Friday, 22 October 2021

हाइटीमा अपहरणमा परेका १७ इसाई मिसनरीको हत्या गर्ने धम्की

५ कात्तिक, काठमाडौं। इसाई मिसनरीका १७ सदस्यको अपहरणमा संलग्न भएको आशंका गरिएको हाइटीको अपराधिक गिरोहका नाइकेले आफ्ना माग पूरा नभए सबै बन्धकको हत्या गर्ने धम्की दिएका छन् ।

फोर हन्ड्रेड माओजो नामक अपराधिक गिरोहका नाइके विल्सन जोसेफले बिहीबार सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै बन्धक बनाइएका मिसनरीका १७ सदस्यको हत्या गर्ने धम्की दिएका हुन्।

‘म कसम खाँदै भन्न चाहन्छु, यदि मेरा माग पूरा भएनन् भने यी अमेरिकीहरुको टाउकोमा गोली ठोक्ने छु’, भिडियोमा जोसेफले भनेका छन् । यसै हप्ताको सुरुमा हाइटीका अधिकारीहरुले अपहरणमा संलग्न गिरोहले हरेक बन्धकका लागि १० लाख डलर फिरौती मागेको बताएका थिए।

प्रहरीद्वारा मारिएका ग्याङका सदस्यको शव राखिएको बाकसअगाडि बसेर बोल्दै जोसेफले हाइटीका प्रधानमन्त्री एरियल हेनरी र प्रमुख लियोन चार्ल्सलाई धम्की समेत दिएका छन् ।

‘तिमीहरुले मलाई रुवाऔ । म धरधरी रोएको छु । तर तिमीहरुले रगतको आँशु झार्नु पर्नेछ’, उनले भने । केही दिनयता हाइटीको सुरक्षा अवस्था खराब बन्दै गएको छ । इसाई मिसनरीको अपहरणलगत्तै बढेको असुरक्षा र हिंसाको विरोध गर्दै अक्टोबर १८ गते हाइटीका श्रमिकले हाम हड्ताल गरेका थिए ।

अपराधिक गिरोहका नाइकेको अल्टिमेटमपछि अवस्था थप तनावपूर्ण बन्न सक्ने चिन्ता बढेको छ । अक्टोबर १६ मा अमेरिकाको ओहायोस्थित इसाई मिसनरी संस्थाका १७ जना अपहरणमा परेका थिए ।

राजधानी पोर्ट ओ प्रिन्स नजिकै रहेको एक अनाथालयबाट निस्कने क्रममा १६ जना अमेरिकी एक क्यानाडेली अपहरणमा परेका हुन् । अहपरणमा परेकामध्ये आठ महीने एक शिशुसहित पाँच जना बालबालिका छन् ।

अपहरणमा परेका आफ्ना नागरिक छुटाउनका लागि हाइटीका अधिकारीसँग सम्पर्कमा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन् । अलजजिराबाट



source https://www.onlinekhabar.com/2021/10/1028499

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More