गिद्ध अध्ययन–अनुसन्धानको काम सुरु गरेका भुसालले गिद्ध लगायतका विभिन्न पंक्षीहरुको वैज्ञानिक शोध तथा प्रशिक्षणको कामलाई केवल देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगतसम्म पनि फैलाइसकेका छन् ।

पुस्तकमा लेखकले आफ्नो गिद्धको अध्ययनका अनुभवहरु, फिल्डका भोगाइ, सिकाइ र संस्मरणहरुलाई जीवन्त ढंगले पस्किएका छन् । अर्घाखाँची जिल्लाको पश्चिमी गाउँमा गिद्ध लखेट्दै बिताएका लेखकका बाल्यकालका अनुभूतिहरु पढ्दा गाउँमा हुर्किएको जोकोही पाठक नोस्टाल्जिक हुन्छ ।  गिद्धको अनुसन्धान र संरक्षणकै सिलसिलामा देशका बिभिन्न भू–भाग र समुदायमाझ पुग्दाका रोचक र अनुकरणीय संस्मरणले पुस्तकलाई झनै पठनीय बनाएको छ ।

रंगीन पृष्ठहरु तथा विषयवस्तुसँगै दिइएका गिद्धसँग सम्बन्धित आकर्षक तस्वीरहरुले पुस्तकलाई तथ्यपरक तथा ओजपूर्ण बनाउने काम गरेका छन् । पाँच सय पचास रुपैयाँ मूल्य तोकिएको यो पुस्तकको बिक्रीबाट संकलित रकमलाई पनि गिद्धको अनुसन्धानमै खर्च गर्ने लेखक भुसालको सोँच छ ।

उनले पुस्तकबाट उठेको रकम गिद्ध अनुसन्धानमा इच्छुक विद्यार्थीहरुलाई अनुसन्धान वृत्तिको रुपमा उपलब्ध गराउने घोषणा पनि गरेका छन् । गिद्धको अनुसन्धान र संरक्षणका कार्यक्रमहरु मूूलतः बिदेशी दातृसंस्थाको सहयोगमा सञ्चालन भइरहेको यथार्थबाट परिचित भुसालले आफ्नो अनुसन्धानमूलक सिर्जनाको मूल्यलाई थप अनुसन्धानमा खर्चिने पहल गर्नु सह्रानीय काम हो ।

विगतमा वातावरण सम्बन्धी अखबारी लेखनमा आफूले सहयोग तथा सहकार्य गरेका सहपाठी मित्रले लामो तथा गहन अनुसन्धानबाट प्राप्त ज्ञानको पेटारोलाई समीक्षाका लागि पोल्टामा हालिदिँदा गर्वले छाति चौडा मात्र भएन मित्रवत सम्बन्धको बोझले पुस्तकको तटस्थ समीक्षामा प्रभाव पर्ने डर पनि पलाइरह्यो । राष्ट्रिय पत्रपत्रिकाहरुमा नियमित आलेखहरु लेखिरहने तथा देशका कुनाकाप्चाका मानिसका मनहरु छामेका लेखक मित्रले अनुसन्धानमा आधारित यो पुस्तकलाई क्लिष्टताभन्दा पर राखेर आमजनमानसले बुझ्ने भाषाशैलीमा प्रस्तुत गर्न सफल भएका छन् भन्नका लागि कन्जुस्याइँ गर्नु पर्दैन । विज्ञान तथा पर्यावरण सम्बन्धी अनुसन्धानमूलक अधिकांश किताबहरु अंग्रेजी भाषामा हुने र नेपाली आम सर्वसाधारणलाई गुह्य कुरा नै बुझ्न गाह्रो हुने गरेकोमा नेपाली भाषामा निकै सरल तथा सरस तरिकाले लेखिएको यो पुस्तक विद्यालय तथा समुदायतहसम्मै पुर्याउन सकियो भने गिद्ध सम्बन्धी सचेतना बढ्नुका साथै गिद्ध संरक्षणमा टेवा पुग्ने देखिन्छ ।

कतिपय मुद्राराक्षसगत त्रुटीका साथै शुद्धाशुद्धि, शब्द चयन र शब्द संयोजनका कतिपय सीमिततताका बाबजुत हिमाली अनुसन्धान केन्द्रले प्रकाशन गरेको यो पुस्तकलाई एउटा उत्कृष्ट अनुसन्धानमूलक कृति मान्न सकिन्छ । अतः युवा प्राणीशास्त्री तथा पंक्षीविद् कृष्ण प्रसाद भुसालको ‘गिद्धः प्रकृतिका कुचिकार’ पुस्तकको सफलताको कामना गर्दछु ।



source https://www.onlinekhabar.com/2023/07/1342570

झापामा भारी वर्षा, बिहान ७ बजेसम्म सतर्कता अपनाउन आग्रह

१२ साउन, काठमाडौं । झापामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका दमक, उर्लाबारी, शनिश्चरे र चन्द्रगढी भारी वर्षा भएको हो ।

महाशाखाले आज बिहान ६ बजे सूचना जारी गर्दै पछिल्लो तीन घण्टायता भारी वर्षा भएको उल्लेख गरेको छ । वर्षाका कारण बिरिङ, रतुवा लगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले आज बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



source https://www.onlinekhabar.com/2023/07/1342568

कहाँ हरायो खेलाडीको पुरस्कार रकम ?

११ साउन, काठमाडौं । नेपालले यूएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टिमका प्रत्येक खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गर्यो ।

पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका हरेक सदस्य जनही ३ लाख रुपैयाँको हकदार भए । त्यसमाथि क्रिकेट संघ, प्रदेश सरकार र स्थानीय पालिकाहरूले पनि आफ्नो क्षेत्रका क्रिकेटरहरूका लागि नगद पुरस्कार घोषणा गरे ।

क्रिकेट संघले पनि खेलाडीलाई आफ्नो बैंक खाता उपलब्ध गराउन आग्रह गर्यो । १७/१८ वर्षका खेलाडीमध्ये कतिको आफ्नो बैंक खाता थिएन । उनीहरूले हतार–हतार खाता खोले । आफ्नो स्थायी लेखा नम्बर (प्यान) पनि बनाए ।

कतिपयले वैदेशिक प्रशिक्षणका लागि भारत जाने योजना बनाए । किनकि यो भविष्यका लागि आफैंमाथि लगानी गर्ने समय पनि थियो । तर सरकार र क्रिकेट संघले अहिलेसम्म पुरस्कार रकम उपलब्ध गराउन सकेको छैन । ‘प्यान पनि बनाइयो, खाता नम्बर पनि पठाइयो तर पैसा आएन’ यू–१९ का एक क्रिकेटर भन्छन्, ‘पैसा आए भारत जाने भनेको हो, अहिलेसम्म पैसा नै आएको छैन ।’

प्रशिक्षणका लागि भारत पुगिसकेका यू–१९ टिमका एक क्रिकेटर पनि पाउनुपर्ने पुरस्कार रकम उपलब्ध भए निकै सहज हुने सुनाउँछन् । भन्छन्, ‘पैसाको निकै खाँचो परेको छ । आउनुपर्ने पैसा आइदिए कति सहज हुन्थ्यो !’

मासिक ४५ हजार भारु तिरेर भारतमा प्रशिक्षण लिइरहेका अर्का क्रिकेटरका अनुसार पुरस्कार रकम आउँछ भनेपछि परिवारले खर्च जुटाएर पठाएको थियो । ‘अब त घरमा भन्न गाह्रो भइसक्यो’ उनले भने, ‘सरकारले पैसा दिन्छ भनेर घरमा भनेको थिएँ । पैसा आयो भनेर सोध्नुहुन्छ, मसँग जवाफ हुन्न ।’

संघदेखि अर्को संघ, मन्त्रालय र सरकारी कारबाही भन्दै हालसम्म पनि तोकिएको रकम नपाउँदा खेलाडीमा नैराश्यता बढेको पाइन्छ । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकपमा छनोट भएर फर्किएका खेलाडीको नामावली कार्यसूची अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा पठाएको तीन महिना बढी भइसक्यो । तर पनि रकम भने खेलाडीको खातामा पुग्न सकेको छैन ।

मलेसियामा सम्पन्न एसीसी इष्ट जोन कप जितेको यू–१६ टिमले सरकारी निर्देशिका अनुसार ३ लाख र क्रिकेट संघले घोषणा गरेको ५० हजार गरी ३ लाख ५० हजार पाउन पनि बाँकी छ ।

उमेर समूह मात्र होइन, सिनियर टिमको अवस्था पनि उही छ । आईसीसी क्रिकेट लिग टूको शीर्ष ३ मा पर्दै विश्वकप छनोटमा स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई मात्र दिएनन्, जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा गरे । पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका सदस्यहरूले जनही ६ लाख रुपैयाँ पनि पाउनुपर्ने हो ।

प्रधानमन्त्री प्रचण्डसँग विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली ।

वैशाखमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एशिया कपमा स्थान बनायो, २० वैशाखको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गर्यो । यो रकम पनि खेलाडीहरूले पाएका छैनन् । सिनियर टिमका एक सदस्य भन्छन्, ‘घोषणा भयो भन्ने सुनिन्छ, हातमा परेको छैन । हामीलाई पुरस्कार भन्दै कति घोषणा गरियो भन्ने याद हुन छाडिसक्यो ।’

समग्रमा पुरुषको सिनियर टिमका रेगुलर खेलाडीले कम्तीमा पनि जनही १५ लाख रुपैयाँ पाउनुपर्ने हुन्छ । एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका जानुअघि कप्तान रोहित पौडेलले पुरस्कार रकम नपाएको गुनासो गरेका थिए । सबै खेलाडी आर्थिक रूपमा सम्पन्न नभएको भन्दै उनले भनेका थिए, ‘जसरी फुटबलमा खेलाडी पलायन भइरहेका छन् त्यो अवस्था क्रिकेटमा नआओस् !’

महिला टिमले गत जेठमा मलेसियासँग सिरिज जितेर आएकाले कार्यनीति अनुसार पुरस्कारको हकदार हुन् ।

कुनै प्रतियोगिता जिते वा सफलता पाए हतारमा पुरस्कार घोषणा गर्ने तर घोषणा अनुसार रकम दिन चाहिं आनाकानी गर्दा खेलाडीमा निराशा बढ्दो छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भने पुरस्कार घोषणा हुने र समयमा नपाउने थिति पुरानै भएको बताउँछन् ।

आठौं साफमा मेडल जित्दा घोषणा भएको पुरस्कार रकम दुई वटा सरकार परिवर्तन भएपछि पाएको स्मरण गर्दै उनले भने, ‘घोषणा भएको पुरस्कार पाउन संघर्ष गर्नुपर्ने स्थिति अझै परिवर्तन हुनसकेको छैन ।’ तर नियमनकारी निकायदेखि मन्त्रालयका अधिकारीहरू भने रेडिमेट जवाफ दिएर पन्सिन्छन् ।

क्रिकेट संघदेखि मन्त्रालयसम्मको गोलचक्कर

पुरस्कार घोषणा गर्न जति सजिलो छ, घोषित रकम पाउन भने त्यति नै गाह्रो । किनकि सरकारी प्रक्रिया लामो छ । कार्यविधि अनुसार पुरस्कार रकमका लागि सम्बन्धित खेल संघले खेलाडीहरूको नामावली राखेपमा पठाउँछ । राखेपबाट विवरण रुजु भई मन्त्रालय जान्छ । मन्त्रालयबाट मन्त्रिपरिषद्मा जान्छ, त्यसबाट स्वीकृत भएपछि रकम निकासाका लागि अर्थ मन्त्रालय पुग्छ । अर्थले बजेट निकासा गरेपछि मन्त्रालय हुँदै राखेप र सम्बन्धित संघमा आइपुग्छ । त्यसमाथि सम्बन्धित निकाय एकअर्कालाई देखाएर पन्छिने गर्दा पनि थप समय लाग्ने गरेको छ ।

क्रिकेट संघका अधिकारीहरू पनि आफूहरूले समयमै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नाम पठाएको बताउँछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार विश्वकपमा छनोट भएको यू–१९ टिमका खेलाडीहरूको बैंक खाता र प्यान नम्बर संकलन गरेर तत्काल पठाइएको थियो । त्यसपछि सिनियर टिम, महिला टिम र यू–१६ टिमको नाम परिषदमा पठाइसकेको भन्दै उनले भने, ‘पटक पटक राखेप पनि धाएका छौं । तर सरकारी लामो प्रक्रियाका कारण हामीले खोजेको उत्तर पाएका छैनौं ।’

राखेपका शाखा प्रमुख चन्द्र राई पनि क्रिकेट संघबाट आएको यू–१९ र सिनियर टिमका खेलाडीहरूको नामावली युवा तथा खेलकुद मन्त्रालय पठाइएको बताउँछन् । ‘हामीले यू–१९ को सबभन्दा पहिला पठाएका हौं’ उनले भने, ‘क्यानबाट आएको नामावली र आवश्यक कागजपत्र जोहो गरेर चैतमै पठाएका हौं ।’

महिला र यू–१६ टिमको नामावली भने पठाउन बाँकी छ । ‘महिला र यू–१६ टिमका सदस्यहरूको नामावली आइपुगेको छ’ पुरस्कार तथा सम्मान कार्यविधि पहिलो पटक अभ्यासमा आएकाले पनि समय लागेको भन्दै राखेपका शाखा प्रमुख राईले भने, ‘कागजात रुजु गरेर खेलकुद मन्त्रालय पठाउने तयारीमा छौं ।’

मन्त्रालयका प्रवक्ता तथा सहसचिव कुमारप्रसाद दाहाल भने यू–१९ टिमका सदस्यहरूको किटानी भएर नामावली नै नआएको बताउँछन् । यसका साथै गत आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट पैसा भुक्तानी हुन पनि ढिला भएको उनको दाबी छ । ‘अहिले पैसा व्यवस्थापन भइसकेको छ, तर व्यक्ति नतोकिएकाले पुरस्कार रोकिएको हो’ उनले भने, ‘सम्भवतः यो महिनाभित्र खेलाडीलाई दिन्छौं ।’

खेलाडी संघका अध्यक्ष श्रेष्ठ भने सरकारको व्यवहारले खेलाडीलाई मानसिक रूपमा असर गर्ने बताउँछन् । ‘प्रोत्साहन गर्ने भनेर घोषणा भएको पुरस्कार नपाएपछि विस्तारै त्यसले औचित्य नै राख्दैन’ उनले अघि भने, ‘मेडलसँगै नगद दिने वातावरण बनाए भावी पुस्तालाई खेलकुदमा लाग्न प्रोत्साहन मिल्छ ।’



source https://www.onlinekhabar.com/2023/07/1342224

Wednesday, 26 July 2023

९ लक्षण, जसले ब्रेन क्यान्सर हुन सक्ने संकेत दिन्छन्

मस्तिष्कमा अनियन्त्रित रुपमा कोषिकाहरुको वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, विनाइन र मिलिग्नेन्ट ।

विनाइल नफैलिने खालको हुन्छ । यसले क्यान्सर गराउँदैन । तर मिलिग्नेट ट्युमर भने मस्तिष्कमा फैलिने भएकाले यसले ब्रेन क्यान्सर गराउँछ । त्यसैले मिलिग्नेट ट्युमर आउनु ब्रेन क्यान्सरको जोखिम हुनु हो । यो रोगप्रतिरोधात्मक क्षमता कम भएका र वृद्ध उमेरका व्यक्तिमा धेरै हुन सक्छ ।

ब्रेन क्यान्सर हुनुमा यही कारण भन्ने छैन । कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुन सक्छ भने कुनै विकिरण वा रेडिएसनमा एक्सपोज हुनाले पनि हुन सक्छ । धुम्रपान, मदिरापान र प्रदूषण पनि यसका कारण हुन सक्छन् । सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्ण रुपमा निको पार्न सकिन्छ ।

ब्रेन क्यान्सरका लक्षणहरु

१. टाउको दुख्ने

टाउको दुख्नु ब्रेन क्यान्सरको एक लक्षण हो । सुरुवाती अवस्थामा बिहान उठ्ने बित्तिकै टाउको दुख्छ भने पछि लगातार दुख्ने हुन्छ ।

२. बान्ता हुने

टाउको दुखेर बान्ता पनि हुन सक्छ । खाना खान मन नलाग्ने पनि हुन्छ । सुरुमा यो लक्षण पनि बिहानको समयमा देखिने भए पनि बिस्तारै यो समस्या बढ्दै जान सक्छ ।

३. अचानक ढल्ने समस्या

ब्रेन क्यान्सर हुँदा देखिने अर्को लक्षण रिंगटा लाग्नु हो । कहिलेकाहीं धेरै रिंगटा लागेमा मानिस ढल्ने गर्छ । जीउ काम्ने समस्या हुन सक्छ ।

४. मुर्छा पर्नु

ब्रेन ट्युमरका कारण कोषिकाले मस्तिष्कभित्र आफ्नो जालो फैलाउन थालेपछि यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्छ । जसकारण बिरामी बारम्बार मुर्छा पर्ने, बेहोस हुने हुन्छ ।

५. हातखुट्टा लुलो महसुस हुनु

ट्युमरमा मानिसको हातखुट्टामा अचानक लुलो कमजोर हुन सुरु हुन्छ । मानिसले आफ्नो शरीरका सबै अंग निष्क्रिय हुन थालेको महसुस हुन्छ । यो प्यारालाइसिस हुनुपूर्वको अवस्था हो ।

६. प्यारालाइसिस महसुस हुनु

मस्तिष्कमा ट्युमर बढ्दै गएपछि शरीरका विभिन्न अंगबाट मस्तिष्कको नियन्त्रण टुट्दै जान्छ । जसकारण बिरामीलाई प्यारालासिस वा पक्षघात भएजस्तो महसुस हुन्छ । यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्न हुन्छ । यसबेला शरीरको आधा भाग प्यारालाइसिस हुने सम्भावना हुन्छ । कुनै बेला पूरै शरीर पनि प्यारालाइसिस हुन सक्छ ।

७. आँखाको दृष्टि कमजोर हुँदै जाने

ट्युमर भएपछि बिस्तारै आँखा कमजोर हुँदै जान्छ । समयमा उपचार भएन भने आँखाको दृष्टि नै गुम्न पनि सक्छ ।

८. व्यवहारमा परिवर्तन आउने

ट्युमरका कारण शरीरका अंग तथा मानसिक अवस्थामा मात्र नभई स्वभावसमेत प्रभावित हुन्छ । मानिसले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन, जसकारण उसमा चिडचिडापन तथा उदासी, एक्लो बस्ने, टोलाउने, कसैसँग नबोल्ने खालका परिवर्तन आउने गर्छ । यसबाहेक बोल्ने, सुन्ने शक्ति पनि कम हुँदै जान्छ । यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुखसमेत बाङ्गिने समस्या हुन्छ । टाउको दुख्नुका साथै सम्पूर्ण शरीर कमजोर भएको महसुस हुन थाल्छ ।

९. चेतना कम हुँदै जाने

यसमा आफूले अहिले भर्खर के गरें, के खाएँ र आफ्नो सामान कहाँ राखें भन्ने पनि बिर्सने हुन्छ ।

कसरी थाहा पाउने ?

ट्युमर आएको बाहिरबाट त्यत्तिकै थाहा पाउन सकिंदैन । ट्युमरका केही लक्षण देखा परेमा सिटी स्क्यान र एमआरआई गराएर थाहा पाउन सकिन्छ ।

उपचार

क्यान्सर नगराउने ट्युमर भएमा औषधिबाट नै निको पार्न सकिन्छ । तर क्यान्सर गराउने ट्युमरको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । साथै यसलाई फैलिन र बढ्न नदिन किमोथेरापी गराउनुपर्ने हुन्छ । क्यान्सर नगराउने ट्युमर पूर्ण रुपमा निको हुन्छ । क्यान्सर गराउने ट्युमर भने शल्यक्रिया गरे पनि बल्झिने सम्भावना रहिरहन्छ ।

जोखिम

यसको समयमा उपचार भएको खण्डमा निको पार्न सकिन्छ । तर समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ । यो मस्तिष्कको कुन ठाउँमा कति भाग ओगटेको छ भन्नेमा पनि भर पर्छ ।

बच्ने उपाय

ब्रेन ट्युमर हुन नदिन यस्तै उपाय अपनाउन सकिन्छ भन्ने त हुँदैन । किनकि यसमा मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हो । यो बाहिरबाट देखिंदैन । तर ब्रेन क्यान्सर हुने सम्भावना कम गर्न विभिन्न प्रकारका विकिरणबाट जोगिने र मद्यपान तथा धुम्रपानबाट टाढा रहँदा केही हदसम्म बच्न सकिन्छ । त्यस्तै कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरुन्त न्युरोलोजिस्ट (नसारोग विशेषज्ञ)लाई जँचाउनुपर्छ ।

(न्युरोलोजिस्ट डा. कोइराला वीर अस्पतालको न्युरोलोजिस् विभागका वरिष्ठ सल्लाहकार हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)



source https://www.onlinekhabar.com/2023/07/1341954

रेडी ट्रेडर्सले आयात गरेको थप साढे ११०० थान ब्रेक शु बरामद

११ साउन, काठमाडौं । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेको सबै ब्रेक शु सुनकै भएको पुष्टि भएको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको छ ।

‘बरामद ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ तर गोदाममै सुन छुट्टयाएर तस्करले लगेको अवस्थामा फुक्लेका धेरै ब्रेक शु भेटियो,’ विभाग स्रोतले अनलाइनखबरसँग भन्यो ।

गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ ।

सोह्रखुट्टेको गोदामबाट ६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु थियो । एक थानमा एक जोडी ब्रेक शु रहेकामा विमानस्थलमा बरामद भएकोमा एउटा चाहिँ सुनको थियो ।

तर, सोह्रखुट्टेमा बुधबार बरामदमध्ये एउटा पातो ब्रेक शु झिकिएको अवस्थामा भेटिएको छ । यद्यपि विस्तृत विवरण ल्याब परीक्षण पछि मात्रै थाहा हुने विभागले जनाएको छ ।

२०७९ चैत १९ गते खुलेको कम्पनी रेडी ट्रेडर्सले २ साउनसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ ।

बुधबार विभागले छापा मारेको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए । विभागले सुन तस्करी प्रकरणमा छापा मारेको यो तेस्रो गोदाम हो ।



source https://www.onlinekhabar.com/2023/07/1342124

एक क्वीन्टल सुन बरामद प्रकरण : भन्सारमा किन छैन प्रहरीको उपस्थिति ?

११ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तिमा एक सय किलो सुन २ साउनमा बरामद गर्‍यो ।

विभागका अनुसार, हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमा ३० असारमा १६० सेट ‘ब्रेक शु’ आएको थियो । भन्सार जाँच पार गरेर ३ साउनमा दिउँसो २ बजे बाहिरिएको ‘ब्रेक शु’भित्र सुन भएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले सामान बोकेको ट्याक्सीलाई नियन्त्रणमा लियो ।

सो ट्याक्सीबाट बरामद भएको सामग्रीमा एक क्वीन्टल सुन फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख नारद गौतमका अनुसार, भन्सार जाँचका क्रममा एक्सरेमा ‘फलामको कालो डल्लो’ देखिएको थियो । शंका लागेपछि एक जना उपसचिवले ‘मोेटर पार्ट्स’ भनेर भित्रिएको सामग्रीको पोका खोलेर समेत हेरेका थिए ।

तर गौतमका अनुसार, सुन जस्तो नलागेपछि त्यो सामान बाहिरिएको थियो । विशेष सूचनाको आधारमा खटिएको विभागको टोली भन्सार गेटबाहिर बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालक अशोक लामालाई कुरेर बसेको थियो । त्यसक्रममा विभागले सुनसहितको सामग्री बरामद गरेको थियो ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर अवैध सामग्री बाहिरिएको यो पहिलो पटक होइन । ५ भदौ २०७६ मा पनि कतार एयरवेजको उडानमार्फत आएका आईभेरिकोष्टका नागरिक मार्केल गुलीले करिब ५ करोड मूल्य पर्ने कोकिन विमानस्थल भन्सारको ‘एक्स-रे’ जाँचबाट सहजै पास गराएका थिए ।

निलो रंगको सुटकेशभित्र प्लाइहुड राखेर कागजको पालामा राखेको अवस्थामा रहेको एक किलो ६ सय ग्राम कोकिन नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो -एनसीबी) ले विमानस्थल बाहिरबाट बरामद गरेको थियो ।

अहिलेको सुन प्रकरणमा जस्तै त्यसबेला पनि भन्सार जाँचमा संलग्न कर्मचारीले शंकास्पद लागेर पुनः जाँच गरे पनि अवैध सामग्री नखुलेको भन्दै फेरि पठाइदिएको खुलेको थियो । त्यसबेला पनि प्रहरी अधिकृतहरुले भन्सारमा प्रहरीको उपस्थिति गराउनुपर्ने भन्दै लबिइङ गरेका थिए ।

यसपटक एक क्वीन्टल सुन बरामद हुँदा यसको पृष्ठभूमिले कुनै न कुनै रुपमा त्यो आशंकालाई बल पुर्‍याएको छ । किनकि, अहिले सुन भित्र्याएको रेडी ट्रेड प्रा.लि.ले यसअघि २८ पटक हङकङबाट सामान ल्याइसकेको खुलेको छ

अहिले सुन प्रकरणपछि फेरि विमानस्थल भन्सारमा प्रहरी राख्नुपर्ने माग उठिरहेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले केहीअघि निवासमा पत्रकारहरुसँग कुरा गर्दै भन्सारमा प्रहरीको उपस्थिति बढाउनेबारे कुराकानी भइरहेको बताएका थिए ।

सुन प्रकरण सार्वजनिक भएपछि ५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि गृहमन्त्री श्रेष्ठले आगमन पछाडि प्रहरीको कुनै भूमिका नहुने बताए ।

‘भन्सार जाँच मात्र होइन, आगमन पछाडि नै प्रहरीको कुनै भूमिका हुँदैन, त्यसमा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन हुुनु उचित हुन्छ भन्ने धेरै अघिदेखि नै प्रस्ताव राखेका थियौं’, गृहमन्त्री श्रेष्ठले भनेका छन्, ‘अहिले एकअर्का निकायलाई दोष लगाउने बेला होइन, कामहरुलाई अझ प्रभावकारी ढंगले गर्न के गर्नुपर्छ भन्नेमा गम्भीरतापूर्वक अगाडि बढाउँछौं ।’

गृहमन्त्री श्रेष्ठले यस विषयमा अर्थ मन्त्रालयसँग कुरा भइरहेको बताए । पटकपटक यो प्रस्ताव जाने गरे पनि निर्णय हुने गरेको छैन । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक -आईजीपी) धिरजप्रताप सिंहका अनुसार, सुन मात्र नभइ लागूऔषध, हातहतियार लगायतका अवैध सामग्री पनि विमानस्थलबाट पास हुनसक्ने भएकाले ‘क्रस चेक’का लागि पनि अर्को संयन्त्र भन्सारमा तैनाथ हुनु जरुरी हुन्छ ।

‘मेरो पालामा पनि भन्सारमा प्रहरी राख्नुपर्छ भनेर प्रयास गरेका थियौं, तर उहाँहरुले अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनकै नियम सुरक्षा जाँच भनेको जुन होस्ट कन्ट्री उसको जिम्मा भएको तर्क गर्नुहुन्छ’, सिंहले अनलाइनखबरसँग भने, ‘जस्तै, दुबई वा हङकङबाट आएको सामान छ भने सुरक्षा जाँचको जिम्मा त्यहीँको निकायको हो भन्ने उहाँहरुको तर्क हुन्छ ।’

भन्सार र अर्थ मन्त्रालयका अधिकारीहरुले अन्तर्राष्ट्रिय अभ्यास नै त्यही भएको तर्क गर्दै प्रहरीलाई प्रवेश गर्न नदिए पनि यसको भित्री मनसाय अरु नै भएको जानकारहरु बताउँछन् । ‘एउटा मात्र निकाय हुँदा त्यहाँ हालीमुहाली हुने भयो, दुई निकाय हुँदा त्यसले निरन्तरता पाउँदैन भन्ने हुनसक्छ’, एक अधिकारी भन्छन्, ‘नभए त्यहाँ प्रहरी बस्दा भन्सारलाई उसकै काममा सहज हुने हो ।’

नेपाल प्रहरीका पूर्वप्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालका अनुसार, विमानस्थल भन्सारमा प्रहरी तैथान राख्नेवित्तिकै सबै अवैध सामग्री रोकिन्छ नै भन्ने होइन । तर, एउटा निकायबाट छुटेका कुरा अर्को निकायको नजरमा पर्ने उनी बताउँछन् ।

‘त्यसमाथि कतिपय कुरामा प्रहरीको विज्ञताका कारण पनि पत्ता लगाउन सहज हुन्छ’, पाल भन्छन्, ‘यस्तो विषयमा अन्तर निकायबीच प्रतिस्पर्धा वा भाग खोस्न आएको जसरी सोच्नु भन्दा पनि समग्रमा सबैले एउटै उद्देश्यका लागि काम गरेको हो भन्ने सोच राखेर समन्वय गर्नु जरुरी हुन्छ ।’

छिमेकी मुलुक भारतमा विमानस्थल सुरक्षाका लागि सेन्ट्रल इण्डियन सेक्युरिटी फोर्स (सीआईएसएफ) खटिन्छ । भन्सारका अधिकारीहरुले अन्य मुलुकका विमानस्थलमा प्रहरी नहुने जिकिर गर्दै आएका छन् ।

तर पूर्वएआईजी पुष्कर कार्कीका अनुसार विमानस्थलमा प्रहरी हुने नहुने भन्ने कुरा देशैपिच्छे फरक छ । नेपालको सन्दर्भमा भने मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनसक्ने अवैध गतिविधिलाई रोक्न विमानस्थलभित्रका संयन्त्रबीच ‘क्रस मेकानिज्म’ हुने परिस्थिति हुनुपर्ने उनी बताउँछन् ।

पछिल्लो एक क्वीन्टल सुन बरामद प्रकरणले पनि विमानस्थल भन्सार र कार्गोमा प्रहरीको उपस्थिति हुनुपर्छ भन्ने तर्कलाई झन् बलियो बनाएको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी)का पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी पनि बताउँछन् ।

‘विमानस्थलको सबै जाँच पार गरेर १०० किलो सुन बाहिर निस्किनु भनेको विमानस्थलका सबै संयन्त्रमाथि छानबिन आवश्यक देखिएको हो’, उनी भन्छन्, ‘यसले त्यहाँ प्रहरीलाई पनि राखेर जिम्मेवार बनाउनुपर्छ ।’

नेपालमा हवाई मार्गबाट यूएई वा हङकङबाट अवैध सुन आउने गरेको छ । त्यसको गन्तव्य भारत हुने गरेको छ । विगतमा बंगलादेश र म्यानमारको बाटोबाट भारतमा सबैभन्दा धेरै सुन आउने गरेको भनिए पनि पछिल्लो समय नेपाली बाटोबाट आउने क्रम बढेको भारतीय पक्षको आरोप छ ।

भारतको राजश्व अनुसन्धान निर्देशनालय (डीआरआई) ले २०७९ को फागुन पहिलो साता चलाएको अपरेशनमा १०१ किलो सुन भारतमा बरामद भयो । अनुसन्धानका क्रममा त्यो सुन नेपाली बाटो हुँदै भारत गएको देखिएको थियो । त्यसपछि भारतीय पक्षले नेपालले सुनमा कडाइ नगरेको आरोप लगाउँदै आएको थियो ।

यसपटक एक क्वीन्टल सुन बरामद हुँदा यसको पृष्ठभूमिले कुनै न कुनै रुपमा त्यो आशंकालाई बल पुर्‍याएको छ । किनकि, अहिले सुन भित्र्याएको रेडी ट्रेड प्रा.लि.ले यसअघि २८ पटक हङकङबाट सामान ल्याइसकेको खुलेको छ ।

सबै जाँच पार गरेर यति ठूलो परिमाणमा सुन बाहिरिनुले मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा पनि प्रश्न खडा गर्ने जानकारहरु बताउँछन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देविराम शर्मा भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी क्वीन्टलमा सुन भित्रिनुले हाम्रो विमानस्थलको सुरक्षामा अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उठाउँछ, यसप्रति नेपाल गम्भीर छ भनेर देखाउन पनि सुरक्षामा कुनै कमजोरी नरहने गरी तयारी गरिहाल्नुपर्ने अवस्था छ ।’



source https://www.onlinekhabar.com/2023/07/1342122

चितवनको क्यान्सर अस्पताल तीन महिनादेखि कार्यकारी निर्देशकविहीन, अध्यक्षलाई दिइयो आर्थिक अधिकार

११ साउन, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक रिक्त भएको तीन महिना हुन लाग्यो । अस्पतालको दैनिक कामकाज सञ्चालन गर्ने कार्यकारी निर्देशक नै नियुक्ति हुन नसक्दा कर्मचारीले गत वैशाख महिनादेखिको तलब पाएका छैनन् ।

तीन महिनादेखिको तलब खान नपाएको भन्दै अस्पतालका कर्मचारीहरुले यसअघि प्रशासन घेराउ लगायतका विभिन्न दबावमूलक कार्यक्रम पनि गर्दै आएका थिए । अस्पतालको सामान खरिद, दैनिक कामकाज सञ्चालनमा पनि समस्या भएको छ । औषधी, अक्सिजन लगायतका अत्यावश्यक सामान खरिद, भुक्तानी जस्ता कामहरू पनि ठप्प छन् ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा यतिका महिनासम्म कार्यकारी निर्देशक नियुक्ती हुन नसक्नुका पछाडि सत्ताधारी दलहरुबीच पदीय भागबण्डा नमिल्दाको परीणाम भएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला हो चितवन । अर्कोतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत छन् । दुवैले आफू अनुकूलका व्यक्तिलाई कार्यकारी निर्देशक बनाउन चाहेका छन् । तर सहमति जुटेको छैन । कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ हुनुको प्रमुख कारण यही नै रहेको अस्पतालका एक चिकित्सकले बताए ।

कार्यकारी निर्देशक नियुक्तिका लागि कांग्रेसबाट यसअघि कार्यकारी निर्देशक भएर काम गरिसकेका डा. विजयराज आचार्य, डा. शिवजी पौडेल तथा माओवादी केन्द्रबाट अहिलेका उपकार्यकारी निर्देशक डा.कृष्णसागर शर्मा लागिपरेका छन् । पहिला कांग्रेसका तर पछि माओवादी प्रवेश गरेका डा. विजयराज न्यौपानेलाई सरकारले २०७९ चैत २० गते अस्पतालको अध्यक्ष बनाइसकेको छ । सोही कारण कार्यकारी निर्देशक कांग्रेस निकटका चिकित्सकले पाउनुपर्ने दावी एकाथरीको छ ।

अस्पताल नै ठप्प हुने गरी कर्मचारीहरुले आन्दोलन गर्ने तयारी गरेपछि अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नभइन्जेलका लागि अध्यक्ष डा. विजयराज न्यौपानेलाई नै आर्थिक अधिकार प्रदान गर्ने निर्णय मंगलबार गरेको छ ।

कांग्रेसकै भागमा कार्यकारी निर्देशक आउँदा पनि डा. आचार्य र डा. पौडेलमध्ये को हुने भन्ने तानातान उत्तिकै छ । एकाथरीले डा. आचार्य अनुभवी भएको र अस्पतालको विकासमा काम गरेकाले एकपटक पुनः मौका दिनुपर्ने भन्दै लबिइङ्ग गरिरहेका छन् । अर्को समूहले भने डा. आचार्य एकपटक कार्यकारी निर्देशक भैसकेकाले डा. पौडेललाई अवसर दिनुपर्ने मत राखिरहेको छ ।

कार्यकारी निर्देशक चयनका लागि क्यान्सर अस्पताल सञ्चालक समितिले अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि र बोर्डले तोकेको एक जना बोर्ड सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने प्रावधान छ । अहिलेसम्म बोर्डले सिफारिस समिति नै बनाउन सकेको छैन । सिफारिस समितिको संयोजकका विषयमा बोर्ड भित्र लफडा छ । एकथरीले डा. अनि विक्रम कार्कीलाई संयोजक बनाउनुपर्ने माग गरिरहेका छन् भने अर्काथरीले डा. कार्कीले एकलौटी गर्न सक्ने भन्दै उनलाई हुन नदिन जोड गरिहेका छन् ।

डा. कार्की संयोजक भएमा डा. कृष्ण सागर शर्मा र डा.शिवजी पौडेलको मात्रै नाम सिफारिस गर्ने डर एक पक्षलाई छ भने कार्की पक्षलाई आफू संयोजक नभए डा. पौडेलको नाम फालेर डा. न्यौपाने र डा.शर्माको नाम मात्रै सिफारिस गर्ने भय छ । बोर्डमा डा. कार्कीको पक्षमा उनीसहित डा.रिता महासेठ, डा. रश्मी पुन र सिलादेवी अधिकारी छन् । सिफारिस समितिलाई ३ जनासम्मको नाम सिफारिस गर्ने अधिकार दिइए पनि एकले अर्कोलाई फाल्ने डर कांग्रेस भित्रका दुवै पक्षलाई छ ।

अस्पतालका अध्यक्ष डा. न्यौपानेले बोर्डबाट सिफारिस समितिको तयारी नपुगेको र अर्को बैठकबाट चाँडै नै सिफारिस समिति गठन गर्ने बताए । यसअघि दुईपटक बसेका बैठकले बोर्डबाट कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने प्रयास गरे पनि सफल हुन सकेन । बोर्ड सदस्य पूर्ण भएपछिको पहिलो बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि मन्त्रालयमै बसेको बैठकमै पनि आएका थिएनन् ।

आर्थिक अधिकार अध्यक्षलाई

अस्पताल नै ठप्प हुने गरी कर्मचारीहरुले आन्दोलन गर्ने तयारी गरेपछि अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नभइन्जेलका लागि अध्यक्ष डा. विजयराज न्यौपानेलाई नै आर्थिक अधिकार प्रदान गर्ने निर्णय मंगलबार गरेको छ । डा. न्यौपानले कर्मचारीहरुलाई तलब खुवाउनेदेखि औषधि, अक्सिजन खरिद तथा विलहरुको भुक्तानी गर्नेछन् ।

‘अहिले अल्पकालीन रुपमा अस्पताल चलाउने आर्थिक अधिकार बोर्डले मलाई दिएको छ, अड्को मात्रै फुकाएर जाम भन्ने हो,’ अध्यक्ष न्यौपानेले भने, ‘सबै काम गर्नका लागि त कार्यकारी निर्देशक नै चाहियो, यसरी त सधैं सम्भव हुने कुरा पनि भएन ।’ अध्यक्ष न्यौपानेले विगत ६ महिनादेखि अस्पतालले राम्रोसँग आफ्नो काम गर्न नसकेको बताए ।

गत माघ १२ गते अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेको कार्यकाल सकिएपछि बोर्डको बैठक बस्न सकेको थिएन । डा. न्यौपानेलाई सरकारले २०७९ चैत २० गते नियुक्त गरेर २९ गते उनी अस्पतालमा हाजिर भएका थिए । तर, फागुनमै बोर्ड सदस्यहरुको समयअवधि सकिएपछि पूर्ण बैठक बस्न सकेको थिएन ।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमको तीन वर्षे कार्यकाल गत वैशाख २४ गते सकिएपछि अस्पतालका दैनिक कामकाजहरु सबै लथालिंग बनेका छन् । लामो समयसम्म ६ जना बोर्ड सदस्य नियुक्त हुन नसक्दा अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्ने विषय नै अड्किएको थियो । गत असार २२ गते सरकारले रिक्त रहेका ६ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।

१४ सदस्यीय बोर्ड सदस्यमा डा. दिनेश विक, डा.रश्मी पुन, डा.रिता महासेठ, डा. अनिलविक्रम कार्की, दिलीप पौडेल र शीलादेवी अधिकारी छन् ।



source https://www.onlinekhabar.com/2023/07/1342117

बुढानीलकण्ठ प्रहरी प्रभागका बरिष्ठ हबल्दार विष्णु सिंह घुस लिएको आरोपमा पक्राउ

११ साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत बरिष्ठ हबल्दार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बरिष्ठ हबल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/07/1342115

एनआरएनए स्पेनको नेतृत्वमा कोइराला, सहमतिको नाममा विधान मिचिएकै हो ?

बार्सिलोना। एनआरएनए स्पेनको आठौँ राष्ट्रिय महाधिवेशनबाट पेशलकुमार कोइरालाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भए पनि विधान मिचिएको आरोप लागेको छ। राजनीतिक सहमतिका आधारमा भागबण्डा मिलाउन नभएका पदहरुमा समेत मनोनयन दर्ता गर्दै विधान मिचेको आरोप लागेको हो।

निर्वाचन निष्पक्ष बनाउन भन्दै निर्वाचन समितिले जुलाई १३ मा निर्वाचन नियमावली प्रकाशित गरेको थियो, जहाँ उम्मेदवार बन्न चाहिने शर्त र योग्यता सहित उम्मेदवारी मनोनयनको विवरण समेत उल्लेख थियो। तर समितिले आफैँले बनाएको निर्वाचन नियमावली विपरीत बरिष्ठ उपाध्यक्ष, उपमहासचिव र युवा उपसंयोजकजस्ता पदमा मनोनयन दर्ता गर्दै निर्वाचित भएको घोषणा गरिसकेको छ। तर मनोनयन दर्तापूर्व नै विधान संशोधनसहितको पत्र कार्यसमितिबाट प्राप्त भएकाले सोहि अनुरुप नै थप पदहरुमा पनि मनोनयन दर्ता गरिएको निर्वाचन समितिले दावी गरेको छ।

एनआरएन स्पेनले एक सूचना प्रकाशित गर्दै जुलाई २३ मा विधानसभाको घोषणा गरेको थियो। समन्वय समितिको सुझाव अनुसार मार्गप्रशस्त गर्न १४ घण्टाको छोटो सूचनामा नै विधानसभा आयोजना गर्नु परेको संघले जनाएको छ।

एनआरएन स्पेनको विधानमा के छ ?

गैर आवासीय नेपाली संघ स्पेनको विधान -२००७ (२०२२ को संशोधन सहित) ‘विधान सभा’ बारे कतै पनि उल्लेख गरिएको छैन। तर परिच्छेद -११ को दफा २५(२) मा विधान संशोधनको व्यवस्था गरिएको छ।

‘यस विधानको कुनै पनि धारा उपधाराको संशोधन,खारेजी तथा थपघट वा परिवर्तन गर्ने प्रस्ताव कार्यकारी समितिको सदस्यहरु मध्येबाट २५ प्रतिशतले पेश गर्न सक्नेछ। तर प्रस्ताव पेश गर्नुअघि अन्तर्राष्ट्रिय समन्वय परिषद्को परामर्श लिनु पर्नेछ।  यसरी पेश गरिएको प्रस्ताव विशेष अधिवेशनद्वारा दुई तिहाइ बहुमतको आधारबाट पारित गर्न सक्नेछ। विधानको कुनै पनि धारा खारेज वा संशोधन गर्ने प्रस्ताव पारित भएमा सो प्रस्ताव तुरुन्त लागु हुनेछ।’

विधान मिचिएकोमा आपत्ति 

एनआरएनए स्पेनका पूर्व उपाध्यक्ष उत्तरकुमार राईले निर्वाचन समितिले विधान मिचेर उम्मेदवारी मनोनयन दर्ता गरेकोमा आपत्ति जनाएका छन्। सातौँ राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी समेत रहेका राईले विधान विपरीत पदहरु थपेर गल्ती भएको भन्दै तुरुन्त सच्चाउन माग समेत गरेका छन्।

‘निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन नियमावली अनुसार उम्मेदारी दर्ता नभएकोमा मेरो घोर आपत्ति,’ उनले भने, ‘एकातिर बरिष्ठ उपाध्यक्ष, उपमहासचिव लगायतका पदहरुमा माग निर्वाचन समितिले गरेकै छैन। अर्कोतर्फ विधान विपरीत ती पदहरुमा मनोनयन दर्ता भएको छ।’ उनले निर्वाचन समितिबाट त्रुटी नसच्चिए सम्बन्धित निकायमा उजुरी हाल्ने चेतावनी समेत दिएका छन्।

यसैबिच नवनिर्वाचित एनआरएन क्षेत्रीय समिति म्याड्रिडले पनि एक विज्ञप्ति जारी गर्दै केन्द्रको निर्वाचन प्रक्रियामा विधानको उल्लङ्घन भएको भन्दै सच्चाउन माग गरेको छ। अध्यक्ष सागर श्रेष्ठ भोटेद्वारा जारी विज्ञप्तिमा क्षेत्रीय समितिले निर्वाचन नियमवाली अनुसार उम्मेदवारी दर्ता नभएकोमा आपत्ति प्रकट गरेको हो।

‘सार्वजनिक रुपमा माग नगरिएको पदमा एक्कासी उम्मेदवारी दर्ता गरी सूचना प्रकाशित गर्नु गैरजिम्मेवारपूर्ण काम हो। यस्ता कामले एनआरएन स्पेन मात्रै नभई आउदा दिनहरुमा क्षेत्रीय समितिहरुमा समेत असर पर्ने हुँदा तुरुन्त समाधान गर्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा लॆखिएको छ।

विधानसम्मत नै प्रक्रिया अगाडि बढेको छ : निर्वाचन समिति

निर्वाचन समितिका संयोजक प्रकाश तिमिल्सिनाले भने कार्यसमितिको निर्णय अनुसार नै विधानसम्मत मनोनयन दर्ता भएको दावी गरेका छन्। आफैँले बनाएको नियमावली विपरीत किन मनोनयन दर्ता गरियो भन्ने जिज्ञासामा संयोजक तिमिल्सिनाले भने, ‘विधान संशोधनपछि कार्यसमितिका अध्यक्ष र महासचिवको हस्ताक्षर सहितको पत्र निर्वाचन समितिलाई प्राप्त भएको छ। सोहि पत्र अनुसार नै मनोनयन दर्ताको प्रक्रिया सम्पन्न भएको हो।’

निर्वाचन समितिले जुलाई २५ मा सूचना प्रकाशित गर्दै सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरिसकेको छ।

एनआरएनए स्पेनको अध्यक्ष शालिकराम डुम्रेले सामाजिक एकताका लागि अन्तिम समयमा विधान संशोधन गर्नुपरेको बताए। ‘आईसीसीको रोहबरमा युरोप संयोजक सहित पूर्व डीआरसीहरुको परामर्शमा नै विधान संशोधन भएको छ,’ अध्यक्ष डुम्रेले भने, ‘कतिपय कुरा अपरझटमा गर्दा वैधानिक रुपमा एक इञ्ज तलमाथि भए होलान्। तर हामीले सम्भव भएसम्म वैधानिक रुपमा विधान संशोधन गरेका छौँ ।’

संघका महासचिव बिदुर गौतमले पनि विधान संशोधन विधिवत रुपमा नै सम्पन्न भएको भन्दै संघको बचाउ गरेका छन्। विधानमा कतै पनि उल्लेख नभएको विधानसभाको व्यवस्था कसरी भयो भन्ने जिज्ञासामा महासचिव गौतमले भने, ‘समन्वय समितिको सुझाव अनुसार नै ‘परिच्छेद -११ को दफा २५(२) लाई प्रयोग गरेर विधान सभाको आयोजना गरिएको हो। निर्वाचनमा जानुभन्दा सामाजिक एकताका लागि यो अनिवार्य र अपरिहार्य थियो।’

एनआरएनए नेतृत्व तहमा रही काम गरिसकेका एक अभियन्ताले भने आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अन्तिम समयमा विधान संशोधन गर्नु औचित्यपूर्ण नरहेको बताए। उनले भने, ‘वरिष्ठ उपाध्यक्ष, उपमहासचिव लगायत केहL पदहरु थप्नैका लागि विधानबारे विवाद ल्याउन जरुरी नै थिएन,’ उनले थपे, ‘कार्यसमितिको बैठकबाट नै बरिष्ठको जिम्मेबारी दिएर मिलाउन सक्नुपर्थ्यो। पदीय बाँडफाँटका गतिविधिले संघभित्र पदलिप्साको आरोप त लाग्छ नै। आउँदा दिनमा विधि विधानमा संघलाई चलाउन पनि निकै कठिन हुन्छ।’

‘केन्द्रमा तीन-तीन जना अध्यक्ष छन्। दर्जनौँ उपाध्यक्ष छन् भन्दै गलत कुराको सिको गर्नुभन्दा पनि विधिसम्मत् चल्दै आएका एनसीसीहरुलाई पनि गलत बाटोमा डोर्‍याउनु एनआरएनप्रतिको चासो झन् घट्नु हो,’ उनले भने ।

यस्तो बन्यो सर्वसम्मत नयाँ कार्यसमिति 

एनआरएनए स्पेनमा पेशलकुमार कोइरालाको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। उनले सन् २०१३-२०१५ को कार्यकालमा सदस्य, २०१५-२०१७ मा कोषाध्यक्ष हुँदै २०१७-२०१९ को कार्यसमितिमा उपाध्यक्ष पदमा रही काम गरिसकेका छन्। कोइराला सन् (२०१९-२०२१) कार्यकालका लागि अध्यक्षका प्रत्यासी समेत थिए। यस्तै आईसीसी सदस्यमा यज्ञ नारायण पौडेल निर्विरोध बनेका छन्।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रोशन पाठक, उपाध्यक्षमा (खुल्ला तर्फ) नारायण भट्टराई, रामप्रसाद दाहाल, कमला बराल (महिला) र सुरेन्द्र भुजेल थापा (क्षेत्र) निर्वाचित भएका छन्। यस्तै महासचिवमा सुन्दर रानाभाट, उपमहासचिवमा केशवराज कंडेल, सचिवमा (खुल्लातर्फ) नविन घिमिरे र राजेन्द्र प्रसाद काफ्ले, पार्वती ओली (म्याड्रिड), रमेश पण्डित (पाईसभास्को) र सन्तोष अर्याल (कोष्टाब्यालङ्का) रहेका छन्।

कोषाध्यक्षमा प्रभाकर दर्पण केसी, सहकोषाध्यक्षमा लाल बहादुर खत्री क्षेत्री, महिला संयोजकमा जमुनादेवी शर्मा सापकोटा, युवा संयोजकमा गणेशराज अधिकारी र युवा उपसंयोजकमा प्रविण सिंह निर्वाचित भएका छन्।

यस्तै सदस्यतर्फ सुनिता भुर्तेल ढुंगाना, उदयराज पाठक, शिव प्रसाद गौतम, केशर बहादुर थापा, गोबिन्द अधिकारी, दिपिका श्रेष्ठ, रमेश बास्तोला (पाईस भास्को) र रितेश श्रेष्ठ (कोष्टाब्यालङ्का) रहेका छन्।

भागबण्डा मिलाउनकै लागि विधानसभा मार्फत विधान संशोधन गर्दै बरिष्ठ उपाध्यक्ष, उमहासचिव, युवा उपसंयोजक र खुल्ला सदस्य (एक जना) नयाँ पदहरु थप गर्दै सर्वसम्मत कार्यसमिति गठन गरिएको हो।

एनआरएनए स्पेनको आठौँ राष्ट्रिय महाधिवेशन जुलाई ३० मा बार्सिलोनामा हुँदैछ। उक्त दिन एक कार्यक्रमकाबीच निर्वाचित नयाँ कार्यसमितिले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने संघले जनाएको छ।



source https://www.onlinekhabar.com/2023/07/1342109

कांग्रेसले टोल समितिसम्म फेसबुक एकाउन्ट खोल्ने, पार्टीका नामका फेक एकाउन्टहरु बन्द गराउने

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले टोल समितिसम्म सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्ने भएको छ । बुधबार सकिएको केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय कार्यसमितिदेखि टोल समितिसम्म पार्टीको नाम, झण्डा, चुनाव चिह्न प्रयोग गरी फेसबुकलगायतका सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्ने निर्णय गरेको हो ।

तर पार्टीको नाम,झण्डा, चुनाव चिह्नको दुरुपयोग गरी व्यक्तिले सञ्चालन गरेको एकाउन्ट तत्काल बन्द गराउन सचेत गराएको छ । तत्काल बन्द नगरे कारबाही गरिने कांग्रेसको निर्णयमा उल्लेख छ ।

हेर्नुहोस् सामाजिक सञ्जालसम्बन्धी कांग्रेसको निर्णय :

सूचना, संचार र प्रविधिको उच्चतम प्रयोगलाई आज कसैले पनि इन्कार्न सक्दैन । यसको सहि प्रयोगले पार्टी संगठन विस्तारमा पर्याप्त फाइदा हुने कुरामा कुनै दुविधा छैन र आजको विश्वमा कोही पनि व्यक्ति सामाजिक सञ्जालबाट अलग रहने कुरा सम्भव पनि छैन । तर यसको दुरुपयोगले व्यक्ति, परिवार, समाज, दल, संगठन र राष्ट्रलाई समेत गम्भीर क्षति पुगेको, विभिन्न खाले अपराधका घटना घटेको यथार्थलाई पनि विर्सन सकिदैन ।

यस सन्दर्भमा, नेपाली कांग्रेसको विचार, सिद्धान्त, कार्यक्रमहरुलाई जनता बीच लिएर जान पनि सामाजिक सञ्जालको प्रयोग आवश्यक छ । त्यसैले पार्टी संगठन निर्माण र विस्तारमा सामाजिक सञ्जालको उच्चतम प्रयोग गर्न पार्टी संगठनका सबै तह केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, संसदीय क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय कार्यसमिति, गाँउ÷नगर पालिका कार्यसमिति, वडा कार्यसमिति र टोल समितिले “पार्टीको नाम, झण्डा, चुनाव चिन्ह” प्रयोग गरी सामाजिक सञ्जालमा आफ्नो छुट्टै आधिकारिक एकाउण्ट आवश्यकता अनुसार संचालन गरिनेछ । तर पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुले संचालन गरेका यस्ता एकाउन्टहरुलाई तत्काल बन्द गर्न सचेत गराइन्छ । सो नगरे आवश्यक कारवाही अगाडि बढाउने समेत स्पष्ट गरिन्छ ।



source https://www.onlinekhabar.com/2023/07/1342090

Tuesday, 25 July 2023

सर्रे जागुएर्सको पहिलो जितमा सन्दीपको राम्रो बलिङ, एकै ओभरमा लिए २ विकेट

१० साउन, काठमाडौं । ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले सर्रे जागुएर्सको पहिलो जितमा महत्वपूर्ण २ विकेट लिएका छन् ।

क्यानडाको ब्राम्पटनमा भइरहेको लिगमा मंगलबार राति जागुएर्सले टोरोन्टो नेसनल्सलाई २० रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

उक्त खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

पहिलो खेलमै नेपालकै दीपेन्द्र सिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्ससँग पराजित भएको जागुएर्सले दोस्रो खेल वर्षाले  प्रभावित हुँदा ब्राम्पटन वल्भ्ससँग अंक बाँडेको थियो । तीन खेलबाट तीन अंक जोडेर जागुएर्स तेस्रो स्थानमा छ ।

म्याथ्यु फोर्डको ४ र सन्दीप लामिछानेले २ विकेट लिएपछि १४२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १८ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो ।

खेलमा टोरन्टोका लागि धेरै रन बनाएका कलिन मनरोसहित अर्मान कपुरलाई सन्दीपले आउट गरे । मनरोले ४३ रन बनाउँदा शाहिदी अफ्रिदी र जेजे स्मिथले समान २३ रन बनाए ।

२७ रनमै तीन विकेट गुमाएको अवस्थामा मनरो र अर्मान मिलेर इनिङ्स अगाडि बढाएका थिए । तर सन्दीपले ११औं ओभरमा उत्कृष्ट बलिङ गर्दै दुवैलाई आउट गरे । उनले ११औं ओभरको दोस्रो बलमा अरमानलाई जतिन्दर सिंहबाट क्याचआउट गराउँदै ४४ रनको साझेदारी तोडिदिए ।

त्यही ओभरको चौथो बलमा सर्वाधिक ४३ रन बनाएका मनरोलाई एलबीडब्लु धरापमा पार्दै सन्दीपले दोस्रो विकेट लिए ।

त्यसपछि टोरोन्टो खेलमा फर्कन सकेन । थप ४९ रन जोड्दा ४ विकेट गुमायो र जितसम्म पुग्न सकेन । टोरोन्टोलाई जितबाट रोक्न जागुएर्सका म्याथ्यु फोर्डले ४ ओभरमा २९ रन खर्चेर ४ तथा सन्दीपले २ विकेट लिए ।

स्पेन्सर जोन्सन, अमर खालिद र बर्नार्ड स्कोल्ट्सले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जागुएर्सले १८ ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो । जसमा कप्तान इफ्तिखर अहमदले सर्वाधिक ४७ र विकेटकिपर लिट्टन दासले २१ रन बनाए ।

टोरोन्टोका साद विन जफरले २ विकेट लिए ।



source https://www.onlinekhabar.com/2023/07/1341620

नेपालको प्रत्यक्ष निर्वाचन प्रणालीमा लैङ्गिक असमानताका आयाम

प्रतिनिधिसभाका लागि २०४८, २०५१ र २०५६ सालमा भएका निर्वाचनमा महिला उम्मेदवारी ६ प्रतिशतमा सीमित थियो। समानुपातिक समावेशिताको सिद्धान्त कार्यान्वयन भएपश्चात् संविधानसभाका दुई र प्रतिनिधिसभा तथा प्रदेशसभाका दुई निर्वाचन सम्पन्न भएका छन्। संविधानसभा २०६४ र २०७० अनि प्रतिनिधिसभा २०७४ र २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी ११ प्रतिशत कट्न सकेको छैन।

त्यसैगरी सातै प्रदेशको प्रदेशसभा निर्वाचन २०७४ र २०७९ मा महिलाको उम्मेदवारी ९ प्रतिशत भन्दा कम छ। यसले २०६४ अघिको तुलनामा महिलाको उम्मेदवारी केही बढेको त देखाउँछ तर महिलाको जनसंख्याको अनुपातमा यो निकै कम हो। राष्ट्रिय जनगणना २०७८ अनुसार महिलाको जनसंख्या करिब ५२ प्रतिशत छ।

संविधानले समानुपातिक समावेशिताको सिद्धान्तलाई अवलम्बन गरिसकेपछि सबै संरचनामा महिलाको जनसंख्याको अनुपातमा उनीहरूको सहभागिता सुनिश्चित हुनुपर्ने हो। परन्तु, प्रतिनिधिसभा र प्रदेशसभामा महिलाको एक तिहाइभन्दा बढी प्रतिनिधित्व गराउन दलको नेतृत्व राजी भएको देखिंदैन।

१ फागुन, २०५२ देखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सुरु गरेको सशस्त्र विद्रोहको शान्तिपूर्ण राजनीतिक निकास र राजतन्त्रको अन्त्य गर्न तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) र सात राजनीतिक दलबीच बाह्रबुँदे समझदारी भयो। सो समझदारी पत्रमा वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय आदि समस्याको समाधान राज्यको अग्रगामी पुनर्संरचना मार्फत गर्ने कुरा उल्लेख थियो।

विद्रोही नेकपा (माओवादी) सहित सात राजनीतिक दलले २०६२/६३ मा गरेको आन्दोलनको सफलतापश्चात् विघटित प्रतिनिधिसभाको पुनर्स्थापना भयो। सो संसदले १६ जेठ, २०६३ मा महिला समानताका मूल मुद्दाबारे जरूरी सार्वजनिक महत्त्वको प्रस्तावद्वारा प्रतिबद्धता जनायो। उक्त प्रस्ताव मार्फत राज्यका सबै निकायमा समानुपातिक समावेशिता सहित कम्तीमा एक तिहाइ महिला सहभागिता गराउने निर्णय सर्वसम्मत रूपमा भयो।

नेपालको अन्तरिम संविधान, २०६३ को राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू सम्बन्धी भागमा लैङ्गिक लगायत समस्या समाधान गर्न केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गर्ने कुरा उल्लेख गरियो। ३० चैत, २०६३ मा नेपालको अन्तरिम संविधान, २०६३ मा पहिलो संशोधन मार्फत मुलुकको राज्य संरचनाका सबै अङ्गमा मधेशी, दलित, आदिवासी जनजाति, महिला, मजदूर, किसान, अपाङ्गता भएका, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातिक समावेशिताको आधारमा सहभागी गराउने कुरा थप गरियो।

सोही संविधानमा संविधानसभाको निर्वाचनमा कम्तीमा एक तिहाइ महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरियो। संविधानसभाबाट जारी गरिएको नेपालको संविधानमा पनि यसकै निरन्तरता स्वरूप जननिर्वाचित संस्थामा कम्तीमा एक तिहाइ महिला सहभागितालाई सुनिश्चित गरियो। सोहीअनुरूप अहिले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा एक तिहाइ महिला सदस्यको प्रतिनिधित्व अनिवार्य छ। राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत महिलालाई उम्मेदवार बनाएर निर्वाचित गराउने भन्दा पनि संवैधानिक बाध्यताका कारण समानुपातिक निर्वाचन प्रणाली मार्फत यो संख्या पुर्‍याउने गरेका छन्।

पटक–पटक परिवर्तनको नेतृत्व गरेर आए पनि नेपालका राजनीतिक दलको संरचना र त्यसको नेतृत्वको सोच पुरुषप्रधान छ। कुनै पनि पद पुरुषले दिने र महिलाले लिने पेट्रोन क्लाइन्ट सम्बन्ध सबै दलमा छ। यही सोच नै महिला नेतृत्व विकासमा मुख्य अवरोध बनेको छ। मतदाताले महिलालाई विभिन्न तहको निर्वाचनमा विजय गराएर उनीहरूको नेतृत्वलाई अनुमोदन गरिसकेका छन्। तर वर्चस्वशाली पुरुष नेताहरूले राजनीतिक दलमा महिलाको नेतृत्वलाई अस्वीकार गरेका छन्।

परिणामत: स्थानीय, प्रदेश र संघ तीनै तहमा दलका संरचनामा महिला पदाधिकारीको उपस्थिति संख्यात्मक हिसाबले अत्यन्त न्यून छ। ती संरचनामा भएका एकाध महिला समेत लैङ्गिक अवधारणाप्रति प्रष्ट छैनन् भन्ने आरोप पनि छ। पुरुषको वर्चस्व रहेको असमावेशी संरचनाले निर्वाचनमा उम्मेदवारी सिफारिस तथा टिकट वितरणमा आवश्यक मानिने लविइङ गर्ने कार्यमा महिलाको पहुँचलाई सीमित पारेको छ। त्यस्तो दलीय संरचनाका कारण चुनावमा महिलाको पक्षमा बोलिदिने कार्य पनि विरलै हुन्छ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार हुनको लागि उक्त निर्वाचन क्षेत्रमा पहिचान बनाएको हुनुपर्छ र यसका लागि उक्त क्षेत्रमा नेतृत्व गर्ने अवसर पाउनुपर्छ। तर महिलाको नेतृत्व स्वीकार गरेर उनीहरूलाई भूगोलको राजनीतिमा स्थापित हुने वातावरण राजनीतिक दलको नेतृत्वले बनाइदिएको छैन।

अझ नेतृत्वको आलोचना गर्ने र स्वतन्त्र रूपमा दलभित्र वैचारिक बहस गर्ने महिला नेतृहरू त पुरुष नेताको आँखाको कसिंगर नै बन्ने गरेका छन्। संविधानप्रदत्त महिलाको अधिकार दाबी गर्ने महिला नेतृहरूलाई एनजिओको पैसा खाएर ट्याउँट्याउँ गरेको भनेर दलको शीर्ष नेतृत्वले नै बदख्वाइँ गरेर निरुत्साहित गरिन्छ।

उम्मेदवार बनाउने बेलामा महिलाको मूल्यांकन उनीहरूको कार्यसम्पादनबाट भन्दा पनि उनीहरूले कुन ठाउँमा विवाह गरे जस्ता वैयक्तिक विषयलाई आधार बनाएर गरिन्छ। यसरी महिलालाई राजनीतिक कार्य थलो भन्दा उनीहरूको विवाहको कुरा जोडेर चुनावी प्रतिस्पर्धाबाट किनारीकृत गर्ने सजिलो रणनीतिको रूपमा राजनीतिक दलका पुरुष नेताले प्रयोग गर्ने गरेका छन्। दलले दिएको जिम्मेवारीको मूल्यांकन स्पष्ट विधिमा हुने हो भने महिलाले कुन ठाउँमा विवाह गरेको भन्ने विषय गौण हुन्छ।

महिलाले जुन ठाउँको राजनीतिक जिम्मेवारी बहन गर्छन् त्यही नै उनीहरूको निर्वाचन लड्ने क्षेत्र हो। अर्कोतर्फ, कतिपय राजनीतिक दलका उम्मेदवार सिफारिस मापदण्डले महिलाको अनिवार्यतालाई नै स्वीकार गरेको छैन। महिला उम्मेदवारीको अनिवार्यता मापदण्ड बनाएका दलले पनि आफैंले बनाएको मापदण्ड लागू गरेनन्। त्यसले उम्मेदवार हुन पार गर्नुपर्ने पहिलो खुड्किलो उम्मेदवार सिफारिसमा नै महिला पर्दैनन्।

आर्थिक स्रोत माथिको नियन्त्रणले शक्तिमा लगाम बढाउन र प्रतिष्ठामा वृद्धि गर्न सहयोग गर्छ। सामान्य राजनीतिक गतिविधि गर्न, चुनावको उम्मेदवारी टिकट हात पार्न र चुनावमा प्रचारप्रसार लगायत विभिन्न गतिविधि गर्न पैसा आवश्यक पर्छ। निर्वाचन आयोगले खर्चको सीमा तोकेको भए पनि उम्मेदवारले त्योभन्दा धेरै गुणा बढी खर्च गरेको पाइन्छ।

त्यसैले चुनावमा पर्याप्त खर्च गर्न सक्नेलाई बलियो उम्मेदवार ठानिन्छ। पुरुषको तुलनामा महिलासँग कम शक्ति र सञ्जाल हुनुका साथै आर्थिक स्रोतमा पनि उनीहरूको पहुँच कम छ। यसले गर्दा दलले महिलालाई उम्मेदवार बनाउने सम्भावना कम हुन्छ। टिकट वितरणदेखि नै पैसाको चलखेल र शक्ति संघर्ष हुने गरेको छ। चुनावमा हुने खर्च जुटाउन महिला असमर्थ हुन्छन् भनेर प्रत्यक्ष निर्वाचन प्रणालीमा उनीहरूलाई उम्मेदवारको रूपमा सिफारिस नै गरिंदैन।

निर्वाचन आयोग नेपालले दलको दबाबमा आफ्नो संवैधानिक अधिकार र दायित्व निर्वाह गर्न नसक्दा पनि स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा महिलाको उम्मेदवारी तथा तिनमा महिलाको उपस्थिति कम भयो। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) मा गाउँपालिका तथा नगरपालिकाको अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुखमध्ये कुनै एक पदमा महिलाको उम्मेदवारी हुनुपर्ने प्रावधान छ। तर राजनीतिक दलले गठबन्धनका नाममा कानुनको उक्त प्रावधानलाई लागू गरेनन्।

यसो गर्दा २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा १६३ स्थानमा महिलाको स्थान खोसियो। संवैधानिक आयोगको कर्तव्यअनुसार निर्वाचन आयोगले संवैधानिक र कानुनी व्यवस्था कार्यान्वयन गराउन राजनीतिक दलहरूलाई बाध्य गराउन सकेन। त्यस्तै २०७९ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीमा राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन गर्दा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन गर्न राजनीतिक दलहरूलाई निर्देशन दियो। तर दलका शीर्ष नेतृत्वको दबाबमा निर्वाचन आयोग नेपाल आफैंले दिएको निर्देशन पालना गराउनबाट पछि हट्यो।

संविधानको धारा ३८ (४) अनुसार राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको व्यवस्था गरेको छ। नेपालको संविधानको धारा ४७ अनुसार मौलिक हकहरूको कार्यान्वयन संविधान प्रारम्भ भएको मितिले तीन वर्षभित्र कानुन निर्माण गरिसक्नुपर्ने व्यवस्था छ। तर संविधान जारी भएको सात वर्ष बितिसक्दा पनि यस सम्बन्धी कानुन निर्माणमा नेपाल सरकारले तदारूकता देखाएको छैन।

यसले राजनीतिक दलहरू संविधानप्रति जिम्मेवार नभएको स्पष्ट हुन्छ। भर्खरै निर्वाचन आयोग नेपालले सरकारलाई बुझाएको निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा पनि संविधानको धारा ३८(४) को व्यवस्था विपरीत रहेको छ। निर्वाचन आयोग नेपालले संसदमा महिलाको न्यूनतम ३३ प्रतिशत अनिवार्य उपस्थितिको संवैधानिक व्यवस्थालाई मात्र ध्यान दिएको छ। तर, नेपालको संविधानमा मौलिक हक अन्तर्गत महिलाको समानुपातिक समावेशिताको हकलाई भने नजरअन्दाज गरेको छ।

संविधानत: समानुपातिक समावेशिताको मूल आधार जनसंख्या भएकोले त्यसै अनुसार राज्यका निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ। संवैधानिक व्यवस्थालाई लागू गराउनु संवैधानिक आयोगको अधिकार र कर्तव्य पनि हो। दलको नेताको दबाब मानेर लाचार हुन निर्वाचन आयोग ती दलको भ्रातृ संगठन होइन न त आयोगका आयुक्तहरू दलका कार्यकर्ता नै हुन्। मस्यौदा निर्माणमा पनि दलका नेतृत्वको दबाब सामु निर्वाचन आयोग संवैधानिक दायित्व र अधिकारबाट पछि हटेको स्पष्ट देखिन्छ।

संविधानमा उल्लिखित मौलिक हक कार्यान्वयन गर्न राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि महिलाको न्यूनतम ५० प्रतिशत उम्मेदवारी सुनिश्चित गर्ने कानुन बनाउनुपर्छ। यसले समानुपातिक निर्वाचन प्रणाली पुरुषको पनि हो र प्रत्यक्ष निर्वाचन प्रणाली महिलाको पनि हो भन्ने मान्यता स्थापित गर्न सहयोग पुर्‍याउँछ।

साथै, यसले महिला प्रत्यक्ष निर्वाचनमा चुनावमा प्रतिस्पर्धा गरेमा हार्छन् भन्ने भाष्यलाई विनिर्माण गर्छ। यसको सुरुवात दाङबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेर रेखा शर्मा, तेह्रथुमबाट नेकपा एमालेकै केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बालाई हराएर नेपाली कांग्रेसकी सीता गुरूङ र मधेश प्रदेशबाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्यको निर्वाचन जितेकी सुरिताकुमारी साहले मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गरिसकेका छन्।

(मानन्धर र चलाउने डेमोक्रेसी रिसोर्स सेन्टर नेपालमा आबद्ध अनुसन्धानकर्ता हुन्।)



source https://www.onlinekhabar.com/2023/07/1341604

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More