Thursday, 31 August 2023

एसियन गेम्सको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने

१५ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।

नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा रहेका छन् । समूह ‘ए’ मा भने, अफगानिस्तान र मंगोलिया, समूह ‘सी’ मा हङकङ, चीन र सिंगापुर तथा समूह ‘डी’ मा बहराइन, माल्दिभ्स र  मलेसिया छन् ।

हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा खेल हुनेछ ।

खेल टि–२० शैलीमा हुनेछ । नेपाल टि–२० आई वरियतामा १७ औं स्थानमा छ । जापान ५३ औं टि–२० आई स्थानमा छ । कम्बोडिया भने आइसिसीको ८७ वरियताभित्र छैन । नेपाल वरियताको आधारमा आफूभन्दा निकै कमजोर टोली जापान र कम्बोडियासँग खेल्नेछ ।

नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ । भारतको ऋतुराज गायकवाड र पाकिस्तानको कासिम अक्रमले एसियन गेम्सका लागि कप्तानी गर्नेछन् ।

एसियन गेम्स खेल्ने नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)



source https://www.onlinekhabar.com/2023/09/1358942

ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

१५ भदौ, काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

यही भदौ १५ देखि १७ गतेसम्म काठमाडौं को भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहने छन् ।

विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रणयन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहलगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गरिने आयोजकको दाबी छ । साथै यी उद्योगमा भएका नविनतम उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले छ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा युएसआईडी क्लिन एयर/एफएचाइ तीन सय ६० रहेका छन । साथै ल्यान्यार्ड सहयोगीमा यासुडा तथा ई कमर्स सहयोगीमा दराज रहेको छ ।



source https://www.onlinekhabar.com/2023/09/1358928

Wednesday, 30 August 2023

यज्ञोपवित अर्थात् सकारात्मक अवधारणा

सामान्यतया प्रत्येक वर्ष वर्षा ऋतुको श्रावण शुक्लपक्षको पूर्णिमाको दिनलाई तागाधारीहरूले जनैपूर्णिमा, रक्षाबन्धन एवं नेवारहरूले गाईजात्रा पर्वको रूपमा मनाउँदछन् । यस वर्ष अधिकमास (मलमास) परेकोले जनैपूर्णिमा एक महिना ढिलो भएर भाद्र महिनामा परेको छ ।

जनैपूर्णिमाका दिन व्रतबन्ध गरेका तागाधारीहरूले पवित्र तलाउ, कुण्ड वा गंगातटमा गई स्नान गरी विधिपूर्वक मन्त्रद्वारा शुद्धीकरण गरिएका नयाँ जनै लगाउने तथा पुरानो जनै विसर्जन गर्ने प्रचलन छ । केही दशक अघिसम्म पनि व्रतबन्ध गरेका तागाधारीहरूको शरीरमा जनै नरहेको कल्पना गरिंदैनथ्यो भने अहिले नयाँ पुस्तामा जनै नरहेको विषय सामान्य रूपमा नै लिएको पाइन्छ ।

नयाँ पुस्तामा जनैप्रतिको आकर्षण किन कम भयो ? यसको दार्शनिक, सामाजिक, सांस्कृतिक, संरचनात्मक, ऐतिहासिक एवं चिकित्सकीय आयामका बारेको ज्ञान नयाँ पुस्तामा सार्न सकियो त ? यो लेख यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित छ ।

जनैलाई विष्णु र ब्रहृमाको सृष्टिको प्रथम सूत्रको प्रतीकको रूपमा लिने गरिन्छ र यसै अनुरूप नै जनैको लम्बाइ पनि जनै धारण गर्ने मानिसको नाभिसम्मको मात्र रहनुपर्दछ भन्ने मान्यता छ । नाभि भन्दा छोटो वा लामो लम्बाइकोे जनैको धारण अशुभ मानिन्छ ।

धार्मिक एवं सांस्कृतिक रूपमा जनै धारण व्रतबन्ध संस्कार पश्चात् गरिन्छ । सनातन धर्मका अनुसार जनै अर्थात् उपनयन वा यज्ञोपवित धारण मनुष्य मात्रको जीवनकालमा गरिने १६ संस्कारमध्ये दशौं संस्कारमा पर्दछ । संस्कृत भाषामा ‘व्रत’ को अर्थ प्रतिज्ञा वा संकल्प हुन्छ भने ‘बन्ध’ को अर्थ नियम वा विधि ।

व्रतबन्ध अर्थात् उपनयन संस्कारमा गुरुले शिष्यलाई गायत्री मन्त्र सुनाई जनै अर्थात् उपवित प्रदान गर्दछन् र आफ्नो आश्रममा शिक्षा प्रदान गर्नका लागि स्वीकार पनि गर्दछन् । यसैले, व्रतबन्ध संस्कारको सम्पूर्ण अर्थ शिष्यले ‘गुरुले निर्माण गरेको विधिलाई पूर्ण रूपमा पालन गरी शिक्षा प्राप्त गर्न सार्वजनिक रूपमा संकल्प वा प्रतिज्ञा गरेको’ भन्ने लाग्दछ ।

उपनयन संस्कारबाट उपवित प्राप्त गरेको शिष्यलाई द्विज भनिन्छ । द्विजको अर्थ उपवित प्राप्त गर्ने व्यक्तिको दोस्रो जन्म भएको मानिन्छ । व्रतबन्धपछि द्विज आफ्नो जीवनको ब्रहृमचर्य अवस्थामा प्रवेश गर्दछन् । ब्रहृमचर्य अवस्थामा उनले आफूलाई सम्पूर्ण रूपमा आध्यात्मिक ज्ञानको विकास र त्यसको साधना एवं ध्यानमा केन्दि्रत गर्दछन् ।

शाब्दिक रूपमा ‘उप’ को अर्थ नजिक र ‘नयन’ को अर्थ अग्रसर भन्ने हुन्छ । यसरी उपनयनको अर्थ ‘नेतृत्वका लागि तयार भएको’ भन्ने लाग्दछ । व्यावहारिक रूपमा पनि व्रतबन्ध पश्चात्को शिक्षा एवं दीक्षा पश्चात् मनुष्य सांसारिक रूपमा समाजका अन्य सदस्य एवं सामाजिक जिम्मेवारीको बहन गरी नेतृत्वदायी भूमिका बहन गर्ने अवस्थाको नजिक पुगेको वा तयार नै भएको रूपमा लिइन्छ । त्यसैले व्रतबन्ध संस्कारलाई विवाह संस्कारको पूर्वशर्तको रूपमा पनि लिएको पाइन्छ ।

आचार्य चाणक्य एवम् आधुनिक मनोविज्ञानका ज्ञाताहरूका अनुसार मनुष्यको स्वभाव निर्माणको उमेर सात वर्षदेखि १४ वर्षको अवधि नै हो । यस उमेर पश्चात् उसको व्यक्तित्व यस अवधिमै बनेको स्वभावको प्रतिबिम्बको प्रस्फुटित स्वरूप मात्र हो ।

अर्को शब्दमा भन्नु पर्दा १४ वर्षको उमेर पश्चात् मानिसको स्वभावमा परिवर्तन आउन असम्भवप्रायः नै हुन्छ । अर्थात् यस पश्चात्को स्वभावमा आउने खास परिवर्तन एउटा दुर्घटना जस्तै हो । यसैले सात वर्षकै उमेरमा व्रतबन्ध गरी घरभन्दा टाढा गुरुको समिपमा रही शिक्षा प्राप्त गर्ने कार्यले मनुष्यको स्वभाव, आचरण, एवम् ज्ञानलाई एउटा सही दिशानिर्देश गर्न सहायकसिद्घ हुनसक्दछ ।

साथै, यस प्रक्रियामा हुने सहभागिताले उसलाई जीवनपर्यन्त सामाजिक परम्परा, मूल्यमान्यता एवम् रीतलाई अवलम्बन्ा गरी गुरुले प्रदान गरेको सिद्घान्तको मार्गदर्शनमा सामाजिक विषयमा निर्णय लिन मद्दत गर्दछ । प्रकारान्तरले उसबाट यसरी गरिनेे कार्यले सृष्टिमा निर्माण भएको चराचर जगतको अस्तित्वलाई निरन्तर चलाउन सहायकसिद्घ भई उसले आफ्नो जीवनलाई एउटा सार्थक जीवनको रूपमा परिणत गर्न सक्दछ ।

संरचनात्मक रूपमा जनैमा तीन वटा मूल धागोहरू रहेका हुन्छन् । प्रत्येक एउटा मूल धागोमा थप तीन वटा धागोहरू संयोजन भएका हुन्छन् । यसरी जनैमा नौ वटा धागाहरू हुन्छन् जसले तीन वटा मूल तत्व र ती मूल तत्वका थप तीन वटा सहायक तत्वहरूलाई प्रतिनिधित्व गर्दछन् । तीन वटा मूल धागाहरूले तीन वटा मूल तत्वहरू -नाडी वा स्नायु, गुण वा स्वभाव, र ऋण वा दायित्व) लाई प्रतिनिधित्व गर्दछन् ।

पितृ-मातृ ऋण अर्थात् पिता-माताप्रतिको दायित्व र गुरु ऋण अर्थात् ज्ञान प्रदान गरी दोस्रो जन्म दिने गुरुप्रतिको दायित्व । यी दायित्वहरूले मानिसलाई बाँच्नुको सार्थकता प्रदान गर्दछन् अर्थात् यी दायित्वको निर्वाह गर्नु नै सार्थक जीवन बाँच्नुको पहिलो र महत्वपूर्ण कर्तव्य हो भनी सम्झाउँछ । यसैले हरेक मानिसले आफू मर्नुभन्दा अघि यी तीन वटा दायित्वहरू पूरा गर्ने कर्तव्य निर्वाहका लागि बाँच्नुपर्दछ भन्ने कारण प्रष्ट्याउँछ ।

विक्रम संवत् १९७७ तिरको समयलाई पानीसरो मान्दै सरदार भीमबहादुर पाँडे आफ्नो पुस्तक ‘त्यस बखतको नेपाल’ मा समाजको जातीय विभाजन बारे लेख्छन्, ‘त्यस बखत गाउँमा प्रायः तीन वर्गका मानिस हुन्थे- तागाधारी, मतवाली र अछूत । तागाधारी वर्गमा बाहुन, क्षेत्री, ठकुरी अर्थात् जनै लगाउने ! मतवाली वर्गमा गुरुङ, चुरेटा, मगर, भोटे, कुमाले, थारू, राई, लिम्बू, नेवार अर्थात् छोइछिटो हाल्न नपर्ने र जाँडरक्सी खाएर जात नजाने । सार्की, कामी, दमाई, गाइने, पोडे लगायत माथि छुवाछूतको विभेद थियो ।’

जनैको धारण गर्नु एउटा धारणा मात्र नभई सिद्धान्त, विश्वास, अनुशासन, औषधि, दायित्व र कर्तव्य सूचक, सकारात्मक ऊर्जाको स्रोत, ऐतिहासिक धरोहर र रक्षा सूत्र पनि हो भनी विश्वस्त हुन सकिन्छ

सनातन धर्मका अनुसार सम्पूर्ण देवताको निवास (देवलोक) उत्तर दिशातर्फ छ भने पितृहरूको निवास (पितृलोक) दक्षिण दिशातर्फ रहेको छ । त्यसैले पुण्य प्राप्त गर्ने सम्पूर्ण कार्यहरू पूर्वतर्फ फर्केर गर्ने गरिन्छ । सामान्यतया जनैलाई बायाँ काँधमा राखेर दाहिने हातको तल पर्ने गरी लगाइन्छ । यस अवस्थामा पूर्वतर्फ फर्केर शुभकर्म गर्दा जनै उत्तर दिशा (देवलोक) तर्फ पर्न जान्छ ।

यस अवस्थामा गरिने कार्यलाई सव्य कर्म भनिन्छ । यसले सत्व्ा गुणलाई उत्प्रेरित र देवताहरूलाई आहृवान गर्दछ । त्यसैगरी अन्तिम संस्कार, पिण्डदान तथा श्राद्घमा तर्पण दिंदा जनैलाई दायाँ काँधमा राखेर बायाँ हातको तल पर्ने गरी लगाइन्छ । यस अवस्थामा पूर्वतर्फ फर्केर पितृकार्य गर्दा जनै दक्षिण दिशा (पितृलोक) तर्फ पर्न जान्छ । यस अवस्थामा गरिने कार्यलाई अपसव्य कर्म भनिन्छ ।

अध्यात्म विज्ञानका अनुसार मानिसको शरीरमा नाभिभन्दा माथिको भागलाई शुद्घ र नाभिभन्दा तललाई अशुद्घ भागको रूपमा लिइन्छ । सनातन धर्मका अनुसार शौच कर्म अथवा उत्सर्जन कर्ममा रज एवं तम गुण प्रधान हुन आउँछ । त्यसैले उत्सर्जन कार्य गर्दा जनैलाई दायाँ कानमाथि राख्ने गरिन्छ ।

शौचकर्म गर्दा जनै नाभिभन्दा तल पर्न गई अशुद्घ हुन जाने सम्भावना रहने हुनाले जनैलाई कान माथि राख्दा सो सम्भावना टर्दछ भने अशुद्घ शक्ति (रज (पिसाब) र तम (दिसा) गुण) ले जनैलाई प्रेरित गर्ने सम्भावना पनि रहँदैन ।

पूर्वीय जीवनदर्शनको मूल ग्रन्थ चार वेदको संकलन कार्यको मुख्य श्रेय महर्षि व्यासलाई जान्छ । यी चार वेदहरूलाई यो रूपमा संकलित गर्न महर्षि व्यासको समूहमा ४०० बढी विद्वान् तथा विदुषीहरू रहेकोमा कम्तीमा पनि २५ भन्दा बढी विदुषीहरू रहेको विश्वास गरिन्छ । यस अर्थमा शिक्षा प्राप्त गर्ने वा व्रतबन्ध पश्चात् गुरुका समीपमा गई ज्ञान हासिल गर्ने अवसरबाट महिलाहरूलाई त्यस बखतमा वञ्चित नगरिएको कुरा जान्न सकिन्छ ।

यसले प्रारम्भिक वैदिककालमा गुरुकुलमा पढ्ने र पढाउने कार्यमा महिला र पुरुषका बीचमा कुनै विभेद नरहेको बुझिन्छ । पौराणिक कालमा मैत्रेयी लगायतका महिलाहरूले जनै धारण गरेको तथा वेदको अध्ययन गरी तत्कालीन सद्गुरु एवम् महर्षिहरूसँग विभिन्न विषयमा शास्त्रार्थ गरेको कुरा उल्लेख भएको पाइन्छ ।

समयक्रममा शंकराचार्यले उत्तर मीमांसा (ब्रहृम सूत्र) को तुलनामा पूर्व मीमांसा (धर्म सूत्र) को प्रचारप्रसार एवम् व्यावहारिक प्रयोगमा जोड दिएबाट वैदिक ज्ञानको प्रयोगमा महिलाको सहभागिता कमजोर बन्दै गएको पाइन्छ । झण्डै एक शताब्दीअघि पनि नेपाली राई समुदायकी महिला योगेश्वरी अञ्जना देवी (नेपाली मीराका नामबाट भारतमा चर्चित) तथा भोजपुरकी योगमाया न्यौपाने (योगमायाका नामले चर्चित) ले पनि वैदिक ज्ञान आर्जन गरी प्रसिद्धि प्राप्त गरेको पाइन्छ । यसबाट महिलाहरूले पनि पुरुष समान व्रतबन्ध गर्न, जनै लगाउन तथा शिक्षा प्राप्त गर्न सक्दछन् तथा यस कार्यका लागि वैदिक दर्शनले भेदभाव नगरेको प्रष्ट हुन्छ ।

सनातन धर्मका अनुसार सबै मानिस जन्मँदा एकैस्तरमा अथवा शूद्रकै तहमा जन्मिन्छन् । अर्थात् जन्मका आधारमा कोही पनि ब्राहृमण वा क्षेत्रीय हुँदैनन् । यदि गुरुले शिष्य स्वीकार गरेमा उपनयन संस्कार पछि गुरुबाट प्राप्त ज्ञान, संस्कार, आचरण तथा आफ्नै चेतना सहितको साधनाद्वारा उनीहरू अन्य मानिसहरू भन्दा फरक स्तरमा पुग्दछन् ।

मानिसको शरीरमा भएको यज्ञोपवित वा जनैको धारण उसमा रहेको ‘सत्यलाई त्यही रूपमा देख्न सक्ने’ योग्यता एवम् क्षमताको पहिचान वा संकेत हो ।

समाज विज्ञानको सन्दर्भमा सिद्घान्तको व्याख्या र प्रयोग पनि समय र सन्दर्भ अनुसार प्रासंगिक हुने भएकोले जनै वा यज्ञोपवितलाई अकाट्य वा शाश्वत सिद्घान्तका रूपमा नभई एउटा सकारात्मक अवधारणाका रूपमा लिएको पाइन्छ ।

यसैकारण, श्रावण महिनाको शुक्लपक्षको पूर्णिमाको दिनलाई यज्ञोपवित धारण गर्ने दिन वा जनैपूर्णिमाको दिनको रूपमा मनाइन्छ । जनैपूर्णिमाको दिन मन्त्रद्वारा शुद्घीकरण गरिएको जनै धारण गरे पश्चात् प्रत्येक दिन हातमा लिई १०८ पटक गायत्री मन्त्र जाप गरी जनैलाई ऊर्जावान् बनाई राख्नुपर्दछ भन्ने मान्यता छ ।

जनैको अवधारणाको सही चेतनाका साथ यसलाई धारण गरी यथोचित प्रयोग गरेमा यसबाट बहुआयामिक लाभ प्राप्त गर्न सकिन्छ । यसले मानव शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै मानव जीवनलाई नै उद्देश्यमूलक बनाई सार्थकतातर्फ उन्मुख गर्नेमा द्विविधा गर्नुपर्दैन ।

जनैको धारण गर्नु एउटा धारणा मात्र नभई सिद्धान्त, विश्वास, अनुशासन, औषधि, दायित्व र कर्तव्य सूचक, सकारात्मक ऊर्जाको स्रोत, ऐतिहासिक धरोहर र रक्षा सूत्र पनि हो भनी विश्वस्त हुन सकिन्छ ।



source https://www.onlinekhabar.com/2023/08/1358259

मलेसियालाई पराजित गर्दै नेपालको सुखद सुरुआत

१४ भदौ, काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ ।

नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले सर्वाधिक २८ रन बनाइन् । उनले ३९ बलमा १ चौका प्रहार गरिन् ।

ओपनर एना हमिजा हसिमले २२ बलमा १ चौका सहित १४ रन बनाइन् । मास इलिसाले १४ बलमा १ चौका सहित १० रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।

बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले ५४ बलमा उक चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् ।

सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरुआत गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् ।छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा एक चौकासहित १७ रनमा आउट भइन् ।

पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् ।

तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।

कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा दुई चौकासहित १२ रनमा आउट भइन् ।

मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।



source https://www.onlinekhabar.com/2023/08/1358272

आज जनैपूर्णिमा पर्व मनाइँदै

१४ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए ।

तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा. शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ ।

यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।

नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।



source https://www.onlinekhabar.com/2023/08/1358192

पाकिस्तानविरुद्ध नेपाल : ऐतिहासिक खेलमा थोरै मज्जा, थोरै खल्लो

१३ भदौ, काठमाडौं । एकदिवसीय क्रिकेटमा विश्वकै पहिलो वरियताको टिम । उसकै घरेलु मैदान मुल्तान क्रिकेट रंगशाला ।

एसिया कपको पहिलो खेलमा बुधबार नेपालले पाकिस्तानसँग खेल्दा गुमाउनु केही थिएन । जित्नु थियो त ठूलो टिमहरुसँग पनि नेपालले सम्माजनक खेल खेल्न सक्छ भन्ने विश्वास ।

मुल्तान क्रिकेट रंगशालामा भएको खेलमा २३८ रनको फराकिलो हार व्यहोर्ने क्रममा नेपालले थोरै आत्मविश्वास देखाएको छ । अनि अझै काम गर्नुपर्ने पनि देखिएको छ । ‘यो हाम्रा लागि एउटा उत्सव हो’ नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘बलिङतर्फ सुरुको २५/३० ओभर हामीले त्यो मज्जा लियौं । ब्याटिङतर्फ हामीले लिनुपर्ने जति मज्जा लिन सकेनौं ।’

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले फाखर जमान र इमाल उलहकलाई ओपनिङमा पठायो । अनुशासित बलिङ गरेको नेपालले उनीहरुलाई दबावमा राखे । छैटौं ओभरको तेस्रो बलमा करण केसीले जम्मान असिफ शेखको हातबाट क्याच गराए भने सातौं ओभरको पहिलो बलमा कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत इमाम उल हकलाई रन आउट गराए । इमामले त्यसअघि जीवन दान पाए पनि त्यसको लाभाग उठाउन सकेनन् ।

इमाम आउट हुँदा पाकिस्तानको स्कोर २५/२ थियो । त्यसपछि कप्तान बाबर आजमले नयाँ ब्याट्सम्यान मोहम्मद रिजानसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । २४औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी एत्कृष्ट फिल्डिङ गर्दै त्यो साझेदारी तोडे, उनले ४४ रनमा खेलिरहेका रिजवानलाई रन आउट गरे । नयाँ ब्याटर सलमान आगा थप १३ रन जोड्दा सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच गराए ।

नेपालको अनुशासित बलिङका कारण विश्वका नम्बर वान ब्याट्सम्यान बाबर पनि खुलेर खेल्न सकिरहेका थिएनन् । २९ औं ओभरको दोस्रो बलमा अर्धशतक पूरा गरेका उनले अर्को बलमा जीवनदान पाए । आफ्नै बलमा करणले क्याच लिन सकेको भए परिस्थिति फरक हुनसक्थ्यो ।

पूर्व कप्तान मल्ल त्यसलाई विकेटको आधा सम्भावना मान्छन् । ‘यदि त्यो विकेट लिएको भए कम्तिमा पाकिस्तानको ६०/७० रन कम हुन्थ्यो’, उनको विश्लेषण छ ।

त्यसपछि पनि विकेटको खोजीका क्रममा कप्तान रोहितकुमार पौडेलले आफूसँग भएका विकल्पहरु प्रयोग गर्ने क्रममा ३४औं ओभरको बल कुशल भुर्तेललाई थमाए । उनले दुई चौकासहित १० रन दिए । त्यही ओभरमा दुई चौका हानेका बाबर र इफ्तिखार अहमदले खुलेर खेल्न थाले । बाबर र उनले बाउन्ड्री हान्न लागे । यद्यपि ४० ओभरको समाप्तीमा पाकिस्तानको स्कोर २१३/४ मात्र थियो ।

तर अन्तिम १४ ओभरमा नेपालले १२९ रन दियो । ४१औं ओभरको दोस्रो वलमा करिअरको १९औं शतक बनाएका बाबरले ४८औं ओभरको अन्तिम बलमा एक रन लिँदै १५० रन पूरा गरे । अनि इफ्तिखारलाई करिअरको पहिलो शतक बनाउन साथ दिए । उनले ४९औं ओभरको पाँचौं बलमा करणलाई चौका हान्दै १०० रन कटाए ।

पाकिस्तानी कप्तान बाबर करिअरकै सवार्धिक रन बनाउने सम्भावनालाई भने सोमपालले तोडे । अन्तिम तेस्रो बलमा उनी १५१ रनमा आउट भए र इंग्ल्याण्डविरुद्ध २०२१ मा बनाएको १५८ रनको स्कोरलाई भेट्टाउन पाएनन् । अन्तिम बलमा शाबाद खानलाई पनि आउट गर्दै सोमपालले आफ्नो नाममा २ विकेट लेखाए ।

तर पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको विशाल स्कोर बनाउन सफल भयो । डेथ ओभरको बलिङमा केही कमजोरी र दुई डाइरेक्ट हिटका बाबजुद ग्राउण्डमा भएका केही मिसफिल्डले पनि त्यो अवस्था बन्यो । खेलका क्रममा कुनै बेला मैदानमा नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट देखिन्थ्यो भने कुनै बेला तिनै खेलाडीमा हडबडाहट देखिन्थ्यो ।

‘डेथ ओभरमा हामीले राम्रो गर्न सकेनौं’ पूर्व क्रिकेटर एवं प्रशिक्षक राजु बस्न्यात भन्छन्, ‘ठूलो खेलको दबाब, त्यहाँको वातावरणले गर्दा पनि खेलाडीहरु थाके जस्तो लाग्यो । त्यसैले बलिङमा भन्नु केही छैन ।’

३४३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ब्याटिङमा भने लय समाउनै सकेन । शाहीन अफ्रिदीले पहिलो ओभरको पाँचौं बलमै कुशल भुर्तेलको विकेट लिए भने अर्को बलमा कप्तान रोहित पौडेल आउट हुन पुगे ।

अर्को ओभरमा नसिम शाहले आसिफ शेखको विकेट लिएपछि नेपालको अवस्था १४/३ भयो । क्रिकेट प्रशिक्षक बस्न्यात टप अर्डरका तीन व्याट्सम्यानलाई गुमाउनु नेपालका लागि दुर्भाग्य मान्छन् । भन्छन्, ‘यदि उनीहरुले राम्रोसँग सुरुवात गर्न पाएको भए सम्मानजनक स्कोर बन्थ्यो ।’

यद्यपि आसिफ शेख र सोमपाल कामीले टिकेर खेल्न प्रयास गरे । दुबैले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरे । हरिफ राउफले त्यो साझेदारी तोडे । तर १५औं ओभरको चौथो बलमा उनले शेखलाई २६ रनमा आउट गरे ।

त्यसपछि ३१ रन जोड्दा नेपाल बाँकी सबै विकेट गुमायो र नेपाल २३.४ ओभरमा १०४ रन बनाएर अलआउट भयो । नेपालका लागि सबभन्दा धेरै सोमपालले २८ रन बनाए अरुले दोहोरो अंक समेत छुन सकेनन् ।

पूर्व कप्तान मल्लका अनुसार पेश बलरहरुसँग नियमित नखेलेकाले सजिलो थिएन । तर कतिपय बेला खेल्न जरुरी नभएका सर्टहरु खेल्दा नेपालले विकेट गुमायो । नेपालले कम्तिमा २०० रन कटाउन सकेको भए सम्मानजक स्कोर हुने भन्दै उनी भन्छन्, ‘हामीले जति खेल्न सक्यौं, ब्याटिङमा त्यो देखिएन ।’

प्रशिक्षक बस्न्यात पनि उत्कृष्ट बलरहरु भएको पाकिस्तानसँग खेल्ने अवसरलाई जति सहयोग गर्नुपर्ने हो, ब्याटिङतर्फ त्यति गर्न नसकेको बताउँछन् ।



source https://www.onlinekhabar.com/2023/08/1358174

Tuesday, 29 August 2023

इसरोको दाबीः चन्द्रमामा अक्सिजनको सङ्केत भेटियो

१३ भदौ, नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।

गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।

चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरणले पत्ता लगाएको थियो ।

‘तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने वैज्ञानिक प्रयोगहरू ‘इन–सीटू’ जारी छन्’ इसरोले एक्स (ट्वीटर) मा जारी एक पोस्टमा भनेको छ, ‘रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुवनजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति पनि अपेक्षित रूपमा पत्ता लगाइएको छ । हाइड्रोजनको खोजी जारी छ ।’

लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस)’ उपकरण दक्षिणी शहर बेङ्गलुरूस्थित आफ्नो प्रयोगशालामा विकसित गरिएको इसरोले जनाएको छ । सिन्ह्वा



source https://www.onlinekhabar.com/2023/08/1357661

के हो इन्जिनियरिङ शिक्षाको शुल्क विवाद, किन भइरहेको छ आन्दोलन ?

१२ भदौ, काठमाडौं । इन्जिनियरिङ शिक्षामा शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरुले दैनिकजसो प्रदर्शन गरिरहेका छन् । शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसनमा छन् ।

अनसनको समर्थनमा हरेक दिनजसो प्रदर्शन भइरहेको छ । मंगलबार पनि पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन संस्थानको भीसी, डीन लगायतको पदाधिकारीको विरोधमा प्रतिकात्मक शव यात्रा निकालेका छन् ।

के हो शुल्क विवाद, किन भइरहेको आन्दोलन ?

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गत पुल्चोक, थापाथली, धरान, पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा इन्जिनियरिङको पढाइ हुन्छ ।

२०५३ सालअघिसम्म यी कलेजमा नियमित विद्यार्थी (सरकारको पूर्ण छात्रवृत्तिमा) मात्रै हुन्थे । उनीहरुले मासिक शुल्क ८०० रुपैयाँ तिनुपथ्र्यो र त्यही बराबरको छात्रवृत्ति सरकारबाट पाउँथे ।
संस्थानको अरु क्रियाकलाप गर्न आर्थिक संकट पर्न थालेपछि २०५३ सालमा दुई प्रकारका विद्यार्थी पढाउने निर्णय गर्‍यो ।

२०५४ देखि सरकारी छात्रवृत्तिबाट पढ्ने (नियमित) र पैसा तिरेर पढ्ने (पूर्ण शुल्क) भनेरै भर्ना विद्यार्थी लिन थालियो । त्यसबेला नियमितलाई मासिक ८०० (करिब ४० हजार) शुल्क तोकियो, जुन रकम सरकारले छात्रवृत्तिका विद्यार्थीहरुलाई उपलब्ध गराउँथ्यो । पूर्णशुल्क अर्थात पैसा तिरेर पढ्न तीन लाख १८ हजार रुपैयाँ तोकियो ।

पछिल्लो पटक संस्थानले २०७२ सालमा शुल्क समायोजन गर्ने निर्णय गर्दै सिफारिस समिति बनायो । समितिको सिफारिसअनुसार आफ्नै खर्चमा पढ्ने विद्यार्थीहरुको शुल्क तीन लाख १८ हजारबाट बढाएर पाँच लाख ३२ हजार शुल्क बनाउने निर्णय गर्‍यो । छात्रवृत्तिमा बढ्ने विद्यार्थीहरुको शुल्क भने हेरफेर भएन ।

तर विद्यार्थीहरुले विरोध गरे, शुल्क बृद्धिको निर्णय लागू भएन । पछिल्लो समय सरकारले अनुदान कटौती गर्नुका साथै आवश्यक शिक्षक कर्मचारी नदिने र आफैंले घोषणा गरेको तलब बृद्धिको लागि पनि बजेट नदिएको भन्दै इन्जिनियरिङ अध्ययन संस्थान १७ चैत २०७९ शुल्क समायोजन समिति गठन गरेको थियो ।

उक्त समितिले क्याम्पसका चारवटै आंगिक क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीसँग छलफल गरेर नयाँ शुल्क सिफारिस गर्‍यो ।

जसअनुसार पूर्ण शुल्क तिरेर पढ्ने विद्यार्थीका लागि सात लाख ७७ हजार रुपैयाँ लाग्ने भयो । सरकारी छात्रवृत्तिमा पढ्नेहरुको शुल्क हेरफेर भएको छैन, तर सरकारले दिने अनुदान कटौती गरेका कारण मासिक ८०० रुपैयाँ भने तिर्नुपर्छ ।

त्यही आधारमा संस्थानले यो वर्षको नयाँ भर्नामा पूर्ण शुल्कतर्फ ७ लाख ७५ हजार रुपैयाँ लिने निर्णय गर्‍यो ।

त्यही शुल्क तोकेर क्याम्पसहरुले यही २५ भदौबाट भर्नाका लागि प्रवेश परीक्षा लिने तयारी थाले । आईओईका अनुसार चारवटै क्याम्पसमा गरी ६३० जना विद्यार्थी छात्रवृत्तिमा र एक हजार ४१० जना पूर्ण शुल्क तिरेर भर्ना गर्ने तयारी छ । तर शुल्कवृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका कारण डीन कार्यालयले प्रवेश परीक्षा स्थगित गरेको छ ।

तर विद्यार्थीहरुको आन्दोलन रोकिएको छैन । वृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने र तीन लाख १८ हजारमै पढाउनुपर्ने आन्दोलनरत विद्यार्थीहरुको माग छ । पुलचोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले शुल्क वृद्धिको निर्णय गलत भएको बताउँछन् । उनले भने, ‘यो गलत निर्णय भएकाले तत्काल खारेज गर्नुपर्छ । पहिला जे थियो त्यही हुनुपर्छ ।’

क्याम्पसहरु भने पछिल्लो तीन वर्षयता घाटामा चलिरहेको र यो वर्ष तलब समेत खुवाउन नसक्ने अवस्था आएको भन्दै पुरानै शुल्कमा विद्यार्थी पढाउन तयार छैनन् ।

क्यापस प्रमुखहरुका अनुसार सरकारले त्रिविलाई दिने अनुदान २० प्रतिशत कटौती गरेको र त्रिविले पनि त्यही अनुसार कटौती गरेर विश्वविद्यालय अनुदान आयोगमार्फत बजेट पठाएको छ ।

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षक तथा कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेपनि बजेट नपाएकाले आन्तरिक स्रोतबाट दिनु परेको छ ।

चारवटै आंगिक क्याम्पसका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै शुल्क समायोजन नभए पूर्ण शुल्क कार्यक्रम नै खारेज गर्ने अवस्था आउनसक्ने बताएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. इन्द्रप्रसाद आचार्य भन्छन्, ‘शुल्क समायोजन नगरे उपाय नै छैन । यदि नहुने हो भने तालाचाबी बुझाउनुको विकल्प छैन ।’

उनका अनुसार सेवा अवधि पुगेपछि अवकासमा गएका स्थायी शिक्षक तथा कर्मचारीको पदपूर्ति भएको छैन । उनीहरुको ठाउँमा क्याम्पसले आंशिक शिक्षक र करारमा कर्मचारी राखेका छन् ।

सरकारले स्थायी शिक्षक तथा कर्मचारीको मात्र तलब दिन्छ । आशिंक शिक्षक र करारका कर्मचारीको तलब क्याम्पसले नै आन्तरिक स्रोतबाट ब्यहोर्नुपर्ने हुन्छ । आम्दानी र खर्चको अनुपात निकै फरक परेकाले ल्याब, कम्प्युटर, सर्भरलगायतको मर्मत सम्भार गर्न समेत नसकेको उनीहरु बताउँछन् ।

आन्दोलन विद्यार्थी संगठनहरु भने संस्थानको घाटा सरकारले व्यहोर्नुपर्ने बताउँछन् । ‘संस्थान घाटामा छ, सरकारले पैसा दिएन भन्ने उहाँहरुको गुनासो छ’, अनेरास्ववियुका अध्यक्ष समिक बडाल भन्छन्, ‘सरकारको दायित्वभित्र पर्ने कामका लागि विद्यार्थीबाट शुल्क उठाउनु गलत हो । शुल्क बढाउन हाम्रो सहमति छैन ।’

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा त निजी कलेज सञ्चालकहरुको प्रभावमा शुल्क बढाइएको आरोप लगाउँछन् । संस्थानले बनाएको शुल्क समायोजन समितिमा पाँच जना निजी कलेज सञ्चालक रहेको भन्दै उनले भने, यो मान्य छैन ।’

आन्दोलन चर्किएपछि इन्जिनियरिङ अध्ययन संस्थानले डा. सुरज लामिछाने नेतृत्वको टोलीलाई सम्वाद गर्ने जिम्मा दिएको छ । अनौपचारिक रुपमा समितिले क्याम्पसहरु र विद्यार्थी संगठनहरुसँग सम्वाद गरिसकेको छ । तर सहमतिको संकेत देखिएको छैन ।

क्याम्पसहरु भने वृद्धि गरिएको शुल्क पुनरावलोकन गर्न सकारात्मक भएपनि पुरानै शुल्कमा पढाउन तयार छैनन् । विद्यार्थी संगठनहरु भने पुरानै शुल्कमा पढाउनुपर्ने अडानमा छन् । वार्ता समितिले आन्दोलनरत विद्यार्थी संघसंगठन तथा स्ववियुलाई शुल्कबारे नयाँ प्रस्ताव ल्याउन आग्रह गरे पनि मानेका छैनन् ।

वार्ता समितिका संयोजक डा. लामिछाने भन्छन् ‘संस्थानले पुरानै शुल्कमा फर्किन नसक्ने, तर बीचको विन्दुमा सहमति गर्न सकिन्छ भनेको छ । विद्यार्थी संठगनहरुले पुरानै शुल्क हुनुपर्ने अडान नछोड्दा निकास देखिएको छैन ।’

विद्यार्थी संगठनहरुले भने पुरानै शुल्क अनुसार भर्ना लिए अनुदान बढाउन आन्दोलन गर्ने बताएका छन् ।

यो प्रस्ताव व्यवहारिक नभएको क्याम्पसहरु बताउँछन् । सरकारले दिनसक्ने अवस्था नभएकाले आफैं कमाउ, आफैं बाँच भन्ने नीति अपनाएको भन्दै थापाथली क्याम्पसका एक प्राध्यापक भन्छन्, ‘अहिले पुरानो शुल्क अनुसार भर्ना लिने र अनुदान बढाउन माग गर्दै विद्यार्थी संगठनहरुसँग आन्दोलन गर्न हिँड्न सक्दैनौं ।’



source https://www.onlinekhabar.com/2023/08/1357643

Monday, 28 August 2023

सुनसान छन् बागलुङका घरबास

१२ भदौ, ढोरपाटन । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् ।

असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको हो । घरबास सञ्चालकका अनुसार साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास, अतिथि सत्कार घरबास भकुण्डे लगायतमा पाहुना कम पुग्ने गरेका छन् । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकहरू खेतबारीको काममा जुटेका छन् ।

बागलुङ बजार आसपासको बागलुङ कालिका मन्दिर, बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयबाहेक अन्य स्थलमा कम आगन्तुक पुगेको पाइन्छ । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारी दिएको छ ।

बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीस अहिले पर्यटक कम भएपनि असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने विश्वासमा छन् । बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो गएको र बाटोमा घाँस पलाउँदा पाहुना कम आएको उनको भनाइ छ ।

‘हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ’ उनी भन्छन्, ‘अहिले मकै पाक्ने बेला भयो, मकै भित्र्याउने, आलु खन्ने, बारीमा काम गर्नेबाहेक अरु केही गर्न सकिएको छैन ।’

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबासकी सञ्चालक मुना थापामगर अहिले पाहुनाको आगमन निकै कम भएको बताउँछिन् । बर्खामा बादल लाग्ने र दृश्यावलोकन गर्न नपाइने हुँदा पर्यटक कम पुग्ने उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2023/08/1357249

इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

१२ भदौ, काठमाडौं । ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको छ ।

त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि बै सबभन्दा घातक थियो । घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो ।

इराकका प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले फाँसी दिइएका व्यक्तिहरु कोको हुन् र उनीहरुलाई कहिले फाँसी दिइयो भन्ने बताएको छैन । प्रधानमन्त्रीले पीडित परिवारलाई बम आक्रमणमा संलग्नहरुलाई उचित सजाय दिइएको जानकारी दिएको कार्यालयले जनाएको छ ।

सरकारी स्रोतले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार फाँसी दिइएकामध्ये एक आईएसका मास्टरमाइण्ड मानिने गजवान अल जौबाई पनि छन् । उनी २०२१ मा पक्राउ परेका थिए ।

३ जुलाई २०१६ मा इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र कर्राडाको शपिङ सेन्टर नजिककै विस्फोटक पदार्थले भरिएको एक सवारीमा विस्फोट गराइएको थियो । त्यो समयमा रमजानका लागि आफ्नो दैनिक उपवास तोडेपछि रातको समय मानिसहरु त्यहाँ जम्मा भएका थिए ।

बम विस्फोटपछि भवनमा आगो लागेको थियो, जसमा परेर मानिसहरुले ज्यान गुमाए । यो घटनापछि तत्कालीन आन्तरिक मामिलामन्त्री मोहम्मद गब्बनले राजीनामा दिएका थिए ।



source https://www.onlinekhabar.com/2023/08/1357234

कस्तो शिक्षा नीतिको खोजी ?

के हामी शिक्षा विनाको समाज कल्पना गर्न सक्छौं ? छोराछोरीलाई विद्यालयमा पठाउन हतारिने समाजले त्यसो गर्न सक्दैन । समाजका लागि शिक्षा अभिन्न अंग बनेको छ । मानव सभ्यताको विकास क्रममा हासिल गरेको ज्ञान र अनुभव नयाँ पिंढीमा हस्तान्तरण हुन आवश्यक हुन्छ । यो काम समाजले विद्यालयबाट लिने व्यवस्था गरेको छ ।

विभिन्न आरोह–अवरोह पार गरेर बनेको वर्तमान मानव सभ्यताको निरन्तर विकास गर्न ऐतिहासिक मानवीय अनुभव, मानव निर्मित सिद्धान्त, पद्धति र प्रणाली साथै सामाजिक मूल्यमान्यता र संस्कृतिको संरक्षण, प्रवद्र्धन र अपनत्व नयाँ पुस्ताले लिनुपर्छ । उदाहरणका लागि आज हामीले मुख्य खानाको रूपमा प्रयोग हुने धानलाई चामल र त्यसको खाना बनाएर खाने विधि, विभिन्न जडीबुटीको औषधिको रूपमा प्रयोग गर्ने ज्ञान, वैज्ञानिक प्रयोगबाट निस्केका परिणाम जस्ता सबै पुराना ज्ञान नयाँ खोज र अनुसन्धान गर्न धरातलको काम गर्छन् ।

त्यस्तै; कृषि, चिकित्सा, न्याय, विज्ञान, प्रविधि, सीप, ज्ञान सम्बन्धी धेरै ऐतिहासिक उपलब्धिलाई पनि नयाँ पुस्तामा हस्तान्तरण गर्न शैक्षिक संरचनाको आवश्यकता पर्छ । विद्यालय शिक्षाको व्यवस्था अघि यो काम समाजका अन्य संरचना (परिवार, धर्म, जात व्यवस्था) ले गर्दै आएका थिए । आजको आधुनिक समाजमा त्यसका निम्ति शैक्षिक संरचनाको विकास अनिवार्य भएको छ ।

शिक्षालाई समाजबाट अलग गरेर हेर्दा समाज जड र यान्त्रिक बन्छ । समाज अशान्त्ति, अराजकता, बेथिति र असुरक्षाको शिकार बन्न सक्छ । असल सामाजिक मूल्यमान्यता, परम्परा, भाषा, संस्कृतिको हस्तान्तरण मुस्किल बन्छ । त्यस्तै शैक्षिक संरचना पूँजीवादी बजारलाई सबैभन्दा आवश्यक परेको देखिन्छ । शैक्षिक संस्थाले बजारलाई आवश्यक पर्ने दक्ष जनशक्तिको आपूर्ति गर्ने गरेको छ ।

राज्यलाई आवश्यक बफादार, देशपे्रमी, जिम्मेवार र दायित्वबोध गर्ने नागरिक तयार पार्न शैक्षिक संस्थाको प्रयोग गरिन्छ । २०२८ सालको शिक्षा ऐनले नेपाली भाषा देशव्यापी विद्यालयको शिक्षण भाषा बनायो । यसले नेपाली भाषा सिङ्गो नेपालभरिको संचार भाषाको रूपमा विकास भयो । साथै यसले आजको नेपाली राष्ट्रियताको भावना देशभरिका नागरिकमा फैलाउन सहयोगी बन्यो । त्यस्तै शैक्षिक योग्यता व्यक्तिलाई सुन्दर भविष्य र समृद्धि हासिल गर्न उत्तिकै अपरिहार्य बनेको छ । त्यसैले पनि आधुनिक मानव समाजमा शिक्षा महत्वपूर्ण सामाजिक अंग हो ।

शिक्षा प्रत्येक मानिसको मानवअधिकार हो । यसको अर्थ शिक्षामा विश्वका सबै मानिसको पहुँच हुनुपर्छ । राज्यले नागरिकको शिक्षा प्राप्त गर्ने अधिकारको संरक्षण, प्रवद्र्धन र सम्मान गर्नुपर्छ । विज्ञान र प्रविधिको जगमा खडा भएको आजको आधुनिक प्रतिस्पर्धी मानव समाजको निरन्तरता र विकास गर्न शिक्षा अपरिहार्य बनिसकेको छ ।

नेपालमा २००७ साल अघि र पछि स्थानीय समुदायको सक्रियतामा बालबालिकालाई शिक्षाको पहुँच पुर्‍याउने सोच सहित स्वतस्फूर्त रूपमा विद्यालय स्थापना गर्ने लहर चल्यो । त्यसैले आजको सामुदायिक विद्यालयको जग खडा गरेको हो । पंचायतले ल्याएको शिक्षा ऐन २०२८ ले सबै यस्ता विद्यालयको राष्ट्रियकरण गर्दै नागरिकको शिक्षाको अधिकारको जिम्मेवारी राज्यले लियो ।

त्यसैको परिणामस्वरुप आज पनि नेपालमा ३४ हजार माथि सामुदायिक विद्यालय सरकारी लगानीमा संचालनमा छन् । जहाँ करिब दुई तिहाइ हाराहारी विद्यार्थी अझै अध्ययन गरिरहेका छन् । नेपालमा पहुँचका हिसाबले सामुदायिक विद्यालय बलियो देखिए तापनि यसले गुणस्तरमा भने अभिभावकको भरोसा जित्न नसकेको विडम्बना देखिन्छ ।

विनय कार्की

गुणस्तर, सीप प्रविधि, व्यावहारिकता तथा उत्थानशीलता विनाको शिक्षण प्रणालीको पहुँच शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो बनेका छन् । अल्पसंख्यक, उत्पीडित, पछाडि पारिएका, फरक क्षमता भएका र ऐतिहासिक बहिष्करणको शिकार बनेका वर्ग, समुदाय, जाति, लिङ्गका बालबालिका समावेशिता र समतामूलक शिक्षण प्रणालीको अभावमा अझै धेरै विद्यालयको पहुँच बाहिर छन् ।

पंचायती व्यवस्थाको अन्त्य भएको तीन दशक भन्दा धेरै भएको छ । यस बीचमा देशमा धेरै राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन भएका छन् । जसले जनताका इच्छा, चाहना, देख्ने सपना, राज्यको जिम्मेवारी, जीवनस्तरमा गुणात्मक साथै मात्रात्मक उपलब्धिहरू हासिल भएका छन् । यस्ता धेरै ऐतिहासिक उपलब्धिलाई संस्थागत गरेको दस्तावेज नेपालको संविधान २०७२ हो ।

यो संविधानले शिक्षालाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ । माध्यमिक तहसम्मको शिक्षामा बालबालिकाको निःशुल्क पहुँचको व्यवस्था गरेको छ । आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुने व्यवस्था छ । संविधानको मर्म अनुरूप नयाँ शिक्षा ऐन आउन नसक्दा बालबालिकाको ठूलो जनसंख्या निःशुल्क शिक्षाको संवैधानिक अधिकारबाट वञ्चित रहन बाध्य छन् ।

आजको लोकतान्त्रिक व्यवस्थालाई जीवन्त बनाउन जनतामा लोकतान्त्रिक पद्धति र  मूल्य–मान्यताको विकास हुन आवश्यक छ । विद्यालय शिक्षा मार्फत यस्ता मूल्यमान्यताको विकास र प्रवद्र्धन, समावेशिता, सहअस्तित्व र  सहकार्यको भावना विकास गर्न पाठ्यक्रम, सिकाइ सामग्री र विद्यार्थीको सिकाइ क्रियाकलापलाई सहभागितामूलक बनाउन सकिन्छ । वैज्ञानिक, व्यावहारिक, प्राविधिक र सीपमूलक शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित गर्दै रोजगारी र उद्यमशीलतामा जोड्न प्रेरित गर्न बाटो खोल्ने शिक्षा ऐन अविलम्ब देशलाई आवश्यक भएको छ ।

साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय शिक्षा ऐन २०८० पास गर्छ । पास भएको यतिका  दिन बित्दासम्म पनि आधिकारिक रूपमा कुनै सरकारी निकायमा यसलाई भेट्न सकिंदैन । त्यसैले यो ऐन पनि कतै हराएको हैन भन्ने शंका–उपशंका सरोकारवाला पक्षले गरिरहेका छन् । आधिकारिक ऐन कतै नभेट्दा यसका प्रावधानका विषयमा बुँदागत छलफल गर्न सकिएको छैन । सरोकारवाला निकाय बजारमा फरक–फरक ऐनको मस्यौदा आउँदा अन्योलमा फसेका छन् । जसले यो ऐनको आधिकारिकता माथि नै प्रश्न खडा भएका छन् ।

विगत लामो समयदेखि शिक्षा मन्त्री र सबै राजनीतिक पार्टीेले नयाँ शिक्षा ऐन ल्याउने बहस र आश्वासन दिने तर ऐन दिन नसक्ने विडम्बना छ । सरकारले विभिन्न समयमा शिक्षा सम्बन्धी विभिन्न आयोग निर्माण गर्ने तर प्रतिवेदन लुकाएको वा हराएको छ । त्यसैले यस्ता आयोगका प्रतिवेदन कार्यान्वयनमा जान सकेनन् ।

लोकतान्त्रिक व्यवस्थामा कुनै पनि ऐन, नीतिनियम निर्माण गर्दा सरोकारवाला पक्षको सहभागितामा पर्याप्त छलफल गरिनुपर्छ । उनीहरूको राय, सल्लाह र सुझावको पनि सम्बोधन गर्नुपर्छ । कतै ऐनलाई लुकाएर यसमा छलफल र बहसलाई छल्ने प्रयास गरिएको हैन ?

शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । शिक्षण पेशा अँगाल्नु भनेको विद्यालयमा अध्ययनरत हरेक बालबालिकाको अभिभावक बन्नु हो । नेपाली समाजमा केही दशक अघि शिक्षक सबैभन्दा सम्मानित र प्रतिष्ठा भएको पेशा देखिन्छ । आज शिक्षकको प्रतिष्ठा खस्कनु भनेको शिक्षा क्षेत्र प्रति समाजको विश्वास घट्नु पनि हो । शैक्षिक क्षेत्रको यो अवस्था हुनुमा शिक्षक, समाज, राजनीति, बजार र राज्य सबै दोषीका भागीदार हुन् । शिक्षालाई गुणस्तरीय, सीपमूलक र व्यावहारिक बनाउन पनि शिक्षकको ठूलो भूमिका रहन्छ । शैक्षिक क्षेत्रमा आमूल सुधार ल्याउन शिक्षकको सबैभन्दा धेरै सक्रियताको आवश्यकता हुन्छ ।

आज सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित छन् । प्रस्तावित शिक्षा ऐनका प्रावधानबाट असन्तुष्ट छन् । उनीहरू शिक्षा ऐनमा सरकार र शिक्षकसँग भएका सम्झौताको कार्यान्वयन खोज्दैछन् । शिक्षकको श्रेणीगत विभाजन, स्थानीय तहमा शिक्षक दरबन्दी हस्तान्तरण, राहत, उमावि र विशेष शिक्षक कोटामा कार्यरत शिक्षक, शिक्षक बढुवा र सरुवा, शिक्षकका नागरिक स्वतन्त्रतामा अंकुश लगाउने विभिन्न प्रावधानको परिमार्जनको माग उनीहरूले देशव्यापी गरिरहेका छन् ।

आजको सार्वजनिक शिक्षा विश्वको सार्वजनिक शिक्षाको तुलनामा लगभग थला परेको अवस्थामा छ । यो परिस्थितिबाट बाहिर ल्याउन सबैभन्दा महत्वपूर्ण र सहयोगी शिक्षक हुनसक्छन् । उत्साहित, ऊर्जावान, सम्मानित र आशावादी साथै हौसला बुलन्द भएका शिक्षकहरूबाट मात्र समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ ।

त्यसैले शिक्षा क्षेत्रका महत्वपूर्ण हिस्सेदार शिक्षकलाई हतोत्साहित र नियन्त्रण गर्ने ऐनले शिक्षामा वर्तमान समयमा केही मात्रात्मक परिवर्तन सम्भव भए पनि गुणात्मक सफलता हासिल गर्न सकिंदैन । शिक्षक तालिम, प्रशिक्षण, तलब र भत्ता जस्ता क्षेत्रबाट शिक्षकलाई प्रोत्साहन गर्न राज्यले नीतिगत व्यवस्था गर्नुपर्छ ।

शिक्षण पेशालाई सबैभन्दा मर्यादित र सम्मानित पेशा नबनाई शिक्षाको सुधार सम्भव छैन । विद्यालय बिग्रनुको दोषी शिक्षक भएको भाष्य समाजमा निर्माण भएको छ । समाजको शिक्षकलाई ठिक लगाएर मात्र विद्यालय बन्छ भन्ने बुझाइ आफैंमा शिक्षा क्षेत्रको विकासका निम्ति खडा भएको चुनौती हो ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको संरक्षण गर्ने; समुदाय, अभिभावक, शिक्षक र विद्यार्थी बीच संयोजन गर्ने, विद्यालयको व्यवस्थापन र संचालन गर्ने कुरामा मुख्य भूमिका खेल्दै आएको छ । राज्यको सबै बालबालिकालाई अनिवार्य शिक्षाको पहुँचमा पुर्‍याउने लक्ष्य प्राप्ति गर्न विव्यसको महत्वपूर्ण भुमिका रहन्छ । त्यस्तै, बीचैमा विद्यालय छोड्ने दर घटाउन र स्थानीयस्तरमा विद्यालयलाई आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने जस्ता कार्यमा पनि विव्यसको सहयोगी भूमिका रहनुपर्छ ।

आज सार्वजनिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएर सरकारी विद्यालय भनेर हेर्ने गरिन्छ । सरकारले मात्र गरेर सार्वजनिक विद्यालयको समग्र विकास गर्न सक्दैन । आज समुदाय र विद्यालयको चिसो भएको सम्बन्धको सुधारमा विव्यसले पुलको काम गर्नुपर्छ । विद्यालयको अपनत्व समुदायले लिन सके मात्र त्यसको दिगो सुधारको बाटो समात्न सक्छ । त्यसैले विद्यालयको गिरेको साख फर्काउन विव्यस सम्बन्धी प्रष्ट नीतिगत व्यवस्था शिक्षा ऐनमा राख्नुपर्छ ।

शिक्षा नीति संविधानको मर्म र प्रावधानभित्रको परिधिमा बसेर ल्याउनुपर्छ । माध्यमिक तहसम्म निःशुल्क, अनिवार्य शिक्षामा बालबालिकाको पहुँच नागरिकको मौलिक अधिकारको रूपमा स्थापना गर्नुपर्छ । हामीसँग विद्यमान रहेका तीनहजार माथि संस्थागत (निजी) विद्यालयको निश्चित समयसीमाभित्र न्यायोचित र सम्मानपूर्वक गैरनाफामूलक शैक्षिक संस्थामा रूपान्तरण गर्न ऐनले बाटो देखाउन सक्नुपर्छ । सबै जात, लिङ्ग, भाषा, धर्म, वर्ग, समुदाय, क्षेत्र र  फरक क्षमता भएका बालबालिकालाई सम्मान र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितता गर्न पनि ऐनको आवश्यकता हुन्छ ।

आजको शिक्षा प्रणाली प्रतिस्पर्धाका आधारमा चलेको छ । सहकार्य विनाको प्रतिस्पर्धाले सिकाइलाई सामूहिक प्रयत्न बनाउन सकेको छैन । शिक्षा नीतिले प्रतिस्पर्धासँगै सहकार्यको प्रणालीमा पनि जोड दिएर सबै बालबालिकाको सिकाइ उपलब्धिमा गुणात्मक परिवर्तन खोज्नुपर्छ ।

नेपाली समाजमा अंग्रेजीलाई सम्मानित र उच्च दर्जाको भाषाको रूपमा बुझ्न खोजिरहेको छ । समाजमा देखिएको अंग्रेजीको मोहलाई विद्यालयहरूले बजारीकरण गरेका छन् । सामुदायिक विद्यालयले पनि पछिल्लो समयमा निजी विद्यालयको नक्कल गर्दै अंग्रेजी भाषामा अध्यापन गराउँदै विद्यार्थीबाट शुल्क लिन थालेका छन् ।

एकातिर संविधानले प्राथमिक कक्षामा मातृभाषामा पढ्न पाउने अधिकार दिएको छ । यसले मातृभाषाको संरक्षण, मौलिक ज्ञान र परम्पराको पुनर्जागरण गर्न साथै शिक्षकमा पनि विभिन्न भाषामा पोख्त रहेका समुदायहरूको प्रतिनिधित्व हुन्छ । हामीसँग बनिबनाउ अंग्रेजी भाषाको शिक्षा समाजको लागि सजिलो विकल्प होला तर हाम्रो अस्तित्व, पहिचान, आत्मसम्मान, संस्कृति, इतिहास र समुदायका लागि यो विकल्प दिगो र उपयोगी बन्न सक्दैन ।

हामीसँग विद्यमान सांस्कृतिक, भाषिक विविधता विश्वलाई चकित र लोभ्याउने खालका छन् । अंग्रेजी भाषाको शिक्षण प्रणालीका रोजगारी, विश्व घटनाक्रम र संचार जस्ता अनेकौं फाइदा भए पनि हाम्रोमा यसको परिणाम कतै मातृभाषा, हाम्रा संवादका भाषाहरू विलोपीकरण त हुँदैनन् ? अंग्रेजी भाषाले मौलिक कला, साहित्य, संस्कृति र सामाजिक सम्बन्ध, इतिहास, समाजको विकास गर्ने भन्दा पनि यसको विलोपीकरणको दिशातिर पो जाँदै छैन ? भन्ने प्रश्न उब्जिन्छन् ।

विद्यार्थीले जति धेरै भाषा सिक्छन् त्यति राम्रो हो । अवसर दिने र आवश्यकता पर्नेले वर्ष दिनमा विभिन्न भाषा सिकेर विदेशिने गरेको हामीले धेरै देखेका छौं । त्यसैले केही विषयलाई अंग्रेजीमा पढाउनु उचित हुन सक्छ तर शिक्षण माध्यम नै अंग्रेजी बनाउन दिनुहुँदैन । त्यसको सुनिश्चितता शिक्षा नीतिले गर्नुपर्छ ।

कार्की युवा शैक्षिक अभियन्ता हुन् ।



source https://www.onlinekhabar.com/2023/08/1357227

आरजुले किन रोजिन् कृषि समितिको सभापति ?

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा ।

सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ । त्यही कारणले सभापतित्व गर्न जमर्को गरेकी हुँ ।’

तर राज्यमन्त्रीसरहको संसदीय समिति सभापतिमा आरजुको रुची यतिमा मात्र सीमित नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरुका अनुसार कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुलाई कांग्रेसमा ‘नेता’का रुपमा स्थापित गर्ने प्रयास निरन्तर भइरहेको छ । त्यही क्रममा यो पटक उनलाई संसदीय समितिको सभापति बनाइएको हो ।

शेरबहादुर देउवासँग २०५१ सालमा विवाह गरेपछि आरजु लामो समय कांग्रेसको सक्रिय राजनीतिमा आइनन् । गैर सरकारी संस्थाहरुमै व्यस्त रहिन् । २०६४ को पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सांसद बन्दासम्म उनको रुची पार्टी राजनीतिमा उतिसारो थिएन ।

जब देउवा सभापति भए, उनको सक्रियता बढ्यो । ०७४ को आम चुनावमा कैलाली ५ मा प्रत्यक्ष चुनाव लडिन् । तर नेकपा एमालेका नारदमुनि रानासँग पराजित भइन् । मंसिर ०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट फेरि समानुपातिक सांसद भइन् ।

निकटवर्तीहरुका अनुसार देउवा आफू पार्टी नेतृत्वमै रहेका बेला आरजुलाई पार्टीमा स्थापित गर्न चाहन्छन् । तर १५औं महाधिवेशनमा एकै पटक पदाधिकारीमा अगाडि सार्दा स्वीकार्यता हुन्न भन्ने देउवा र आरजु दुबैले बुझेका छन् । उनले संसदको यो कार्यकालमा केही काम गरेर आफ्नो स्वीकारोक्ति बढाउन बाटो रोजिन्, जसका लागि संसदीय समितिको सभापति उपयुक्त थियो ।

एक सांसद भन्छन्, ‘हिजो गगन थापा, रवीन्द्र अधिकारीहरुले संसदीय समितिको नेतृत्व गरेर आफ्नो छवि बनाएका थए । अब आरजुलाई पनि त्यो अवसर बन्नसक्छ ।’

कांग्रेसका एक सांसदका अनुसार सुरुमा आरजुको रुची सार्वजनिक लेखा समितितिर देखिएको थियो । तर त्यहाँ बस्दा थप विवादमा पर्ने देखेपछि उनी कृषि समितिको सदस्य भइन् । संसदीय समितिहरुको सभापति भागवण्डामा कृषि समिति कांग्रेसले पाएपछि उनले सभापति बन्ने चाहना राखिन् ।

आरजुले चाहेपछि कसैले रोकेनन् । संसदीय समितिको सभापतिहरु चयनका क्रममा देउवाले शेखर कोइराला–गगन थापा समूहका नेताहरुसँग परामर्श गरेका थिएनन् । संस्थापन समूहका नेताहरु त आरजुलाई नेतृत्वमा स्थापित गर्न नै लागेका थिए । स्रोतका अनुसार पछिल्लो समय प्रवक्ता डा. प्रकाशशरण महत, सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर, एनपी साउद, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, मोहनबहादुर बस्नेत लगायतका नेताहरु आरजुलाई स्थापित गर्न लागेका छन् ।

कृषि समितिको सभापति बनाउने क्रममा पनि उनीहरुले नै वातावरण बनाएका थिए । संसदीय समितिहरुको सभापति भागवण्डामा कृषि समिति कांग्रेसले पाएपछि बलायर लगायतका नेताहरुले आरजुलाई सभापति बन्न आग्रह गरे । आरजुले ‘दाइलाई के भन्नुहुन्छ’ भनेकी थिइन् । एक सांसद भन्छन्, ‘दाइले केही भन्नुभयो भने हामी भनौंला भनेपछि उहाँ तयार हुनुभयो ।’

कांग्रेस सांसद बलायर पनि आफूहरुले सभापति भएर नेतृत्व गर्नुस् भनेर आग्रह गरेको बताउँछन् । ‘उहाँलाई जसरी बद्नाम गराउन खोजिएको छ, त्यो होइन’ उनले अनलाइनखबरसँग भने, ‘हामीले नै उहाँलाई नेतृत्व लिन आग्रह गरेका हौं ।’

यसअघि पनि यो समितिमा सदस्य भइसकेका बलायरका अनुसार कृषि समितिले जलवायु परिर्वतन लगायतका मुद्दामा अन्तर्राष्ट्रिय समुदायसँग समेत काम गर्नुपर्छ । त्यसका लागि आरजु उपयुक्त भएकाले नै आग्रह गरेको बलायर बताउँछन् । सभापतिमा आरजुको प्रस्तावक बसेका कांग्रेस सांसद बलायर भन्छन्, ‘यो उहाँको चाहना मात्र होइन, समितिको आवश्यकता पनि हो ।’



source https://www.onlinekhabar.com/2023/08/1357223

बजार शिथिल भएपछि चालूपूँजी कर्जामा राष्ट्र बैंक लचक

११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले लामो समयको रस्साकस्सीपछि चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई दोस्रोपटक संशोधन गर्दै निकै नै लचक बनाएको छ ।

सोमबार राष्ट्रबैंकले गरेको संशोधनमार्फत कम्पनीहरुले वार्षिक कारोबारको ४० प्रतिशतसम्म चालु पूँजी कर्जा लिन पाउने व्यवस्था गरेको हो । यसअघि यस्तो कर्जाको सीमा २५ प्रतिशत मात्रै थियो । राष्ट्रबैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यो मार्गदर्शनमा पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।

केन्द्रीय बैंकले आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको शून्य कायम गर्नुपर्ने व्यवस्थामा पनि परिमार्जन गरेको छ । नयाँ व्यवस्थाअनुरुप अब यस्तो प्रकृतिको कुनै पनि प्रकारको कर्जालाई शून्यमा झार्नुपर्ने छैन ।

त्यसमध्ये क्यास–क्रेडिट कर्जामा १० प्रतिशत भन्दा कम बक्यौता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ भने ट्रस्ट रिसिप्ट कर्जा, डिमाण्ड तथा अन्य चालु पूँजी कर्जामा भने यस्तो व्यवस्था नै हटेको छ ।

निजी क्षेत्रले माग गरेअनुरुप नै चालू पूँजी कर्जामा लचकता अपनाएको राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘बजार सामान्य अवस्थामा भएको भए मार्गदर्शनमा परिमार्जन आवश्यक थिएन । तर, अहिले बजार अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । त्यसो हुँदा हामीले चालू पूँजीसम्बन्धी स्थापित मान्यताभन्दा धेरै नै लचक ढंगले यसमा संशोधन गरेका छौं’, गभर्नर अधिकारीले अनलाइनबखरसँग भने ।

चालू पूँजी कर्जाको मार्गदर्शन लागू नहुने सीमामा पनि केन्द्रीय बैंकले हेरफेर गरेको छ । यसअघि सबै प्रकार कम्पनीहरुलाई एक करोड रुपैयाँसम्म चालूपूँजी कर्जासम्बन्धी मार्गदर्शन लागू नहुने व्यवस्था थियो । अन्य कम्पनीलाई यही व्यवस्था कायम रहे पनि उत्पादनमूलक उद्योगमा ३ करोडसम्मको कर्जामा मागर्दशन लागू नहुने बनाइएको छ ।

त्यस्तै, उत्पादनमूलक उद्योगको ४ करोडसम्मको कर्जामा वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालुपूँजी कर्जाको सीमा कायम गर्नसक्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले गत वर्षको कात्तिकमा चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याएपछि निजी क्षेत्रले त्यसको विरोध गर्दै आएको थियो । यस विषयलाई संशोधन गर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले प्रधानमन्त्रीसमेतलाई गुहारेका थिए ।

चालू पुँजी सम्बन्धी मार्गदर्शन संशोधन राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृति दिएपछि मात्रै जारी गर्ने सहमति मौद्रिक नीति पारित गर्ने बोर्ड बैठकमा भएको थियो । सोही अनुसार सोमबार बिहान राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा छलफल भएर स्वीकृत गरेपछि मात्रै राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले उक्त मार्गशर्दन संशोधन गरेको हो ।

बैंक र व्यवसायीको आपसी सहमतिमा वित्तीय स्रोतको अनिश्चित प्रयोग भइरहेको अवस्थामा नयाँ मार्गदर्शनले वित्तीय स्रोतको सही उपयोग र पारदर्शी बनाउन मद्दत गर्ने उसको दाबीसहित १ कात्तिक २०७९ बाट राष्ट्र बैंकले मार्गदर्शन कार्यान्वयनमा ल्याएको थियो । मार्गदर्शनले कर्जा जुन प्रयोजनको लागि लिइएको हो सोही प्रयोजनको लागि खर्च गर्नुपर्ने सुनिश्चितता गरेको थियो । यसअघि २७ पुस २०७९ मा नै यो पहिलोपटक संशोधन भएको थियो ।

लेखापरीक्षण भएको कारोबार रकम सोही वर्षको अनुमानित वित्तीय विवरणको तुलनामा २० प्रतिशतभन्दा कम भएमा चालुपूँजी कर्जाको सीमा समायोजन गर्नुपर्ने व्यवस्थाका कारण व्यवसायीले यसको विरोध गरिरहेका थिए ।

यसअघिको हेलचेक्र्याइँलाई कडाइ गर्न बैंकहरूले नियमित रूपमा कागजात तथा ऋणीको खाता पनि आकस्मिक निरीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो । प्रत्येक त्रैमासको अन्तिम महिनामा चालुपूँजीको सीमा वृद्धि गर्न र पुराना ऋणीलाई नयाँ चालुपूँजी कर्जा स्वीकृत गर्न नपाइने व्यवस्थासमेत थियो ।

ठूला ऋणीहरुले कर्जाको ‘एभरग्रिनिङ’ गरेर वित्तीय स्रोतमा कब्जा जमाएको भन्दै केन्द्रीय बैंकले त्यसमा लगाम लगाउन खोजेको थियो । तर, विगत दुई वर्षदेखि अर्थतन्त्र निरन्तर रुपमा ओरालो लागिरहेको सन्दर्भमा केन्द्रीय बैंकले लचकता अपनाएको देखिन्छ ।

चालु पूँजी कर्जा मार्गदर्शनमा भएको संशोधनले निजी क्षेत्रलाई सहजीकरण गर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल बताउँछन् । उनले भने, ‘यसअघि कतिपय विषयमा व्यवहारिक समस्या थिए, तिनलाई पनि यो संशोधनले समाधान गर्ने देखिन्छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि पहिलेभन्दा खुकुलो बनाएर चालुपूँजी कर्जा मागदर्शन आउनु सकारात्मक भएको बताउँछन् । वार्षिक कारोबारको २५ प्रतिशतको सीमा रहेकामा त्यसलाई बढाएर ४० प्रतिशत पुर्‍याउँदा त्यसले व्यवसायीलाई सहज हुने उनले बताए ।

वर्षमा सात दिन अनिवार्य रुपमा चालू पुँजी कर्जा शून्य बनाउनुपर्ने व्यवस्थालाई सच्याएर क्यास–क्रेडिट कर्जामा मात्रै सीमित गर्ने र त्यसमा पनि १० प्रतिशत कायम गर्न पाइने व्यवस्थाले केही सहज बनाउने उनले बताए । अहिले व्यवसाय घटामा रहेको अवस्थामा त्यो लागू गर्न पनि कठिन रहेको उनले बताए ।

अहिले व्यवसायीलाई सहज फाइनान्सिङ आवश्यक रहेका बेला राष्ट्रबैंकले राम्रो काम सुरु गरेको परिसंघका अध्यक्ष अग्रवाल बताउँछन् । ‘अब सरकारले पुँजीगत खर्च गरेर तरलता बढाउनुपर्छ, ब्याजदर अझै घट्नुपर्छ’, उनले भने । जग्गाको कित्ताकाट पनि खुलेकोले अर्थतन्त्र अब सहज हुँदै जाने उनको तर्क छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी पनि केन्द्रीय बैंकले उद्योग र वर्किङ क्यापिटल साइकल फरक भएका अन्य कम्पनीलाई फरक खालको नीति लिन खोजेको बताउँछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी

‘बैंकहरुले नै आवश्यकताका आधारमा ४० प्रतिशतसम्म कर्जा दिनसक्ने गरी संशोधन भएको छ, त्यसले सकारात्मक प्रभाव पर्नेछ’, उनले भने । चालुपूँजी कर्जाको सबै लिमिट आर्थिक वर्षमा १ पटक ७ दिनको लागि शून्य गर्नुपर्ने व्यवस्थालाई क्यास क्रेडिट कर्जामा १० प्रतिशत भन्दा तल ल्याउनुपर्ने र अन्यमा आवश्यक नहुने हुँदा त्यसले निकास दिन्छ भन्ने लागेको उनले बताए ।

यस्तै सरकार र विश्व बैंकलगायतका निकायसँग काम गर्ने निर्माण कम्पनीलाई भेरियन्ससम्बन्धी व्यवस्थालाई दीर्घकालीन रुपमा नै काम गर्न दिने व्यवस्था पनि निर्माण क्षेत्रको समस्यालाई हेरेर ल्याएको बैंकर केसी बताउँछन् ।

‘भेरियन्स एनालाइसिस पनि २ वर्षपछि मात्रै कार्यान्वयन हुने व्यवस्था गरिएको छ । धेरै समस्यालाई सम्बोधन गर्न खोजिएको छ’, बैंकर केसी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारका पनि समूहका कुनै एक जनाको निष्क्रिय कर्जा भयो भन्दैमा सम्पूर्ण साझेदारलाई निष्क्रिय कर्जामा राख्ने कुरा सकारात्मक नहुने उनले बताए ।

बैंकर संघका पूर्वअध्यक्ष तथा नबील बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना पनि निजी क्षेत्रका धेरै समस्या सम्बोधन गर्ने गरी चालुपूँजी कर्जा सम्बन्धी मागर्दशन संशोधन भएको बताउँछन् । उनले भने, ‘आकस्मिक चालुपूँजी कर्जा पनि २ पटकसम्म दिन पाइने भएको छ ।

यस्तै कर्जा बक्यौता शून्य नै हुनु नपर्ने र क्यास क्रेडिट कर्जामा मात्रै १० प्रतिशत भन्दा तल कायम गर्दा हुने व्यवस्थाले सहजीकरण गर्छ भन्ने लाग्छ ।’

कर्जा नोक्सानी व्यवस्था र वर्गीकरणमा पनि कडाइ

राष्ट्रबैंकले चालुपूँजी कर्जामा व्यवसायीलाई लचकता अपनाउँदै कर्जाको नोक्सानी व्यवस्था र वर्गीकरणमा कडाइ गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृत गराएरै राष्ट्र बैंकले उक्त परिपत्र जारी गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा (इसीएफ)को शर्त अनुसार नेपालको १० वर्ष बैंकको एसेट क्वालीटी रिभ्यु हुँदै छ । त्यसअगाडि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा समस्या छैन भनेर देखाउन सबै जोखिमको प्रोभिजन गराउन खोजेको राष्ट्र बैंक स्रोतको दाबी छ । नेपालका बैंकहरुको निष्क्रिय कर्जा अनुपातमा आईएमएफले पटक पटक शंका व्यक्त गर्दै आएको थियो । आईएमएफकै शर्तअनुसार एसेट क्वालीटी रिभ्यु गर्नुअघि कर्जाको बर्गीकरणमा राष्ट्र बैंक कठोर बनेको हो ।

एउटै व्यक्ति वा संस्थाले एकभन्दा बढी कर्जा लिएर कुनै एउटा कर्जामा निष्क्रिय वर्गमा वर्गीकरण भएमा अन्य कर्जालाई सुक्ष्म निगरानीमा राख्न निर्देशन दिएको छ । यस्तै कुनै समूहभित्रको एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा बर्गीकरण भएमा समूहमा रहेको अन्य सदस्य ऋणीहरुको उक्त ऋणीसँगको व्यवसायिक अन्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष प्रभावित हुने समूहका अन्य ऋणीलाई पनि निष्क्रिय वर्गमा वर्गीकरण गर्न निर्देशन दिएको छ ।

यसले बैंकहरुलाई समस्या पर्ने बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबील बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना बताउँछन् । यस्तै निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म किस्ताको सावाँ तथा ब्याज भुक्तानी नियमित भएमा मात्रै असल वर्गमा वर्गीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तो कर्जाको नोक्सानी व्यवस्था पनि ६ महिनासम्म कायम राख्नुपर्ने भएको छ ।

निष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जा सोही वर्गभित्र स्तरोन्नति हुन आवश्यक प्रावधान पूरा गरेको ६ महिनापछि मात्रै स्तरोन्नति गरी सोही अनुसारको कर्जा नोक्सानी व्यवस्था कायम निर्देशन दिएको हो ।

राष्ट्र बैंकले कर्जा वर्गीकरणमा कडाइ गरेर एकातिरबाट व्यवसायीलाई छोडेजस्तो गरेर अर्कातिर बैंकहरुलाई कस्न खोजेको नबील बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना बताउँछन् । ‘राष्ट्र बैंकको उद्देश्य ननबैंकिङ एसेट हुनुभएन भन्ने देखिन्छ । ऋण तिरिसकेपछि पनि ६ महिनासम्म कुनुपर्ने व्यवस्था व्यवहारिक भएन, त्यसको लजिक बुझ्न सकेका छैनौं’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारका पनि समूहका कुनै एक जनाको निष्क्रिय कर्जा भयो भन्दैमा सम्पूर्ण साझेदारलाई निष्क्रिय कर्जामा राख्ने कुरा सकारात्मक नहुने उनले बताए । समूहका कुनै एउटा लगानीकर्ता खराब हुँदैमा सबैलाई त्यसैमा राख्दा झनै ठूलो समस्या हुने उनले बताए ।



source https://www.onlinekhabar.com/2023/08/1357215

Sunday, 27 August 2023

डान्स गरेर भाग्यमानी बनेका दीपक, एसियन गेम्समा पदक भित्र्याउने लक्ष्य

११ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा समावेश ४५ खेलमध्ये एक खेल हो- ब्रेकडान्सिङ। यस संस्करणमा नेपालले सहभागिता जनाउने २९ खेलमा ब्रेकडान्सिङ पनि छ ।

नेपालका ब्रेक डान्सर दीपक लामाले यसमा सहभागिता जनाउँदैछन् । ब्रेकडान्सिङ एसियन गेम्समा समावेश हुनु नै सबैभन्दा ठूलो कुरा रहेको बताउने दीपक त्यसमा आफू सहभागी हुन पाउँदा उत्साहित छन् । ‘हाम्रो लागि ब्रेकडान्सिङ एसियन गेम्समा हुनु नै एकदम ठूलो कुरा हो,’ पोखरमा बसेरएसियन गेम्सको तयारी गरिरहेका दीपकले अनलाइनखबरसँग भने, ‘प्रतियोगितामा भाग लिन पाउनु नै हाम्रो लागि ठूलो उत्साह हो । म एकदमै उत्साहित छु ।’

सन् ७० को दशकमा अमेरिकन हिप हप संस्कृतिबाट सुरु भएको ब्रेकडान्सिङ पछिल्लो समय भने विभिन्न खेलकुद प्रतियोगितामा समावेश हुन थालेको छ । यसअघि सन् २०१० मा चीनमै भएको १६औं एसियन गेम्समा डान्स स्पोर्ट्सकादुईविधा स्ट्यान्डर्ड डान्स र ल्याटिन डान्स समावेश थियो । स्ट्यान्डर्ड र ल्याटिन डान्स दुवैका सबै ५-५ इभेन्टमा चीनले क्लिन स्वीप गरेको थियो ।

एसियन गेम्समा दशकअघि नै समावेश भएको ब्रेकिङडान्स विश्व स्तरमा भने सन् २०१८ मा अर्जेन्टिनामा आयोजित युथ ओलम्पिकमा परीक्षणको रुपमा समावेश गरिएको थियो । अब भने यो ओलम्पिक गेम नै बनिसकेको छ । डान्स स्पोर्टस अन्तर्गत ब्रेकिङडान्स (बी-बोईङ)लाई पेरिस ओलम्पिकमा आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।

दीपकले अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीआईओसीले छात्रवृत्ति उपलब्ध गराएको छ । ओलम्पिकमा पुग्नका लागि भने उनले छनोट चरण पार गर्नुपर्नेछ ।

ओलम्पिक तयारीमै रहँदा नै एसियन गेम्स खेल्ने पाउनु उनका लागि दोहोरो अवसर हो । एसियाली खेलकुदमा सहभागी हुने निश्चित भएपछि दीपकको तयारीको रफ्तार झन् बढेको छ ।

‘एसियन गेम्सको लागि ट्रेनिङ गर्न म पोखरामा छु । मलाई कोचले बिहान र बेलुका दुई समयका लागि फरक स्थानमा ट्रेनिङको लागि छुट्याइ दिनुभएको छ । अरु खेलाडीपनि हुन्छन्’, दीपकले भने ।

ओलम्पिक छात्रवृत्तिले उनलाई एसियन गेम्सको तयारीका लागि अझ सजिलो भयो । ‘ओलम्पिक स्कलरसिपले गर्दा मलाई एकदम सहज भएको छ । मलाई चाहिने सामान, ट्रेनिङ गर्ने, ट्राभलका लागि धेरै सहज भएको छ । ट्रेनिङ फ्यासिलिटी सबै कुरामा सहज छ’,मासिक ७५० अमेरिकी डलर छात्रवृत्ति पाइरहेका उनले भने ।

यो रकमले आफू पूर्ण रुपमा डान्समै केन्द्रीत हुन पाएको उनी बताउँछन् । सुरुवाती समयमा तेक्वान्दो, जिम्न्यास्टिक, उसु लगायत खेल खेलेकाउनीभन्छन्, ‘अहिले मैले पूर्ण समय बि बोइङलाई नै दिन पाएको छु ।’

बी-बोइङ क्षेत्रमा ‘टोनी’ स्टेज नाम राखेका उनी यही नामबाट धेरै चिनिन्छन् । उनी एस्ट्रो ब्वाइज क्रूका सदस्य पनि हुन् ।

पदक जित्ने लक्ष्य

कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धाका लागि उत्रिएपछि हरेक खेलाडीको सपना पदक जित्ने नै हुन्छ । अझ त्यसमा च्याम्पियन बन्ने धेरैको लक्ष्य हुन्छ ।

पहिलो पटक एसियन गेम्स खेल्न लागेका दीपकको लक्ष्य पनि त्यही छ । तर ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा उत्तिकै दबाब र चुनौती पनि हुन्छ । त्यो उनले बुझेका छन् ।

उनले सकेसम्म राम्रो प्रदर्शन गरेरदेशको नाम राख्ने प्रयास गर्ने बताए । ‘पदक जित्ने नै भनेर ट्रेनिङ गरिराखेको छौँ । त्यही अनुसार कोचले तयार गरिरहनुभाछ । बाँकी त्यही गएपछि थाहा हुन्छ । म आफ्नो बेस्ट दिनेछु’, दीपकले आफ्नो लक्ष्यबारे सुनाए, ‘टार्गेट गोल्डकै राखेका छौं, अब के हुन्छ त्यो त खेलेपछि थाहा हुनेछ ।’

एसियन गेम्स अघि विदेशमा गएर पनि तयारी गर्ने योजना भइरहेको उनले बताए । ‘नेपालमा पनि ट्रेनिङ राम्रो भइराखेको छ । अहिले सबै प्यासिलिटीहरु उपलब्ध छन्,’ उनले भने, ‘विदेशको ट्रेनिङ पनि चाहिन्छ । त्यसका लागि पनि योजना भइरहेको छ सायद चाँडै थाहा हुन्छ होला ।’

पहिला ब्याटल अहिले खेल

एसियन गेम्समा ब्रेकिङ डान्स समावेश हुँदा अहिले समग्रमा डान्स स्पोर्ट्स-बी बोइङ समुदाय नै पूरा उत्साहित छ । मनोरञ्जनका लागि गरिने डान्स अहिले अन्तर्राष्ट्रिय खेलकै रुपमा विकास हुँदैछ । ‘पहिलो कुरा हाम्रो ब्रेकिङ खेलकुदमा पर्नु नै हाम्रो समुदायको लागि ठूला कुरा हो । त्यही अनुसार विकास पनि भइरहेको छ । यति रिकगनाइजेसन पाउनु भनेको डान्स स्पोर्ट्सको लागि ठूलो कुरा हो ।’

अहिले ओलम्पिक, एसियन गेम्स जस्ता इभेन्टमा यो खेल समावेश हुनु र नेपाली खेलाडीले ओलम्पिक तयारीका लागि छात्रवृत्ति पाउनुले बी-बोइङप्रति नेपालको अपेक्षा झन् बढ्ने विश्वास छ ।

पहिले डान्स ब्याटलको रुपमा रहेको ब्रेकिङ अब खेल नै बनिसकेको छ । नेपालमा बी बोइङ गर्नेहरुका लागि २०७५ सालमा नेपाल ब्रेकिङ एण्ड डान्स स्पोट्र्स एसोसिएसन नै स्थापना भएको छ । त्यसैमार्फत नेपालमा खेलाडीहरुले आफ्नो कला देखाउनेछन् ।

यस्तो हुनेछ एसियन गेम्समा ब्रेकिङ डान्स

गोन्शु काना स्पोर्ट्स पार्कको जिम्नासियममा हुने यस प्रतियोगिता अक्टोबर ६ र ७ मा आयोजना हुनेछ । यस पटक जम्मा दुई स्वर्णका लागि ब्रेक डान्समा प्रतिस्पर्धा हुनेछ । जसमा महिला र पुरुषतर्फ एक एक इभेन्ट हुनेछ ।

ब्रेक डान्सिङमा लागि ल्यामिनेट फ्लोरको आवश्यकता पर्नेछ । जसको मिनिमम साइज ८ बाई ८ हुनेछ । ८ मिटरको सर्कल हुनेछ ।

ब्रेक डान्सिङमा कम्पिटेसनमा रेड र ब्लु टिम हुनेछ । दुवैले पालैपालो प्रदर्शन गर्नेछन् ।

हरेकले एक पटक ब्याटल गर्नेछन् । जसलाई एक राउण्ड भनिन्छ । ब्याटल ६० सेकेण्ड भन्दा बढी हुनेछैन ।

सहभागी खेलाडीहरुको संख्याको आधारमा प्रतियोगिता विभिन्न स्टेजमा खेलाइनेछ । क्वालिफाइङ राउण्ड प्रिलिमिनारी राउण्ड नकबउट राउण्ड क्वाटरफाइनल सेमिफाइनल फाइनल हुनेछ ।

क्वालिफाइङ स्टेजमा सबै सहभागी खेलाडीलाई ४ समूहमा विभाजन गरिनेछ । हरेक खेलाडीले आफ्नो प्रदर्शनी देखाउने अवसर पाउनेछन् ।

त्यसपछि जजले हरेक खेलाडीले प्रदर्शनलाई तुलना गरेर वरीयता छुट्याउनेछन् ।

यस्तै प्रिलिमिनरी स्टेजमा क्वालिफाइङ स्टेजमा प्राप्त वरीयताको आधारमा जोडी बनाएर प्रतिस्पर्धा गराइनेछ र त्यसबाट १६ विजेतालाई राउण्ड रोविन स्टेजका लागि छनोट गरिनेछ ।

त्यसपछि खेलाडीलाई चार समूहमा चार-चार खेलाडी राखेर विभाजन गरिनेछ र हरेकले आफ्नो समूहमा अन्य खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक समूहको शीर्ष दुई खेलाडी अर्को चरणमा प्रवेश गर्नेछन् । त्यसपछि नकआउट चरणका खेलहरु हुनेछ ।

नकआउट चरण र सेमिफाइनल चरणमा ३ खेल २ जीत प्रतिस्पर्धा प्रणाली लागू हुनेछ । त्यसपछि अन्तिम चरणमा प्रवेश गर्ने खेलाडीहरुले तीन राउण्डको डुएल्स पूरा गर्नुपर्नेछ र पूरा भएपछि नतिजा घोषणा गरिनेछ ।

प्राविधिक, प्रदर्शन, रचनात्मकता, विविधता, संगीत, र व्यक्तित्व जस्ता सूचकहरूका आधारमा दुवै खेलाडीहरूको प्रदर्शनलाई अंक दिनका लागि जजहरुले ‘स्कोर स्लाइडर’ को फर्ममा स्कोरिङ प्रणाली प्रयोग गर्नेछन् ।



source https://www.onlinekhabar.com/2023/08/1356857

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

११ भदौऽ पाल्पा  । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको  छ ।

दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यस्तै, मोटरसाइकलको पछाडि बसेका नवलपरासी सरावल गाउँपालिका-१ का २८ वर्षीय प्रकाश थारू घाइते भएको प्रहरीले जनाएको छ।

घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

मोटरसाइकल आइतबार राति साढे १ बजे दुर्घटना भएको थियो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2023/08/1356840

पाठेघरको मुखको क्यान्सर परीक्षणबारे सचेतना सम्पन्न

१० भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सरको परीक्षणमा विकास भएको नयाँ प्रविधि तथा त्यसको फाइदाबारेमा विराटनगरमा हालै एक गोष्ठी सम्पन्न भएको छ । लिक्विड-बेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिने उद्देश्यले ‘सेप दि फ्युचर अफ वुमन्स’ नामक दुई दिने गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारिएको थियो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रि-क्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा छलफल भएको थियो।

भारतीय मेडिकल टेक्नोलोजी कम्पनी बेक्टोन डिकिन्सन एण्ड कम्पनी (बीडी) को मुख्य आयोजनामा सम्पन्न गोष्ठीमा बीडी भारतका दक्षिण एसिया प्रबन्ध निर्देशक अतुल ग्रोवरले पाठेघरको क्यान्सरको स्क्रिनिङ जस्ता महिला स्वास्थ्यका महत्वपूर्ण विषयमा सचेतना जगाउने प्लेटफर्म आफूहरुले सृजना गरिरहेको बताए । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक हो, तर पनि न्यून सचेतनाको कारणले गर्दा समयमै निदान गर्न ढिलाइ भइरहेको छ। हाम्रो सेप द फ्युचर अफ सर्भाइकल क्यान्सर स्क्रिनिङ इभेन्ट मार्फत, हामी नेपालको पूर्वी भागका अग्रणी स्त्री रोग विशेषज्ञ, प्रसूति तथा रोग विशेषज्ञहरूको सहयोग र सहभागितामा प्रारम्भिक स्क्रीनिङका फाइदाहरूबारे प्रभावकारी सन्देश प्रवाह गर्नेमा आशावादी छौं,’ उनले भने ।

दुई दिनसम्म सञ्चालन भएको सो गोष्ठीमा चिकित्सा क्षेत्रका ७० भन्दा बढी विज्ञहरुको सहभागितामा थियो। विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नेपाल सोसाइटी अफ गाइनोलोजिस्ट पूर्वी च्याप्टर र एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्टसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।

नेपालमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरको रुपमा रहेको छ । वार्षिक यो रोगका २ हजार २४४ नयाँ बिरामी आउने र १ हजार ४९३ जनाको मृत्यु हुने गरेको छ। नेपालमा प्रति एक लाख महिलामा १६.४ जना पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यसको दर घटाउनुर्ने भनेर सिफारिस गरेको भए पनि यो चार गुणा बढेको छ। डब्लुएचओले प्रति एक लाख महिलामा ४ जनामा झार्नुपर्ने भनेको थियो। नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक एक लाख महिलामा ११ जनाको ज्यान जाने गरेको छ। सही समयमा उपयुक्त स्क्रिनिङ भएमा यसलाई रोकथाम गर्न सकिन्छ।

बीडी विश्वको सबैभन्दा ठूलो मेडिकल टेक्नोलोजी कम्पनीहरूमध्ये एक हो।



source https://www.onlinekhabar.com/2023/08/1356817

रक्सी पिएपछि किन खुट्टा लर्बराउँछ, आँखा रातो हुन्छ ? 

काठमाडौं । रक्सी पिउनुअघि र पिइसकेपछि एउटै मान्छे दुईखाले बन्छन् । रक्सी पिउनुअघि मान्छे अक्सर शान्त, सचेत र सुबानी हुन्छन् । रक्सी पिइसकेपछि मान्छे अलि रसिक बन्छन्, उत्तेजित पनि ।

रक्सीको मात्रा थपिंदै जाँदा मान्छेको बोली, हाउभाउ मात्र होइन अनुहारको रुपरंग पनि बदलिन थाल्छ । जब मान्छेलाई रक्सीको मात चढ्न थाल्छ, जिब्रोले राम्ररी काम गर्दैन । बोली लर्बराउन थाल्छ । खुट्टाले राम्ररी साथ दिंदैन । खुट्टा लर्खराउन थाल्छ । आँखा रातो हुन्छ, टाउको दुख्छ ।

त्यसपछि पनि उसले अरु रक्सीको डोज थप्न थाल्यो भने शरीर नै उसको नियन्त्रणबाहिर जान्छ । आफैंले बोलेको कुरा पत्तो पाउँदैनन् । आफूले गरेको कुरा थाहा पाउँदैनन् । रक्सी पिइसकेपछि मान्छे त्यस्तै हुँदैनन्, जस्तो सामान्य अवस्थामा हुन्छन् । तर भात, तरकारी, सागसब्जी, फलफूल, चिया, दही वा अरु कुनै पनि खानेकुरा खाएपछि तुरुन्तै मान्छेको शरीरमा यस्तो असर देखिंदैन । आखिर रक्सी पिएपछि किन यस्तो हुन्छ ?

नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटरले भनेका छन्, ‘धेरै रक्सी पिएपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले शरीरमा धेरै खराबी नगरोस् । त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अलमलिएको जस्तो देखिन्छन् ।’

रक्सी खाएपछि एउटा तत्कालीन र अर्को दीर्घकालीन साइड इफेक्ट देखिने न्युरोलोजिस्ट सुनिलराम कोइराला बताउँछन् ।

उनी भन्छन्, ‘रक्सी यस्तो पदार्थ हो, जुन खाने बित्तिकै पेटमा पुगेसँगै रगतमा मिसिइहाल्छ । १० मिनेटदेखि एक-दुई घण्टासम्म यसको पूरै असर देखिन थाल्छ ।  हाम्रो दिमागमा स्नायु प्रणालीले सूचना दिइराख्नुपर्छ । त्यहाँ विभिन्न रसायन उत्पादन भइरहेका हुन्छन् । रक्सीले तिनीहरूलाई अवरुद्ध गरेर मस्तिष्कको सूचना प्रणालीलाई नै फरक पारिदिन्छ ।’

त्यसैले रक्सी खाएको मान्छेले सोच्न नसक्ने, निर्णय गर्न नसक्ने, बोली लर्बराउने, सम्झिन नसक्ने जस्ता समस्याहरू देखिन थाल्ने कोइराला बताउँछन् । उनी भन्छन्, ‘रक्सीले हाम्रो स्नायु प्रणालीलाई र मस्तिष्कलाई धेरै उत्तेजित बनाएर सोचविचार नै ठप्प जस्तै बनाइदिन्छ ।’

यसैगरी अर्का वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा भन्छन्, ‘रक्सी रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । अनि मस्तिष्कसँग सम्बन्धित समस्या देखा पर्न थाल्छ ।’

रक्सी पिउने मान्छेको तार्किक, सोच्ने क्षमता कमजोर हुन्छ । यसैले उनीहरू सही ढंगले काम-व्यवहार गर्न नसक्ने डा. झा बताउँछन् ।

रक्सीको मात्रा बढ्दै गएपछि त्यसको साइड इफेक्ट पनि बढेर जान्छ । मात्रा धेरै भयो भने बान्ता हुने, मान्छे अचेत हुने जस्ता साइड इफेक्ट समेत देखिन सक्ने न्युरोलोजिस्ट डा. कोइराला बताउँछन् ।

मस्तिष्कको पछाडिको भागले हात, खुट्टा, बोलीको चाललाई संयोजन गर्छ । कसरी हिंड्ने, कसरी बोल्ने भन्ने निर्देशित गर्छ । रक्सीले तिनलाई प्रभावित पारेर काम गर्न दिंदैन । जसले गर्दा रक्सी खाएको मान्छे लर्बडाउँदै हिंड्ने, खुट्टा टेक्न नसक्ने, बोली पनि लर्बराउने जस्ता साइड इफेक्ट देखिने उनी बताउँछन् ।

कोइराला भन्छन्, ‘रक्सीले मस्तिष्कको ‘फ्रन्टल लोब’को भागमा असर पार्छ र सोच्न नसक्ने बनाउँछ । कसैले त रक्सी पिएपछि जे पायो त्यही बोल्ने, गाली गर्ने वा नचाहिने कुरा गरेको देखिन्छ ।’

रक्सीको व्यक्तिपिच्छे फरक-फरक असर देखिन्छ । रक्सीको सेवनले मस्तिष्कमा न्युरोट्रान्समिटरहरूबीच सञ्चारको गति सुस्त हुन्छ । यसले मस्तिष्क र आँखामा सन्देशहरू प्राप्त गर्न ढिलाइ हुन सक्छ, यसले आँखाको मांसपेशीको समन्वयलाई कमजोर बनाउँछ । जसले गर्दा मदिराको अत्यधिक सेवनले आँखा सुख्खा हुने र रातो हुने जस्ता समस्या पनि देखिने कोइराला बताउँछन् ।



source https://www.onlinekhabar.com/2023/08/1356318

Saturday, 26 August 2023

कांग्रेसले टुंगो लगायो समिति सभापतिका उम्मेदवार

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व  चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।



source https://www.onlinekhabar.com/2023/08/1356204

म्याक्सले स्कटिस खेलाडीलाई हराए

१० भदौ, काठमाडौं । नेपाली मुक्केबाज म्याक्स बस्नेतले स्कटिस खेलाडीलाई पराजित गरेका छन् ।

उनले स्कटिस च्याम्पियन फ्रिउलाई अंकको आधारमा अपराजित गरेका हुन् । यस जितपछि म्याक्स स्कटल्याण्डको नयाँ क्रज वेइट च्याम्पियन समेत बनेका छन् । अब उनी युरोपियन टाइटल च्यालेन्जर बनेका हुन् ।

केही दिनअघि मात्रै म्याक्स लण्डनस्थित बेल्स बक्सिङ एकेडेमीका को सीईओ नियुक्त भएका थिए ।

यो आफ्नो लागि ठूलो सम्मान भएकोले यसले नेपाली बक्सलाई बेलायतमा गएर खेल्न ढोका खुलेको उनले बताएका छन् ।

गत जुनमा अन्य नेपाली खेलाडीसँगै म्याक्स लण्डन पुगे पनि विपक्षी खेलाडी घाइते हुँदा उनको इभेन्ट रद्द भएको थियो ।



source https://www.onlinekhabar.com/2023/08/1356201

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

१० भदौ, काठमाडौं ।  ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन  सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिउ ।

हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

 



source https://www.onlinekhabar.com/2023/08/1356184

वाग्मती नदीमा र्‍याफ्टिङ (तस्वीरहरू)

९ भदौ, काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।



source https://www.onlinekhabar.com/2023/08/1356005

Friday, 25 August 2023

एसियन गेम्समा राष्ट्रिय कीर्तिमान बनाउने एथ्लेटिक्सको लक्ष्य

९ भदौ, काठमाडौं ।

एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ देखि नै सहभागिता जनाएको तर अहिलेसम्म एउटा पनि पदक जित्न नसकेको खेल हो- एथ्लेटिक्स ।

तर यही एथ्लेटिक्स नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै पहिलो पटक दिलाउने खेल पनि हो । सन् १९७३ मा सुरु भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए । त्यतिबेला कास्य पदक जितेका उनले १९७५ मा पनि त्यसलाई दोहोर्‍याए ।

अजितकुमार यादवले २०१९ मा भएको तेस्रो एसियन युथ एथ्लेटिक्समा ऐतिहासिक स्वर्ण जितेका थिए भने गत वर्ष दीपक अधिकारीले काठमाडौंमै भएको एसियन क्रस कन्ट्रीमा अर्को ऐतिहासिक स्वर्ण जिते ।

एसियाकै एथ्लेटहरुले प्रतिस्पर्धा गर्ने एसियन च्याम्पियन्सिप, एसियन युथ च्याम्पियनसिप र एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा पदक जिते पनि नेपालले एसियाली खेलकुदकै मैदानमा एथ्लेटिक्समा पदक जित्नबाट चुकेको छ ।

आउँदो महिना चीनमा हुने १९औं एसियाली खेलकुदमा ४ महिला र ४ पुरुष धावकले भाग लिँदै छन् । जुन यसअघिको एसियाली खेलकुदको भन्दा दोब्बर बढी हो । ८ खेलाडी सहभागी हुने भए पनि यसपालि पदकको आशा भने नेपालले गरेको छैन ।

सहभागिता नै अहिलेका लागि महत्वपूर्ण बन्दै आएको छ । एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ भन्छन्, ‘एसियन लेभलमा हामी धेरै तल छौं । पदकका लागि यो किसिमको दुई-तीन महिनाको तयारीले पुग्दैन ।’

धनवीर चौधरीको सहयोगमा ७ जना खेलाडीलाई दशरथ रंगशालामा  प्रशिक्षक गराइरहेका गुरुङले साउन १ देखि विशेष प्रशिक्षण सुरु गरेका छन् ।

यसपालिको एथ्लेटिक्समा राजन रोकाय र पुष्पा भण्डारीले म्यारथनमा तथा दीपक अधिकारी र सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडने छन् । दीपक गत फागुनमा काठमाडौंमा नै भएको १६ औं एसियन क्रस कन्ट्रीमा तथा सन्तोषीले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका थिए । एशियाली खेलकुदका लागि विदेशमा प्रशिक्षण गर्न पाउने एक्ली धाविका सन्तोषीले इथियोपियामा प्रशिक्षण गरिरहेकी छिन् । इथियोपियाको प्रशिक्षण प्रभावकारी भइरहेको भन्दै उनले लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताए । ‘यसअघि विभि्न समस्याले धेरैमा राम्रो प्रदर्शन गर्न सकेको छैन । यस पटक एसियन गेम्समा भने साँच्चै राम्रो गर्ने लक्ष्य छ ।’

राजपुरा पछाई  र गोपीचन्द्र पार्की ५ हजारमिटर तथा सोमबहादुर कुमाल ४०० र ८०० मिटर, फूलमती राना ८०० र १५०० मिटरमा सहभागी हुने छन् । गोपीचन्द्र पार्की र सोमबहादुर कुमालको यो दोस्रो सहभागिता हो ।  यसअघिको एसियाली खेलकुदमा म्यारथन दौडिएका गोपीचन्द्र यसपालि ५ हजार मिटरमा दौडिने छन् । उनीले गएको दक्षिण एसियाली खेलकुद सागमा ५ हजार मिटरमा स्वर्ण जितेका थिए । त्यसैले यसपालि एसियाली खेलकुदमा पनि उनलाई ५ हजार मिटरमै दौडाउने गुरुङले बताए ।

एसियाली खेलकुद खेल्ने दीपक, सोम, राजपुरा र फूलमतिले गत असारमा थाइल्याण्डमा भएको एसियन च्याम्पियनसिप खेलेका थिए । एसियाली खेलकुदका लागि अनुभव बटुल्नकै लागि थाइल्याण्ड पठाइएका उनीहरुबाट नयाँ राष्ट्रिय कीर्तिमान बन्ने अपेक्षा गरिए पनि त्यो पूरा भएको थिएन । ‘एसियन च्याम्पियनसिपमा गर्मीले गर्दा गाह्रो भयो । तर राम्रो अनुभव रह्यो । अब एसियन गेम्समा राम्रो टाइमिङ निकाल्ने लक्ष्य छ,’ दीपकलेअनुभव सुनाए ।

दीपकको इभेन्ट १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान गोपीको नाममा छ । उनले २०१८ मा ३० मिनेट ३०:९९ सेकेण्डको कीर्तिमान बनाएका थिए । त्यसमा ह्याण्ड टाइमिङको कीर्तिमान भने दिपकले गत वर्ष नवौं राष्ट्रिय खेलकुदमा बनाएका थिए । उनले १० मिनेट १०:३ सेकेण्डमा पूरा गरेका थिए ।

यस्तै राष्ट्रिय र व्यक्तिगत नयाँ कीर्तिमान एसियाली खेलकुदमा बनाउने नेपालको लक्ष्य छ । ५-१० वर्षको तयारी गरेर पदक जित्ने गरेको सुनाउँदै मुख्य प्रशिक्षक गुरुङले भने, ‘यस पटक नेपालको लक्ष्य पदक भन्दा राष्ट्रिय कीर्तिमान बनाउने र कीर्तिमान सुधार गर्ने हो।’

एसियाली खेलकुदको अनुभवले आउँदो सागमा पदक जित्ने अर्को लक्ष्य नेपालले राखेको मुख्य प्रशिक्षक गुरुङ सुनाउँछन् । ‘हाम्रो मुख्य लक्ष्य आउने साउथ एसियन गेम्समा गत संस्करण भन्दा बढी मेडल जित्ने हो,’ उनी भन्छन्, ‘किनभने साउथ एसियामा हाम्रो प्रदर्शन राम्रो छ । १३औं भन्दा १४औं संस्करणमा मा धेरै मेडल जित्ने लक्ष्य हो ।’

नेपालले एसियन च्याम्पियनसिप, वर्ल्ड च्याम्पियनसिप, एसियन गेम्स जस्ता ठूला प्रतियोगितामा भाग लिँदा त्यहाँको अनुभवले सागमा फाइदा पुग्ने विश्वास प्रशिक्षक गुरुङलाई छ ।

क्लोज क्याम्पमा बसेर तयारी

सन्तोषीबाहेकका ७ जना खेलाडी मुख्य प्रशिक्षक गुरुङकै योजना अनुसार क्लोज क्याम्पमा बसेर तयारीमा छन् । तयारी राम्रो भइरहेको गुरुङ बताउँछन । ‘अहिले हामीले क्याम्प राखेर तयारी गराइरहेका छौं। होटलमा बसेका छन् । उनीहरुलाई रेस्टको समय पनि मिलेको छ ।’

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेका म्याराथन धावक राजन देशको प्रतिनिधित्व गर्न उत्साहित छन् । उनी भन्छन्, ‘खेलमा बोलेर भन्दा पनि गरेर देखाउने हो । स्टार्ट भएर फिनिस नभएसम्म थाहा हुँदैन, राम्रो टाइमिङ निकाल्न मिहिनेत गरिरहेको छु ।’

प्रशिक्षणकै क्रममा सोमबहादुरलाई डेंगु भए पनि उनी अहिले निको भएर प्रशिक्षणमा फर्केका छन् ।

‘सोमबाटको आशा थियो । तर उसलाई डेंगु भइदियो । अहिले हप्ता दश दिन पछि रिकभर भएर आएको छ । अब एक महिना बाँकी छ । आशा छ कि उसले ठिक भएर राम्रो गर्नेछ ।’

इथियोपियामा तयारी गरिरहेकी सन्तोषीले पनि एसियन गेम्समा राम्रो गर्ने अपेक्षा छ ।

एसियन च्यामपियनसिप र वर्ल्ड च्याम्पियनसिपमा १०० र २०० मिटर दौडमा भाग लिएको भए पनि एसियन गेम्समा भने यो विधामा खेलाडी सहभागी छैनन् ।

१३औं सागमा पदक जितेका खेलको इभेन्टमात्र सहभागी गराउने हाई परफरमेन्स कमिटीको सुझाव अनुसार १०० र २०० मिटर दौड समावेश नगरिएको गुरुङ बताउँछन् ।

अरु खेलाडीलाई पनि वैदेशिक प्रशिक्षण गराउन पाए अझ राम्रो गर्न सक्ने गुरुङले बताए । ‘जस्तै सन्तोषी इथियोपियामा तयारी गरिरहेकी छिन् । त्यहाँ म्यारथनमा र लङ डिसट्यान्समा विश्वस्तरीय खेलाडी छन् र उसको ट्रेनिङ राम्रो हुन्छ र आफ्नो स्तर जाँच्न पाउछन् । उनीजस्तै सम्भावना बोकेका खेलाडीलाई ६ महिना वा वर्ष दिन विदेश पठाउने वा  विदेशी प्रशिक्षक ल्याउने गरे राम्रो हुन्छ,’ गुरुङले भने, ‘साउथ एसियामा त हामी जित्छौं ।’



source https://www.onlinekhabar.com/2023/08/1355982

रवि लामिछानेले पाएनन् कालिकामा स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति

९ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति पाएनन् ।

नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे पनि नगरपालिकाले कानून नभएको भन्दै क्लिनिक सञ्चालन गर्न स्वीकृत नदिएको हो ।

लामिछानेले २०८० साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति माग गरेका थिए । तर, नगरपालिकाले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको जनाएको छ ।

साथै, नगरपालिकाले विषेशज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति पालिकासँग नभई प्रदेशबाट लिन लामिछानेलाई सुझाएको छ ।

नगरपालिकाले लामिछानेलाई लेखेको पत्रमा प्रदेश जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको उल्लेख गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले अहिलेको विद्यमान कानुनले धुम्ती शिविर सञ्चालन गर्न पालिकाले नसक्ने भएकोले अनुमति नदिइएको बताए । यद्यपि, सांसदले प्रदेशबाट अनुमति लिए आफूहरुले सहजीकरण र समन्वय गर्न सक्ने उनको भनाइ छ ।

शिविरको डिटेल कार्यक्रमसहित चिकित्सकहरुको विवरणसमेत माग गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिए । ‘शिविर गर्ने भनेपछि सबै विवरण चाहियो, भोलि कुनै ठाउँको शिविरमा कुनै घटना भए के गर्ने सबै आधारहरु हेर्नुपर्ने हुन्छ,’ उपाध्यायले भने, ‘शिविर गर्ने चिकित्सकहरुको विषेशज्ञ, मेडिकल काउन्सिल दर्तालगायतका विषय पनि पालिकाको जानकारीमा हुनुपर्छ ।’

उनले पालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर जिल्लाका ठूला अस्पतालहरुले शिविर सञ्चालन गरे पनि अरुलाई भने अनुमति नदिइएको उनले बताए ।

चितवन २ बाट जितेका सांसद लामिछानेले निर्वाचन जितेको एक सय दिन पुगेको अवसरमा गत साउन १६ गतेदेखि निर्वाचन क्षेत्रमा मोवाइल स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।

पुरानो मेडिकल कलेजले उपलब्ध गराएको भारतले दिएको एम्बुलेन्सको रंग परिवर्तन गरेर मोवाइल स्वास्थ्य क्लिनिक चलाएका लामिछाने विवादमा परेपछि अहिले अर्को एम्बुलेन्स लिएर क्लिनिक चलाउँदै आएका छन् ।

पुरानो मेडिकल कलेजकै स्वास्थ्यकर्मीहरुको टिम लिएर उनले भरतपुर महानगरपालिकाका विभिन्न वडा स्वास्थ्य क्लिनिक चलाउँदै आएका छन् ।



source https://www.onlinekhabar.com/2023/08/1355996

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमण आउँदै

९ भदौ, वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् । उनी सेप्टेम्बरको पहिलो साता काठमाडौं पुग्ने कार्यतालिका रहेको छ ।

सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्नेछन् ।

उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ । त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्ने तय भएको छ । खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ ।

सिनेटर क्रिसको अफिसले दिएको जानकारीअनुसार उहाँको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ । भ्रमणको क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने अपेक्षा छ ।

यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकारको रक्षालगायतका विषयमा विस्तृतरुपमा छलफल हुनेछ । सिनेटर होलेनले यो भ्रमणले त्यस क्षेत्रका देश र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताएका छन् ।

नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा जान लागेका होलेनको आठ दिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुनेछन् । क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।

अन्तरपार्टी सम्बन्धमा समेत आफ्नो मजबुत छवि बनाएका सिनेटर होलेनले नेपाल अमेरिकाको सम्बन्धको बीच महत्त्वपूर्ण कामसमेत गरेका छन् । उनले सन् २०२१ मा मेरिल्याण्ड राज्यका डेलिगेट डा ह्यारी भण्डारीको अफिससँगको समन्वयमा नेपालका युवा नेतासँग समेत भर्चुअल माध्यमबाट यस अगाडि नै छलफलसमेत गरिसकेका छन् ।

कोरोनाकालमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने स्वास्थ्यसम्बन्धी सामग्री र खोपसमेतको सहायतासम्बन्धी विभिन्न कार्यक्रममा समेत सिनेटरले महत्त्वपूर्ण भूमिका निर्वाहसमेत गरिसकेका छन् । उनले अमेरिकामा रहेका नेपालीबीच पनि ख्यातिप्राप्त सिनेटर हुन् ।

उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस  (टिपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पारेका थिए ।

उनी नेपालका लागि सेप्टेम्वरको पहिलो साता पुग्ने ने जनाइएको छ तर उनको भ्रमण तालिकाबारे विस्तृत विवरण भने सार्वजनिक भएको छैन् ।



source https://www.onlinekhabar.com/2023/08/1355992

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More