Thursday, 5 May 2022

मुगुमा ४ पालिका, ३ थरी गठबन्धन

२३ वैशाख, मुगु । मुगुको सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका नेपाली कांगे्रस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल छ ।

मुगको एक मात्र नगरपालिका छायानाथ रारामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका छन् । सोरुमा समाजवादी र माओवादीको साथ पाएको कांग्रेस यहाँ एक्लै छ ।

खत्याड गाउँपालिकामा माओवादी र कांग्रेसले गठबन्धन गरेका छन् । यहाँ एकीकृत समाजवादी एक्लै छ ।

नेकपा एमाले भने चार वटै पालिकामा एक्लै छ ।

यसअघि मुगुमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा रहँदा माओवादी तेस्रो शक्ति थियो ।

पार्टी विभाजनसँगै एमालेका जना प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र दुई जना गाउँपालिका उपाध्यक्ष एकीकृत समाजवादीमा गएका छन् । त्यसैले एमालेको शक्ति क्षय भएको छ भने एकीकृत समाजवादी अर्को शक्तिको रुपमा देखिने संभावना छ ।

चार वटा पालिकामा भएका ३ थरी गठबन्धनले पनि त्यस्तै संकेत गरेको छ ।

कांग्रेसले जितेको सोरुमा एकीकृत समाजवादीलाई अध्यक्ष

सोरुमा गाउँपालिकामा गठबन्धनकातर्फबाट एकीकृत समाजवादीका धर्मबहादुर शाही अध्यक्ष र नेपाली कांगे्रसका केशरबहादुर शाही उपाध्यक्ष उम्मेद्वार छन् ।

धर्मबहादुर ०७४ मा नेकपा एमालेबाट अध्यक्षमा उठेका थिए , तर नेपाली कांग्रेसका लोकबहादुर शाहीसँग ३४ मतको अन्तरले पराजित भए । जबकी यहाँ उपाध्यक्षमा एमालेकै राज्यलक्ष्मी मल्ल निर्वाचित भएकी थिइन् ।

अध्यक्ष उठेका धर्मबहादुर समाजवादीका जिल्ला अध्यक्ष हुन्, उपाध्यक्ष मल्ल पनि समाजवादीमा छिन् । सोरुमाका चन्दबहादुर शाहीले एमालेबाट प्रदेश सभा जितेको भए पनि अहिले उनी समाजवादी पार्टीमै छन् । उनी कर्णाली प्रदेश सरकारमा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री छन् ।

त्यसैले २०७४ मा आफूले जितेको भए पनि कांग्रेसले यहाँ एकीकृत समाजवादीका धर्मबहादुरलाई अध्यक्ष छाडेको छ ।

११ वडा रहेको यस गाउँपालिकामा नेपाली कांग्रेसले उपप्रमुख सहित ५ वटा वडा अध्यक्ष पाएको छ । माओवादीले ३ वडा र समाजवादीले गाउँपालिका अध्यक्षसहित ३ वडा भागमा लिएको छ ।

मेयरमा वडाध्यक्षहरुको भीडन्त

छायानाथ रारा नगरपालिकामा नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमाले र स्वतन्त्र गरी ५ जना मेयरका दाबेदार छन् ।

ती मध्ये कांग्रेस उम्मेदवार विष्णुकुमार भाम वडा नं. ४ का र एमालेका डम्बरबहादुर रावल वडा नं. ५ का निवर्तमान वडाध्यक्ष हुन् ।

नेपाली कांग्रेस मुगुका प्रवक्ता प्रकाशकुमार शाही नगरमा आफूहरु बलियो रहेकाले एक्लै चुनाव लडेको बताउँछन् ।

उनी एमाले फुटेको र एकीकृत समाजवादीका कार्यकर्ता बाटैमा रहेकाले आफूहरुलाई फाइदा पुग्ने बताउछन् । २०७४ को चुनावमा माओवादीसँग गठबन्धन गर्दै कांग्रेसले यहाँ मेयर जितेको थियो ।

एमाले जिल्ला कमिटी सचिव डबल रोकाय ७४ मा गठबन्धन हुँदा आफूहरु झिनो मतले मेयर हारेका र उपमेयर जितेको भन्दै अहिले संगठन सुधारिएकाले ढुक्क रहेको बताउँछन् ।

कांग्रेसले मेयरसहित ७ वटा वडामा वडाध्यक्ष जितेको थियो, एमालेले उपमेयरसहित ५ वडा र माओवादीले २ वडामा जितेको थियो ।

खत्याडमा त्रिपक्षीय प्रतिस्पर्धा

खत्याड गाउँपालिकामा ०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित ४ वडा जितेको नेकपा एमाललाई यो पटकका पुरानै सिट जोगाउनु पर्ने दबाव छ ।

कारण ७४ मा दोस्रोमा रहेको माओवादी र तेस्रोमा रहेको कांगे्रसले यो पटक चुनावी गठबन्धन गरी साझा उम्मेदवार तय गरेका छन् ।

एमालेबाट फुटेको एकीकृत समाजवादीले अध्यक्ष उपाध्यक्षसहित सबै वडामा आफ्नै उम्मेदवार उठाएको छ । एमालेका पूर्व जिल्ला उपाध्यक्ष समेत भएका अम्मराज शाही नेकपा एकीकृत समाजवादी अध्यक्षमा उम्मेदवार छन् ।

दुई दलको गठबन्धनबाट अध्यक्षमा माओवादीका अजबहादुर शाही र उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाय मैदानमा छन् । रोकाया ०७४ को चुनावमा ७ मतले मात्रै पराजय भएकी थिइन् ।

एमालेले लालबहादुर मल्ललाई अध्यक्ष र कविता गिरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । मल्ल २ का निवर्तमान वडा अध्यक्ष हुन् ।

०७४ मा नेकपा एमालेले प्रमुख, उपप्रमुख सहित ४ वडा अध्यक्षमा जितेको थियो । भने कांग्रेस र माओवादीले ३÷ ३ वडा अध्यक्ष जितेका थिए ।

मुगुम कार्मारोङमा ७४ कै प्रतिस्पर्धी

मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा दुई उम्मेदवार चुनावी मैदानमा छन् र उनीहरु दुवै २०७४ का प्रतिस्पर्धी हुन् । कांग्रेसका छिरिङ क्याप्ने लामा र एमालेका सोनाम छिरिङ लामा ।

७४ को चुनाव १४४ मतले जितेका निवर्तमान अध्यक्ष छिरिङ क्याप्ने लामाले यसपटक माओवादी र एकीकृत समाजवादीको साथ पाएका छन् ।

०७४ मा अध्यक्षसहित ४ वडा अध्यक्षमा नेपाली कांग्रसले र उपाध्यक्षसहित ५ वडा अध्यक्षमा नेकपा एमालेले विजयी भएको थियो ।



source https://www.onlinekhabar.com/2022/05/1121409

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More