Saturday, 23 October 2021

टाउकाको मूल्य ५० लाख डलर तोकिएका कुख्यात लागूऔषध तस्कर पक्राउ

७, कात्तिक, काठमाडौं । सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ परेका छन् । शनिबार प्रहरीले गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागालाई पक्राउ गरेको हो ।

ओटोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका छन् । डुकेले उनी समातिएको घटनालाई तीन दशकअघि लागूऔषध गिरोहका कुख्यात नाइके पाब्लो एस्कोबार पक्राउ परेको घटनासँग तुलना गरेका छन् ।

‘उनको पक्राउ हाम्रो मुलुकले यस शताब्दीमा लागूऔषध तस्करीमाथि गरेको सबैभन्दा ठूलो हमला हो’ डुकेले पत्रकार सम्मेलनमा भने, ‘यसलाई १९९० को दशकमा भएको पाब्लो एस्कोबारको पतनसँग मात्रै तुलना गर्न सकिन्छ ।’

राष्ट्रपति डुकेले ओटोलियललाई दोस्रो मुलुकमा सुपुर्दगी गर्ने तयारी भइरहेको पनि बताए । म्यानहाटनस्थित संघीय अदालतले सन् २००९ मा ओटोनियललाई लागूऔषध तस्करीको आरोपमा दोषी ठहर गरेको थियो । यही भएर उनलाई अमेरिका पठाउने प्रबल संभावना रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै, अमेरिकाको ब्रुकलिन र मायामीमा ५० वर्षीय ओटोलियनविरुद्ध अपराधिक गतिविधि जारी राखेको र अन्तर्राष्ट्रिय कोकिन तस्करीमा सामेल भएको लगायतका अभियोग लगाइएको छ ।

कोलम्बियाली अधिकारीले वर्षौंदेखि ओटोनियललाई खोजी गरिरहेको थिए । यस क्रममा उनका सहयोगी मारिएका थिए भने परिवारका सदस्य समातिएको र उनको सम्पत्तिमाथि छानबिन गरिएको थियो ।

ओटोनियलबारे सूचना दिनेलाई ८ लाख अमेरिकी डलर दिने कोलम्बियाले घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकाको मूल्य ५० लाख डलर तोकेको थियो ।

डुकेले ओटोनियल पक्राउ परेपछि ‘गल्फ क्लानको अन्त्य’ सुरु भएको पनि बताएका छन् । तर सशस्त्र समूहबीच भिडन्ड चर्किरहेका बेला उनको पक्राउका कारण थप हिंसा भड्किने भन्दै विश्लेषक र मानव अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

– अलजजिराबाट



source https://www.onlinekhabar.com/2021/10/1029088

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More