Friday, 4 February 2022

मायाको नाममा बाँसमा नाम खोप्ने चलन

२२ माघ, धरान । बाँसमा अंग्रेजी अक्षर ‘एस प्लस ए’ खोपिएको छ । एसले एस अक्षरबाट सुरु भएको नाम र ए ले ए अक्षरबाट सुरु भएको नाम जनाउँछ । गोपनीयताको लागि यसरी उनीहरुले आफ्नो नामको अघिल्लो अक्षरलाई छोटकरीमा खोप्छन् । अंग्रेजी अक्षरको वास्तविक नाम उनीहरुले मात्र बुझ्छन् । बीचको प्लस सिम्बोलले भने उनीहरु बीच जोडिएको न्यानो माया जनाउँछ ।

धरानस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेका बाँसमा यसरी सिम्बोलिक अक्षर खोपेर एकअर्काको प्रेम देखाउने चलन पुरानो हो । पहिले माया देखाउन ढुंगा, रुख र भित्तामा कोइला र चकले नाम कोर्ने गरिन्थ्यो । जुन चलन अहिले हराइसकेको छ । तर यहाँका बाँसमा नाम खोप्ने चलन भने अझै निरन्तर छ । यहाँका बाँसमा नाम खोपाउन युवायुवती अझै पुग्छन् । अझ टाढा–टाढाबाट नवजोडीहरु पनि यहाँ नाम खोप्नैका लागि पुग्छन् ।

प्रेम गर्नेहरुको उत्सवको दिन भ्यालेन्टाइन डे नजिकिंदैछ । यस दिन त अझ बुढासुब्बा मन्दिर क्षेत्रमा प्रेम दर्शाउनेहरुको घुइँचो नै हुन्छ । मन्दिर छेउमा रहेको यो बाँसझ्याङका अधिकांश बाँसका टुप्पा छैनन् । यी टुप्पा नभएका बाँसहरु प्रेमी–प्रेमिकाका लागि प्रिय छन् । जहाँ पुगेर उनीहरुले आफूले माया गरेको मान्छेको नाम खोप्छन् र अमर प्रेमको कामना गर्छन् ।

बाँसमा नाम खोपेमा प्रेम अमर हुन्छ भन्ने विश्वास रहिआएको छ । यहाँ बाँसमा नाम लेख्नका लागि जोडी मात्रै होइन कोही एक्लै पनि आउँछन् । बुढासुब्बामा एक्लै आएका झापा दमकका जनक रिजाल भन्छन्, ‘विश्वास हो, त्यसैले एक्लै आएर प्रेमिकाको नाम खोपें ।’

यहाँ सुनसरी, मोरङ मात्रै होइन झापा, उदयपुर, सप्तरी, धनकुटा लगायतका जिल्लाबाट पनि बुढासुब्बा मन्दिर क्षेत्रका बाँसमा प्रेमी वा प्रेमिकाको नाम खोप्न आउने गर्दछन् ।

प्रेमीहरुले खोपेका नामका कारण यहाँका अधिकांश बाँसका बाहिरी भाग भरिएको छ । मानिसको उचाइभन्दा माथि पनि बाँसमा नामहरु खोपिएको देखिन्छ । बाँसमा यति धेरै नाम खोपिएको छ कि सजिलै पढ्न पनि सकिँदैन ।

पछिल्लो समय भने बुढासुब्बा मन्दिर व्यवस्थापनले बाँसमा नाम खोप्न रोक लगाएको छ । नाम धेरै खोप्दा बाँस मर्ने जोखिम भएपछि व्यवस्थापनले निषेध गरेको हो । तर पनि कोही कोही युवायुवती लुकीलुकी भएपनि नाम खोपेको भेटिन्छ ।

नाम खोप्न रोक लगाएपछि अहिले भने प्रेमी–प्रेमिकाहरु बाँसमा धागो बाँध्न थालेका छन् । धागोको डोरीले पनि बाँसझ्याङ ढाकिसकेको छ ।

डिजिटल जमानामा एकअर्कालाई माया अभिव्यक्त गर्ने विभिन्न माध्यम छन् । टाटु खोप्ने चलन पनि उत्तिकै छ । तर पनि प्रेम अभिव्यक्त गर्नका लागि बुढासुब्बा मन्दिर क्षेत्रका बाँसमा नाम खोप्न पुग्ने युवायुवती उस्तै छन् ।



source https://www.onlinekhabar.com/2022/02/1074726

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More