Monday, 7 February 2022

सप्तकोशी नदीमा माछाका ३० हजार भुरा छाडियो

२५ माघ, सप्तरी । सप्तरी र सुनसरी जिल्लाको बिचमा पर्ने सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौंडा मकवानपुरले रेहु र नैनी जातका ३० हजार माछाका भुरा सोमबार नदीमा छाडेको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौंडाका कार्यालय प्रमुख सरोज कुमार यादवले जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको बताए ।

खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर उकास्न आफूहरुले यो काम गरेको उनले बताए ।

नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत प्राकृतिक जलाशयबाट उत्पादन हुने उनको भनाइ छ । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको समेत उनले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामचन्द्र खतिवडाले कोशी नदीमा प्रदूषणले माछाको कमी भएका कारण माछाका भुरा छाडिनु राम्रो भएको बताए । यसले जलाशयको स्तरवृद्धि र माछा मारेर गुजारा चलाउनेको हित हुने उनले बताए । साना माछा मार्ने काम गरेमा माछाको वृद्धि विकासमा समस्या हुने उनले बताए ।

कोशी नदीमा कोशी टप्पु वन्यजन्तुको अगुवाइमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको छ ।

प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौंडा कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार र मकवानपुरको सामारी नदीमा ३४ हजार माछाका भुरा छाडेको थियो ।



source https://www.onlinekhabar.com/2022/02/1075896

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More